+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

उदयपुरका बिरामी अस्पतालबाट फेरि निकालिए

हरि अधिकारी हरि अधिकारी
२०७७ वैशाख १९ गते २०:०९

१९ वैशाख, विराटनगर । उदयपुर घर भएकै कारण विराटनगरको नोबल मेडिकल कलेजले शुक्रबार पनि बिरामीलाई उपचार नगरी फर्काइदिएको छ ।

हातको अप्रेशनका लागि भर्ना भएका उदयपुर त्रियुगा नगरपालिका– ६ घनचक्रेका १६ वर्षका भीमबहादुर खत्रीलाई शुक्रबार अप्रेशन थिएटरबाटै निकालेको हो ।

बारीमा घाँस काट्ने क्रममा लडेका खत्रीको देब्रे हात भाँच्चिएको छ । उपचारका लागि बिहीबार नोबलमा भर्ना भएका उनलाई डाक्टरले शुक्रबार बिहान ९ बजे शल्यक्रिया गर्ने समय दिएका थिए ।

शल्यक्रियाका लागि ३२ हजार रुपैयाँ बुझाइसकेर अप्रेशन थिएटरमा लगिसकेपछि डाक्टरले भीमलाई ठेगाना सोध्दा उदयपुर भनेपछि निकालिदिएका हुन् ।

थिएटरबाट निकालिएका विरामी भतिजलाई लिएर काका शमशेरबहादुर खत्री कोशी अस्पताल पुगेका छन् । कोशीले उनलाई आइतबार शल्यक्रिया गरिदिने बताएको छ ।

‘एक्सरे, एमआरआई सबै गरेपछि अप्रेशनका लागि छुट्टै ३२ हजार रुपैयाँ जम्मा गरेँ’ समशेरबहादुरले भने, ‘अप्रेशन थिएटर छिराएर केहीसमय राखेपछि त्यसै निकालिदिए ।’

अप्रेशन कक्षभित्र ठेगाना सोधेर आफूलाई निकालिदिएको भीमले बताएका छन् । ‘डाक्टरले कागज हेर्दै घर उदयपुर हो भनेर सोध्नुभयो’ उनले भने, ‘हो भनेपछि तिम्रो अप्रेशन हुँदैन भन्नुभयो ।’

बुधबार नोबलले प्रसुतिका लागि भर्ना भएकी उदयपुर गाइघाटकी २९ वर्षकी सरस्वती रौनियारलाई अप्रेशन थिएटरबाट निकालेको थियो । ती महिलाले कोशी अस्पतालमा छोरा जन्माएकी छन् ।

अस्पतालले उदयपुर घर भएकै कारण निकालेको जानकारी पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त घटना छानबिन गर्ने बताएको छ । तर शुक्रबार नोबलले फेरि त्यस्तै घटना दोहोर्‍याएको हो ।

डाक्टर भन्छन् – इपिसेन्टरबाट आएकाले उपचार गरेनौं

बिहीबार भर्ना भएका भीमको शुक्रबार डा. प्रकाश सिटौलाको टोलीले शल्यक्रिया गर्ने तयारी थियो । तर बिरामी कोरोना भाइरसको इपिसेन्टरबाट आएको देखिएपछि जोखिम नलिएको डा. सिटौला बताउँछन् ।

‘एडमिट गर्दा सबै कुरामा ध्यान नदिएको रहेछ’ उनले भने ‘उदयपुर धेरै संक्रमित भेटिएको ठाउँ हो, उपचार गर्नुअघि कोरोना परीक्षण गर्नुपर्छ ।’ बिरामीमा कोरोना परीक्षणपछि मात्र आफूले शल्यक्रिया गर्ने बताएको उनी बताउँछन् ।

भारतमा दुईजना हाडजोर्नी विशेषज्ञको कोरोना संक्रमणको कारण मृत्यु भएको बताउँदै उनले बिरामी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरेका कारण आफूहरु उपचार गर्न डराएको बताए ।

मन्त्रीको पनि केही लागेन

भीमका काका शमशेर बराहक्षेत्र नगरपालिका– ६ का जनप्रतिनिधि हुन् । उनको वडा प्रदेश एकका उद्योग, वन पर्यटन तथा वातावरण मन्त्री जगदिश कुसियतको निर्वाचन क्षेत्रमा पर्छ । अस्पतालले मन्त्रीको भनाई मान्छन् कि भनेर खत्रीले कुसियतको सहयोग मागे ।

मन्त्रीको सचिवालयले पनि भीमबहादुरको नोबलमै उपचारका लागि प्रयास गर्‍यो । तर बिहान नौं बजे थिएटरबाट निकालिएका बिरामीको शल्यक्रिया गर्न चिकित्सक तयार भएनन् ।

अन्ततः साँझ साढे ५ बजे भीमलाई कोशी अस्पताल लगियो । अस्पतालले शल्यक्रियाका लागि तिरेको रकमसमेत फिर्ता नदिएको शमशेरबहादुरले बताए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?