Comments Add Comment

सुरक्षाकर्मीको आँखा छलेर भारतबाट नेपाल प्रवेश

भारतबाट नेपाल प्रवेश गर्नेको लर्को लागेपछि सर्लाहीका एसपी फेरिए

१८ वैशाख, काठमाडौं । भारतसँग सीमा जोडिएको एक हजार ६ सय ९० किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीले एक हजार दुई सय १३ वटा अस्थायी पोष्ट स्थापना गरेको छ । यसअघि नेपाल-भारत सीमामा १ सय २० वटा बोर्डर आउट पोष्ट थिए ।

कोभिड-१९ को महामारी अघि ७ देखि १० किलोमिटरको फरकमा सशस्त्र प्रहरीको उपस्थिति रहे पनि अहिले एकदेखि ३ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको अस्थायी पोष्ट राखिएको सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठ बताउँछन् ।

तर, बैतडी, दार्चुला जस्ता पहाडी क्षेत्रमा महाकाली नदी पार गरेर नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन । तराईका सीमावर्ती क्षेत्रमा पनि चोर बाटो प्रयोग गरेर सर्वसाधारणले नेपाल प्रवेश गर्न छाडेका छैनन् । प्रवक्ता श्रेष्ठ भने भारतबाट नेपाल आउने कार्यलाई पूर्णतः निषेध गरिएको दाबी गर्छन् ।

दार्चुलाबाट १६ जना नेपाल छिरे

भारतमा अड्किएका १६ जना नेपाली मजदुरले मंगलबार राति महाकाली नदीमा हाम फाले । सुखद् पक्ष, महाकालीको भेलमा पौडिएका सबै जना सकुशल आफ्नो मुलुकमा आउन सफल भए ।

नेपाल प्रवेश गरे पनि उनीहरुलाई स्थानीय प्रशासनले खोजी गरिरहेको छ । दार्चुलाका प्रहरी प्रमुख एसपी दिपेन्द्र शाहीले अनलाइनखबरसँग भने, ‘स्थानीय प्रशासनसँग समन्वय गरेर क्वारेन्टाइनमा राख्ने तयारी गरिरहेका छौं ।’

यसअघि पनि भारतबाट नेपाल छिर्न खोज्ने व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिँदै आएको शाहीले जनाए । तर, संख्याबारे उल्लेख गरेनन् । सशस्त्र प्रहरी बलका एक उच्च अधिकृतका अनुसार सरदर दैनिक ५ जना नागरिकले जोखिमपूर्ण ढंगले नदी पार गरेर नेपाल प्रवेश गरिरहेका छन् ।

‘भेलमा पनि नांगै तरेर नेपाल आउनेलाई धकेलेर उतै पठाउने कुरा पनि भएन’, उनी भन्छन्, ‘नेपाल छिरे पनि निरन्तर निगरानीमा राख्ने गरेका छौं ।’

प्रदेश ५ को रुपन्देहीका सशस्त्र प्रहरी प्रमुख एसपी तेजप्रसाद पोखरेल भारतबाट दैनिक १५ देखि २० जना व्यक्ति सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोज्ने गरेको बताउँछन्

नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख उत्तमराज सुवेदी पनि ज्यानकै जोखिम मोलेर नदीमा फाल हानेर भारतबाट मानिसहरु आउन सक्ने जोखिम देखिएको बताउँछन् ।

‘नदी पार गरे पनि निश्चित पोइन्टमा एम्बुसिङ गरेर उनीहरुलाई क्वारेन्टाइनमा राख्ने गरी व्यवस्था मिलाउन खोजिरहेका छौं’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुवेदीले अनलाइनखबरसँग भने, ‘नेपालतिर आउनेको संख्या धेरै नभए पनि हामी सचेत छौं ।’

यो समस्या बैतडी र दार्चुलाका सीमा क्षेत्रमा देखिएका छन् । एक महिनादेखि भारतमा अलपत्र नेपाली नागरिक यसरी नेपाल प्रवेश गर्ने कोशिश गरिरहेका हुन् ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी कोही व्यक्ति लुकेर आएको पाइए, भारततिरै फर्काइने गरिएको बताउँछन् । तर, भजनी नगरपालिका-५ का वडाध्यक्ष केशव बुढाले केही दिन अघिसम्म भारतबाट सर्वसाधारण आउने गरेको बताए ।

सुदुरपश्चिम प्रदेशकै कैलाली र कञ्चनपुरको सीमा नाकाबाट पनि नेपालीसँगै भारतीय नागरिक नेपाल प्रवेश गर्ने गरेको पाइएको छ । यद्यपि, सुरक्षाकर्मीको सक्रियतापछि नेपाल प्रवेश गर्न खोज्नेको संख्यामा कमी आएको स्थानीय प्रशासनको दाबी छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ का अध्यक्ष तुलसी अर्याल पनि भारतबाट आएका ५ जनालाई उतै फर्काइएको स्मरण गर्छन् ।

प्रदेश ५ को रुपन्देहीका सशस्त्र प्रहरी प्रमुख एसपी तेजप्रसाद पोखरेल भारतबाट दैनिक १५ देखि २० जना व्यक्ति सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोज्ने गरेको बताउँछन् । यद्यपि, उनीहरुलाई सम्झाएर भारतीय प्रहरीको जिम्मा लगाउने गरिएको उनको दाबी छ ।

रुपन्देहीमा सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी । तस्वीरः टोपराज शर्मा/अनलाइनखबर

तराईमा चोर बाटोबाट छिर्छन् मजदुर

प्रदेश नं. २ को सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार ११ चैतमा लकडाउनको घोषणा भएदेखि प्रदेशका विभिन्न सीमा क्षेत्रबाट एक हजार ६ सय २० जना सर्वसाधारण नेपाल प्रवेश गरेका छन् ।

जसअनुसार सप्तरीमा १५०, सिरहामा १७९, धनुषामा १०१, महोत्तरीमा १५९, सर्लाहीमा ३३८, रौतहटमा  २५७, बारामा ९३ र पर्सामा ३४३ जना भित्रिएको तथ्यांक मन्त्रालयसँग छ । प्रदेश २ को आठ वटै जिल्लामा गरेर ४५२ किलोमिटर क्षेत्रमा भारतसँग सीमा जोडिएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी दुई/चार दिनको फरकमा एकाध व्यक्तिहरु नेपाल प्रवेश गर्ने गरेको बताउँछन् । ‘अहिले त स्थानीय नै सचेत भइसक्नु भएको छ, कोही गाउँमा नयाँ मान्छे देख्ने वित्तिकै प्रहरी, प्रशासनलाई खबर आइसक्छ’, उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि हामी सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिन्छौं ।’

हालसम्म नेपाल प्रवेश गर्नेको संख्या ‘म्यानेजएवल’ नै भएको उनले जनाए । यद्यपि, ती व्यक्तिलाई पनि कसरी पूर्ण रुपमा रोक्न सकिन्छ भनेर छलफल भइरहेको जिसीले अनलाइनखबरलाई बताए ।

हाल जिल्लाको विभिन्न क्षेत्रमा रहेको क्वारेन्टाइनमा १०५ जना रहेको जिसीले बताए ।

भारतसँग ५१ किलोमिटर सीमा जोडिएको सर्लाहीमा रातको समयमा ‘चोर बाटो’को प्रयोग गरेर नेपाल प्रवेशको प्रयास हुने गरेको जिल्लाका एक सुरक्षा अधिकृतले अनलाइनखबरलाई बताए । उनले भने, ‘गलत नियतले होइन कि भारतमा लामो समय अड्किएपछि आफ्नै गाउँ फर्किन चाहनेहरु नै यसरी आउन खोज्ने हुन् ।’

यो पनि पढ्नुहोस रुपन्देहीको सीमा क्षेत्रमा एक हजार सशस्त्र प्रहरी परिचालन

प्रदेशका सुरक्षा अधिकृतहरु विगतमा भारतको सशस्त्र सीमा बल (एसएसबी) ले नै सर्वसाधारणलाई नेपालतिर पठाइदिने गरेको दाबी गर्छन् । दुई साताअघि सर्लाहीको सीमा नाकाबाट ४० बढी सर्वसाधारण नेपाल प्रवेश गरेको स्रोत बताउँछ ।

यही प्रकरणलाई लिएर सर्लाहीका सशस्त्र प्रहरी प्रमुख विनोदराज श्रेष्ठ जिम्मेवारीबाट हटाइएका छन् । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोक स्रोतका अनुसार ‘कमाण्ड कन्ट्रोल’मा प्रश्न उठेपछि उनलाई हटाएर गंगाराम श्रेष्ठलाई नयाँ प्रमुखको रुपमा पठाइएको छ ।

सशस्त्र प्रहरीका एक उच्च अधिकृतले अनलाइनखबरसँग भने, ‘अहिलेको अफ्ठ्यारो पस्थितिमा सुरक्षामा कुनै सम्झौता गर्ने अवस्था छैन । त्यसैले जिल्लाको नेतृत्व फेरिएको हो ।’

सप्तरीका सशस्त्र प्रहरी प्रमुख (एसपी) उद्धव न्यौपाने रातको समयमा मौका छोपेर भारतबाट विभिन्न व्यक्ति आउन सक्ने सम्भावना रहेको बताउँछन् । यद्यपि, रातको गस्तीलाई पनि बढाइएको उनले जनाए ।

‘राती खटिने टोलीलाई टर्च लाइटको पनि व्यवस्था गरेका छौं’, उनले अनलाइनखबरसँग भने, ‘मोटरसाइकल र गाडीबाट पनि नियमित गस्ती भइरहेको छ ।’

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला कतिपय अवस्थामा व्यवहारिक समस्याका कारण पनि भारततिरबाट सर्वसाधारण नेपाल प्रवेश गर्ने गरेको बताए ।

‘खुला सीमा छ, कोही खेतमा गहुँ काटेको जस्तै गर्दागर्दै नेपाल प्रवेश गर्दा रहेछन्’, उनले अनलाइनखबरसँग सुनाए, ‘नेपाली क्षेत्रमा प्रवेश गरिसके फेरि फर्काउने कुरा पनि भएन । त्यसरी छिटपुट रुपमा प्रवेश गर्नेलाई हामीले क्वारेन्टाइनमा राख्ने गरेका छौं ।’

उनका अनुसार २४ चैतमा जनकनन्दनी गाउँपालिका-२ का वडाध्यक्ष पनि भारतबाट नेपाल प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएका थिए । नेपाल र सीमापारि पनि घर भएका वडाध्यक्ष भोगेन्द्र पाठक भारतको मधुवनीबाट फर्किएपछि स्थानीयले उनलाई क्वारेन्टाइनमा राख्न माग गरेका थिए ।

त्यसपछि प्रहरीले उनलाई जनकनन्दनी गाउँपालिका-४ मा रहेको विद्यालयको क्वारेन्टाइनमा भर्ना गरेको थियो । हाल जिल्लाको क्वारेन्टाइनमा १०१ जना रहेको निरौलाले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘हामीले छिटपुट रुपमा आउनलाई पनि अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने गरेका छौं । एक जना क्यान्सरका रोगी पनि उपचारपछि फर्किनु भएकाले क्वारेन्टाइनमा हुनुहुन्छ ।’ निरौलाका अनुसार भारतबाट आउने व्यक्तिको अनिवार्य कोभिड-१९ को पीसीआर परीक्षण पनि हुने गरेको छ ।

कतिपय अवस्थामा स्थानीय नागरिकले नै नयाँ व्यक्ति देखेर खबर गर्ने गरे पनि नाता सम्बन्ध देखिएका अवस्थामा खबर नआउने गरेको निरौलाले सुनाए । ‘वारिपारि नाता, कुटुम्ब छन् त्यसैले व्यवहारिक रुपमा केही कठिनाइ छन्’, उनले भने, ‘यद्यपि, हामी समस्याको सामधान गर्ने प्रयत्नमै छौं ।’

सीमामा निगरानीका लागि भने सय मिटरको दूरीमा ७७० जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी खटिएका छन् । केही स्थानमा नेपाल प्रहरीका अधिकारीहरु पनि खटिएका छन् ।

प्रदेश नं २ का प्रहरी प्रमुख धिरजप्रताप सिंह भारतबाट आएका ५ जना जमातीमा संक्रमण देखिएपछि सीमामा कडाइ गरिएको बताउँछन् । ‘अहिले एसएसबीले पनि हामीलाई सहयोग गरिरहेको छ, पारिका सर्वसाधारण उतै रोकिएका छन्’, डीआईजी सिंहले अनलाइनखबरसँग भने, ‘नेपालमा रोकिएका भारतीय मजदुरलाई पनि भारत छिर्न दिएका छैनौं ।’

पाल टाँगेर टहरोमा बसेका छौं, वर्षातमा कठिन हुन्छ : एसपी सुवेदी

पर्सामा १०७ र बारामा ६० किलोमिटर भारतसँग जोडिएको खुला सीमा छ । दुवै जिल्लामा एकले अर्कोलाई देख्ने गरिको दुरीमा सुरक्षाकर्मी परिचालन गरेको सशस्त्र प्रहरीको दाबी छ ।

नेपालबाट भारत जान खोज्नेलाई नेपालतिरै रोकिँदै आएको र भारतबाट नेपाल छिर्न खोज्नेलाई पनि एसएसबीले पारि नै रोक्ने गरेको सशस्त्र प्रहरीका अधिकृतहरु बताउँछन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले भने, ‘हामीले आई टु आई कन्ट्याक्ट रहने गरी सुरक्षाकर्मी परिचालन गरेका छौं ।’ पर्सामा ९ वटा बोर्डर आउट पोष्ट रहेकोमा लकडाउनपछि ५२ वटा फरवार्ड पोष्ट स्थापना गरिएको छ भने ६ सय भन्दा बढी सशस्त्र प्रहरीका जवान सीमामा खटिएका छन् ।

सशस्त्र प्रहरी बल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवरले कोभिड-१९ को जोखिमलाई मध्यनजर गरेर सीमामा उच्च सतर्कता अपनाइएको जानकारी दिए ।

उनले भने, ‘एसएसबीसँग पनि समन्वय गरेर सीमामा सर्वसाधारणको आवागमन पूर्ण रुपमा रोकेका छौं । दशगजामा मुभमेन्ट देखियो भने तुरुन्तै एक्सनमा आइहाल्छौं ।’

बारामा सीमा क्षेत्रमा हुन सक्ने गतिविधिलाई रोक्न सीमा क्षेत्रका २० वटा वडामा वडा अध्यक्षको नेतृत्वमा वडा स्तरीय निगरानी समिति समेत गठन भएका छन् । त्यसबाहेक ७ वटा बोर्डर आउटपोष्टको मातहतमा १७ वटा फरवार्ड आउटपोष्ट थपिएको छ । ९१ स्थानमा ड्युटी पोष्ट स्थापना गरिएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित सीमा क्षेत्रमा लकडाउनपछि सशस्त्र प्रहरीको संख्या दोब्बर गरिएको बताउँछन् ।

उनका अनुसार नेपाल छिर्न खोज्ने २६ जनालाई भारततर्फ नै फर्काइएको छ । भारतमा १३ जना नेपाली र बारामा ९१ जना भारतीय नागरिक क्वारेन्टाइनमा राखिएका छन् ।

बाराका सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदी मौसम प्रतिकुल हुँदा समस्या आउन सक्ने बताउँछन् । उनले भने, ‘अहिले पाल टाँगेर, टिनको टहरा बनाएर हामी खटिइरहेका छौं, वर्षातको समयमा यसरी कठिन हुन्छ ।’

– सुरेश विडारी

बिहारतिरबाट नेपाल आउन खोज्ने कम

प्रदेश १ मा दक्षिणी सीमा भारतको बिहारसँग जोडिएको छ ।

‘हालसम्मको तथ्यांक हेर्दा बिहारबाट नेपाल आउने संख्या अत्यन्त न्यून छ’, प्रदेश प्रहरी प्रमुख ईश्वरबाबु कार्की भन्छन्, ‘त्यसैले दक्षिणी क्षेत्रबाट छिर्न खोज्ने व्यक्ति नगन्य छन् ।’

भारतसँग सीमा जोडिएको मोरङ र सुनसरीमा एक हजार ५०० प्रहरी परिचालन गरिएको छ । रातको समयमा भारतबाट मजदुर प्रवेश गर्न सक्ने भएकाले अस्थायी चेक पोष्टमा २४ घण्टे ड्युटी कायम गरिएको सशस्त्र प्रहरीले जनाएको छ

प्रहरी नायब महानिरीक्षक (डीआईजी) कार्की झापाको केही भाग पश्चिम बंगालसँग जोडिए पनि मेची नदीका कारण त्यताबाट पनि सर्वसाधारण प्रवेश गर्न खोज्ने क्रम नदेखिएको बताउँछन् । ‘पश्चिममा जस्तो यहाँ नदीमा हाम फालिहाल्ने स्थिति पनि छैन’, उनले भने ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राणा पनि ५ सय मिटरको फरकमा अस्थायी सुरक्षा पोष्ट खडा गरेर भारतबाट आउने नागरिकलाई प्रवेश निषेध गरिएको बताउँछन् । ‘अहिले स्थानीय पनि आफैं सीमामा स्वयम्सेवकका रुपमा खटिनु भएको छ’, राणाले अनलाइनखबरसँग भने, ‘यसले झनै सजिलो भएको छ ।’

भारतसँग सीमा जोडिएको मोरङ र सुनसरीमा एक हजार ५०० प्रहरी परिचालन गरिएको छ । रातको समयमा भारतबाट मजदुर प्रवेश गर्न सक्ने भएकाले अस्थायी चेक पोष्टमा २४ घण्टे ड्युटी कायम गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार भारतसँगको करिब ६२ किलोमिटर सीमा क्षेत्रमा सशस्त्रका स्थानीय र अस्थायी गरी ७९ बोर्डर आउट पोष्ट (बीओपी) छन् ।

जसमा २३१ सुरक्षाकर्मी सीमा निगरानीमा खटिएका छन् । लकडाउन सुरु भएदेखि हालसम्म भारतबाट नेपाल प्रवेश गर्न खोज्ने १७ जनालाई क्वारेन्टाइनमा राखिएको पौडेलले जनाए । जिल्लामा रहेका ७४ वटा मस्जिदमा पनि निगरानी बढाइएको उनले बताए ।

त्यस्तै, ६३ किलोमिटर सीमा भारतसँग जोडिएको मोरङमा ८ सय जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले दशगजा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १०७ स्थानमा अस्थायी चेक पोष्ट खडा गरिएको बताए । उनले अनलाइनखबरसँग भने, ‘सीमामा सुरक्षाकर्मीले २४ घन्टै निरन्तर गस्ती गरेर मानिसहरुको आवतजावतलाई पूर्णतः निषेध गर्नुभएको छ ।’

मोरङका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नेत्रबहादुर कार्की पनि सशस्त्र प्रहरीको सम्पूर्ण जनशक्तिलाई दशगजा क्षेत्रमा केन्द्रीत गरिएको बताउँछन् । उनले भने, ‘गाडी, मोटरसाइकल, साइकल र पैदल समेत गरेर हामी दैनिक गस्तीमा खटिइरहेका छौं ।’

नेपाल प्रहरीका एसपी विश्व अधिकारी पनि सीमा क्षेत्रमा प्रहरी निरीक्षकको कमाण्डमा तीन सय बढी प्रहरी अधिकृत खटाइएको बताउँछन् । लकडाउनपछि भारतबाट नेपाल प्रवेश गरेका १६ जना मोरङको सीमाबाट नियन्त्रणमा परेका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

हालसम्म प्रदेश १ का ३१ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ भने प्रदेशभरि दुई हजार एक सय ९७ जना क्वारेन्टाइनमा छन् ।

हल्चोकबाट देशभरको निगरानी

सशस्त्र प्रहरी बलको हल्चोकमा रहेको कार्य तथा सीमा सुरक्षा विभागले देशभरको सीमा सुरक्षा स्थितिबारे निरीक्षण गरिरहेको छ । एपीएफले कतिपय सीमा क्षेत्रमा क्लोज सर्किट (सीसी) क्यामरा पनि राखेको छ । जसको निरीक्षण हल्चोकबाट पनि भइरहेको हो ।

यसका अलावा हरेक प्रदेशका कमाण्डरसँग नियमित रुपमा सुरक्षा स्थितिबारे बि्रफिङ लिने काम भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । उनीहरुले आफ्नो क्षेत्रको स्थितिबारे नियमित रुपमा प्रतिवेदन पनि बुझाइरहेको स्रोतले बतायो ।

सशस्त्र प्रहरीको उद्देश्य भारतबाट आउने व्यक्तिको पूर्णतः निषेध गर्नु नै भएको बताउँदै एक अधिकृतले अनलाइनखबरसँग भने, ‘तर, अझै करिब दुई हजार नेपाली मजदुर सीमा क्षेत्रमा अड्किएको पाइएको छ, उनीहरु हाम्रा लागि जोखिम बन्न सक्छन् ।’

(विराटनगरबाट ध्रुव भट्टराई, धनुषाबाट श्रवण देव, पर्साबाट सुरेश बिडारी, बुटवलबाट टोपराज शर्मा र कैलालीबाट भानुभक्त आचार्यको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment