
१० वैशाख, बुटवल । बर्दियाका प्रमुख राजनीतिक दल र प्रमुख जिल्ला अधिकारीसहित सरकारी निकायका प्रमुखहरुले कोरोना भाइरस (कोभिड-१९) को र्यापिड टेस्टको संख्या बढाउन, स्वास्थ्य सामग्रीको आपूर्ति बढाउन र स्वास्थ्य संस्थाहरुलाई सक्षम बनाउन मुख्यमन्त्रीसँग माग गरेका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे मुख्यमन्त्री शंकर पोखरेलले बर्दियास्थित राजनैतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिका प्रमुखसँग एकीकृत भिडियो संवाद गर्ने क्रममा उनीहरुले यस्तो माग गरेका हुन् ।
सर्वपक्षीय भिडियो संवादमा बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेम खनाल, जिल्ला समन्वय समितिका प्रमुख शंकर थारु, नेकपा बर्दिया इञ्चार्ज लक्ष्मण ज्ञवाली, कांग्रेस जिल्ला सभापति सञ्जय गौतम र नेकपा बर्दियाका अध्यक्ष भुवन थारुले र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)को दायरा समुदायस्तरसम्म पुर्याउन सके मात्रै ढुक्क हुने अवस्था आउने मुख्यमन्त्रीलाई सुझाएका थिए ।
उनीहरुले कोरोना शंकास्पद बिरामीको उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री र टेस्ट किटको पर्याप्त व्यवस्था गर्न र सरकारी अस्पतालहरुलाई पूर्वाधार र उपकरणले सक्षम बनाउन मुख्यमन्त्रीसँग आग्रह गरेका छन् । बर्दियामा सामुदायिक क्वारेन्टाइन बनाउन थालिएको पनि उनीहरुले जानकारी गराएका थिए ।
मुख्यमन्त्री पोखरेलले सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या थपेर कडाइ गरिएको जानकारी दिदै पहिलो चरणमा स्वास्थ्य सामग्री पठाइएको अब उपलब्ध गराउँदे जाने बताएका थिए ।
उनले चिकित्सकसहितका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ काममा खट्न प्रेरित गर्न र स्थानीय श्रमलाई प्रयोग गरेर गर्ने काम र क्वारेन्टाइनमा राखेर गर्न सकिने विकास निर्माणका काम नरोक्न र अघि बढाउन निर्देशन दिएका छन् ।
राहत संकलन र प्रदान एकद्वार प्रणालीबाट अघि बढाउन आग्रह गर्दै मुख्यमन्त्रीले कोरोनाविरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यको खाँचो औंल्याएका मुखयमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
प्रतिक्रिया 4