Comments Add Comment

स्पेनका बालबालिका घरबाहिर निस्कन पाउने, लकडाउन खुकुलो बनाउने तयारी

Photo Credit : Reuters

७ वैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाँच हप्तादेखि जारी लकडाउनका कारण घरभित्रै बसिरहन बाध्य स्पेनका बालबालिकाहरु घर बाहिर निस्किन पाउने भएका छन् ।

स्पेन सरकारले २७ अप्रिलदेखि बालबालिकाहरुलाई बाहिर निस्किन दिने भएको हो । प्रधानमन्त्री पेद्रो सान्चेजले २७ अप्रिलदेखि लकडाउन केही खुकुलो बनाउने र बालबालिकाहरुलाई घरबाहिरको ताजा हावा लिन दिने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री सान्चेजले बालबालिकाहरुलाई ताजा हावा लिन दिने भने पनि यससम्बन्धी विस्तृत योजना सार्वजनिक नभएको बीबीसीले जनाएको छ ।

यसअघि बार्सिलोनाकी मेयर एडा कोलाउले बालबालिकाहरुलाई घर बाहिर निस्किन दिन सरकारसँग अपील गरेकी थिइन् । मेयर कोलाउका साना सन्तान छन् ।

स्पेनमा कोरोना भाइरसबाट २० हजार बढीको मृत्यु भइसकेको छ भने झण्डै २ लाख जनामा संक्रमण पुष्टि भएको छ । स्पेनमा शनिबार एकै दिन ५ सय ६५ जनाको मृत्यु भएको छ । केही दिनयता स्पेनमा दैनिक मृत्यु हुनेको संख्या घट्दै गएको छ ।

प्रधानमन्त्री सान्चेजले शनिबारको पत्रकार सम्मेलनमा महामारी नियन्त्रणउन्मुख भएको बताएका छन् । तर पनि जोखिम अझै नटरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment