Comments Add Comment

पूरा भयो केकीको एउटा सपना, इन्स्टाग्राममा चलाउँछिन् अन्ताक्षरी

सानैदेखि केकी अधिकारीमा एउटा ठूलो रहर थियो- रेडियोमा बोल्ने,  कार्यक्रम चलाउने र आफ्नो आवाजबाट फ्यान कमाउने ।

केकीले फ्यान त कमाइन तर आवाजबाट होइन, अभिनयबाट । रेडियोमा बोल्ने चाहना थाती राखेर उनी चलचित्र क्षेत्रकी व्यस्त नायिका बनिन् । नाम र दाम पनि कमाइन् ।

तर, केकीमा रेडियो सञ्चालिका बन्ने रहर भने अझै मरेको छैन । चलचित्रको काममा व्यस्त हुँदा उनी आफ्नो सपना भुल्छिन् । आफ्नै काममा रमाउँछिन् । जब फुर्सद मिल्छ, आफ्नो सपना सम्झिन्छिन् ।

लकडाउनका कारण अहिले केकी फुर्सदमा छिन् । त्यसैले होला, उनलाई त्यो सपनाले घच्घच्याई रहेको छ । चिमोटिरहेको छ। फुर्सद मिलेपछि केकीले आफ्नो सपना पूरा गर्ने उपाय सोच्न थालिन् । जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै भयो । उनले सामाजिक सञ्जाल इन्स्टाग्रामलाई रेडियो जस्तो सोचिन्। इन्स्टाग्राममा लाइभ गरेर आफू कार्यक्रम सञ्चालिका बन्ने उपाय रचिन् ।

केकीलाई लागेको थियो, ‘यसबाट मेरो सपना पनि पूरा हुने, घरमा थुनिएर बस्नु भएका शुभचिन्तकलाई पनि एकैछिन रमाइलो गराउन सक्ने ।’ लाइभ त गर्ने तर के विषयमा गर्ने ? केकीले आफैँलाई प्रश्न गरिन् । त्यसै बखत उनको दिमागमा झट्ट आयो, ‘अन्ताक्षरी’ ।

अन्ताक्षरी केकीलाई मन पर्ने खेल । उनले कोही गेष्टलाई लाइभमा ल्याएर अन्ताक्षरी गाउने निधो गरिन् ।

के हरेक दिन गर्ने त यो कार्यक्रम ? उनको दिमागमा आएको अर्को प्रश्न थियो ।

‘रेडियो कार्यक्रम त हप्तामा एकदिन हुन्छ । त्यो पनि एक घण्टा मात्रै,’ केकीले यही सोचिन् र समय तय भयो – हरेक मंगलबार साँझ ६ बजेदेखि ७ बजेसम्म ।

लकडाउन सुरु भएदेखि नै केकी हरेक मंगलबार साँझ ६ बजे इन्स्टाग्राममा लाइभ आइरहेकी छिन् । गीत गाइरहेकी छिन् । केकीले आफ्नो कार्यक्रमको नाम राखेकी छिन्, ‘साबुनपानी अन्ताक्षरी’ ।

नामको विषयमा केकीले भनिन्, ‘साबुनपानी अन्ताक्षरी नाम राख्नुको कारण कोरोनाबाट बच्नको लागि साबुनपानीले निरन्तर हात धुनुपर्छ भन्ने सन्देश दिनलाई नै हो ।’

केकी अहिले आफ्नो सपना पूरा भइरहेको महसुस गर्छिन् । एक घण्टा भए पनि आफूलाई सपनाको संसारमा पुर्‍याउँछिन् । दर्शक तथा शुभचिन्तकबाट मिलेको प्रतिकृयाबाट उनलाई हौसला मिलेको छ ।

केकी भन्छिन्, ‘पहिलो हप्ता मैले ट्रायल गरेँ । जहाँ मलाई दर्शकको प्रतिकृया निकै राम्रो मिल्यो । त्यसैले पनि उत्साहित भएर यसलाई निरन्तरता दिएको हुँ ।’

केकीले अहिलेसम्म लाइभमा नायिका ऋचा शर्मा, रीमा विश्वकर्मा र आर्जन पाण्डेसँग अन्ताक्षरी गाइसकेकी छिन् । जितहारको टुंगो ७ बजे लाग्छ । उनको घडीमा ठिक सात बज्दा जसमा पालो पुगेको उसैले हार्ने केकीको नियम छ ।

अन्ताक्षरीमा नेपाली गीतहरू मात्रै गाउने उनले अर्को नियम बनाएकी छन् । ‘हामी लाइभमा नेपाली गीतहरू मात्र गाउँछौँ’, केकीले भनिन्, ‘दर्शकले दिनुभएको सुझावलाई शिरोपर गर्दै हामी उहाँहरूले नै रोज्नु भएको गीत गाउने छौँ ।’

दर्शक खुसी पार्न सकेकोमा केकी दंग छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment