Comments Add Comment

लोकतन्त्रका डायपर

हास्यव्यड्ग्य क्षेत्रका ख्यातिप्राप्त साहित्यकार भैरव अर्याल अहिले जीवित भएका भए उनले सायद दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैं गणतान्त्रिक नेपालमा नेता बर्सन्थे भनेर लेख्थे होलान् ।

करिब ५० वर्षअघि उनले राजनीतिक दलका घोषणापत्रलाई कटाक्ष गर्दै भनेका थिए– ‘व्यापारीलाई दर, सुकुम्वासीलाई घर, जागिर खानेलाइ पोष्ट, खाजा खानेलाई टोस्ट, जोगीलाई जक्सन, रोगीलाई इन्जेक्सन, पढ्नेलाई पास, खेल्नेलाई तास, गाइनेलाई भ्वाइलिन, आइमाईलाई नाइलिन, पुलिसलाई डन्डा, नेतालाई झण्डा, पन्डालाई भेटी, गुण्डालाई केटी, आदि ।’

एकताका शहरमा सर्कसको धमाका थियो । बेजोड थियो सर्कसको विज्ञापन । त्यस्तै सर्कस हेर्नेको उम्दा भीड । एउटी निहत्था सुन्दरी सिंहको खोरमा पस्छिन् । सिंह गर्जिँदै युवतीतिर आउँछ । युवती ठमठम हिँड्दै सिंह भएतिर जान्छिन् । दुबै आम्ने–साम्ने हुन्छन् । सयौंं दर्शक एकटकले नियालिरहेका हुन्छन् । सुनसान हुन्छ माहोल । सिंहले दाह्रा देखाउँदै थुतुनो युवतीको मुख नजिक लान्छ । जिब्रो निकाल्दै सुन्दरीको ओठमा लागेको लिपिस्टिक लपक लपक चाट्छ । खेल खतम हुन्छ । तर, तालीको गडगडाहक रोकिँदैन ।

लाउडस्पिकरबाट सूचना घन्कन्छ । सिंहको पिँजडामा पसेर भूमिका निर्वाह गर्नेलाई रु १ लाख इनाम छ । कोही तयार छ ? दर्शक दीर्घामा सन्नाटा छाउँछ । एक वयस्क पुरुष दर्शकदीर्घामा उठ्छन् । आफू तयार भएको उद्घोष गर्दछन् । आयोजकले उनलाई सिंहको खोर नजिक लान्छन् । युवतीजस्तै खोरभित्र पस्न उनलाई भनिन्छ । सिंहलाई पिंजडा बाहिर ल्याऊ, अनि म भित्र पस्छु, भन्छन् ती पुरुष । हाँसोको पर्रा छुट्छ । नाम उनको चतुरमान र पेशा राजनीति । बस् ! यति परिचय नै काफी छ ।

पञ्चायतकालको चुनावताका मधेसको एक गाउँमा शहरमा बासोबास गर्ने एक नेता भोट माग्न पुग्छन् । विनामान्छे गोरु एकनासले घुमेर कोलमा तोरी पेलेको दृश्य देख्छन् । अचम्म मान्दै हेर्छन् । बिनामान्छे पनि गोरु यसरी एकनास कसरी घुम्छ ? पिँडीमा बसेर घाम ताप्दै गरेका बृद्धलाई नेताले सोध्छन् । गोरुको आँखामा छोपेको छ । उसले देख्दैन । घाँटीमा घण्टी बाँधेको छ । हिँड्न रोकिए घण्टी बज्दैन । गोरु उभिएको थाहा हुन्छ । म गएर धपाउँछु । अनि गोरु निरन्तर घुमिरहन्छ – बृद्धाको जवाफ ।

नेता चकित हुँदै सोध्छन् कतै गोरु घाँटी हल्लाउँदै उभियो भने ! तपाईँको कुरा सुनेर नेताको संगतमा परेपछि गोरुले ठग्न के बेर ? बृद्धाले जवाफ दिन्छन् ।

लोकतन्त्रमा नेता नकचरा नभइदिएको भए सायद डन माननीय भई संसदमा हैन जेलमा कैदी भएर बस्थे होला । चुनाव जितेर आएको फूँई लगाउँछन् । चुनाव त हेमबहादुर मल्ल र उनकी पत्नीले पनि जितेका थिए । हो, लोकतन्त्रमा चुनाव जित्नु पर्दछ साथै जन स्वीकृृति पनि त्यति नै महत्वपूर्ण हुन्छ ।

समय अझै घर्किसकेको छैन । वि.सं. १९०३ मा प्रधानमन्त्री बनेका जंगबहादुर राजसंस्था भन्दा शक्तिशाली थिए । मुलुकले १७० वर्ष पछी सर्वशक्तिमान प्रधानमन्त्री पाएको छ । उनी सायद जंगबहादुरपछिका सबैभन्दा शक्तिशाली प्रधानमन्त्री हुन् भन्दा अतिसयुक्ति नहोला । कोतपर्वको नरसंहार र भण्डारखाल पर्व पश्चात जंगबहादुर शक्तिशाली भएका थिए भने केपी ओली जनताको मतले सर्वशक्तिमान प्रधानमन्त्री भएका हुन् ।

यस अर्थमा यिनिसँग नेपाली जनताको अपेक्षा धेरै हुनु स्वभाविक हो । पाँच बर्षको समयावधीमा झण्डै २ वर्ष बितिसकेको छ । तर, अपेक्षाकृत जुन रफ्तारमा मुलुकलाई डोर्‍याउनु पर्ने त्यो रफ्तारमा यिनले डोर्‍याउन सकिराखेका छैनन् । किन ?

समृद्ध नेपाल, सुखी नेपाली भन्दै २०७४ फागुनमा प्रधानमन्त्रीको पदबहाल गरेका केपी ओलीले भ्रष्टाचार नियन्त्रण प्रमुख प्राथमिकता हुन भन्दै भ्रष्टचारमा शून्य सहनशीलता व्यवहारमा नै लागू गर्ने बताएका थिए ।

भ्रष्टाचारमा भेदभाव र संरक्षणको कुनै कुरा हुन सक्दैन, भ्रष्टाचार नियन्त्रण मेरो पहिलो प्राथमिकता हो भनेको झण्डै दुइ वर्ष बितिसकेको छ । तर, के भ्रष्टाचारलाई नियन्त्रण गर्न सफल भए त हाम्रा प्रधानमन्त्री ?

समृद्ध नेपाल, सुखी नेपाली हुन विकास हुनुपर्छ । प्रधानमन्त्री विकासले गति लिइसकेको छ भन्छन् । रातोदिन क्रियाशील प्रमलाई लाग्दो हो, विकास भैराखेको छ । बेथिति भ्रष्टाचार हट्दैछ भनेर । तर, जनता मान्न तयार छैनन् । विकासको गति कछुवाको तालमा भएमा फटाफट हिँड्ने मानिसको नजरमा ढिलो देखिन्छ नै । जनताको चाहना दु्रत गतिको विकासको छ । त्यसैले विकासको गति सापेक्ष हुन्छ भनिन्छ ।

नेपाल सानो सुन्दर मुलुक । अथाह प्राकृतिक स्रोत । शालीन तथा सहिष्णु जनता भएको देशमा केले काम गर्न रोकेको छ प्रधानमन्त्रीलाई ? दलको नेता नभई मुलुकको नेता (स्टेटम्यानसिप) बन्न केले रोकेको छ हाम्रा प्रधानमन्त्रीलाई ? पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी, भलै अल्पमतकै सरकार होस्, अहिले पनि किन प्रिय छन् ? । नेपाली काँग्रेसका सर्वहारा नेता किशुनजी हुन् या पदको भोको नभएको उदाहरण पेश गर्ने गणेशमान अहिले पनि उति नै सम्मानित छन्, किन ? श्रद्धा तथा सम्मान अन्तरमनबाट आउँछ ।

भर्खरै पोखरा प्रिमियर लिग क्रिकेटको उपाधी जितेको चितवन राइनोज टिमका कप्तान पारस खड्काको खुट्टामा ढोग्ने युवकलाई थाहा होला श्रद्धा तथा सम्मान कासरी आउँछ भनेर । तिनै पारसलाई अनुभूत होला दर्शकको मायाको मोल कति हो भनेर ।

वनको राजा, चाडबाडमा जस्तै दिनैपिच्छे मासु खाने । सर्वसाधारणभित्र छिर्न नसकून भनेर बडेमानको पर्खाल लगाउने र गेटमा २४ सै घण्टा सिपाही राख्ने । यी तीन शब्दको संयोजनले देशमाथि घात गर्ने भनेको के हो भनेर सोधेमा आउने पिँढीले सिंह+दर+बार भने आश्चर्य नमान्दा हुन्छ ।

गणतन्त्रलाई सही मार्गमा डोर्‍याउन खोज्ने नागरिक समाजको भूमिकालाई सङकुचित बनाउने कानुन किन पारित गरिँदैछ ? लोकतन्त्रमा विमति जाहेर गर्नु सरकारको विरोध हैन, लोकतन्त्रप्रतिको विश्वास हो । आँखा भएका, तर विवेक गुमाएका कार्यकर्तालाई किन अरिंगाल बनेर जाइलाग्न उक्साउने काम हुन्छ ?

वाधक बाहिरका छैनन् । राज्यका प्रणालीमा हैन । त्यस्तै समस्या लोकतन्त्रको हैन । समस्या छ त उहाँको दलमा । लोभीपापीको जमात भएपछि स्वभाविकै हो, प्रणालीमा धमिरा लाग्नु । बेथिति तथा भ्रष्टाचार मौलाउनु । संस्कृति माथिबाट तल सर्छ । लोकतन्त्र भनेको मत दिएर तानाशाह बनाउने प्रणाली हैन । जनता भनेका जनाद्र्धन हुन् ।

बच्चालाई लगाउने डायपर र नेता उस्तै उस्तै हुन् भन्ने परेमा फोहोर भएको डायपर फेरेजस्तै नेता पनि फेर्न पनि माहिर छन् नेपाली जनता । विगतका चुनावले देखाइसकेको छ । पुरानो दलको पगरी गुथेको नेपाली कांग्रेस होस् या तत्कालीन नेकपा माओवादीलाई कसरी चित खुवाए, नेपाली जनताले ? हेक्का रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment