Comments Add Comment

जिल्ला प्रशासन काठमाडौंबाट कसरी लिने ई–पास ?

पहेँलो रंगका पास लिएकाले अर्को लिनु नपर्ने

२ वैशाख, काठमाडौं । लकडाउन (बन्दाबन्दी) को अवस्थामा आवतजावत गर्ने सवारी साधनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अब अनलाइनबाटै अनुमति (ई-पास) प्रदान गर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सरकारले लकडाउन आह्वान गरेलगत्तै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कार्यालयमै उपस्थित भएर सवारी पास लिने थिति बसालेको थियो । यस्तो पास वितरण प्रणालीले चाप र जोखिम दुवै बढाइरहेका बेला उसले अनलाइनबाटै ई–पास वितरण गर्ने व्यवस्था मिलाएको हो ।

अत्यावश्यक रूपमा कसैलाई सवारी पास चाहिएमा अब उप्रान्त ई–पासको व्यवस्था मिलाइएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए ।

यस्तो पास लिन आवेद्कले मोबाइलको म्यासेजबक्समा गएर १११२ मा एसएमएस गर्नुपर्नेछ । सहायक प्रजिअ पौडेलका अनुसार, एसएमएस गर्दा आवेदकले जुनसुकै कोड राख्न सक्नेछन् ।

एसएमएसपछि https://epass.moha.gov.np लिंक उपलब्ध हुने र इच्छुकले उक्त लिंक खोली त्यहाँ उल्लेखित विवरण भर्नुपर्ने प्रशासनले जनाएको छ ।

पासका लागि प्राप्त अनलाइन दरखास्त अध्ययनपछि यसबारे निर्णय गर्ने सहायक प्रजिअ पौडेलले जानकारी दिए । प्रशासनले उचित लागेमा आवेदकको मोबाइलमा कोड नम्बर (पास) उपलब्ध गराउने छ ।

पास वितरणलाई प्रभावकारी र चुस्त बनाइएको उल्लेख गर्दै प्रशासनले अनावश्यक रूपमा आवेदन नदिन सबैमा आग्रह गरेको छ ।

त्यस्तै, यसअघि पहेँलो रंगको पास लिएकाले अर्को पास लिन नपर्ने व्यवस्था पनि प्रशासनले मिलाएको छ । सातदिने म्याद राखेर यसअघि वितरित पासको म्याद गुज्रिएपछि प्रशासनले यस्तो व्यवस्था गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment