Comments Add Comment

पिटर जे कार्थकलाई श्रद्धार्पण

गत मंसिर ३ गते २०७६ का दिन कुपन्डोलको उनको आफ्नै निवासमा भेटेर अन्तर्वार्ता लिइरहँदा अहिले पाँच महिनापछि नै उनलाई श्रद्धाञ्जलि दिनुपर्ला भनेर मैले कल्पना नै गरेको थिइनँ ।

२०७२ सालको भुइँचालोले घरको स्वरुपलाई धक्का दिएपछि अझै व्यवस्थित नभए पनि शौचालयसहितको आफ्नो छुट्टै लेखन अध्ययन कक्षमा आफ्नो सिर्जन कर्ममा उनी जुटिरहेका थिए ।

नेपाली संगीत क्षेत्रका प्रतिभाहरूको पुस्तक “नेपाली म्युजिक मेकर्स” र “काठमाण्ड्यूड” उनका नवीनतम कृतिहरू थिए । उनका यी कृतिहरू विगत वर्षभित्र प्रकाशित भएका थिए । उनी पछिल्लो समय सिर्जनात्मक कार्यमा निरन्तर सक्रिय छन्। तर, स्वास्थ्यमा भने अलिक समस्या हो कि भन्ने लाग्थ्यो । तर, त्यसको आभास उनको अनुहारमा थिएन, बोलीमा थिएन।

नेपालका तत्कालीन शासकबाट प्रताडित उनका पूर्खाहरू इलामबाट दार्जिलिङ प्रवेश गरेका थिए । उनीहरू इसाई धर्ममा लागेका थिए । पिटर आफू इसाई धर्मावलम्बी भएकोमा गर्व गर्थे ।

उनका पूर्खाहरू पूर्वी नेपालको इलामबाट बाहिरिएका थिए भने पिटर कामको खोजीमा जागिरका लागि दार्जिलिङबाट वीरगञ्ज प्रवेश गरेका थिए । त्यो प्रवेश नै उनको नेपाल आजीवन बस्ने शुभ साइतका रुपमा भएको प्रमाणित भयो कालान्तरमा ।

पिटर जे कार्थकको नेपाली साहित्यमा जोडदार उपस्थिति उनको पहिलो उपन्यास ” प्रत्येक ठाउँ प्रत्येक मान्छे” बाट भयो । यो उपन्यास साझाबाट प्रकाशन हुने बित्तिकै नेपाली साहित्य जगतमा भुइँचालो ल्याउन सफल भयो । साहित्यकारहरूबीच चर्चाको विषय भयो ।

आधुनिक नेपाली साहित्यका विलक्षण प्रतिभा शंकर लामिछानेले आफ्नो जीवन कालमा जम्माजम्मी दुईवटा पुस्तकको भूमिका लेखेका थिए । पहिलो थियो, पारिजातको “शिरीषको फूल” भने दोश्रो थियो पिटर जे कार्थकको ” प्रत्येक ठाउँ: प्रत्येक मान्छे” ।

अर्को सुखद् संयोग मान्नुपर्छ, उनले भूमिका लेखेका दुवै पुस्तक पुरस्कृत भए । पारिजातको “शिरीषको फूल”ले मदन पुरस्कार पायो भने पिटर जे कार्थकको ” प्रत्येक ठाउँ: प्रत्येक मान्छे” ले साझा पुरस्कार ।

यो उपन्यास २०३४ सालमा साझा प्रकाशनले प्रकाशित गरेको थियो र त्यस सालको साझा पुरस्कार पाएको थियो ।

“प्रत्येक ठाउँ प्रत्येक मान्छे” दार्जिलिङको पृष्ठभूमिमा लिखित साँचो घटनामा आधारित आख्यान थियो । यो उपन्यास लेखिसकेपछि उनले संगीतकार अम्बर गुरुङलाई देखाए । अनि अम्बर गुरुङको माध्यमबाट भूमिकाका लागि यो उपन्यास शंकर लामिछाने कहाँ पुग्यो । शंकरले भने, ” मलाई चित्त बुझ्यो भने मात्र लेख्छु ।”

शंकरले उपन्यास मन पराए । तर, उपन्यासको पुनर्लेखन गर्न पटकपटक लगाए । पिटरले शंकरले भने बमोजिम पुनर्लेखन गर्दै गए । अन्त्यमा शंकर लामिछानेको भूमिका पनि आयो । शंकरकै सुझाव अनुसार पिटरले उपन्यास प्रकाशनार्थ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई बुझाए । तर, लामो समयसम्म निर्णय नभएपछि उनले त्यो पाण्डुलिपि फिर्ता ल्याए ।

यो उपन्यासको लेखन, पुनर्लेखन, भूमिका लेखन र त्यस सिलसिलामा भएका साहित्यिक जमघट र बस उठ नेपाली साहित्यका सम्झनायोग्य घटनाक्रम थिए पिटरका लागि । शंकर लामिछाने मण्डलीसँगको त्यो कालखण्डको संगत पिटरको जीवनको उल्लेखनीय र स्मरणीय समय थियो ।

प्रज्ञा प्रतिष्ठानबाट फिर्ता ल्याएपछि थन्किएर बसेको “प्रत्येक आउँ:प्रत्येक मान्छे” उपन्यास उत्तम कुँवरको सिफारिसमा कृष्णचन्द्र सिंहले अन्तत: साझा प्रकाशनबाट प्रकाशित गरिदिए २०३४ सालमा ।

खासमा ध्रुवचन्द्र गौतमको उपन्यास “वालुवामाथि” पनि उत्तम कुँवरको सिफारिसमा कृष्णचन्द्र सिंह प्रधानले साझाबाट प्रकाशित गरिदिएका थिए । तर, ध्रुवचन्द्र गौतमको दुर्बोध्य उपन्यास पाठकका लागि सहज नभएकाले कृष्णचन्द्रले खप्की खानुपरेको थियो।

तर, यो उपन्यासले त्यसको पनि क्षतिपूर्ति गर्यो । “प्रत्येक ठाउँ: प्रत्येक मान्छे” पाठक, अध्येता, समालोचक सबैले रुचाए । चर्चा भयो । तारिफ भयो र पायो साझा पुरस्कार पनि । यो उपन्यासले उनलाई सफल उपन्यासकारको स्थान दिलायो ।

दार्जिलिङको सत्य घटनामा आधारित यस उपन्यासको एक पात्र उनी आफैँ भएको भन्ने पनि साहित्यिक वृत्तमा गाइँगुइँ चलेको थियो । तर, उनले यसलाई सत्य नभएको भन्दै इन्कार गरिदिए ।

आफ्नै अनुवादमा पछि यो उपन्यास ” ईभ्री प्लेस: ईभ्री पर्सन” का रुपमा आयो पुनर्लेखन र परिमार्जनका साथमा । नेपाली मूल पाठभन्दा बढी अंश पनि थपे उनले । अंग्रेजी भाषी पाठकहरूबाट पनि यो उपन्यासले राम्रो प्रभाव पार्न पायो । यस उपन्यासलाई “अ हिमालयन टेल फ्रम दार्जिलिङ” उपशीर्षक दिइएको थियो । उनको मूल अंग्रेजीमै लेखिएको उपन्यास ” काठमाण्ड्रयूडस्” पछिल्लो आख्यान कृति थियो ।

यस कृतिलाई ” मोनोमिथ्स एण्ड मिनिमिथ्स्” उपशीर्षक दिइएको थियो । यस उपन्यासको विमोचनमा सिके लालले भने “यो उपन्यासले आफ्नो अस्तित्व कायम राख्न सङ्घर्ष गरिरहेका सम्भ्रन्तहरू र पैसा र शक्ति आर्जन गरेकाहरूले सम्भ्रान्त हुन कोसिस गरिरहेका दुई सम्भ्रान्त वर्गको कथा रहेको बताएका थिए ।

उनले भनेका थिए, “शब्दमा सङ्गीत हुन्छ, संगीतकै पृष्ठभूमिबाट आएकाले होला पिटरले शब्दको सङ्गीत कायम राखेका छन् ।” उनी आफैँले भने नेपाल मण्डला र आधुनिक काठमाडौंको कथा सँगसँगै लेखिएकाले उपन्यास “डबल हेलिक्स” भएको बताएका थिए । उनको भनाइ थियो, ” यो पुस्तकले तपाईंलाई आकर्षित गर्दैन, बरु चुनौती दिन्छ ।”

उनको अंग्रेजी उम्दा थियो । उनी “द काठमाण्डु पोस्ट” र ” द रिपब्लिकामा” सम्बन्धित रहँदा लेखिएका साहित्यिक संस्मरणात्मक लेखहरु निकै चोटिला हुन्थे र लोकप्रिय थिए ।

लेखनका क्रममा उनले फूटकर कथाहरू पनि लेखे र विभिन्न पत्रपत्रिकामा प्रकाशित भए । तिनलाई समेटेर साझा प्रकाशनबाट ” पिटरका कथाहरू” प्रकाशित भयो । तर, “प्रत्येक ठाउँ : प्रत्येक मान्छे” बाट प्रभावित पाठकहरूलाई यो सङ्ग्रहले खासै आकर्षण दिन सकेन । यद्यपि यी कथाहरू समकालीन नेपाली कथा साहित्यमा राम्रो उपस्थिति देखाउन सक्षम कथाहरू थिए ।

पिटरको चर्चामा नआएको र पुस्तकमा समेत नआएको गद्यको म प्रशंसक थिएँ । रुपरेखा युगको जाज्वल्यमान कालखण्डमा पिटरले धारावाहिक संस्मरण लेखेका थिए । “मेरा सुखदु:खका वर्षहरू: सेता कपाल” ।

युवावस्थामै कपाल फुलेर सेतै भएपछि त्यसको उपचारका लागि गरिएका अनेक प्रयत्न र उपायहरू अवलम्बन गर्दाका रोचक, रोमाञ्चक र कतिपय अविश्वसनीयझैं लाग्ने त्यसमा वर्णित प्रसङ्गहरू अविस्मरणीय छन् । ती संस्मरण पढ्दै जाँदा कपाल कालो हुने आशामा कसैले बताइदिए मुताविक आफ्नो वीर्यसमेत कपालमा दलेको प्रसङ्गले पाठकलाई आङ् जिरिङ्ग समेत गराउँछ ।

पिटरले आफ्नो जीवनको विविध कालखण्डमा विविध पेशा अँगालेका थिए । दार्जिलिङबाट स्कुले शिक्षक हुन वीरगञ्ज आएका उनले स्कुल तथा कलेजमा समेत प्राध्यापनको काम गरे । क्यासिनोको सुपरभाइजर बने । सडक निर्माता बने । पत्रकारिता पनि गरे, अं‌ग्रेजीको माध्यमबाट । रिसोर्ट होटलमा काम गरे । तर, जे-जे पेशा अँगाले पनि साहित्य उनबाट छुटेन । उनलाई चिनारी दिने, प्रतिष्ठा दिने काम लेखनले नै गर्‍यो । उनलाई आत्मिक सन्तुष्टि दिने काम लेखनले नै गर्‍यो । साहित्यले नै गर्‍यो।

सामाजिक सञ्जाल फेसबुकमा २०७७ वैशाख १ गते नयाँ वर्षको दिन उनले नयाँ वर्षको शुभकामना दिँदै अचानक आफू नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा भर्ना भएको उल्लेख गरेका थिए । उनले लेखेका थिए, ” क्यान्सर इन द टाइम अफ कोरोना।” त्यसपछि वैशाख ३ गते आफ्नो पहिलो केमोथेरापी सम्पन्न भएको जनाएका थिए । त्यसको एक हप्तामै वैशाख १० गते विहानै उनी ब्रह्मलीन भए ।

उनको जन्म १२ डिसेम्‍बर १९४३ का दिन भारतको असम राज्यको शिलोङमा भएको थियो । उनले ७७ वर्ष उमेर सार्थक रुपमा बिताए ।

बृन्दावन, भारत ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment