Comments Add Comment

धादिङको बेनीघाटमा क्रिकेट रंगशाला निर्माण अभियान सुरु

२० वैशाख, काठमाडौं । पछिल्लो समय धादिङ जिल्लामा क्रिकेट क्रेज बढिरहेको छ । राजधानी काठमाडौं नजिकै भएपनि अहिलेसम्म जिल्ला क्रिकेट संघ गठन भएको छैन । तर स्थानीय क्रिकेट अभियान्ताहरुकै पहल र खेलाडीको रुचिका कारण पनि जिल्लामा क्रिकेट गतिविधि भने बढिरहेको छ ।

विद्यालयकको वार्षिक कार्यक्रमहरुमा क्रिकेट खेल समावेश गरिन थालिएको छ । यस्तै अन्य विभिन्न विद्यालय स्तरीय प्रतियोगिताहरु पनि हुँदै आएका छन् । पछिल्लो समय जिल्लामै निर्माण हुन लागेको पहिलो क्रिकेट रंगशालले थप आकर्षण गरेको छ ।

धादिङको बेनीघाट रोराङ गाउपालिकास्थित बेनीघाट ५ बाहुनटारमा जिल्लाकै पहिलो क्रिकेट रंगशालाको निर्माण अभियान सुरु भएको हो । सरकारबाट ५० लाख बजेट विनियोजन भएपछि अहिले प्रारम्भिक काम सुरु भएको छ ।

बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लकाकोटीले पछिल्लो समय नेपालमा क्रिकेटको आकर्षण बढ्दै गएकोले स्थानीय युवाहरुलाई समेटेर सक्रिय रुपमा काम सुरु गरिएको अनलाइनखबरलाई जानकारी दिए । ‘अहिले क्रिकेटप्रति नेपालीहरुको आकर्षण बढेको छ र प्रभाव देखिएको छ । क्रिकेट खेलबाट नेपाली खेलाडी र नेपाल राष्ट्रको भविष्य पनि देखिन्छ । त्यसलाई ध्यानमा राखेर बेनीघाट रोराङ गाउँपालिकाले करिब ७५ रोपनी जग्गामा डीपीआर तयार गरेर यहाँकाे सम्पूर्ण युवाहरुलाई समेटेर यो काम अघि बढाएको छ । यो बहुवर्षिय योजना हो,’ डल्लाकोटीले भने ।

‘संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तीन तहका स्वामीत्व अपनत्व हुने हिसाबले यो निर्माण हुनेछ । हाइवेको नजिकै पनि छ ।’ अध्यक्ष डल्लाकोटीले पहिलो चरणको काम सक्नेबित्तिकै प्राथमिकतामा राखेर रंगशाला निर्माणको काम अघि बढाइने बताए ।

एक वर्ष अघिदेखि नै यसको योजना अघि बढाइएको र शुक्रबारदेखि रंगशालासम्म पुग्ने बाटो निर्माण सुरु भएको क्रिकेट अभियन्ता दिपेश कँडेलले अनलाइनखबरलाई जानकारी दिए । ‘सुरुमा स्थानीय क्रिकेट अभियन्ताहरुले गाउँपालिकासमक्ष रंगशाला निर्माणका लागि पहल गरेको थियो । त्यसमा गाउँपालिकाले १० लाख बजेट छुट्यायो र गाउँपालिकाले डीपीआर तयार पारेर पठाएको थियो । सुरुमा संघीय सरकारबाट ५० लाख बजेट बिनियोजन भएको छ ।’ कँडेलले भने ।

अहिले तत्कालका लागि रंगशालासम्म जाने बाटो तयार गरिने र अरु काम विस्तारै सुरु गरिने उनले बताए । ‘अहिले बाटो निर्माणको माम सुरु भएको छ । पाइप राखेर पानी निकास गर्ने, मैदान सम्माउने त्यसपछि शिलान्यासको कार्यक्रम पनि राख्नेछौँ,’ बेनीघाट रोराङ गाउँपलिका वडा नम्बर ५ को खेलकुद संयोजक समेत रहेका कँडेलले भने ।

अहिले बन्न लागेको रंगशाला मुख्य हाइवे पृथ्वी राजमर्गबाट नजिकै पर्छ ।

कँडेलले रंगशालाको चौडाइतर्फ केही जग्गा अपुग हुने भएकोले यस विषयमा सबैसँग समझदारी गरेर अगाडि बढ्ने दिपेश कँडेलले बताए । ‘लम्बाइमा समस्या छैन । चौडाइमा केही समस्या छ । हामी सबै समझदारी गरेर जग्गा मिलाउने प्रक्रियामा छौँ ।

आगामी ३ वर्षभित्र रंगशालमा निर्माण कार्य सकाउने तयारी छ । रंगशालमा निर्माणको बजेट करिब १५ करोड रहेको कँडेलले बताए । ‘अब बजेट के कसरी आउँछ त्यसमा पनि भर पर्छ । ३ वर्षमा सकाउने योजना छ । ५ हजार दर्शकको प्याराफिटसहितको रंगशालमा बन्नेछ,’ कँडेलले भने, ‘अहिलेलाई क्षेत्रिय स्तरको रंगशालमा बनाउने तयारी छ । यसो भएमा जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता गर्न राम्रो हुन्छ ।’

रंगशाला बनिसकेपछि जिल्लामा क्रिकेट गतिविधिहरु अझै बढ्ने उनले बताए । ‘जिल्लामा अहिले पनि क्रिकेटको गतिविधि भइरहेको छ र क्रेज छ। त्यसमा पनि बेनीघाट रोरोङमा क्रेज अझै बढी छ, उनले भने, ‘हामीले विद्यालय स्तरीय र जिल्ला स्तरिया क्रिकेट प्रतियोगिता पनि गरायौँ ।’

जिल्लामा क्रिकेट गतिविधि बढिरहँदा नेपाल क्रिकेट संघ क्यानमा आवद्ध हुने तयारी भइरहेको उनले बताए । कोरोना भाइरसका कारण क्यानमा आवद्ध हुने कार्य तत्कालका लागि रोकिएको कँडेलले बताए । ‘जिल्लामा अहिले संघ छैन । तर यसपाली बागमती प्रदेश क्रिकेट प्रतियोगितामा धादिङको नाम पनि थियो । प्रतियोगिताका लागि तयारी पनि भइरहेको थियो । तर कोरोनाले रोकियो,’ कँडेलले भने । क्रिकेट गतिविधि अझै बढाउन तदर्थ समिति गठन गरे काम गर्ने योजना बनाइरहेको उनले बताए ।

जिल्लामा क्रिकेट लगायत अन्य खेलकुद गतिविधहरु समेत बढिरहेको कँडेलले बताए । गत मंसिरमा नेपालमै भएको सागमा पनि धादिङ जिल्लाका खेलाडीले ३ स्वर्णसहित ९ पदक जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment