Comments Add Comment

बालुवाटार ‘पिकनिक स्पट’ भइसक्यो : स्वप्नील स्मृति

समकालीन कविहरूमाझ सामाजिक मुद्दामा धारिला कविता लेख्ने परिचय बनाएका स्वप्नील स्मृति सामाजिक सञ्जालमा सरकारप्रति आक्रोश पोखिरहेका हुन्छन् । कहिले कविताका हरफहरूले त कहिले सटिक अभिव्यक्तिले उनी नागरिक आवाजलाई ‘बोल्ड’ उतार्ने गर्छन् । लकडाउनको समयमा पनि उनी सामाजिक सञ्जालमा झनै सक्रिय छन् ।

गत साता स्मृतिले चर्चित कविहरू मनु मञ्जिल, श्रवण मुकारुङ र उपेन्द्र सुब्बासँग रहेर ‘लकडाउनको राजनीति’माथि बहस नै चलाए । चरम विपदको समयमा सरकारले श्रमिक वर्गप्रति देखाएको उपेक्षामाथि उनी एक दशकअघि आफैँले लेखेको ‘बालुवाटार’ शीर्षकको आफ्नै कविता आज सान्दर्भिक लागेको बताउँछन् ।

सत्ताको अनुहारमा शासनको अन्धवेग देख्ने तथा ‘रंगैरंगको भीर’ र ‘बाडुली र सुदूर सम्झना’ कवितासंग्रहका कवि स्वप्निल स्मृतिसँग समसामयिक राजनीतिक प्रवृत्तिमाथि केन्द्रित रहेर गरेको कुराकानीका साथै उनको ‘बालुवाटार’ कविता यहाँ प्रस्तुत गरिएको छ ।

सरकार विपदमा पनि राजनीतिको चक्रमा रुमल्लिरहेको हो ?

प्रथमतः अहिलेको अवस्थामा सरकार ज्यादै डराइरहेको छ । दुईतिहाई जनमतबाट अनुमोदन, समर्थन र वैधता त उसले पाएको छ तर त्यसलाई आफ्नो क्षमताबाट प्रमाणित गर्न नसकेको कुरा सरकार स्वयंलाई थाहा छ । डरको आवेगमा ऊ गल्तीमाथि गल्ती गरिरहेको छ । पछिल्लो अद्यादेश प्रकरण यसैको उदाहरण हो ।

शासित वर्गलाई ठट्टा र रमाइलोमा भुलाएर सरकार र सरकारको शीर आफ्नै निहीत स्वार्थमा केन्द्रीत छ । उसको भित्री चरित्रको पर्दाफास भइसकेको छ ।

नागरिक समाज, चिन्तक र कवि-लेखकको आवाजले पनि सरकारलाई छुँदैन किन ?

यो सरकार बामपन्थीभित्रको पनि एउटा तुच्छ र निहीत स्वार्थले सञ्चालित कोटरी रहेछ । त्यही सानो समुहको शासकीय मातमा नागरिक पिल्सिएका छन् । भोलि सत्ताबाट पर पुगिने हो कि भन्ने डरमा त्यो समुह डराउँछ । त्यसैले आफ्नो अहंकार र बहुलट्ठीपनले सरकार लठि्ठएको छ ।

नागरिक समाज र कवि-लेखकले सरकारलाई जवाफदेही बनाउन, बाटो देखाउन बोलिरहेका हुन् । सरकारको अधिकार खोसेका त होइनौं । एउटा सार्वभौमसम्पन्न नागरिकको कर्तव्य सम्झेर हामी बोल्छौं । यही राज्यको मतदाता, यही राज्यमा संघर्ष गरेको कारण हामीलाई राज्यकै जति बोल्ने हक छ ।

उसो भए सत्ताको चरित्रले गर्दा नै तपाईं सधैं प्रतिरोधी हुनुपरेको हो ?

हामीले भइरहेको राज्यलाई जवाफदेही र उत्तरदायी बनाउन बोलेका हौं, आजको राज्य व्यवस्था बिथोल्न बोलेको होइन । फेरि, कवि बोल्दा सरकारलाई बेफाइदाचाहिँ के हुन्छ ? नकारात्मक देखिएजस्तो भए पनि राष्ट्रको सकारात्मक हितका लागि हामी बोल्छौं । आफ्ना नागरिकको जीवनभन्दा महत्त्वपूर्ण अरु केही हुँदैन । त्यो राज्यको सबै तहले बुझ्न सक्नुपर्छ । सेवाप्रवाह गर्दा आम मानिससम्म राज्यको उपिस्थिति देखिनुपर्छ ।

कसैलाई पक्राउ गर्नुपर्दा राज्य देखिने, नागरिक आवाज दबाउनु पर्दा राज्य जाग्ने तर खान नपाउँदा, उपचार नपाउँदा, यातायात नपाउँदा राज्य नदेखिने । लकडाउनको समयमा गरिएको लापरबाहीले गर्दा अपाङ्ग, असहाय र श्रमिक वर्गलाई राज्यप्रति घोर निराशा बढेको छ ।

तपाईं आक्रोशित हुनुकोमुख्य कारण के हो ?

सरकार स्वयं नै खाली षडयन्त्रमात्र सोचेर बसिरहेको छ । ऊ र उसको मूल संयन्त्र नै गुन्डागर्दीको ठूलो नमुना हो । फरक विचार राख्नेप्रति सरकारले कुनै न कुनै प्रहार गर्छ । अन्धभक्ति र स्वस्तिमा मात्र रमाउने यस्तो घृणीत अवस्था देख्दा स्वतः आक्रोशित भइन्छ ।

आज लकडाउनमा उपत्यकाभित्र कति श्रमिक छन् भन्ने तथ्यांक राज्यसँग छैन । ती श्रमिक केके कामसँग कसरी जोडिएका छन् लगत छैन । हचुवामा राहत बाँड्दा सबैलाई समान न्याय त हुँदैन नि । अनि, दुई सातालाई पुग्ने राहत बाँड्ने आधार छैन । यसैकारण मेरै कति आफन्त र नजिकका मानिसले खान पाएका छन् । कति मानिस नुनपानीको भरमा दिनभर हिँडेका छन् । गर्भवति, असक्त र वृद्ध भनिएको छैन । यो सबै देख्दा एउटा कवि मनमा आक्रोशको बेहरी आउनु स्वभाविक हो ।

कलाई के लाग्छ भने नेपाली उखान ‘काम-कुरो एकातिर कुम्लो बोकी ठीमीतिर’ चरितार्थ बनेको छ । र, त सामान्यभन्दा सामान्य मानिसले पनि के बुझिसकेका छन् भने सरकार आफूले आफैंलाई नाङ्गो बनाइसकेको छ । उसका एकपछि अर्को श्रृखलाबद्ध गल्तीहरू सबैले देखिसकेका छन् । मात्र उसको संसदीय बहुमतको हिसाबकिताब बलियो छ र त्यसैको बलमा सबैकुरा आफ्नो अधीनमा राख्न हरसम्भव प्रयास गरिहरेको छ ।

आजको विसंगत परिवेशले नै ‘जोकर व्यवस्थामा शासित हुनु कठीन छ’ भनेर कविता लेख्नुभएको हो ?

कविता सधैं एउटै प्रयोजनका लागि मात्र लेखिँदैन । कहिलेकहिले हामी प्रहारका लागि पनि सृजना गर्छौं । खासमा हामी बाँचेको परिवेशमा धेरै कुराको संगति मिलेको छैन । धेरै कुरा अमिल्दा छन् । देखिने, नदेखिने सबै अवस्थामा विभेदले जरा गाडेको छ । यसैको प्रतिबिम्ब सायद मेरो सृजनामा मैले थाहा पाउँदा-नपाउँदै आउँदो रहेछ ।

०००

कविको अनुमतिमा उनको ‘बालुवाटार’ शीर्षकको कविता –

यस्तो ‘पिकनिक स्पट’ हो बालुवाटार
मानौं,मेरो देशको नक्साभित्र पर्दैन त्यो।

सारा मानिस भोका छन्
तर भोज अहोरात्र चलिरहेछ बालुवाटारमा
जहाँ एक दाना अनाज उब्जँदैन
फगत् ! खेती हुन्छ झुठको
जहाँ एक थुँगा फूल फक्रँदैन
फगत् ! मौलाउँछ नीलकाँडा षड्यन्त्रको
तर त्यहाँ ढल्काएर फूलमाला
सरकार चाटिरहेछ सत्ताको गुलियो।

आगलागी भइरहेछ मानिसका मन-मनमा
भागदौड मच्चिरहेछ सारा गाउँसहरमा
मानौँ, बालुवाटार विश्वको मानचित्रमै पर्दैन
जहाँ चलिरहेछ निरन्तर नाचगान
मादक डढेलो उठिरहेछ मनोरञ्जनको
जुद्ध बारुण यन्त्र लगातार निभाइरहेछ
विदेशी रक्सी सल्किएको मन्त्रीहरूका टाउको
‘कक्टेल’मा मदहोस प्रधानमन्त्री
र्‍याप हानिरहेछ ‘शान्ति ! शान्ति !’

हुरी हुन्हुनाइरहेछ भूगोलका कुना-कुना
चारैतिर मडारिइरहेछ रुखपात, बुट्यानहरू
बालुवाटारको आकाशै छोपिनेगरी
भुँवरी उठिरहेछ प्रत्येक बार्‍हबजे
सरकार पछारिइरहेछ बालुवामा हरूवा गोरुझैं डुङ्डङ्ती
तर सरकार…
सरकार बालुवामुनि हतियार लुकाएर
लड्ड् खाइरहेछ लोकतन्त्रको…

यस्तो ‘पिकनिक स्पट’ हो बालुवाटार
मानौं, तिम्रो देशको नक्साभित्र पनि पर्दैन त्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment