
९ वैशाख, काठमाडौं । भक्तपुर नालाको एक इँटाभट्टामा काम गर्ने ४० जना हिँड्दै घर जाने अठोट गरेर इँटाभट्टा छाडे । समूहमा महिला, बच्चादेखि वृद्धहरू पनि थिए ।
एक महिना लामो लकडाउनका कारण उनीहरूले काम गर्न पाएका थिएनन् । पहिला काम गरेर पाएको पारिश्रमिक सकिइसकेको थियो । खान बस्न गाह्रो हुन थालेको थियो । इँटाभट्टा सञ्चालकले पनि लामो समयसम्म सहयोग गर्न सकेनन् ।
त्यसैले, भोकले मरिने पो हो कि भन्ने डर बढ्यो । त्यसैले हिँडेर भए पनि आफ्नै घर जाने भनेर हिम्मत कसे । आफूसँग भएका पोका पन्तुरो बोरामा कसे । हिँड्दै जगाती आइपुगे ।
त्यहाँ यसरी नै विभिन्न स्थानबाट हिँडेर आइपुगेका मजदुरहरू गाडी चढिरहेका थिए । उनीहरूलाई पनि गाडीमै जान पाइन्छ कि आश पलायो । त्यहाँ नवलपरासीसम्म जाने एउटा ट्रक थियो । त्यही ट्रकमा उनीहरू चढे ।
तर, एउटै ट्रकमा क्षमताभन्दा बढी यात्रु भएकाले उनीहरूलाई ओरालियो । एकछिन त उनीहरूलाई इँटाभट्टामै फर्किनु पर्ने हो कि भनेर चिन्ता लाग्यो ।
तर, त्यो लामो समय रहेन ।
उनीहरूको बिजोक देखेपछि ड्युटीमा खटिएका प्रहरीहरूले इँट्टाभट्टा सञ्चालकलाई सम्पर्क गरे । उनीहरूलाई पठाउन गाडी लिएर आउन निर्देशन दिए । प्रहरीले नै फोन गरेपछि इँटाभट्टा सञ्चालक गाडी नै लिएर आए ।
त्यसपछि इँटाभट्टा फर्किनु पर्ने हो कि भन्ने चिन्तामा रहेका मजदुरहरू खुसी भए । प्रहरीलाई धन्यवाद दिँदै गाडीमा हुइँकिए ।
प्रतिक्रिया 4