Comments Add Comment

लकडाउनलाई कसरी अवसरमा बदल्ने ?

घरभित्र बसिरहँदा कसरी आफूलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्ने ? आफ्नो दैनिकीलाई कसरी रचनात्मक र उत्पादनशील बनाउने ? कसरी मनोरञ्जनात्मक बनाउने ? यसका लागि आफ्नो दिनचर्यालाई सामान्य परिवर्तन गरे पुग्छ । भलै यी कुरा सामान्य लाग्छ, तर स्वस्थ जीवनका लागि अपरिहार्य छ ।

ब्रह्ममुहूर्तमा उठ्ने

बिहान घाम झुल्किनुभन्दा अगाडि नै उठौँ । आयुर्वेदमा यसलाई ब्रह्ममुहूर्तमा जागरण भनिन्छ । उचित मात्रामा निद्रा स्वास्थ्यको लागि आवश्यक छ । सामान्य मानिसले छदेखि आठ घण्टाको गहिरो निद्रा लिनुपर्छ ।

राति ढिलोसम्म बस्नु र बिहान ढिलोसम्म सुत्नु स्वास्थ्यको दृष्टिले अत्यन्तै हानिकारक छ । खास गरेर किशोरपुस्ता र युवाहरूमा यस्तो बानी बढी पाइन्छ । त्यसैले अविभावकहरूले विशेष ध्यान दिन र सम्झाउन जरुरी हुन्छ । बिहान चाँडै उठ्नकोे लागि सुत्ने बेलामा नै चाँडै उठ्ने संकल्प लिएर सुत्नुपर्छ ।

शरीर शुद्धीकरण गरौँ

उठेपछि मुख कुल्ला गरी दुई गिलास पानी पिएर दिशा पिसाबको लागि ट्वाइलेट जाऔँ । उठ्ने बित्तिकै दिशा गर्ने बानी छैन भने बल गरेर गर्ने प्रयत्न नगरौँ । तर, दैनिक रुपमा बिहानै दिशा हुनु राम्रो हुन्छ । दिशापिसाब गरेपछि साबुन पानीले हात धुनुपर्छ ।

डा. चन्द्र कार्की

मुख धुँदा नाक र आँखा राम्ररी सफा गरौँ । दाँत माझिसकेपछि जिब्रोको पछाडिको भागमा जम्मा भएको तह जिब्रोले बिस्तारै सफा गरौँ। जोडले गर्दा जिब्रोमा भएका ‘टेस्ट बड’ मा क्षति पुग्न सक्छ ।

योगासन गरौँ

घरमै बसेर कुनै शारीरिक श्रम एवं बौद्धिक काम नगरिरहेको अहिलेको समयमा व्यायामको सख्त जरुरत पर्छ । शारीरिक एवं मानसिक रुपमा स्वस्थ रहनको लागि सर्वोत्तम व्यायाम योगासन हो । सूर्य नमस्कार छोटो समयमा गर्न सकिने पूर्ण व्यायाम हो ।

जसले सिक्नुभएको छ तर नियमित अभ्यास गर्नुभएको छैन वहाँहरूले नियमित अभ्यास गर्ने र जसले सिक्नुभएको छैन वहाँहरुले टीभी हेरेर वा युट्युब हेरेर भए पनि सूर्य नमस्कार, आसन प्राणायाम एवं ध्यान सिक्ने उपयुक्त अवसर हो । आसनहरूले मूलरुपमा शारीरिक व्यायामको काम गर्छ, प्राणायामले मनलाई नियन्त्रणमा राख्न मद्दत गर्छ र ध्यानले आध्यात्मिक उन्नति गराउँछ ।

नाच्ने वा खेल्ने गरौँ

यसबाहेक नाच मनोरञ्जनात्मक हुनुको साथै व्यायामको उत्तम विधि पनि हो । खास गरेर बच्चाहरूसँग नाच्यौँ भने उनीहरुको पनि व्यायाम हुनुको साथैे समय पनि सिर्जनात्मक ढंगले बित्छ । डोरी नाघ्ने खेल (स्किपिङ्ग) घरमै गर्न सकिने अर्को व्यायामको विधि हुनसक्छ। सम्भव भएमा व्याडमिन्टन एवं टेबल-टेनिस खेल्न सकिन्छ । घर वरपर नै ‘मर्निङ वक’ गर्न वा साइकल चलाउन पनि सकिन्छ ।

मालिस गरौँ

दैनिक मालिस (मसाज) गर्नु अर्को स्वस्थकर बानी हो । यसको लागि मसाज थेरापिस्टकै आवश्यकता पर्दैन । आफैँले वा परिवारका सदस्यको सहायताले गर्न सकिन्छ । घरमै उपलब्ध तोरीको वा तिलको तेल अथवा आयुर्वेदिक औषधि पसलमा उपलब्ध मालिस गर्ने तेलहरूको समेत प्रयोग गर्न सकिन्छ ।

सम्पूर्ण शरीरमा मालिस गर्न सम्भव नभए पनि टाउको, कान तथा पैतालामा नियमित रुपमा मालिस गर्नु राम्रो हुन्छ ।

दैनिक नुहाउने गरौँ

स्वास्थ्यको दृष्टिले अर्को महत्वपूर्ण बानी दैनिक नुहाउनु पनि हो । आयुर्वेदमा यसलाई दिनचर्या अन्तर्गत राखिएको छ । अर्थात् दैनिक रुपमा गर्नुपर्ने काम भनिएको छ । दैनिक नुहाउँदा पसिना तथा मयल सफा हुने मात्र नभई पाचन क्षमता बढ्छ। थकान एवं तन्द्रा हट्छ, आयु, ओज एवं बल पनि वृद्धि हुन्छ ।

सुपाच्य र सही खाना

घरमै बसेर कुनै शारीरिक श्रम एवं बौद्धिक काम नगरिरहेको अहिलेको समयमा कम क्यालोरीको खाना खाँदा पनि पुग्छ । त्यसैले सामान्य अवस्थामाभन्दा कम खाना खानुपर्छ । दिनमा तीन पटकभन्दा बढी नखाऔँ। हाम्रो आमाशयलाई चार भागमा विभाजन गर्ने हो भने दुई भाग भात, रोटी आदि ठोस खाना, एक भाग दाल, तरकारीको रस आदि तरल पदार्थ र एक भाग खाली राख्नु उपयुक्त हुन्छ ।

पेटभरी खाँदा शरीर कुपोषित हुन्छ । याद रहोस् शरीरलाई पर्याप्त पोषक तत्व नपुगेको अवस्थालाई मात्र कुपोषण भनिँदैन, आवश्यकताभन्दा बढी खाएर रोग लाग्ने अवस्थालाई पनि कुपोषण नै भनिन्छ ।

खानाको सन्तुलन मिलाउने

अन्न (चामल, मकै, गहुँ, कोदो, फापर आदि), दाल-गेडागुडी र सागसब्जी, तरकारी एवं फलफूल दैनिक रुपमा खाऔँ। दूध र यसबाट बनेका परिकार पनि हप्तामा दुईचार पटक खान सकिन्छ ।

मासु, माछा एवं अण्डा हप्तामा एक पटकभन्दा बढी नखाऔँ । बारम्बार मासु-माछा खाँदा पायल्स, फिसर, युरिक एसिड, मोटोपन आदि विभिन्न प्रकारका समस्या आउने सम्भावना बढेर जान्छ । खाजा नास्ताको रुपमा घरमै बनाइएको आटाको रोटी-तरकारी, दही–चिउरा, मकै-भटमास-मही, दूध-सातु, खैरो पाउरोटी-चिया, फलफूल-सलाद-क्वाँटी, गहुँ-जौको चिउरा, ओट-दूध आदि खाने बानी गरौँ ।

जंगफुड त्यागौँ

यसको साथै चाउचाउ, बिस्कुट, आलु चिप्स, चकलेट, चिजबल जस्ता पत्रुखाना (जंकफुड) र अत्यधिक चिनी प्रयोग गरिएका फ्लेभर्ड जुस एवं चिसो पेय पदार्थ सकेसम्म खाँदै नखाने र बच्चाहरुलाई पनि नदिने गर्न सक्यौँ भने धेरै रोगहरूबाट टाढै रहन्छौँ । खानै मन लाग्दा वा बच्चाहरूलाई दिनै पर्दा पनि महिनामा एकदुई पटकभन्दा बढी नखाऔँ र नदिऔँ । चाउमिन, दुनोट, पप, मःम, सेतो पाउरोटी जस्ता मैदाबाट बनेका खाना पनि कहिलेकाँही मात्र प्रयोग गरौँ ।

तारेको-भुटेको खानेकुरा नखाऔँ

तेल एवं घिउमा तारेका–भुटेका, धेरै नुन, मसाला एवं खुर्सानी हालेका खाना पनि सकेसम्म नखाऔँ। दुखाइ कम गर्ने औषधिहरू पनि अत्यावश्यक अवस्थाबाहेक अरू प्रयोग नगरौँ । मद्यपान एवं धुम्रपान गर्दै नगरौँ। यी कुराहरू पालना गर्न सकिएमा तीव्र आमाशय कला शोथ (एक्युट ग्यास्ट्राइटिस) जस्ता समस्याबाट बच्न सकिन्छ र ‘इमर्जेन्सी’ रुपमा अस्पताल जानुपर्ने अवस्था आउनबाट जोगिन मद्दत पुग्छ ।

पर्याप्त शुद्ध पानी पिउने गरौँ

पानीबाट झाडा, वान्ता, टाइफाइड, हेपाटाइटिस आदि थुप्रै सरुवा रोगहरू सर्ने हुनाले र यस्ता रोगहरू लागिहालेमा तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्ने हुनाले पिउनको लागि उमालेर वा अन्य विधिबाट निर्मलीकरण गरिएको पानीमात्र प्रयोग गरौँ । दिनमा ८ देखि १२ गिलास (२/३ लिटर) पानी पिउने गरौँ।

सकारात्मक कुरा गरौँ, रमाऔँ

कोरोना भाइरसको बारेमा भ्रामक समाचार र अफवाहको कारणले अनावश्यक डर एवं चिन्ता उत्पन्न भएर शारीरिक एवं मानसिक रोगको औषधि खाइरहेका व्यक्तिहरूमा रोग बढ्न सक्ने हुनाले उनीहरूलाई समय दिएर कुराकानी गर्ने, यससम्बन्धी वास्तविक जानकारी गराउने र सकारात्मक कुराहरू पढ्न, हेर्न वा सुन्न उत्प्रेरित गर्ने गर्नाले सम्भावित जटिलताहरूबाट बच्न सकिन्छ । यसको साथै बच्चाहरू खेल्ने क्रममा चोटपटक लाग्ने वा दुर्घटनामा पर्नसक्ने हुनाले विशेष ध्यान दिन जरुरी छ ।

कसरी रचनात्मक बनाउने ?

–पुस्तक पढ्ने (पाठ्यक्रमको वा पाठ्यक्रम बाहिरको जीवनी, कथा, कविता, उपन्यास आदि), अनुसन्धात्मक जर्नलहरू पढ्ने, साहित्य एवं  लेख लेख्ने ।

–आसन, प्राणायाम एवं ध्यान गर्ने, पेन्टिङ गर्ने, नाच्ने, गीत गाउने एवं संगीत सुन्ने, आफ्नो विषयसम्बन्धी भिडियो बनाएर युट्युबमा राख्ने ।

–कोठाको सरसफाइ गर्ने एवं कोठा ‘रिएरान्ज’ गर्ने, खेतबारीको काम गर्ने ।

–फोन, मेसेञ्जर, भाइबर आदि माध्यमबाट पुराना पारिवारिक एवं सामाजिक सम्वन्धहरू पुनःस्थापित गर्ने ।

– नयाँ परिकार बनाउन सिक्ने, घरको काममा परिवारका सदस्यलाई मद्दत गर्ने, समस्यामा परेका व्यक्तिहरूलाई मद्दत गर्न स्वयंसेवीको काम गर्ने ।

–चेस, क्यारेम, लुँडो आदि घरभित्रै खेल्न सकिने खेल खेल्ने, फिल्म  एवं टीभी सो हेर्ने, विगतका कुराहरूबाट सिक्दै भविष्यको योजना बनाउने, गुगल वा युट्युब हेरेर आफ्नो ‘करियर’को लागि उपयोगी, प्रेरणादायी एवं नयाँ कुराहरू सिक्ने, दैनिकी लेख्ने आदि ।

यी कुराहरूलाई व्यवहारमा उतार्न सकेको खण्डमा धेरै सरुवा रोग एवं नसर्ने रोग लाग्नबाट बच्न सकिन्छ र लकडाउनको विषम परिस्थितिमा अस्पताल जानुपर्ने बाध्यात्मक अवस्थाबाट बच्न सकिन्छ ।

(आयुर्वेदको कायचिकित्सा (इन्टर्नल मेडिसिन) विषयमा एम.डी. गरेका डा. चन्द्र कार्की हाल रोयल आयुर्वेद जावलाखेल र न्यूलाईफ आयुर्वेद गोङ्गबुमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment