Comments Add Comment

भन्सारमा थन्किए ४ हजार कन्टेनर, व्यापारी मर्कामा

रेलबाट सामान झारिन्छ तर मालवाहक ट्रकमा लोड हुँदैन

१८ वैशाख, वीरगञ्ज । नेपाल-भारत दुवैतर्फ लकडाउन भए पनि अत्यावश्यक सामान कलकत्तालगायतका बन्दरगाहबाट वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाहसम्म नियमित आइरहेका छन् ।

रेलमार्गबाट दैनिक ३ देखि ४ र्‍याक सामान नेपाल भित्रिरहे पनि ती सामान मालबाहक गाडीमा लोड नहुँदा स्थान अभाव मात्रै भएको छैन, कुरेर बसिरहनु पर्दा व्यापारीहरु मर्कामा पनि परेका छन् ।

अहिले सुख्खा बन्दरगाह (ड्राइपोर्ट)मा ४ हजारको हाराहारीमा कन्टेनर थन्किएका छन् । पछिल्ला दिनमा ड्राइपोर्टमा गाडीमा लोड गराउन निकै समस्या भइरहेको गुनासो व्यापारीहरुले गरेका छन् । भन्सार एजेन्टका अनुसार ड्राइपोर्टका सञ्चालक संस्था हिमालयन टर्मिनलले रेलबाट आएका सामान अनलोडलाई मात्र प्राथमिकतामा राखेको छ ।

सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयमा जाँचपास सजिलै हुने गरे पनि ड्राइपोर्टमा गाडी लोड गर्न एक दिन बढी समय लाग्ने गरेको व्यापारीहरु बताउँछन् ।

भन्सार एजेन्ट अनिल पटेल टर्मिनलले रेल अनलोडिङलाई मात्रै प्राथमिकतामा राखेको बताउँछन् । ‘पहिला ट्रेनको काम हुन्छ, ट्रेनको काम नभएपछि मात्रै ट्रक लोड हुन्छ,’ पटेलले भने, ‘त्यहि पनि पछिल्लो दुई दिन त लोड नै हुन सकेन । ट्रक चालक बिस्कुट र पानी खाएर पालो कुरेर बस्न बाध्य छन् ।’

गाडी लोड नहुँदा सुख्खा बन्दरगाह बाहिर गाडीको लामो लाइन लागेको छ । गाडी गएको दिन लोड नभएर भोलिपल्ट मात्रै लोड भइरहेको अर्का एजेन्ट विजय कुमार टिबडेवालले बताए । ‘कोरोना भाइरसको महामारीको बेला पेन डाउन गर्न पनि मिलेन,’ उनले भने, ‘हिमालयन टर्मिनलको बदमासीको कारण सास्ती भोगिरहेका छौं ।’

गाडी लोड गर्न ढिलाइ हुँदा गाडी भाडा बढी लाग्ने, समयमा कन्टेनर खाली गराउन नसक्दा ‘डिटेन्सन र ड्यामरेज’ तिर्नुपर्ने र उद्योग पनि राम्रोसँग चल्न नपाउने अवस्था छ । सुख्खा बन्दरगाहमा हिमालयन टर्मिनलले गाडी लोड नगर्ने मात्रै नभएर अन्य काममा समेत दुःख दिइरहेको एजेन्टको गुनासो छ ।

‘काठमाडौंको माल कन्टेनरमा जान सक्दैन, ट्रकमा लोड गर्न मजदुर छैन भन्छन्, मजदुरको व्यवस्था गर्छु भन्दा बाहिरका मजदुर भित्र आउन मिल्दैन रे,’ अग्रवालले भने, ‘हिमालयन टर्मिनलले बन्दरगाहमा मनपरी गरिरहेको छ । सक्नेजति दुःख दिइरहेको छ ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपाल पनि सुख्खा बन्दरगाहमा सामान लोड गर्न समस्या देखिएको गुनासो आएको बताउँछन् । ‘ड्राइपोर्टमा लोड गर्ने स्टेकरको समस्या पहिलेदेखिकै हो । पुरानो मेसिन प्रयोग गर्दा छिटो-छिटो विग्रने गरेको छ,’ उनले भने, ‘हिमालयन टर्मिनलले समस्याको दिगो समाधानमा बेवास्ता गरेको अनुभव हामीले गरेका छौं ।’ समस्या समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराइसकेको उनी बताउँछन् ।

कन्टेनर निकाल्न बढी समय लाग्छ : टर्मिनल

सुख्खा बन्दरगाहमा ६/७ सयको हाराहारीमा एक दुई महिना पहिले आएका पुराना कन्टेनर पनि रोकिएका छन् । नयाँ कन्टेनर आउँदा ठाउँ अभावका कारण पहिले राखिएका कन्टेनरलाई ब्लक गरिदिन्छ । त्यसमाथि पुराना मेसिन भएका कारण समय समयमा बिगि्ररहन्छ ।

पुरानो कन्टेनर डेलिभरी गर्न मेसिन र जनशक्ति दुवै बढी खर्च भइरहेको हिमालयन टर्मिनलले जानकारी दिएको छ । चार वटा लोड गर्ने मेसिन रहेकामा अहिले तीन वटा सञ्चालनमा छन् । दुई दिनअघि दुईवटा मात्रै मेशिन सञ्चालनमा थियो ।

‘चार घण्टामा गर्न सकिने काममा ६ घण्टा लागेको हो तर आएका ग्राहकलाई सेवा दिएका छौं । मेशिनमा पनि समय समयमा खराबी आएकाले लोडिङमा केही ढिलाइ भइरहेको छ,’ टर्मिनलका एक अधिकारीले भने ।

हिमालयन टर्मिनलका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरी ड्राइ पोर्टमा कन्टेनर बढी जम्मा भएकाले सामान्य अवस्थाभन्दा बढी समय लाग्नु स्वाभाविक भएको बताउँछन् । ‘३५ दिनको लकडाउनमा ९३ र्‍याक समान आइसकेको छ । समान आउनु खुशीको कुरा भए पनि माल भण्डारणमा विपरीत अवस्था देखिएको छ । १४८६ ट्युज क्षमता हो तर चार हजार कन्टेनर थुपि्रसकेको छ,’ उनले भने, ‘एक कन्टेनर समान निकाल्न ७/८ वटा कन्टेनर हटाउनुपर्छ । त्यसले गर्दा मेसिन पटक-पटक बिग्रिरहेको छ ।’

चौधरीका अनुसार मेसिन मर्मतका लागि नेपालमा पार्टपुर्जा नपाउने हुँदा भारतका कलकत्ता, मुम्बई, दिल्ली लगायतका स्थानबाट मगाउनुपर्छ । लकडाउनले गर्दा त्यहाँ पनि पसल बन्द छ । समान ल्याउन निकै समस्या छ ।

ब्रेक बल्क, आइरन स्टिल २० र्‍याक आएको लेबरबाटै खाली गराएको चौधरीले बताए । सबै सरोकारवालाले ड्राइपोर्ट सञ्चालनका लागि हातेमालो गर्नुपर्ने तर्क उनी गर्छन् । उनले भने, ‘पुराना कन्टेनर पार्टीको हिसाबले नै राखिदिएका छौं । उनीहरुले ती कन्टेनर उठाइदिए केही हदसम्म सहज हुने थियो ।’

राजश्व संकलनमा गिरावट

हिमालयन टर्मिनलले मालबाहक गाडी लोड नगरिदिँदा त्यसको असर राजश्वमा पनि देखिएको छ । रेलमार्गबाट नियमित समान आइरहेको भए पनि गाडी लोड गर्न ढिलाइ हुँदा भन्सार जाँचपासमा भने गिरावट आएको छ ।

सिर्सिया भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले लकडाउनपछि भन्सार जाँचपासमा कमी आएको जानकारी दिए । ‘लकडाउन अघि १२ करोडको हाराहारीमा राजश्व संकलन हुन्थ्यो, लकडाउन शुरु भएपछि केही दिन कारोबार नै भएन,’ श्रेष्ठले भने, ‘पछिल्ला दिनमा कम भन्सार लाग्ने औद्योगिक कच्चा पदार्थको मात्रै जाँच पास भइरहेको छ । ३ करोडको हाराहारीमा राजश्व संकलन भइरहेको छ । ‘

फलामजन्य कच्चा पदार्थ प्रयोग गर्ने उद्योगहरु नचलेको, सिपिङ लाइन, इन्टरमोडल लगायतका निकायले छुट सुविधा दिएको कारण पनि जाँचपास कम भएको हुन सक्ने उनी बताउँछन् ।

फोटो सौजन्य : प्रणय साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment