Comments Add Comment

छालामा देखिने नीलडाम के हो ?

कहिलेकाहीँ कुनै बाहिरी कारणविना नै छालामा नीलडाम देखिन्छ । हेर्दा कतै ठोक्किएको जस्तो वा कुनै जनावारले टोकेको जस्तो देखिन्छ । प्राय कालो वा गाढ नीलो दाग देखिन्छ । यसलाई कतिले समान्य लिन्छन् । यद्यपि छालामा देखिने यस्ता नीलडामले खराब स्वास्थ्य स्थितिको पनि संकेत गर्छ ।

किन हुन्छ यस्तो ?

चिकित्सकहरूकाअनुसार यस्तो नीलडाम शरीरमा आन्तरिक रक्तश्रावको कारण हुनेगर्छ । शरीरमा हुने रक्तश्रावलाई रोक्न प्लेटलेट्सले महत्वपूर्ण भूमिका खेल्ने गर्छ । रगतमा प्लेटलेट्सको कमी भएमा रगत जम्न गाह्रो हुन्छ । यही कारण रक्तश्राव हुन्छ ।

किन प्लेटलेट्सको कमी हुन्छ ?

रगतमा तीनवटा तत्व महत्वपूर्ण हुन्छ। रातो रक्त कोषिका, सेतो रक्तकोषिका तथा प्लेटलेट्स । यी सबै तत्व बोनम्यारो अर्थात नानी मासुमा बन्ने गर्छ । यस अर्थमा रगत बन्नको लागि चाहिने सबै आवश्यक तत्व बोनम्यारोमा उत्पादन हुने गर्छ ।

यदि कुनै कारणले गर्दा बोनम्यारोमा रक्तश्राव रोक्ने तत्व (प्लेटलेट्स ) बन्न नसकेको अवस्थामा शरीरका विभिन्न भागबाट रक्तश्राव हुने गर्छ ।

मानिसको रगतमा विभिन्न कारणले प्लेटलेट्सको कमी  हुने गर्छ । आणुवंशिक रोग, रक्त क्यान्सर, किमोथेरापी, लगायतका थुप्रै कारणले पनि मानव शरीरमा प्लेटलेट्सको कमी हुने गर्छ ।

के यो हानिकारक हुन्छ ?

शरीरबाट रक्तश्राव हुनु त्यति राम्रो होइन । किनभने एक ठाउँमा रक्तश्राव भएको व्यक्तिको अन्य भगमा पनि रक्तश्राव हुने सम्भावना हुन्छ ।

शरीरबाट रक्तश्राव भएमा गिजाबाट रगत बग्ने, नाकबाट रगत बग्ने, महिनावारी हुँदा धेरै रगत बग्ने, पिसाबमा रगत देखिने, कालो दिसा आउने, शरीरमा दाग वा नीलडाम देखिने गर्छ ।

यस्ता रक्तश्राव समयमै नरोकिए शरीरमा रगतको कमी भई ज्यान समेत जान सक्छ । त्यसमा पनि यदि उक्त रत्तश्राव मस्तिष्क वा पेटभित्र आन्तरिक रुपमा भएको छ भने त्यो झनै जोखिमपूर्ण हुन सक्छ । त्यसैले, यस्ता समस्या भएका मानिसले सानोतिनो चोटपटक तथा घाउबाट समेत सर्तक रहनुपर्छ ।

शरीरको कुन अंगमा बढी रक्तश्राव हुन्छ ?

शरीरका अन्य भागको तुलनामा हात, खुट्टा बढी चल्ने गर्दछन्, जसका कारण हात, खुट्टाका मांसपेशी बढी चलायमान भई ठोक्किने गर्दछ र उक्त ठाउँहरूमा दाग बस्ने तथा आन्तरिक रक्तश्राव हुने गर्छ ।

जो मानिसलाई  ठोकिएको छैन, तर उनीहरूको शरीरमा यस्ता डाम देखिएको अवस्थामा भने विशेष सजग हुनु जरुरी छ ।

यसको कारण के हो भने प्लेट्लेट्सको कमी भएमा क्यान्सर हुने सम्भावना न्यून हुने भएपनि क्यान्सर भएकाहरूलाई प्लेट्लेट्सको हुने सम्भावना भने अधिक हुने गर्छ । अझ, रक्तक्यान्सर भएकालाई अक्सर प्लटलेट्सको कमी हुने भएकाले पनि यसबारे सजग रहन  जरुरी छ ।

के छ त उपचार ?

शरीरका  कुनै पनि अङ्गहरूमा दाग, नीलडाम वा रगत बगेको देखिएमा तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । चिकित्सकहरूको आवश्यक निगरानीमा यस रोगका बिरामीलाई समयमै उपचार गरेको अवस्थामा निको हुन्छ ।

सामान्यतयाः एउटा स्वस्थ व्यक्तिको शरीरमा डेढ लाखदेखि चार लाखसम्म प्लेटलेट्स हुने गर्छ । यदि शरीरमा प्लेटलेट्को संख्या ५० हजार छ भने उक्त व्यक्तिमा रक्तश्राव हुने सम्भावना ५० प्रतिशतसम्म कम हुने गर्छ।

जबकि प्लेटलेट्सको संख्या ३० हजारभन्दा कम छ भने उक्त व्यक्तिमा गम्भीर समस्या हुने खतरा अधिक हुने गर्छ । यस्ता व्यक्तिलाई औषधिद्वारा प्लेटलेट्स बढाउने वा प्लेटलेट्स चढाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment