+
+
Shares

कोरोना महामारीबीच दक्षिण कोरियामा संसदीय चुनाव

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २ गते १३:०७

२ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीबीच दक्षिण कोरियामा चुनाव हुँदैछ । कोरोना भाइरस फैलिएको बेला संसदीय चुनाव गर्ने दक्षिण कोरिया विश्वको पहिलो देश हो ।

शुक्रबार दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले भोट खसाले । मतदान स्थलमा जाँदा उनले मास्क लगाएका थिए । मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले उनको शरीरको तापक्रम लिएपछि मात्रै मतदान केन्द्रमा प्रवेश गराका थिए । त्यसपछि राष्ट्रपति मुन जे इनले हातमा प्लास्टिक लगाएर मतपेटिकामा मतपत्र खसाले ।

दक्षिण कोरियामा सबै मतदाताका लागि यस्तै नियम छ । भोट हाल्न आएकाहरुलाई सबैभन्दा पहिले ज्वरो छ कि छैन भनेर जाँच गरिन्छ । यदि तापक्रम ९९.५ डिग्रीभन्दा बढी भएको पाइयो भने अलग्गै स्थानमा लगेर कोरोना टेस्ट गरिन्छ । मतदान केन्द्रलाई डिसइन्फेक्ट अर्थात किटाणुरहित बनाइन्छ र अलग्गै स्थानमा भोट खसाल्न दिइन्छ ।

दक्षिण कोरियामा १५ अप्रिल अर्थात बुधबार चुनाव हुँदैछ । तर कुनै कारणले चुनावको दिन मतदानमा सहभागी हुन नसक्नेहरुलाई अघिल्लो दिन नै मतदानको मौका दिइन्छ । यस्तो नियम दक्षिण कोरियामा सन् २०१३ देखि सुरु भएको हो । चुनावकै दिन अर्थात् १५ अप्रिलमा भोट हाल्न नसक्नेहरुका लागि अहिले दक्षिण कोरियामा ३ हजार ५ सय मतदान केन्द्र बनाइएको छ ।

केही विश्लेषकहरुले यस वर्ष कोरोना भाइरसको महामारीका कारण भोट कम खस्ने अनुमान गरेका थिए । तर अहिले त्यस अनुमानविपरीतको दृष्य देखिएको बीबीसीले जनाएको छ ।

समाचारअनुसार, कूल मतदातामध्ये २६.७ प्रतिशतले सुरुवाती मतदान गरिसकेका छन् । यो संख्या सन् २०१६ को तुलनामा दोब्बरभन्दा बढी हो । सन् २०१६ मा केबल १२.२ प्रतिशतले मात मतदानमा भाग लिएका थिए ।

कोरोनाका कारण विश्वभर राजनीतिक क्यालेन्डर अस्तव्यस्त भएको छ । तर दक्षिण कोरियाले चुनाव गराउने निर्णय गर्यो । अन्य देशहरुमा मानिसहरुलाई भिडभाडमा जान प्रतिबन्ध लागे पनि दक्षिण कोरिया सरकारले आफ्ना ४ करोड ४० लाख मतदाताहरुलाई भोट हाल्नका लागि घर बाहिर निस्किन पूर्णरुपमा सुरक्षित रहेको आश्वस्त पारेको छ ।

राष्ट्रपति मुनको लोकप्रियता

चुनाव सफल पार्नका लागि दक्षिण कोरियाले सरकारी कर्मचारीका साथसाथै युवाहरुको पनि सेवा लिएको छ । उनीहरुलाई चुनावमा ड्युटी गर्नका लागि अनिवार्य सैनिक सेवामा छुट दिइएको छ । यीनै युवाहरुले देशभरका १४ हजार मतदान केन्द्रलाई औषधि छर्किएर डिस्इन्फेक्टेड बनाउँछन् । उनीहरुले नै मतदाताबीच कम्तिमा तीन फिट दुरी कायम गराउँछन् ।

कोरोना भाइरसलाई नियन्त्रणमा लिन सफल भएको भन्दै दक्षिण कोरियाका राष्ट्रपति मुनको प्रशंसा भइरहेको छ । संसदीय चुनावमा उनले यसको फाइदा उठाउन सक्ने अनुमान छ । एक सर्वेक्षणअनुसार राष्ट्रपति मुनको लोकप्रियता ४१ प्रतिशतबाट बढेर ५६ प्रतिशत पुगेको छ ।

अर्थव्यवस्था खस्किएको भन्दै कोरोना संक्रमण अगाडि सरकारको आलोचना भएको थियो । ठाउँठाउँमा विरोध प्रदर्शन पनि भएको थियो । तर कोरोनाविरुद्धको लडाइँमा सफलता हासिल गरेपछि राष्ट्रपति मुनका आलोचकहरु किराना लागेका छन् ।

कोरोनाविरुद्धको लडाइँमा सफलता

यसै हप्ता दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या प्रतिदिन ५० भन्दा कम भएको थियो । फेब्रुअरी २९ मा संक्रमितको संख्या प्रतिदिन ८ सय १३ थियो । गत २४ घण्टाको अवधिमा दक्षिण कोरियामा २७ जना नयाँ संक्रमित थपिएका छन् भने जम्मा पाँच जनाको मृत्यु भएको छ ।
हालसम्म दक्षिण कोरियामा कूल १० हजार ५ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएकामा ७ हजार ५ सय ३४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अधिक संख्यामा मानिसहरुको परीक्षण गरेर दक्षिण कोरियाले यो सफलता हासिल गरेको बताइन्छ । अहिले दक्षिण कोरिया लकडाउन विना पनि कोरोनामाथि काबु पाउने देशको सूचीमा दरिएको छ ।

दक्षिण कोरियामा पहिल्यैदेखि राजनीतिक र्याली र धार्मिक सभामा प्रतिबन्ध लगाइएको छ । स्कुल र कलेज खुल्ला छन् । अनलाइन पढाइलाई पनि जारी राखिएको छ । राजधानी सोलमा मेट्रो सेवा पहिले जस्तै यथावत चलिरहेको छ । मानिसहरुको भिड पनि उस्तै छ । यद्यपि सबै जना मास्क लगाएर हिँडडुल गर्छन् ।

कोरोना संक्रमितलाई मतदानको व्यवस्था

मतदातालाई भोट हाल्न घर बाहिर बोलाउने सरकारले कोरोनाविरुद्धको लडाइँ अझै समाप्त नभइसकेको र स्थितिलाई जतिसक्यो सामान्य बनाउने कोसिस गरिरहेको बताएको छ । रोचक कुरा त के छ भने यस चुनावमा कोरोना संक्रमितलाई पनि मतदानको व्यवस्था मिलाइएको छ । उनीहरुलाई २३ देखि २८ मार्चको बीचमा हुलाकमार्फत भोट हाल्ने विकल्प दिइएको थियो । यो समय सकिएपछि पनि तोकिएका विशेष मतदान केन्द्र बनाइयो, जहाँ चुनाव कार्यकर्ताहरुले सुरक्षात्मक पोशाक लगाएर मतदान गराएका थिए ।

दक्षिण कोरियामा पनि नेपालमा जस्तै चुनावको होहल्ला हुन्छ । राजनीतिक दलका कार्यकर्ताहरुले मतदाताको ध्यान आकृष्ट गर्न चोकचोकमा चर्को आवाजमा गीत बजाउँदै नाचगान गर्छन् । उम्मेदवारका पोस्टर र पम्पलेट टाँसिएका गाडीहरु ओहोरदोहोर गरिरहन्छन् । तर यसपटक दक्षिण कोरियामा यस्तो प्रचार शैली देखिएन । चुनाव प्रचारमा खटिएकाहरुलाई जतिबेलामा पनि मास्क लगाइराख्न र एकअर्कासँग हात नमिलाउन निर्देशन दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?