+
+
Shares

तिलोत्तमामा किसानको तरकारी सीधै उपभोक्ताको घरमा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ९ गते १५:०९

९ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्र किसानले उत्पादन गरेका तरकारी खेत–बारीबाट उपभोक्ताको घर–दैलोमै पुर्‍याउन थालेको छ ।

लकडाउनका कारण तरकारी हाटबजार समेत बन्द हुँदा उत्पादित तरकारी बिक्रीमा समस्या भएपछि नगरपालिकाले चार वटा पिकअप भ्यान र एउटा अटो रिक्साको व्यवस्था गरेर हरेक दिन १७ वटै वडाका घर–घरमै तरकारी पुर्‍याउन शुरु गरेको हो ।

तरकारी बोक्ने गाडीमा नगरपालिकाले हरेक दिनको मूल्यसूचि सहितको ब्यानर पनि राख्न लगाएको छ । सबै वडाका उपभोक्ताले एउटै मूल्यमा तरकारी किन्न पाएका छन् ।

‘लकडाउन भएपछि तरकारी बजारमा पुर्‍याउन नसकेर नोक्सान हुने चिन्ता थियो’ तिलोत्तमा १४ का अगुवा तरकारी किसान पन्नेलाल केवटले भने, ‘मेयर आफैं बारीमै आएर गाडीको व्यवस्था गरिदिन्छौं सबै वडाका घर–घरमा लगेर बेच्नुस् भनेपछि ढुक्क भएर बेच्न थाल्यौं ।’

उत्पादित तरकारी सजिलैसंग बेच्न पाउँदा सबै किसान उत्साहित भएका केवटले बताए । किसानलाई पनि लगानी अनुसार नाफा निस्केको र उपभोक्तालाई पनि बजारमा भन्दा सस्तो हुने गरी मूल्य तय गरेर सहुलियत दरमै बेचेको केवटले बताए ।

‘बजारमा भन्दा सबै तरकारी राम्रो र सस्तो पनि रहेछ’–तिलोत्तमा–८ कि गृहिणी अम्बिका घिमिरेले भनिन्, ‘नगरपालिकाले सधैं यसरी नै बेच्न लगाउने हो भने जनतालाई धेरै राहत हुन्छ ।’

तिलोत्तमाले वडा नं. १४ को रेहरालाई तरकारी पकेट क्षेत्र घोषणा गरेको छ । पकेट क्षेत्रमा मात्रै २० समूहमा आवद्ध पाँच सय बढी किसानले ५० हेक्टर बढी जग्गामा तरकारी खेती गर्दै आएका छन् ।

किसानले कम्तीमा पाँच कठ्ठादेखि बढीमा १० बिघा जग्गामा तरकारी खेती गरेका छन् । पकेट क्षेत्रमा मात्रै दैनिक २० क्वीन्टल तरकारी उत्पादन हुने गर्छ ।

नगरभित्र करेसाबारीसहित एक हजार एक सय ५० हेक्टर जग्गामा तरकारी खेती हुने गरेको र वार्षिक ५० हजार पाँच सय मेट्रिक टन तरकारी उत्पादन हुने गरेको कृषि शाखाका प्रमुख दोमलाल भुसालले बताए ।

तरकारी बिक्रीका लागि नगरपालिकाले पकेट क्षेत्र रेहरामा ५० लाख लगानीमा कृषि हाटबजार समेत सञ्चालन गरेको छ । तर लकडाउनपछि कृषि हाटबजार पनि बन्द भएपछि किसानहरु उत्पादन नबिक्ने चिन्तामा थिए ।

‘किसानको तरकारी बिक्री नभएर नोक्सानी बेहोर्न नपरोस् र कोरोनाको त्रासका बेला नगरवासीले भारतीय तरकारी उपभोग गर्न नपरोस् भनेर किसानलाई गाडीको व्यवस्था गरेर घरघर पुर्‍याएर बेच्ने नीति लिएका हौं’ नगर प्रमुख बासुदेव घिमिरेले भने ।

अहिले बिचौलियाको अन्त्य भएको, नगरवासीले सस्तो तरकारी पाएको र किसानले पनि उचित मूल्य पाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?