
१३ वैशाख, विराटनगर । लकडाउनका कारण समस्यामा परेका विद्यार्थीलाई विराटनगर महानगरपालिकाले घरसम्म पुर्याइदिने भएको छ । विराटनगर महानगरपालिकाले डेरामा बसेका विद्यार्थीलाई घर पुर्याइदिने व्यवस्था मिलाउन लागेको हो ।
विद्यार्थीलाई सोमबारबाट गाडीको व्यवस्था गरेर घर पुर्याइदिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए । ‘वडाबाट विद्यार्थीको तथ्यांक संकलन भइरहेको छ,’ उनले भने, ‘ काकाडभिट्टादेखि सिराहासम्मका विद्यार्थीलाई घरसम्म लगिदिन्छौं ।’ पहिलो चरणमा विद्यार्थीलाई घरसम्म लगेपछि भाडामा बस्ने अन्यलाई पनि लगिदिने योजना रहेको मेयर पराजुलीले बताए ।
विराटनगरमा बसेका पहाडी क्षेत्रका विद्यार्थीले भने तत्काल घर जान पाउने छैनन् । विद्यार्थीलाई घरसम्म पुर्याउन निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन प्याब्सन र हिसानले गाडी उपलब्ध गराएका छन् । ती गाडी पहाडी क्षेत्रसम्म जान नसक्ने भएकाले बैकल्पिक व्यवस्था गरिने पराजुलीले बताए ।
विराटनगरबाट पठाउँदा स्वास्थ्य जाँच गरी सम्बन्धित स्थानीय तहलाई जानकारी गराएर घर पठाइदिने उनले बताए । महानगरले वडा कार्यालयमार्फत भाडामा बस्ने बाहिरका विद्यार्थीहरुको तथ्याङक संकलन गरिरहेको छ ।
प्रतिक्रिया 4