Comments Add Comment

यो वर्ष नेपाली चलचित्रले भोग्नेछ यस्ता समस्या

वैशाख १५ सम्म देशभर लकडाउन छ । यदि सरकारले हाल तोकेको वैशाख १५ पछि लकडाउन खुकुलो बनायो भनेपनि चलचित्र हलहरू सञ्चालनमा आउनका लागि केही समय लाग्नेछ ।

यसैपनि, सरकारले चलचित्र भवन वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरिसकेको छ । तर, अवस्था सामान्य हुनका लागि अझै पनि समय लाग्ने देखिन्छ ।

सायद लकडाउन खुलेपछि सबैभन्दा ढिलो सञ्चालनमा आउने क्षेेत्र नै सिनेमा हल हुन् । चलचित्र भवनहरू खुलेपनि दर्शकहरू तत्काल हलमा आउने वातावरण देखिँदैन। किनकी, स्थिति सामान्य हुनका लागि अझै केही महिना लाग्न सक्छ।

चलचित्रकर्मीहरूले नै भदौ अगाडि चलचित्रका लागि दर्शक आउने वातावरण नबन्ने बताइसकेका छन् ।

यस्तो अवस्थामा यो वर्ष नेपाली चलचित्रसँग थुप्रै चुनौती पनि छन् । विश्व स्वास्थ्य संगठनकै भनाइलाई आधार मान्ने हो भने पनि कोरोना भाइरसको भ्याक्सिन पत्ता नलागेसम्म यो शून्यमा झर्ने छैन ।

सामाजिक दुरी अझै दुई वर्ष कायम गर्नुपर्नेछ भन्ने खालका खबर पनि सार्वजनिक भइरहेका छन् ।

चलचित्र भवन यस्तो एउटा ठाउँ हो, जहाँ सामाजिक दुरी कायम गर्न सम्भव छैन । यसैले पनि हलमा पुगिहाल्ने र चलचित्र हेरिहाल्ने मुडमा दर्शक हुने छैनन् ।

अहिलेसम्मको परिस्थिति हेर्दा, नयाँ कुनै पनि चलचित्रका निर्माताले रिलिज मिति तोकेका छैनन् । लगानी महँगो गरेका निर्माता केही महिना पर्ख र हेरकै अवस्थामा बस्नुपर्ने देखिन्छ। जसले गर्दा, नेपाली चलचित्र हल सञ्चालनमा आउनको लागि अझै केही महिना कुर्नुपर्नेछ ।

एकातिर लकडाउन धेरै समय नखुल्दा नेपाली चलचित्र उद्योग समस्यामा पर्ने देखिन्छ भने अर्कोतिर लकडाउन खुलेपछि हलहरूमा चलचित्रको भिड हुने र नेपाली चलचित्र नै एक आपसमा जुध्ने समस्या हुने देखिन्छ। यो वर्ष हललाई चलचित्रको अभाव हुने छैन। कारण, बलिउडका अधिकांश चलचित्रको रिलिज मिति पनि पछि सरेकाले हलिउड र बलिउड चलचित्र चलाएरै हलहरू अगाडि बढ्न सक्नेछन् । तर, यसको असर नेपाली चलचित्रमा पर्ने निश्चित छ ।

यो वर्ष रिलिज हुने चलचित्रले कुनै न कुनै बलिउड र हलिउड चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यसले, चलचित्रको बक्स अफिसमा असर पर्ने पक्का छ ।

यो वर्ष नेपाली चलचित्र कम रिलिज हुनेछन् । चलचित्रको छायांकन पनि कम हुनेछ । यसले, चलचित्रमै निर्भर रहेर दैनिक जीवनयापन गरिरहेका चलचित्रकर्मीलाई भने असर पर्नेछ ।

यो वर्ष ठूला मेकरले चलचित्र बनाए पनि रिलिज गर्ने सोच नबनाउने देखिएको छ । जसले बक्स अफिसमा ठूलो असर पर्नेछ । नेपाली चलचित्रसँग यो वर्ष समस्याको ताँती छ । यसलाई समाधान गर्ने कसरी ? सबैले सोच्नु पर्ने बेला आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment