Comments Add Comment
पूर्वप्रहरीको स्मरण :

सांसद खरिद काण्डमा प्रहरीलाई लात्ती !

ओली सरकारले सम्झायो एमालेका पालाको त्यो काण्ड

अहिलेको बहुविवादित अध्यादेश, दल विभाजनको चलखेल र सांसद अपहरणमा पूर्वप्रहरीको संलग्नतासम्बन्धी समाचारले मलाई २३ वर्ष अगाडिका क्षणहरू सम्झाइदिएको छ । त्यसबेला मलाई माथिबाट आदेश आए’थ्यो- किलो २० ! एलर्ट रहेर आफ्नो एरियामा बसोबास रहेका नवनियुक्त मन्त्रीको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउनू।

काठमाडौँ जिल्ला प्रहरी प्रमुखबाट यस्तो आदेश आएपछि भर्खरै मन्त्रिपरिषद् पुनर्गठनमा नियुक्त भएका मन्त्रीहरूको बसोबास रहेको एरिया पत्ता लगाउँदा तीनजनै नवनियुक्त मन्त्रीहरू मेरै वडा प्रहरी कार्यालय महाराजगञ्ज क्षेत्रभित्र पो पर्ने रहेछन् ।

अहिले समाजवादी पार्टीका ७ सांसदहरू कोही मन्त्री त कोही उपसभामुखको आश्वासनमा आफ्नै पार्टी विभाजनका खेलमा लाग्दै प्रधानमन्त्री ओलीको सरकारले ल्याएको अध्यादेशसम्म आइपुगे । हुँदा-हुँदा त्यतिबेलाको प्रसंगलाई सम्झाउने गरी सत्तारुढ पार्टीका सांसदहरू महेश बस्नेत र किशन श्रेष्ठ नै संलग्न भएर समाजवादी पार्टीका सांसद अपहरण भएको आरोप नै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लगाएका छन् । त्यति मात्र हैन, त्यस प्रकरणमा केही समय अगाडि मात्रै अवकाश पाएका सर्वेन्द्र  खनालको नामसमेत मुछिएको छ ।

त्योबेलाको सांसद खरिद-बिक्री

प्रसंग आजभन्दा २३ वर्ष अगाडिको हो । जब विसं. २०५४ सालतिर त्रिशंकु संसदको दल बदलु, सरकार परिवर्तन र स्वतन्त्र सांसदहरूको चलखेल अनि सांसद अपहरणका खेल तीव्र हुँदै गर्दा तत्कालीन राप्रपा-एमालेको संयुक्त सरकार थियो । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएको समयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमसहितले आफ्नो सरकार टिकाउन स्वतन्त्र सांसदहरूलाई लिएर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।

राप्रपाभित्र लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाको परम्परागत गुट छँदै थियो । नेपाली कांग्रेस र नेकपा एमाले यी दुई गुटलाई लिएर सरकार अदलु-बदलुमा लागिरहन्थे ।

यो पनि पढ्नुहोस सर्वेन्द्र भन्छन्– सुरेन्द्रलाई उनकै सहमतिमा काठमाडौं ल्याइएको हो

यस्तैमा, नेमकिपा, सद्भावना अनि स्वतन्त्र सांसदहरूतिर सबैको ध्यान गएको थियो । समाचारहरू बाहिरिरहन्थे-नेमकिपाका सांसदलाई गृहमन्त्री आफैँ भारतको पूर्णिया पुर्‍याउन गएकोदेखि राप्रपाका मन्त्रीहरू बुद्धिमान तामाङ, बालाराम घर्तिमगर, महेन्द्र राय, शान्ति शमशेर राणा र विष्णु विक्रम थापा बिरामी भएर एकैसाथ बैङ्कक ‘उपचारका लागि गएका’ र होटलमा सुरा सुन्दरीको प्रवन्ध गरिएको भन्ने जस्ता प्रसंगहरू ।

सद्भावना पार्टीका सांसद अनिश अन्सारी जो, सहायक मन्त्रीबाट राजीनामा दिएर बसेका थिए । उनी आफ्नो सुरक्षामा खटिएका एमाले सांसद कृष्णगोपाल श्रेष्ठलाई छक्याएर बसेको होटेलबाट रहस्यमयी तरिकाले फरार भएका समाचारले ठाउँ लिइरहेका थिए ।

गज्जब त के थियो भने सत्ताको खेलमा सहायक मन्त्रीका रुपमा मन्त्रिपरिषद‍्मा प्रवेश पाएका शान्ति समशेर राणा, महेन्द्र राय, प्रेमबहादुर सिंह, सर्वेन्द्रनाथ शुक्ला, राजीव पराजुलीहरू एक वर्षभित्रै राज्यमन्त्री हुँदै ‘फुल मन्त्री’ हुन भ्याए ।

अनि राज्यमन्त्रीका रुपमा प्रवेश गरेका मोतिप्रसाद पहाडी, शरद सिंह भण्डारी अनि रामकृष्ण आचार्य चार महिनाभित्रै फूलमन्त्री भइसकेका थिए । आफ्नो सरकार जोगाउन जे पनि गर्नुपर्ने हुन्छ भन्दै त्यतिखेरको नेतृत्व आश्वासन बाँड्ने र आफ्नो पक्षमा पार्ने खेलमा लागिरहेको थियो ।

हुँदा-हुँदा ७ महिना सरकारको नेतृत्व गरेका लोकेन्द्रबहादुर चन्दले सात पटक नै मन्त्रिपरिषद् पुनर्गठन गरे । अनि सांसदहरू पनि सत्ताको बार्गेनिङमा गज्जबले लागे ।

त्यो काण्ड

जब-जब सत्ता परिवर्तनको खेल हुन्छ, प्रहरीलाई कुनै न कुनै रुपमा प्रयोग गर्न खोजिएकै हुन्छ । अझ विसं २०५१ सालको त्रिशंखु संसदताका त प्रहरीलाई ब्यापक प्रयोग गर्न खोजियो । जुनबेला अच्युतकृष्ण खरेल र “ध्रुवबहादुर प्रधानलाई आइजीपी बनाउने खेलमा प्रत्यक्ष खेल्न खोजियो, जुनबेला सर्वेन्द्र खनाल ट्राफिक प्रहरी, बग्गीखानामा इन्स्पेक्टर थिए भने म वडा प्रहरी कार्यालय महाराजगञ्जमा इञ्चार्ज (इन्स्पेक्टर) थिएँ ।

माथि भनिए जसरी जब काठमाडौँ जिल्ला प्रहरी प्रमुखको आदेश आयो । मण्डिखाटारमा बस्ने नरेशबहादुर सिंह, धापासी बस्ने मोतीप्रसाद पहाडी अनि सामाखुसी बस्ने पाल्देन गुरुङको सुरक्षा व्यवस्था मैले गर्नुपर्ने थियो ।

सपथ ग्रहणपश्चात ‘फुल मन्त्री’को सुरक्षा जिम्मा सेनाले र राज्य तथा सहायकमन्त्रीको जिम्मा प्रहरी पहरा गणले लिन्थ्यो । तर, सपथ भइनसकेकोले ती मन्त्रीहरूको सुरक्षा मेरो जिम्मामा आयो । तर, अवस्था अरुबेलाजस्तो सामान्य थिएन, सत्तारुढ पार्टी अनि सत्ता बाहिर रहेका सबै दलको नजर यिनै मन्त्रीहरूप्रति यसकारण पनि थियो कि, यिनीहरूले सपथ खाए सत्ता टिक्थ्यो, यिनीहरूले सपथ नखाए सत्ता पल्टिन्थ्यो । किनकि, १०३ को बहुमतको खेलमा यी ३ जनाको नम्बर महत्वपूर्ण स्थानमा थियो ।

कालीकोटबाट निर्वाचित एमाले सांसद धर्मदत्त उपाध्याय र तत्कालीन उपप्रधानमन्त्री एवं‌ गृहमन्त्री बामदेव गौतमका राजनीतिक सल्लाहकार आफैँ पो मोतीप्रसाद पहाडीको सुरक्षार्थ खटिएका रहेछन्

यी तीनै मन्त्रीको सुरक्षा व्यवस्था मिलाउन म आफैँ गएँ । महिला तथा समाजकल्याण राज्यमन्त्री नरेशबहादुर सिंह मलाई देखेर मुस्कुराए । किनकि, उनी ल क्याम्पस पढ्दा सँगै राजनीति गरेका मित्र थिए, जो नेपाली कांग्रेस पार्टीले टिकट नदिएपछि

स्वतन्त्र हैसियतले बझाङबाट चुनाव लडेर सांसद निर्वाचित भएका थिए ।

उनले असहज महसुस गर्दै सरकारमा जानुपर्ने आफ्ना अप्ठ्यारा सुनाए । उनी नेपाली कांग्रेसका उनका सहकर्मीबाट घेरिएका थिए । मैले एकजना असई उनको सुरक्षार्थ छाडेँ ।

गज्जब चाहिँ डोल्पाका स्वतन्त्र सांसद मोतीप्रसाद पहाडीलाई भेट्न जाँदा भयो । उनी आपूर्ति मन्त्री बनेका थिए । उनी चञ्चल अवस्थामा थिए, जसलाई दुवै पक्षले भर गरेको देखिन्नथ्यो । उनलाई तान्ने प्रयास भइरहेको सूचना थियो ।

त्यहाँ जाँदा देख्छु त कालीकोटबाट निर्वाचित एमाले सांसद धर्मदत्त उपाध्याय र तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमका राजनीतिक सल्लाहकार आफैँ पो मोतीप्रसाद पहाडीको सुरक्षार्थ खटिएका रहेछन् ।

राजनीतिक सल्लाहकारले मलाई सानैदेखि चिन्नुहुन्थ्यो । म प्रहरीमा आउनु अगाडि बेलाबखत राजनीतिक बहस पनि हुने गर्थ्यो । उहाँलाई मेरो राजनीतिक आस्था प्रष्ट थाहा थियो । त्यसैले मलाई हाँस्दै चेतावनीको स्वरमा भन्नुभयो, ‘तिमी सरकारको पुलिस हौ, धेरै चलखेल नगर है ।’

मैले भनेको थिएँ, मेरो काम भोलि मन्त्रीको सपथ नभएसम्म सुरक्षा दिने हो, बाँकी उहाँको इच्छा । उहाँले ती कालीकोटे सांसदसँग मलाई चिनाउँदै मेरो राजनीतिक आस्था पनि भन्न भ्याउनु’भो । अब ती सांसदले मलाई हेर्ने नजर अनुमानित थियो ।
मैले एकजना पाको असईलाई पहाडीको सुरक्षार्थ ब्रिफिङसहित, छाडेर अफिस फर्किएँ ।

मेरो वाकीटाकीमा आइजीपी, एआइजी, भ्याली डीआइजी, एसएसपी र भ्याली एसपीको कलमाथि कल थियो फोन गर्नका लागि । त्यसबखत भर्खर मोबाइल भित्रिँदै थियो। अफिसमा आएर प्राथमिकताअनुसार फोन गर्दै आदेश लिन थालेँ । सबैको आफ्नै किसिमको स्वाभाविक आदेश र चासो थियो । कसैलाई मोतीप्रसाद पहाडी भगाउन सके ठिक । कसैलाई भाग्न नदिए ठिक ।

खबर छरिएको थियो, पहाडीले सरकार पक्षबाट दुई करोड लिइसकेका छन्, आधा रकम सपथपछि लिने गरी ।

राति एक्कासी आदेश आयो, अर्को पक्ष त्योभन्दा बढी रकम लिएर पहाडीलाई भेट्न आउँदैछन्, आफै‌ँ जानू अनि पैसा जफत गर्नू ।

यो पनि पढ्नुहोस समाजवादीको आरोप : प्रधानमन्त्रीको आदेशमा सांसद अपहरण गरियो

काठमाडौँको त्यो चिसो रातमा प्रहरीको नियमित ड्युटी छाडेर एम्बुस थाप्नुपर्ने, जो कोही आए पनि खानतलासी लिनुपर्ने । सडकमा जवानहरूलाई खटाएँ । आफू माथि बसेर अवलोकन गरिरहेँ।

एकछिनमा होहल्ला भयो । केटाहरूले एकजना व्यक्ति समातेर ल्याए । उनी भन्दै थिए, ‘म पुलिसको एसपी ।’

तर, केटाहरूले आइडी कार्ड माग्दा उहासँग कार्ड रहेन छ र मकहाँ ल्याए । यसो हेर्छु त एअरपोर्टमा खटिनुभएको नेपाल प्रहरीको एसपी सा’ब ! उहाँको घर त्यतै रहेछ, ड्युटी सकेर आफ्नै घर आउनुभएको । बिचरा एसपी सा’ब पो एम्बुसमा पर्नु भो । त्यस्तो अवस्था थियो ।

भोलिपल्ट पनि सपथ के हुने हो, टुंगो थिएन । बार्गेनिङ चलिरहेको बुझिन्थ्यो । मेरो अफिसको फोन एकदम व्यस्त थियो । पछि सुन्नमा आयो, मेरो सरकारी फोन ट्याप भएको हुन सक्छ । अविश्वासको घेरा त्यतिसम्म फैलिएको थियो । जल्दाबल्दा एआइजी सा’बहरू समेत मेरो अफिसको फोनमा नबोलेर डराउँदै ‘अफिसबाट बाहिर निस्केर फोन गर न’ भन्थे ।

यस्तैमा भोलिपल्ट दिउँसो एक्कासी मन्त्री पहाडीको सुरक्षाका लागि खटिएका असईले सेटबाट खबर गरे-सर, मन्त्री बाहिर जान लाग्यो ।’

मैले उनलाई पनि मन्त्रीसँगै जानू भनेर आदेश दिएँ । असईले सेटमा भन्न थाल्यो- म उहाँको गाडीमा चढेको त मलाई धकेलेर गाडीबाट निकाल्नुभयो । अहिले म गाडीको ढोका समातेर रोक्दैछु । उहाँले मलाई खुट्टाले धकेलिरहनुभएको छ ।’

कस्तो अचम्म ! मन्त्रीको सुरक्षार्थ खटाएका प्रहरीलाई लात्तीले धकेलेर मन्त्री भाग्न खोज्दैछ । मैले मन्त्रीजीलाई सेटमा मसँग बोल्न दिनू भनेँ । तर, हैन सर, नबोल्ने रे भन्दै असई स्याँ-स्याँ गर्न थाले ।

हतियार बोकेको असई सा’बप्रति मन्त्रीको व्यवहारले मैले कुनै पनि दुर्घटना हुन सक्छ भनेर असईलाई मन्त्रीलाई छाडिदिनुस्, अनि तपाईं अफिस आउनुस् भन्दै जाहेर गर्नुपर्ने ठाउँमा तुरुन्तै खबर गरे‌ँ । तब मन्त्रीको गाडीलाई पिछा गर्न चोकमा खटिएको टोलीलाई एलर्ट राखेँ ।

मन्त्री चढेको प्राइभेट गाडी पशुपति शमशेर राणाको महाराजगञ्जस्थित विजयावासभित्र छिरेको खबर आयो ।

एकछिनमा मन्त्री पहाडीको सुरक्षार्थ खटिएका असई पनि कार्यालयमा आइपुगे। सिधै मेरो कार्यकक्षमा पस्दै आफ्नो युनिर्फमको बेल्ट खोल्दै भने, सर, अब म जागिर खान्नँ । ३१ वर्ष जागिर खाँदा यस्तो कहिल्यै भोग्नुपरेन ।’

उनको आक्रोश म बुझ्न सक्थेँ । तर, त्यसबेलाको घिनलाग्दो राजनीतिक वातावरणलाई धिक्कार्नुभन्दा म अरू के नै पो गर्न सक्थेँ र ? प्रहरीले यस्तो अवस्था भोग्नुपर्दा आफ्नै मन सानो हुन्थ्यो ।

असईले सुनाउँदै गए ।

केसम्म भएछ भने असई मन्त्रीको गाडी चढ्न खोज्दोरहेछ, मन्त्री पहाडीचाहिँ उनलाई चढ्न नदिन असईले गाडीमा समातेको हृयाण्डीलको हातमा बक्सिङ हानेर छुटाउन खोज्दोरहेछ ।

यो पनि पढ्नुहोस सर्वेन्द्र खनाल र महेश बस्नेतलाई के पुरस्कार दिने प्रधानमन्त्रीज्यू ?

पछि कुन्नि के भो, मन्त्री पहाडीले सपथ खाए । नरेशबहादुर सिंह र पाल्देन गुरुङले सपथ खाएनन् । तर, सपथ खाएको भोलिपल्टै पहाडीले फेरि स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिए । लोकेन्द्रबहादुर चन्दको राप्रपा-एमाले सरकार ढल्यो ।

त्यसपछि, राप्रपाकै १० सांसद लिएर नेपाली कांग्रेसको समर्थनमा सूर्यबहादुर थापा प्रधानमन्त्री भए ।

त्यसपछि, फेरि नेपाल प्रहरीका आइजीपी पनि परिवर्तन भए । अस्थिरताको खेल झन् बढ्दै गयो । राप्रपा मात्रै होइन, सत्ताको मुख्य खेलाडी नेकपा एमाले पनि टुक्रियो । हुनुपर्ने/हुनु नपर्ने सबै भयो ।

अहिले प्रधानमन्त्री ओलीले अहिले अध्यादेश ल्याएर प्रयोग गर्न खोजेको जस्तै गरेर तत्कालीन संविधानको धारा ५३ (३)को सम्पूर्ण सांसद संख्याको एक चौथाइ सदस्यले समावेदनद्वारा अधिवेशन बोलाउन पाउने प्रावधानलाई प्रयोग गरी ‘अविश्वास प्रस्ताव’ को ‘लुप होल’ राम्रैसँग उपयोग गरे । सत्तामा हुने अनि बाहिर हुनेले पनि प्रहरीलाई गर्नुसम्म प्रयोग गर्न खोजे । त्यसपछि देश साँच्चै अनिश्चयको भुमरीमा रुमलियो । देशलाई त्यसबाट बाहिर आउन बडो गाह्रो भयो ।

अहिले प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेशसँगै सांसद अपहरणका प्रसंग सुन्दा सत्तारुढ पार्टीभित्र आएको अस्थिरताको खेल देख्दा फेरि ती दिनहरू सम्झाइदिएको छ । सायद देशले फेरि पनि त्यस्तै नियतिहरू भोग्नुपर्ने हो कि ?

अनि यस खेलमा सत्तारुढ पार्टीका सांसद र नेपाल प्रहरीका पूर्वआइजीपीको नामसमेत मुछिएको देख्दा उनै निरीह असइको अनुहार झल्झली अगाडि आइरहेछ, जसले सत्ताको छिनाझप्टीमा विरक्त भएर आफ्नो युनिर्फमको बेल्ट खोल्दै राजीनामा दिन खोजेका थिए । (श्रेष्ठ पूर्वप्रहरी हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment