Comments Add Comment

उदयपुरमै कोरोना परीक्षण गर्न माग

११ वैशाख, काठमाडौं । उदयपुर जिल्लामा मात्रै २७ कोरोना संक्रमित भेटिएपछि स्थानीय राजनीतिक दलहरूले सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् ।

उदयपुरको गाईघाटमा बसेको राजनीतिक दलहरूको बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन साथै उदयपुरमै परीक्षणको व्यवस्था मिलाउन संघीय सरकारसँग आग्रह गरेका हुन् ।

नेकपा जिल्ला अध्यक्ष विनोद कटुवाल, नेपाली कांग्रेसका जिल्ला सभापति विदुर बस्नेत, समाजवादी पार्टीका अध्यक्ष केशव मगर र राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिव खेमनारायण यादवले संयुक्त विज्ञप्ति जारी गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरमै परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

संक्रमितको सम्पर्कमा आएका सबैको परीक्षण गर्नसमेत आग्रह गरेका छन् । उदयपुर डेन्जोर जोन बनेकोभन्दै विशेष चासो दिएर उदयपुरमै परीक्षण हुनु पर्ने नेकपा अध्यक्ष कटुवालले बताए ।

हाल कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर धरान, विराटनगर तथा काठमाडौं पठाउने गरिएको छ ।

यसैबीच नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भानुभक्त ढकाललाई फोन गरी उदयपुर जिल्लामा केन्द्रीय स्तरको विशेषज्ञ टोली खटाउन र कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेशिन जडान गर्न सुझाव दिएका छन् ।

कुराकानीको क्रममा स्वास्थ्य मन्त्री ढकालले पीसीआर मेशिन जडानको व्यवस्था मिलाउने बताएको नेपाली कांग्रेसले जनाएको छ ।

यसैगरी नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्य लक्ष्मी परियारले पनि स्वास्थ्य राज्यमन्त्री नवराज रावत र मन्त्रालयका सचिव यादव प्रसाद कोइरालालाई भेटेर उदयपुरलाई उच्च प्राथमिकतामा राखी कोरोना भाइरस परीक्षणको दायरा बढाउन आग्रह गरेको कांग्रेसले जनाएको छ ।

उदयपुरबाट निर्वाचित सांसद परियारले पनि जिल्लामै कोरोना परीक्षण ल्याब स्थापना गर्नुपर्ने र पर्याप्त किट उपलब्ध गराउनुपर्ने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment