Comments Add Comment

गर्भवतीहरु अस्पतालमा प्रसूती सेवा लिन डराइरहेका छन् : डा. वालकृष्ण शाह

कोरोना भाइरसको संक्रमण फैलिदै गर्दा समग्र स्वास्थ्य क्षेत्र यसैको प्रतिरक्षामा उभिएको छ । कोरोना भाइरसको संभावित जोखिमबाट कसरी बच्ने वा संक्रमितको उपचार कसरी गर्ने भन्नेमै केन्द्रित छन् । यसको सोझो असर चाहि नियमित अस्पताल धाइरहेका अन्य रोगी र गर्भवतीलाई परेको छ ।

धेरैजसो गर्भवती द्विविधामा छन्, अस्पताल जाने कि घरमै बस्ने भनेर । स्वास्थ्यमा कुनै जटिलता आएमा के गर्ने वा प्रसुती सेवा लिनका लागि अस्पताल पुग्न कति सुरक्षित होला ? उनीहरु स्पष्ट छैनन् । यसै सन्दर्भमा प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. वालकृष्ण शाहसँग अनलाइनखबरले कुराकानी गरेको छ ।

अहिले लकडाउनको समयमा गर्भवतीहरु वा प्रसूती सेवा लिनेहरु कति आइरहेका छन् ? विगतको तुलनामा बढेको छ वा घटेको ?

लकडाउनको समयमा गर्भवतीलाई अस्पताल आउजाउ गर्न गाह्रो हुन्छ । यसका साथै अस्पतालमा आउनु गर्भवतीहरुलाई जोखिम पनि हुन्छ । त्यसैले यस अवस्थामा बिगतका तुलनामा सेवा लिन अस्पताल आउने गर्भवतीको संख्या घट्नु स्वाभाविक नै हो । लकडाउनमा नियमित ओपिडी सेवा नि बन्द रहेको छ । आकस्मिक सेवा र केहि ओपिडि सेवा मात्र सञ्चालनमा रहेको छ ।

अहिले डेलिभरीको गराउनेको संख्या कस्तो छ ?

हुन त लकडाउनले अस्पतालमा डेलिभरीको संख्यामा फरक नपर्नु पर्ने हो । तर अहिले म काम गर्ने अस्पतालहरुमा डेलिभरी केहि घटेको छ, अरुको थाहा छैन ।

अस्पताल आउन डराइरहेका त छैनन् नि ?

डर त सबैलाई हुन्छन् नि । अस्पतालमा विभिन्न किसिमका मान्छे हुन्छन् । फेरि यो कोभिड १९ संक्रमितको कुनै लक्षण हुदैन तर रोग सार्न सक्ने भएकाले धेरै भिडभाडमा नजानु नै राम्रो हो । त्यसैले अस्पताल आउजाउ गर्न डराउनु स्वभाविक हो ।

डा. वालकृष्ण शाह

फोनबाट नियमित सम्पर्कमा रहने र परामर्श लिने हुन्छन् ?

नियमित मसंग परिक्षण गर्ने गर्भवती तथा अन्य महिलाहरुले फोनबाट तथा अनलाईनबाट परामर्श लिई रहेका छन् । कतिले आवश्यक रिपोर्ट पनि अनलाईनमा पठाएर सल्लाह लिने गरेका छन् । यस अवस्थामा यो आवश्यक पनि छ ।

परामर्शका क्रममा गर्भवतीहरुले के कुरामा बढी चासो राखिरहेका छन् ?

अधिकाशं गर्भवतीहरुले आफ्नो डेलिभरीका विषयमा चिन्ता व्यक्त गर्छन् । अस्पताल बन्दका खवरले चिन्तित हुन्छन् । तर नियमित मैले परिक्षण गराएका गर्भवतीप्रति मेरो जिम्मेवारी भएको अवगत गराउदै नआत्तिन र आवश्यक्ता अनुसार सुरक्षित उपाय गर्न गराउन आफु सहयोगी हुने विश्वास दिलाउदै हामीले सेवा दिदै आएको जानकारी गराउदै छु ।

गर्भवतीहरुलाई अस्पताल वा घर आउजाउ गर्न सहज छ छैन ?

यस अवस्थामा अस्पताल आउनु त्यती सुरक्षित नहुन सक्छ न । अति आवश्यक नभए सम्म अस्पताल नआउन नै सल्लाह दिन्छु । अहिले लकडाउन हो, कर्फ्यु होईन ।  बिराटनगरमा अस्पताल अस्पताल आउन जान सुरक्षाकर्मीले रोकेको सुनेको छैन । तर सार्वजानिक सवारी साधन नचल्दा केहि गा¥हो त अवश्य होला नि ।

उनीहरुको मनोदसा कस्तो पाउनुभएको छ ? डराएका त छैनन् ?

अधिकाशं गर्भवतीमा डर छ । एकातिर कोभिड १९ को संक्रमणको डर, अर्कातिर अस्पताल बन्द हुने हो कि भन्ने डर । तर डराउनु आवश्यक छैन, बरु समयमै आफ्ना चिकित्सकसंग फोनमा सम्पर्क गरेको राम्रो हुन्छ ।

कोरोनाको संक्रमणबाट गर्भवतीहरु बढी प्रभावित हुन सक्छन् ?

कोरोनाले गर्भवतीहरुलाई अन्य मानिसहरुलाई जस्तै असर गर्ने हुन् । यसले श्वासप्रश्वास प्रणलीमा असर गर्ने हो । यसले गर्भवतीलाई बढि वा कम भन्ने बारे स्पष्ट हुने गरी प्रयाप्त अध्ययन, अनुसंधान भई सकेको छैन । तर गर्भ रहने उमेरमा यसको प्रभाव बृद्धहरु भन्दा कम छ ।

कोरोनाको संक्रमण भएमा गर्भको बच्चालाई असर हुन्छ होला ?

गर्भको बच्चालाई कोभिड १९ को संक्रमणले असर गर्दैन भन्ने कुरा आएको छ ।

गर्भवतीहरुले यतिबेला कस्तो सजगता अपनाउनुपर्छ ?

गर्भवतीहरुले यस अवस्थामा कोभिड१९ को संक्रमणबाट जोगिनु नै राम्रो हो । यसका लागि  यसका लागि घर बाहिर ननिस्कनु, बाहिरबाट आएका मानिसहरुलाई नभेट्नु तथा भिड नगर्नु उत्तम उपाय हुन सक्छ । बाहिरबाट लिएर आएका सामानहरु पनि राम्ररी सफा गरेर मात्र प्रयोग गर्नु पर्छ ।

घरमै डेलिभरी गराउनु कति सुरक्षित हुनसक्छ ?

पहिले घरमा नै धेरैको डेलिभरी हुन्थ्यो । अहिले पनि स्वास्थ्य संस्थामा ५४ प्रतिसतको मात्र डेलिभरी भएको स्वास्थ्य सेवा विभागको २०७४-७५ को बार्षिक प्रतिवेदनले देखाएको छ । तर घरमा डेलिभरी गराउनु राम्रो होईन । यस अवस्थामा सिमित श्रोत र साधन भएकाले भन्ने बितिकै साधन नपाउने, अस्पतालमा पनि स्वास्थ्यकर्मीको कमी हुन सक्ने भएकाले बेलैमा अस्पतालमा आएर प्रसब गराउनु राम्रो हो । घरमा प्रसव गराउने प्रयासमा आपत्कालिन अवस्थामा गा¥हो हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment