Comments Add Comment

पर्सागढीमा ८४ पोका राहत सामग्री लुटियो

६ वैशाख, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका वडा नं ६ मा लैजाँदै गरेको राहत वडा नम्बर ५ का बासिन्दाले लुटेका छन् । नगरपालिकाबाट वडा नं ६ का लागि पठाइएको ८४ पोका राहत सामग्री वडा नं ५ पचरुखीमा लुटिएको हो ।

एउटा पोकामा दुई किलो दाल, एक लिटर तेल, दुई प्याकेट नुन, दुई वटा डिटोल र दुई वटा कपडा धुने साबुन गरी छ सय रुपैयाँ बराबरको समान रहेको पर्सागढी नगरपालिकाले जनाएको छ ।

वडा नं ५ का अध्यक्ष असलम आलमले पचरुखी र भिगना टोलका दुई सय २४ जना विपन्न व्यक्तिलाई राहत वितरण गरिरहेका थिए । सोही क्रममा राहत वितरणप्रति असन्तुष्ट राजेश्वरप्रसाद यादवसहित १०/१२ जनाको समूहमा आएका व्यक्तिले विवाद गरिरहेका थिए ।

राहत वितरणमा विभेद भएको आरोप उनीहरूले लगाएका थिए । उनीहरु राहत वितरण भइरहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको गेट अगाडि होहल्ला गरिरहेका थिए । त्यही समयमा नगरपालिकाले वडा नं ६ का लागि पठाएको राहतको सामग्री बोकेको गाडी आइपुगेको थियो ।

पचरुखी गाउँका केही स्थानीय बासिन्दाले लुटेको इलाका प्रहरी कार्यालय एकटाङ्गा प्रहरी नायब निरीक्षक पूर्णबहादुर दाहालले जानकारी दिए ।

नेपाली का‌ंग्रेस निकट यादवले राजनीतिक प्रतिशोध पूरा गर्नका लागि सबैलाई राहत वितरण गर्नुपर्ने माग राखेर विवाद गरेको वडा अध्यक्ष आलम बताउँछन् ।

‘मापदण्ड अनुसार छनौटमा परेका व्यक्तिहरुलाई राहत वितरण गर्न लागेका थियौँ, कांग्रेस निकट राजेश्वरप्रसाद यादव नेतृत्वमा आएको समूहले अभद्र व्यवहार गर्नुको साथै होहल्ला गरिरहेका थिए’ उनले भने ‘त्यही बेलामा वडा नं ६ का लागि राहत बोकेर ट्याक्टर आइपुग्यो । बाटो छेकेर सामग्री लुटेर लगे ।’

राहत वितरणमा खटिएका सुरक्षाकर्मीले भिडलाई नियन्त्रणमा लिन नसकेको र थप सुरक्षाकर्मी आउँदा उनीहरूले समान लुटेर भागिसकेको उनले बताए ।

पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम ढकालले ८४ पोका राहत सामग्री लुटिएको जानकारी दिए ।

‘वडा नं ५ मा लिस्ट अनुसार राहत वितरण भइरहेको थियो, स्थानीयले विभिन्न माग राखिरहेका थिए । त्यही क्रममा अर्को वडामा राहत पुर्‍याउन गाडी आइपुग्यो’ उनले भने ‘राजनीतिक स्वार्थ पूरा गर्न केही व्यक्तिले स्थानीयलाई उचालिदिए । ८४ पोका राहत सामग्री लुटेर लगे । ’

प्रशासकीय अधिकृत ढकालका अनुसार प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment