Comments Add Comment

एक टोलबाट अर्काे टोलमा जान समुदायको स्वीकृति

जुवातास खेल्नेहरुको नाम भित्तामा टाँसेर कारबाही

३ बैशाख, गोरखा । गत फागुन १९ देखि २५ गतेको अन्तरालमा गोरखाको सिरानचोक गाउँपालिका छोप्राकका तीन जना भारतबाट घर फर्किए । उनीहरु आएको गाउँमा कमैले मात्र चासो दिए । कोरोना भाइरसको संक्रमण रोकथामका लागि जब सरकारले चैत १० गतेबाट लकडाउन शुरु गर्‍यो अनि बल्ल पालिकाले उनीहरुको खोजी गर्न थाल्यो, तर फेला पार्न सकेन ।

वडाध्यक्षसहितको टोली घर पुग्दा उनीहरु भेटिएनन् । छरछिमेकमा सोधे, तर छिमेकीले थाहा नभएको बताए । सायद आफन्त भएर कुरा लुकाएका होलान् ।

त्यसको केही दिनपछि उनीहरुमध्ये एक जनालाई ज्वरो आयो । उपचारका लागि छोप्राक स्वास्थ्य चौकी लगियो । भारतबाट आएको कुरा त्यसबेला पनि खुलेन । चेकजाँचको क्रममा स्वास्थ्यकर्मीले उनीसँग भलाकुसारी गर्दै गए । अन्ततः भारतबाट आएको कुरा बिरामी आफैंले फुत्काए ।

त्यसपसिछ उनीसँगै अन्य दुईजना पनि भारतबाटै गाउँ आएको कुरा खुल्यो । पालिकाले तत्काल सम्बन्धित वडाका अध्यक्ष र सदस्यलाई उनीहरुको घरमा खटायो । टोलीले बाँकी दुई जनालाई क्वारेन्टाइनमा बस्न सुझाव दिए । ज्वरो आएका व्यक्तिलाई थप उपचारका लागि जिल्ला अस्पताल गोरखा पठाइयो । स्वाब परीक्षण समेत भयो । रिपोर्टमा कोरोनाको संक्रमण नभएको रिपोर्ट आयो ।

वडा नम्वर ६ मा गत फागुन २८ गते दुई जना भारतबाट आए । तर पालिकालाई थाहा भएन । चैत ४ गतेभित्र थप दुई जना स्थानीय भारतबाटै र्फकेपछि टोलबासीले पालिकालाई खबर गरे । पालिकाले वडाध्यक्षको टोली खटायो । अनि बल्ल भारतबाट आएका चारै जनाको बारेमा सरकारी संयन्त्रलाई थाहा भयो । उनीहरुलाई क्वारेन्टाइनमा बस्न सुझाव दिइयो, तर मानेनन् । आफ्नो गाउँमा आफूखुशी हिँड्न पनि नपाउने भन्दै अटेर गरे ।

क्वारेन्टाइनमा बस्न नमानेपछि पालिकाले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्यायो । लकडाउन उल्लघंन गरे कारवाही गर्ने प्रहरीको चेतावनीपछि बल्ल उनीहरु होम क्वारेन्टाइनमा बस्न थाले ।

एक टोलबाट अर्काे टोलमा जान समुदायको स्वीकृति

बिदेशबाट गाउँ र्फकेका मानिसहरु सम्पर्कमा आउन नचाहने र लुक्ने गरेपछि पालिकाले बिशेष अभियान सन्चालन गरेको छ । सबै वडामा कोरोना प्रतिकार्य समूह गठन गरिएको छ । पालिकाभित्र रहेको आठ वटा वडामा कुल १ सय ५२ समूह छन् । ६ सय ८ जना स्वंसेवक खटिएका छन् । कतिपय ठाउँमा ढाँट राखेर बाटो छेकिएको छ । ‘एक टोलबाट अर्काे टोलमा जान पनि समूहको स्वीकृती चाहिन्छ,’ गाउँपालिका अध्यक्ष राजु गुरुङले भने, ‘अहिले गाउँमा को आयो, को गयो सबै थाहा हुन्छ ।’

पालिका भित्रिने नाकाहरुमा समेत ढाँट राखिएको उनले बताए । सोधपुछ गरेर मात्र मानिसहरु आउजाउ गर्न दिइएको उनको भनाइ छ । उक्त काम पनि समूहले गर्दै आएको छ । ‘प्रत्येक वडामा समूह गठन गरेपछि हामीलाई पनि कामको लोड धेरै कम भएको छ, नत्र फोन आएर हैरान हुन्थ्यो,’ उनले भने ।

पाहुनालाई पनि १४ दिन क्वारेन्टाइन, दुरी कायम गरी मेलापात

समूहले बाहिरबाट आएका मानिसहरुको अभिलेखीकरण गर्ने, क्वारेन्टाइनमा बस्न लगाउने र निगरानी गर्ने गर्छ । टोलमा खाद्यान्न अभाव भए वडालाई जानकारी गराउने, नियमित औषधि खानेलाई उपलब्ध गराउन सहजीकरण गर्ने, पौडी खेल्ने र माछा मार्ने काम रोक्नका लागि निगरानी गर्ने र टोलको खाजा पसलाई व्यवस्थित गर्ने देखि राहत वितरणका लागि तथ्यांक संकलनको काममा पनि समूहले सहयोग गर्दै आएको छ । वडासँग समन्वय गरेर वडाध्यक्षको निर्देशन बमोजिम समूहले काम गर्ने पालिकाले जनाएको छ ।

पालिकाका कतिपय वडाले घरमा आएका पाहुनालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ । ‘ओड्ने र ओछ्याउने समूहले दिन्छ, खाना जसको घरको पाहुना हो, त्यही घरले दिनुपर्ने भन्ने छ,’ गाउँपालिका अध्यक्ष गुरुङले भने ।
कोरोना भाइरस रोकथामका लागि पालिकाले जात्रा तथा पूजामा रोक लगाइसकेको छ । सामाजिक दुरी कायम गरेर मेलापात गर्न आग्रह गरिएको छ ।

जुवातास खेल्नेहरुको नाम वडा-वडामा

लकडाउनको समयमा जुवातास खेल्नेको संख्या बढेको भन्दै त्यसको नियन्त्रणका लागि पनि पहल भइरहेको पालिकाले जनाएको छ । ‘जुवातास खेले/नखेलेको प्रतिकार्य समूहले नै निगरानी गर्छ,’ गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘जुवातास खेल्नेहरुको नाम वडा-वडामा टाँस्छौं र समातेर सामाजिक कारबाही गर्छौं ।’

कोरोना भाइरस संक्रमितको उपचारका लागि जौबारी प्राथमिक स्वास्थ्य केन्ऽमा ४ बेडको आइसोलेसन निर्माण भएको पालिकाले जनाएको छ । ४० वेडको सामूहिक क्वारेन्टाइन स्थल निर्माण भइसकेको छ । आवश्यकता अनुसार थप गर्दै लैजाने बताइएको छ ।

पालिका भित्रका दश वटा स्वास्थ्य संस्थाका सबै स्वास्थ्यकर्मीलाई पीपीई सेट, एन-९५ मास्कसहित आवश्यक सुरक्षा सामग्री वितरण भइसकेको अध्यक्ष गुरुङले बताए ।

लकडाउन कार्यान्वयनमा सघाउ पुर्‍याउनुका साथै कोरोनाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले पालिका भित्रका प्रहरी युनिटहरुलाई एक/एक थान हाते माइक, मोबाइल सेट र सिमकार्ड उपलब्ध गराइएको उनले जानकारी दिए । प्रहरीलाई मास्क र सेनिटाइजर पनि उपलब्ध गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment