Comments Add Comment

वायुसेवा कम्पनीले बनाउन थाले सुरक्षा निर्देशिका, बुद्धको जहाजमा शौचालय बन्द

१४ वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय-अन्तर्राष्ट्रिय उडानलाई २ जेठसम्म प्रतिबन्ध लगाएको छ । सोहीकारण त्यतिन्जेल जहाजमा यात्रा गर्न भने पाइँदैन । तर, उडानमाथिको प्रतिबन्ध वा लकडाउन खुल्नासाथ सबै क्षेत्र कोरोनामुक्त हुन्छ भन्ने पनि होइन ।

यसैसन्दर्भमा पर्यटन र हवाई उद्योगसँग सम्बन्धी विभिन्न क्षेत्रले सुरक्षा निर्देशिका बनाइरहेका छन् । नेपालको निजी लगानीतर्फ सबैभन्दा बढी यात्रु बोक्ने बुद्ध एयरले आन्तरिक तथा बाह्य उडानका गन्तव्यका लागि सुरक्षा निर्देशिका तयार पारेको छ ।

निर्देशिकाअनुसार कोभिड-१९को संक्रमण रोक्ने उद्देश्यले अब जहाजमा रहेको शौचालय प्रयोग गर्न नपाइने भएको छ । खासगरी सामूहिक प्रयोगका वस्तु प्रयोग रोक्ने उद्देश्यले शौचालय प्रयोगमा रोक लगाइने भएको छ ।

विश्व स्वास्थ्य संगठनबाट महामारीको संज्ञा नहटाएसम्म यात्रुका लागि तोकिएको सुरक्षा निर्देशिका लागु हुने कम्पनीले जनाएको छ ।

श्वासप्रश्वासका बिरामीलाई नचढाइने

यात्रुको सुरक्षालाई ध्यानमा राख्दै बुद्ध एयरले श्वासप्रश्वासम्बन्धी बिरामीलाई जहाज नचढाउने भएको छ। रुघाखोकी, जिउ दुख्ने, सिँगान बग्नेजस्ता कोरोनासँग सम्बन्धित लक्षण देखिएका सबै बिरामीलाई जहाजमा चढ्न निषेध गरिने भएको छ ।

कोभिड-१९ को लक्षण भएका वा संवेदनशील यात्रुको पहिचान गर्न चेकइन काउन्टरमै विशेष व्यवस्था गरिने र सोही स्थानबाट घर फर्काइने भएको छ ।

कठिन परिस्थितिमा यस्ता यात्रुले स्वास्थ्य जाँच गराउने र सकभर घरबाट बाहिर ननिस्कने कम्पनीले सुझाव समेत दिएको छ ।

क्याटरिङ बन्द

अब उडानका दौरान क्याटरिङ सेवा बन्द हुने भएको छ । एक वा दुई जना एयर होस्टेसले धेरै जना यात्रुलाई क्याटरिङ बाँड्दा त्यसले संक्रमण फैलने डर हुन्छ । यात्रुको मागअनुसार पानी भने उपलब्ध गराइने भएको छ । विमानमा बसिसकेपछि यताउता हिँड्न, जथाभावी छुनसमेत निषेध गरिने कम्पनीको निर्देशिकामा उल्लेख छ ।

र्‍याम्पबसमा क्षमताको ७५ प्रतिशत मात्र यात्रु चढाइने भएको छ । जहाजमा चढ्नु अगाडि सबै यात्रुको हाते स्यानिटाइज गरिने भएको छ । यात्रु चढाउने समेतमा समेत एक समयमा सिट संख्याअनुसार बढीमा चार जनासम्म मात्र चढ्न सक्नेगरी निर्देशिका बनाइएको छ । झर्ने समयमा पनि एक पटकमा चार जना मात्र झर्न सक्नेछन् ।

घरपालुवा जनावरलाई निषेध

जहाजमा अब घरपालुवा जनावर लैजान नपाइने भएको छ । विमानस्थलमा यात्रुले एक मिटरको दुरी कायम गर्नुपर्ने भएको छ । चेनइन काउन्टर, टिकेटिङ, कार्गोलगायतमा समेत यो नियम लागु हुने भएको छ ।

संक्रमणरहित बनाएर मात्र विमान चढ्नुपर्ने भएकाले एक उडानको एक घण्टा अगाडि नै जानुपर्ने तथा तोकिएको दिन विमानस्थलमा नजाने यात्रुले अर्को दिन उडान गर्न नपाउने गरी निर्देशिका बनाइएको कम्पनीले जनाएको छ ।

सबैतिर स्यानिटाइज गरिने 

यात्रुलाई जहाजमा चढाउनु अगाडि कम्पनीले आफ्नो सबै कार्यालय र उपकरण, सवारी साधन र हवाईजहाजसमेत स्यानिटाइज गर्ने तयारी गरेको छ । यसका लागि समेत प्रक्रिया तोकिएको छ । कम्पनीले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार आफ्नो सेवाका माध्यमबाट संक्रमणको डर नहुने गरी व्यवस्थापनको तयारी गरेको जानकारी गराएको छ ।

कम्पनीले आफ्नो कार्यालयका सबै कर्मचारीले समेत सुरक्षा निर्देशिकाको कडा पालना गर्नुपर्ने गरी निर्देशिका तयार पारेको छ ।

जसअनुसार कागजपत्र नभइ पनि सम्भव हुने कामलाई प्रविधिको प्रयोग गरी सम्पादन गर्न भनिएको छ । हाजिरीका लागि उपकरण छोइराख्नुभन्दा आफ्नो सुपरभाइजरलाई उपस्थितिको जानकारी गराए पुग्ने भएको छ ।

कार्यालय भित्र सहकर्मीका कुनै पनि सामग्री प्रयोग गर्न पाइने छैन । कर्मचारीले खाजा सक्भर घरमै बनाएर ल्याउन वा कार्यालयको क्यान्टिनमा मात्र खानु पर्नेछ ।

मास्कलगायत स्वास्थ्य सुरक्षासम्बन्धी आवश्यक सामग्री कम्पनीले हरेक कर्मचारीलाई उपलब्ध गराउने गरी निर्देशका बनाइएको छ । कर्मचारीलाई भिडभाड हुने क्षेत्र, सिनेमा हल, रेस्टुरेन्टलगायतका क्षेत्रमा जान रोक लगाइएको छ । बुद्ध एयरका सबै काउन्टरमा सिसाको बार राखिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment