Comments Add Comment

कोरोना भाइरस पत्ता लगाउने महिला को हुन् ?

काठमाडौं । अहिले कोरोना भाइरसको महामारीले विश्व आक्रान्त छ । हजारौं मानिसको ज्यान गइरहेको छ । लाखौं संक्रमित छन् । विश्वको अर्थव्यवस्था चौपट भएको छ । विज्ञानसमेत कोरोनाको औषधि पत्ता लगाउन नसकेर निरीह देखिएको छ ।

कोरोना भाइरस सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा फेला परेको थियो । तीन–चार महिनाको बीचमा संसारभर फैलिइसकेको छ । कोरोना भाइरसबाट लाग्ने रोगलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ‘कोभिड–१९’ नाम दिएको छ ।

सबैभन्दा कोरोना भाइरस मानिसमा पत्ता लगाउने व्यक्ति चाहिँ को होला ? चासो लाग्नु स्वाभाविक छ । त्यसैले आज हामी मानिसमा पहिलो पटक कोरोना भाइरस पत्ता लगाउने व्यक्तिको बारेमा जानकारी दिँदैछौं ।

मानिसमा पहिलो पटक कोरोना भाइरस पत्ता लगाउने महिला हुन् जून अलमेडा हुन् । उनी स्कटल्याण्डको एक बस चालककी छोरी थिइन् । उनले केबल १६ वर्षको उमेरमै स्कुल छाडिन् ।

अहिले कोरोना भाइरस (कोभिड–१९)को महामारीको बेला अलमेडाको नाम चर्चामा आइरहेको छ र उनको खोज चर्चाको केन्द्रमा छ ।

कोभिड १९ एक नयाँ भाइरस हो । तर कोभिड १९ कै प्रकारको भाइरसको खोज अलमेडाले सबैभन्दा पहिले सन् १९६४ मा लण्डनको सेन्ट थोमसस्थित अस्पतालको ल्याबमा गरेकी थिइन् ।

भाइरोलोजिष्ट अलमेडाको जन्म सन् १९३० मा भएको थियो । स्कटल्याण्डको ग्लासगो शहरको उत्तर–पूर्वमा अवस्थित एक बस्तीमा एकदमै साधारण परिवारमा उनको जन्म भएको थियो ।

१६ वर्षको उमेरमा स्कुलको पढाइ पूरा गरेपछि उनले ग्लासगो शहरकै एक ल्याबमा प्राविधिकको रुपमा जागिर सुरु गरिन् । पछि नयाँ सम्भावना खोज्ने क्रममा उनी लण्डन पुगिन् । सन् १९५४ मा उनको बिहे भेनेजुएलाका कलाकार एनरीके अलमेडासँग भयो ।

सामान्य रुखा खोकीमा रिसर्च

मेडिकल क्षेत्रका लेखक डाक्टर जर्ज विन्टरका अनुसार बिहेको केही वर्षपछि अलमेडा दम्पति आफ्नो छोरीसहित क्यानडाको टोरन्टो शहरमा पुगे । क्यानडाकै ओन्टारियो क्यान्सर इन्सटिच्युटमा डाक्टर अलमेडाले एक इलेक्ट्रोन माइक्रोस्कोपसँगै आफ्नो उत्कृष्ट कौशल विकसित गरिन् । यो संस्थामा काम गर्दै उनले एक यस्तो विधिमा सफलता हासिल गरिन् जसको मद्दतबाट भाइरसको कल्पना गर्न निकै सजिलो भएको थियो ।

लेखक जर्ज विन्टरले बीबीसीसँग भनेका छन्, ‘बेलायतले डाक्टर जून अलमेडाको विशेषतालाई बुझ्यो र सन् १९६४ मा उनलाई लण्डनस्थित थोमस मेडिकल स्कुलमा काम गर्र्न प्रस्ताव गर्‍यो । थोमस मेडिकल स्कुल त्यही अस्पताल हो जहाँ कोराना भाइरस संक्रमण भएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको उपचार भएको थियो ।
क्यानडाबाट फर्किएपछि डाक्टर अलमेडाले डाक्टर डेभिड टायरेलसँग मिलेर अनुसन्धानको काम सुरु गरिन् । त्यो समयमा उनीहरुले बेलायतको सेलिस्बरी क्षेत्रमा सामान्य रुखाखोकीको बारेमा अनुसन्धान गर्दै थिए ।

जर्ज विन्टर भन्छन्, ‘डाक्टर टायरेलले रुखा लागेको बेला नाकबाट बग्ने तरल पदार्थको धेरै नमूनाहरु संकलन गरेका थिए । प्राय सबै नमूनामा सामान्य रुखाखोकीको बेला पाइने जस्तै भाइरस देखिएको थियो ।

तर तीमध्ये बी–८१४ नाम दिइएको एक नमूनामा भने अरुभन्दा अलग भाइरस थियो । त्यो नमूना सन् १९६० मा एक बोर्डिङ स्कुलको छात्रबाट लिइएको थियो ।

कोरोना भाइरस नाम कसले दियो ?

डाक्टर टायरेललाई त्यो नमूनाको थप जाँच डाक्टर अलमेडाको मद्दतमा इलेक्ट्रोन माइक्रोस्कोपमार्फत् गर्न मन लाग्यो । त्यसपछि त्यो नमूनालाई जाँच गर्न डाक्टर अलेमडाकहाँ पठाइयो । त्यो परीक्षणबाट पत्ता लाग्यो, यो भाइरस इन्फ्लुएन्जा जस्तै देखिए पनि अरुभन्दा एकदमै अलग छ ।

त्यसपछि त्यो भाइरसलाई डाक्टर जून अलमेडाले कोरोना भाइरसको रुपमा प्रस्तुत गरिन् ।

जर्ज विन्टर भन्छन्, ‘खासमा जून अलमेडाले यस भाइरस जस्तै कण पहिले मुसामा हुने हेपाटाइटिस र कुखुरामा हुने संक्रामक ब्रोङ्काइटिसमा देखेकी थिइन् ।’

डाक्टर विन्टरका अनुसार जून अलमेडाले इन्फ्लुएन्जा भाइरसकै बिगारिएको चित्र पेस गरेको भन्दैै पहिलो अनुसन्धान रिपोर्ट खारेज गरिएको थियो ।

तर, स्याम्पल बी–८१४ बाट भएको नयाँ अनुसन्धान रिपोर्ट सन् १९६५ मा ब्रिटिश मेडिकल जर्नलमा र त्यसको दुई वर्षपछि जर्नल अफ जनरल भाइरोलोजीमा तस्वीरसहित प्रकाशित भयो ।

जर्ज विन्टरका अनुसार डाक्टर टायरेल, डाक्टर जून अलमेडा र सेन्ट थोमस मेडिकल संस्थाका प्रोफेसर टोनी वाटरसनले यस भाइरसको अग्लो–होचो बनावटलाई हेरेर ‘कोरोना भाइरस’ नाम राखे ।

त्यसपछि डाक्टर अलमेडाले लण्डनको पोस्टग्राजुएट मेडिकल कलेजमा काम गरिन् । त्यहीँबाट उनले आफ्नो डक्टरेटको पढाइ पूरा गरिन् ।

आफ्नो करियरको अन्तिम दिनमा डाक्टर जून अलमेडा वेलकम इन्सटिच्युटमा थिइन्, जहाँ उनले इमेजिङको माध्यमबाट धेरै नयाँ भाइरसहरु पत्ता लगाइन् र त्यसको प्रतिलिपि अधिकार आफ्नो नाममा गराइन् ।

वेलकम इन्सटिच्युटबाट रिटायर्ड भएपछि डाक्टर अलेमडा एक योगा प्रशिक्षक बनेकी थिइन् । सन् २००७ मा ७७ वर्षको उमेरमा जून अलमेडाको निधन भयो ।

अहिले उनको निधनको १३ वर्षपछि उनले गरेको कामले सही मान्यता पाइरहेको छ, जसको उनी हकदार पनि हुन् ।

एक बेजोड अनुसन्धानकर्ताको रुपमा उनलाई सम्झना गरिँदैछ । किनकी उनकै अनुसन्धानको कारणले अहिले विश्वभर फैलिइरहेको कोरोना भाइरस संक्रमणलाई बुझ्न मद्दत मिलिरहेको छ ।

स्रोत : बीबीसी हिन्दी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment