Comments Add Comment

अब छोरी बोक्ने फटाफट हिँड्ने !

छोरी बोकेरै पोखराबाट प्यूठान जाने घर्ती परिवारको सुर

५ बैशाख, पोखरा । साथीभाइ हिँडेरै घर पुगिसके । आफू हिँडू भने काखमा सानी छोरी छे । भोकभन्दा पनि सानी छोरीको ‘ख्याल’ राखेर उनीहरु पोखरादेखि प्युठान हिँड्ने आँट गरेनन् । लागेको थियो, चाँडै लकडाउन खुल्ला र दैनिकी सामान्य होला !

तर, त्यसो भएन । लकडाउन थपिँदै गयो । भान्सा रित्तिँदै गयो । चिन्ता बढ्दै गयो । गोजीमा भएको केही नगद पनि उहिल्यै रित्तिइसक्यो । सानी छोरी भोकले चिच्याउँछे । बाबुआमाको मन न हो कसरी भन्न सक्नु, ‘न भोका । बोराको चामल अझै महिनादिन पुर्‍याउनुपर्छ ।’

यो कथा ज्यालादारी गर्दै २/४ पैसा कमाउँला भन्ने सपना साँचेर प्युठानबाट पोखरा आएका गणेश घर्तीको परिवार को हो । जसको विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेका लकडाउनको प्रत्यक्ष मारमा छन् ।

०००
पोखरा बिरौटामा एउटा नयाँ घर बन्न पिल्लर उठेका छन् । कामदार छैनन्, सुनसान छ । त्यही निर्माणाधीन घरछेउमै एउटा सानो २ कोठे सानो इँट्टा ठड्याएर बनाइएको बुकुरो देखिन्छ । त्यही बुकुरोमा घर्ती श्रीमती सपना घर्ती र डेढ वर्षीया छोरीसँग बस्छन् ।

खासमा त्यो मान्छे बस्न बनाएको भने होइन । त्यो हो सिमेन्टलाई घामपानीबाट बचाउन बनाएको भण्डारण कोठा । एउटा कोठामा सिमेन्ट भरिएको छ भने अर्को कोठामा घर्तीको परिवार बस्छ ।

करिब २ महिनाअघिमात्रै उनीहरु यो ‘नयाँ’ कोठामा आएका हुन् । यहाँ बसेर उनीहरु सिमेन्ट लगायत घर निर्माणमा प्रयोग हुने सामानको चौकीदारी गर्नुपर्छ । त्यसवापत कोठा भाडा तिर्नुपर्दैन ।
‘पहिले फूलबारी भन्ने ठाउँमा महिनाको ३५ सय रुपैयाँ तिरेर बस्थ्यौं,’ अनलाइनखबरसँग घर्तीले भने, ‘यहाँ आएर केही पैसा बचाएर घर जाऔंला भन्ने साचेका थियौं । तर, घर नपुग्दै भोकैले मरिने भो ।’

दैनिक ज्यालादारी गर्दै गुजारा गरिरहेको घर्तीको परिवार लकडाउनले काम रोकिएपछि आम्दानीमात्रै थप्प भएको छैन । दैनिकी नै कसरी गुजारुँ भन्ने चिन्ताले पिरोलेको छ । महानगरबाट केही दिनअघि राहत त बुझे तर, त्यो पनि सकिने बेला भइसक्यो । ग्यास धेरै टिके हप्ता दिनलाई पुग्ने उनीहरुको अनुमान छ । ग्यास पाइए पनि कुन पैसाले किन्ने ? उत्तर छैन ।

‘राहतमा आएको चामल अब केही दिन टिक्छ होला । केही दिनलाई चामल छ । गोजीमा पैसा पनि छैन । भएको चामल सकियो भने के गर्ने गर्ने थाहै छैन,’ भावुकतासहित सपना घर्ती बोल्छिन्, ‘बिहान बेलुका खाए पनि नखाए पनि यही भातै हो । छोरी भोकाउँछे । बालबच्चासँग आधा पेट खाएर बस्छु भन्ने पनि नहुने रहेछ ।’

पोखरा नै बसिरहन अभाव र भोकले सताएको तर, घर जान पनि आफूहरुसँग कुनै ‘उपाय’ घर्ती दम्पतीको गुनासो छ । ‘अर्काको ठाउँमा कोल्लाई भोकै मर्न मन हुन्छ र ? घर जान त मन छ नि,’ सपना श्रीमानतिर हेर्दै भन्छिन्, ‘रित्तो बुकुलो भए ता हुन्थ्यो । बच्चासँग झन् कसरी जानु र ? बाटोमा बास बस्न दिन्न रे । रातदिन हिँड्ने हो । छोरी छे, कसरी हिँड्न सकौंला र ख्वै ?’

तर, लककडाउ समय मै नखुले र कमाइ नभए बितरा पर्ने देखिए काखको बच्चा बोकेरै भएर पनि हिँडेर घर पुग्नेबाहेक अर्को उपाय नभएको दुखेसो पोखे । ‘लकडाउन बढ्याबढ्यै छ । घरमा खाने सामल सक्किसक्यो ।

अब केही नभएपछि छोरी बोकेरै भए पनि घर हिँड्ने त होला । रोगभन्दा पहिले पेटमा भोक आएपछि के लाग्दो रहेछ र ?’ सपना प्रश्न गर्छिन् ।

घरिघरि उनीहरुको ‘ठेकेदार’ आउँछ । तर, दैनिकी भन्दा आफ्नै कामबारे चिन्ता व्यक्त गरेर जान्छ ।

घर्ती भन्छन्, ‘ठेकेदारले त काम गर्ने भन्छ । उसलाई कहिले लकडाउन खुल्छ र काम गर्ने भन्ने मात्रै छ । हिजो आएको थियो । सिमेन्ट खत्तम भयो होला भन्दै थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment