+
+
Shares

बुटवलबाट हिँडेरै कैलाली जान खोजेका ४२ जना क्वारेन्टाइनमा राखिए

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३० गते ९:४२

३० चैत, बुटवल । रुपन्देहीको बुटवलबाट पैदल हिँडेरै कैलालीको टीकापुर जान खोजेका ४२ जना श्रमिकलाई सैनामैना नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ ।

लकडाउनका कारण सार्वजनिक सवारी साधन नचलेपछि उद्योग र निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरु प्रहरीलाई छल्दै हिँडेरै बुटवलबाट सैनामैनाको मुर्गियामा पुगेका बेला स्थानीयले देखेपछि रोकेका हुन् ।

स्थानीयले नगर प्रमुख चित्रबहादुर कार्कीलाई जानकारी गराएपछि ४२ जनालाई नै क्वारेन्टाइनमा राखिएको हो । ‘समूह-समूह बनाएर राजमार्गमा हिँडेरै बुटवलबाट आएका रहेछन्, रोकेर क्वारेन्टाइनमा लगेर राख्यौँ’–सैनामैनाका नगर प्रमुख चित्रबहादुर कार्कीले भने– ‘रुपन्देहीबाट कैलालीसम्म हिँडेर जाँदा कोरोना संक्रमणको जोखिम हुनसक्छ भनेर रोकेका हौँ ।’ उनीहरुलाई सैनामैनाको वडा नं. १ बनकट्टास्थित प्राकृतिक चिकित्सालयमा बनाइएको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरेर मात्रै घर जान दिइने नगर प्रमुख कार्कीले बताए ।

कैलालीका विशाल चौधरीले लकडाउन खुल्ला र घर जाउँला भन्दाभन्दै १७ दिन बितेको र अझै लम्बिने देखेर हिँडेरै घर जान खोजेको बताए । ‘आधा महिनाभन्दा बढी कामै नगरी बसियो’, चौधरीले भने ‘भएको पैसा पनि सकियो, काम नभएको बेला ठेकेदारलाई पनि कति पैसा माग्नु भनेर हिँडेरै घर जान थालेको जान दिएनन् ।’

नगरपालिकाका स्वास्थ्य निरीक्षक हेमराज पन्थीले क्वारेन्टाइनमा राखिएका सबैको स्वास्थ्य परीक्षण गरिने र हालसम्म चेकजाँच गरिएकाको अवस्था सामान्य रहेको बताए । यसअघि रुपन्देहीको तिलोत्तमा वडा नं ७ मा भवन निर्माणमा काम गर्ने ९ जना मजदुर पनि हिँडेर कैलाली जान खोजेकामा तिलोत्तमा नगरपालिकाले योगीकुटी पुलमा रोकेर ठेकेदारको जिम्मा लगाएको तिलोत्तमा-३ का वडा सदस्य रामु पौडेलले बताए ।

लकडाउनले उद्योग, कारखाना र निर्माण क्षेत्रका काम बन्द भएपछि मजदुरहरु लामो दुरी पैदल भएपनि घर जाने क्रम रोकिएको छैन । रुपन्देहीमा निर्माण क्षेत्रमा काम गर्ने बर्दिया,कैलाली लगायत जिल्लाका सयौं मजदुर लकडाउनका कारण घर जान नपाएर निर्माणस्थलमै कष्टकर तरिकाले बस्न बाध्य भएका मजदुर नेता सोम थापाले बताए ।

घर जान नपाएका मजदुरलाई स्थानीय तहले राहत दिनुपर्ने उनको माग छ । स्थानीय तहहरुले वडामा स्थायी बसोबास गर्ने र मतदाता नामावलीमा नाम भएकालाई मात्रै राहत बाँड्ने गरेकाले अस्थायीरुपमा बस्ने मजदुरहरु समस्यामा पर्ने गरेका थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?