+

मनोपरामर्शले खेलाडीलाई मानसिक रूपमा बलियो बनाउँछ : अध्यक्ष श्रेष्ठ

२०७७ वैशाख  १ गते १७:१८ २०७७ वैशाख १ गते १७:१८
मनोपरामर्शले खेलाडीलाई मानसिक रूपमा बलियो बनाउँछ : अध्यक्ष श्रेष्ठ

१ वैशाख, काठमाडौं । नियमित प्रशिक्षण गरिरहने र खेल खेलिरहने खेलाडीहरू लकडाउनपछि घरमै सीमित छन् । आफूलाई फिट राख्न कतिपय खेलाडीले घरमै अभ्यास गरिरहका छन् भने केही पूर्वाधार अभाव झेलिरहेका छन् ।

यसै वर्षको जुलाई र अगष्टमा जापानमा हुने तय भएको विश्व खेलको महाकुम्भ ओलम्पिक पनि कोरोना भाइरसको महामारीका कारण एक वर्ष पछि सरेको छ । टोकियो ओलम्पिकको छनोट चरणको खेल खेल्ने र वाइल्ड कार्डको लागि दावी गर्ने तयारीमा रहेका नेपाली खेलाडी अहिले घरभित्रै सीमित भएका छन् ।

घरमै सीमित भएका खेलाडीलाई शारीरिक र मानसिक रूपमा तन्दुरुस्त राख्न नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आइतबारदेखि भिडियो कन्फरेन्समार्फत मनोवैज्ञानिक कक्षा सुरु गरेको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यो कक्षा एक सातासम्म जारी रहने बताए । ‘कोरोना भाइरसको भयबाट कसरी मुक्त गर्ने भनेर खेलाडीलाई शुरुमा मेन्टल्ली स्ट्रोङ बनाउनुपर्‍यो’ उनले भने ।

यो मनोवैज्ञानिक कक्षामा खेलाडीका साथै प्रशिक्षक पनि समावेश छन् । ‘यसले खेलाडी र कोचहरूबीच समन्वय हुन्छ । कोचले पनि यसरी ट्रेनिङ गर्ने भनेर गाइड गर्नेछन्, अनि खेलाडीहरूले दैनिक के गरिरहेका छन् भनेर मनिटरिङ गर्नको लागि तीन सदस्यीय टिम बनाएका छौँ ।’

एनओसी उपाध्यक्ष तथा निर्देशक चतुरानन्द वैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठ र सुजनलाल श्रेष्ठ सम्मिलित टिमले खेलाडी र प्रशिक्षकको डेली कामको अनुगमन गर्नेछन् ।

गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोभिड १९ अहिले विश्वकपा २११ देशमा फैलिसकेको छ । अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्र पनि ठप्प छ । नेपाली खेलकुद पनि यसबाट पूर्ण रूपमा प्रभावित छ । यो अवस्थामा पनि खेलाडीले फिटनेस लगायत कुरामा ध्यान दिनुपर्ने एनओसी अध्यक्ष श्रेष्ठले बताए ।

‘हामीले रेगुलर अभ्यास गर्न नसेपछि खेलाडीको लेभल त डाउन हुन्छ नै’ श्रेष्ठले भने, ‘अहिले हामीले ध्यान दिनुपर्ने कुरा भनेको खेलाडीहरू फिट हुनुपर्‍यो । मोटाउने, अभ्यास नभएर थाक्ने, स्टामिना घट्ने जस्ता समस्या आउन सक्छ त्यसलाई मेन्टेन गर्नुपर्‍यो ।’

नेपालमा पनि ओलम्पिक छनोट खेल्ने र वाइल्ड कार्डको लागि आवेदन दिने खेलाडीले प्रशिक्षण शुरु गरिरहेका थिए । तर कोरोनाले त्यो पनि रोकिएको छ ।

ओलम्पिक सर्दा नेपाल र नेपाली खेलाडीलाई घाटा भयो कि नाफा भन्ने प्रश्नमा एनओसी अध्यक्ष श्रेष्ठले यो समयलाई सदुपयोग गर्न सके नेपाललाई फाइदा हुने जवाफ दिए ।

‘कोरोनाले गर्दा ओलम्पिक खेल सुरु हुने अवधी बढेको छ । चाँडै संक्रमणको अवस्था अन्त्य भएर सामान्य अवस्थामा जान सक्यौँ भने नाफा नै हुन्छ’ उनले भने ‘यस्तै स्थितिबाट गुज्रिरह्यो भने के नाफा लिन सकिला र ? अहिलेको अवस्था अन्त्य भएर ट्रेनिङमा जान सक्यौं भने हाम्रो लागि एड्भान्टेज नै हो ।’

कोरोना संक्रमणबाट बच्न खेलाडीहरूले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल सरकारले जारी गरेको निर्देशनहरू पालना गर्नुपर्ने र अभ्यासलाई निरन्तरता दिनुपर्ने श्रेष्ठ बताउँछन् ।

‘आफ्नो अभ्यासलाई पनि घर भित्र जे उपलब्ध छ त्यसबाटै निरन्तरता दिनुपर्छ । खेलाडीले आफ्नो लेभललाई कायम राख्ने र फिटनेसलाई कायम राख्ने कुरामा ध्यान दिनुपर्छ’ उनी भन्छन् ।

कतिपय खेलाडीले घरभित्र आफैं प्रशिक्षण गरेका छन् । तर कतिपय खेल यस्ता हुन्छन्, जसमा एक्लै अभ्यास गर्न सकिदैन । अध्यक्ष श्रेष्ठ खेलाडीहरूले खुला रूपमा अभ्यास र प्रशिक्षण गर्न नपाएसम्म खेलस्तर माथि नउठ्ने बताउँछन् ।

टोकियो ओलम्पिकका लागि अहिले आधा भन्दा बढी खेलाडी छनोट भइसकेका छन् । यस्तै बाँकी रहेको कोटाको लागि अर्को वर्ष जुन २९ सम्म छनोटको समयसीमा कायम गरिएको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय