Comments Add Comment

प्रधानमन्त्रीको सचिवालयले भन्यो – नेतृ झाँक्रीको आरोप आधारहीन

प्रधामनन्त्रीको सचिवालयमा १४ जनामात्र वैतनिक

२ वैशाख,काठमाडौं । प्रधामनन्त्रीको सचिवालयमा वैतनिक र अवैतनिक गरी जम्मा १८ जनामात्र सदस्यले काम गरिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

नेकपा सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको सचिवालयमा ४८ जनासम्म रहेको भन्दै अनावश्यक जम्बो सचिवालय खारेज गर्न सार्वजनिक आग्रह गरेपछि प्रेस सल्लाहकार सूर्य थापाले त्यति संख्या पुष्टि गर्न चुनौती दिएका छन् ।

प्रधानमन्त्रीको सचिवालयमा तलब लिएर काम गर्ने चारजना सल्लाहकार, दुईजना विज्ञ र ६ जना स्वकीय सचिवालयका सदस्य रहेको थापाले बताए । प्रधामनन्त्रीका सल्लाहकारमा विष्णु रिमाल, डा.राजन भट्टराई, सूर्य थापा र लालशंकर घिमिरेले नियुक्ति पाएका छन् ।

रिमाल प्रमुख सल्लाहकार, भट्टराई विदेश मामिला सल्लाहकार, थापा प्रेस सल्लाहकार र घिमिरे आर्थिक मामिला सल्लाहकार हुन् । त्यस्तै विज्ञ सदस्यमा गजेन्द्र थपलिया र रामशरण बजगाई छन् ।

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, राजेश बज्राचार्य र सहसचिवहरु दीपेन्द्र दाहाल र होमकुमार थापा कार्यरत रहेका छन् । त्यस्तै सचिवालयमै असारु राजवंशी, राजेन्द्र राजथला, हरिदेव र राजन काफ्लेले नियुक्ति पाएका छन् । यसरी वैतनिक सदस्यहरु १४ जनामात्र रहेको प्रमुख सचिव भण्डारीले बताए ।

राज्यकोषबाट तलब नलिई विज्ञको रुपमा काम गरिरहेकामा आईटी विज्ञ असगर अली, कानुन विज्ञ बाबुराम दाहाल र महेन्द्र श्रेष्ठ तथा किरण माली छन् । यीबाहेक अरु कोही पनि व्यक्ति सचिवालयमा नरहेको उनले बताए ।

प्रधामनन्त्रीको सचिवालयमा ४६ जनासम्म सदस्यको दरबन्दी भए पनि अहिलेसम्मकै सबैभन्दा सानो सचिवालयले कार्यबोझका साथ काम गरिरहेको उनले अनलाइनखबरलाई बताए । प्रधामनन्त्रीले अहिलेसम्म जनसम्पर्क सल्लाहकार समेत नियुक्त गरेका छैनन् ।

यसअघिका प्रधानमन्त्रीको सचिवालयमा ५० जनासम्म व्यक्तिले नियुक्ति पाएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले मितव्ययिता अपनाउने भनेर सानो संख्याको सचिवालय बनाएको भण्डारीको भनाइ छ । झाँक्रीले बिनासूचना र तथ्यसमेत नबुझी हावादारी कुरा गरेको प्रेस सल्लाहकार थापाले आरोप लगाए ।

उनले भने ‘उहाँले हुँदै नभएको कुरा किन प्रचार गर्नुभएको हो यो बेलामा बुझ्न सकिएन । राष्ट्रपति, उपराष्ट्रपति, प्रधामनन्त्रीहरुको सचिवालय संसारभर हुन्छ । अहिले त दरबन्दी भइकन पनि प्रधामन्त्रीले नियुक्त गर्नुभएको छैन । तर झाँक्रीजीले किन प्रहार गर्नुभएको हो थाहा भएन । तथ्यमा उभिएर आलोचना गर्दा उहाँको ओज बढ्छ ।’

राष्ट्रपतिले दुई महिनाको तलब कोभिडविरुद्धको कोषमा जम्मा गर्ने, प्रधानमन्त्रीले महामारी अवधिभर तलब सुविधा नलिने तथा नारायणकाजी श्रेष्ठले एक वर्षको तलब नलिने घोषणा गरेको स्मरण गर्दै थापाले नभएको प्रचार गरेर बस्नुभन्दा आफ्नोतर्फबाट योगदान गर्नु उपयुक्त हुने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment