Comments Add Comment

नेकपा महासचिव भन्छन्– ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै छाड्नुहुन्न

दुई अध्यक्षबीच असमझदारी छ, सहमतीय अभ्यासमा फर्किनुको विकल्प छैन

२० वैशाख, काठमाडौं । सत्तारुढ नेकपाभित्र प्रचण्ड-माधव नेपाल पक्षले प्रधानमन्त्रीबाट केपी ओलीले राजीनामा नदिए हटाउने तयारी गरिरहेका बेला महासचिव विष्णु पौडेलले दुवै पदबाट ओली नहट्ने दाबी गरेका छन् ।

पार्टीभित्रको विवादका बेला कुनै पक्षमा खुलेर नबोल्ने गरेका महासचिव पौडेल केपी ओलीलाई हटाउने तयारीको भने खुलेर विपक्षमा उभिएका छन् ।

सचिवालय बैठकको पूर्वसन्ध्यामा अनलाइनखबरसँग विशेष कुराकानी गर्दै नेकपा महासचिव पौडेलले ओलीको राजीनामा माग्ने कुरा अनुचित र असान्दर्भिक भएको बताए ।

भैंसेपाटीस्थित निवासमा कुरा गर्दै उनले ‘राजनीतिक अस्थिरता र पार्टीलाई अकल्पनीय संकटमा धकेल्ने राजीनामाको प्रस्ताव’ प्रचण्ड र माधव नेपाललगायतका नेताले फिर्ता लिने विश्वाससमेत व्यक्त गरे।

यो पनि पढ्नुहोस फ्ल्यासब्याकमा बामदेव : जब प्रचण्डले सचिवालयमा ‘भकुण्डो’ छिराए

केही दिनअघि नेता बामदेव गौतमको निवासमा भएको भैंसेपाटी गठबन्धनको बैठकमा सहभागी भएपछि महासचिव पौडेलको भूमिकाबारे पार्टीमा चर्चा चलिरहेकै बेला उनले केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्न नहुने पक्षमा उभिएका हुन्।

महासचिवको हैसियतले उनी नेताहरूबीच समझदारी कायम गर्न लागिरहेका छन् । पौडेलले भने, अहिले प्रधानमन्त्रीको राजीनामाको प्रस्ताव नै अनुचित छ । उहाँले पार्टी र सरकारको नेतृत्व छाड्नुपर्ने कारण छैन र छाड्नु पनि हुन्न ।’

केपी ओली र प्रचण्डबीच केही असमझदारी देखिएको भए तापनि समझदारीमा फर्किने पौडेलको विश्वास छ। अनलाइनखबरसँगको कुराकानीमा महासचिव पौडेलले भने, ‘दुई अध्यक्षबीच असमझदारी देखिएकै हो । तर, उहाँहरू आपसमा बसेर समझदारीअनुसार निर्णय गर्ने अभ्यासमा फर्किनैपर्छ, अरू विकल्प छैन ।’

नेकपामा बहुमत र अल्पमतका आधारमा निर्णय गर्ने अवस्था अहिले नरहेको भन्दै पौडेलले पार्टीका कुनै पनि संरचना सरकारको नेतृत्व परिवर्तनको पक्षमा नरहेको दाबी गरे। स्थायी कमिटी बैठक माग गर्ने नेताहरूको माग सरकारले सम्बोधन गरिसकेकाले अहिले बैठक आवश्यक नरहेको महासचिव पौडेलले बताए ।

सचिवालय बैठकबाट नेकपा पुनः समझदारीको अभ्यासमा फर्किने भन्दै उनले बामदेव गौतमलाई आफ्नो विकल्पमा अघि सार्ने प्रस्तावमा प्रधानमन्त्री प्रतिबद्ध रहेको समेत बताए । तर, यसको थप व्याख्या भने उनले गर्न चाहेनन् ।

प्रस्तुत छ, नेकपा महासचिव पौडेलसँग अनलाइनखबरकर्मी मात्रिका पौडेलले शनिबार मध्याह्न गरेको कुराकानी–

प्रधानमन्त्रीले राजीनामा नदिए हटाउने तयारी भइरहेको छ, तपाईंले उहाँको पोजिसन के पाउनुभएको छ अहिलेसम्म ? 

यतिबेला प्रधानमन्त्रीको राजीनामाको माग असामयिक र जनताको हित, राष्ट्रिय आवश्यक तथा कम्युनिस्ट आन्दोलनको भविष्यका दृष्टिकोणले अनुचित प्रस्ताव हो । त्यसकारण प्रधानमन्त्रीले राजीनामा दिन हुँदैन र उहाँले दिनु पनि हुन्न ।

म के देख्दैछु भने, राजीनामा माग्ने प्रस्तावबाट साथीहरू सहमतितर्फ फर्किनुहुन्छ ।

प्रचण्डले त दुईवटै पद छाड्न दबाब दिइसक्नुभएको छ। हिजो पनि प्रचण्ड र माधव नेपालसहितका नेताहरू बैठक बसेर राजीनामा नदिए हटाउने कुरा भएको छ, तपाईंले भनेजस्तो सहज छ र ?

हामीले सरकारको र पार्टीको कामबारे समीक्षा गर्दै पनि आएका छौँ र फेरि पनि गर्न सकिन्छ । केही समयअघि सम्पन्न पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकमा पनि सरकार र पार्टीको कामबारे समीक्षा गरेका छौं । पार्टीको कामबारे समीक्षा हुन सक्छ । तर, यतिबेला सरकारको र पार्टीको नेतृत्व परिवर्तनको विषय अघि सार्नु गलत कुरा हो ।

यसको प्रभाव के हुन्छ, यसका परिणामहरू के हुन्छन् भन्ने समग्र पक्षमा विश्लेषण नगरी यस्ता प्रकारका प्रस्ताव लिएर आउने कुराले आम जनतामा निराशा सम्प्रेषण गरेको छ । यस्तो क्रियाकलापले नेपाली कम्युनिस्ट आन्दोलनलाई पनि गम्भीर नोक्सानी पुर्‍याउन सक्छ ।

तर, अब राजीनामा दिने कि स्थायी कमिटी बैठक बोलाएर हटाउने भन्नेमा परिस्थिति पुगिसकेको देखिन्छ नि ?

पहिलो कुरा त के छ भने स्थायी कमिटीको बैठक आवश्यकताको आधारमा बस्न सकिन्छ । तर, स्थायी कमिटी प्रधानमन्त्री चयन गर्ने वा प्रधानमन्त्री हटाउने निकाय होइन । स्थायी कमिटीको बैठक माग गर्ने साथीहरूले उठाउनुभएको अध्यादेश फिर्ताको विषय सम्बोधन भइसकेको छ । त्यसैले यतिबेला स्थायी कमिटी नबसी नहुने अवस्था पनि छैन ।

राजीनामा माग्ने कुरा त अनुचित हो भनेर मैले भनिसकेँ । त्यसकारण अहिले स्थायी कमिटीको आवश्यकता होइन । कोभिड १९ विरुद्ध सिंगो राष्ट्रलाई एकताबद्ध बनाएर परिचालित हुनुपर्ने अहिलेको आवश्यकता छ । त्यसतर्फ नै हामी केन्द्रित हुन्छौँ ।

दोस्रो कुरा, अहिले हामी कोभिड १९ महामारीको प्रकोपमा छौँ । हाम्रो देशमा मूलतः नियन्त्रणमा छ, सरकारले राम्रो काम गरिरहेको छ । कदाचित हाम्रो ध्यान महामारी नियन्त्रण गर्नेतर्फ केन्द्रित नभएर राजनीतिक अस्थिरतातर्फ केन्द्रित भयो भने त्यसले अप्ठ्यारो ठाउँमा पुर्‍याउन सक्छ । हामीले ठूलो संकटको सामना गर्नुपर्ने हुन सक्छ । हामीले कल्पना नगरेको अवस्था आउन सक्छ ।

संसारले लडिरहेको कोभिड-१९ विरुद्ध हामी स्वयं पनि एकताबद्ध भएर क्रियाशील हुनुपर्ने आवश्यकता रहेको परिस्थितिमा प्रधानमन्त्रीको राजीनामाको माग कुनै पनि दृष्टिले सही साबित हुन सक्दैन ।

अब लुकाउनुपर्ने कुरा छैन कि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल पक्षका नेताहरूले प्रधानमन्त्रीको राजीनामा आउनुपर्छ भनेर बोलिसक्नुभएको छ । यो अवस्था चाहिँ कसरी सिर्जना भयो त ?

यतिबेला प्रधानमन्त्रीको राजीनामा किन चाहियो र राजीनामा माग्नुपर्ने अवस्था किन सिर्जना भयो, त्यो मैले पनि बुझेको छैन । तर, यतिबेला यो विषयचाहिँ अनुचित र अनावश्यक कुरा हो । यसले मुलुकलाई र पार्टीलाई धेरै ठूलो नोक्सान पुर्‍याउँछ । यो बाटोमा हामी हिँड्नै हुँदैन । प्रधानमन्त्रीको राजीनामा होइन, नेताहरू आपसी असमझदारी हटाउन सघन संवादमा जुट्नु जरुरी छ ।

पार्टीका बहुमत नेताहरूले केपी ओली हट्नुपर्छ भनिसकेपछि उहाँले नैतिक र राजनीतिक वैधता गुमाउनुभएन र ?

बहुमत नेता भनेर कसरी भन्नुभयो, मैले बुझिनँ । कहाँ, कसले कसरी मतदान गरेर, कहाँ कसले मतगणना गरेर बहुमत र अल्पमतभन्दै हुनुहुन्छ तपाई ? यतिबेला यो राजनीतिक अस्थिरताका पक्षमा हाम्रो पार्टीको केन्द्रीय कमिटी छैन भन्ने मेरो विश्वास छ ।

राजनीतिक अस्थिरताको पक्षमा हाम्रो संसदीय दल पनि छैन भन्नेमा मलाई विश्वास छ । आम नेपाली जनसमुदाय पनि राजनीतिक अस्थिरताको विपक्षमा छन् । सरकारका कमीकमजोरीप्रति आलोचना होलान्, पार्टीका काम कारबाहीका बारेमा पनि आलोचनाहरू होलान् ।

तर, राजनीतिक स्थायित्व र स्थिरता राष्ट्रको आवश्यकता हो । जनताले प्रधानमन्त्री परिवर्तन चाहेका होइनन् । यतिबेला कसैले पनि अस्थिरतालाई मद्दत पुग्ने काम गर्नुहुँदैन ।

तर, सचिवालयदेखि नै हेर्‍यो भने प्रचण्ड–माधव नेपाल लगायतका नेता एक ठाउँमा उभिएपछि बहुमत उतै पुग्दैन र ?

तपाईले जसरी भन्दै हुनुहुन्छ, यो केवल मनोगत अनुमानको कुरा हो । न काहीँ मतदान भएको छ, न बहुमत-अल्पमत प्रकट भएको छ । पार्टीका कुनै पनि तहका संरचनाहरू अस्थिरताको पक्षमा छैनन् । संसदीय दल अस्थिरताको पक्षमा छैन । केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयसमेत अस्थिरताको पक्षमा हुने छैनन् भन्ने मेरो दृढ विश्वास छ ।

स्थायी कमिटीबाट निर्णय गरेर हट्न भन्ने र निर्णय नमाने संसदीय दलमा अविश्वास प्रस्ताव ल्याएर हटाउने कुरा पनि आइरहेको छ । नत्र हस्ताक्षर अभियान दुवैतिर किन चलाउनुपरेको त ?

मैले के बुझ्छु भने संसदीय दल सरकार परिवर्तनको पक्षमा छैन । प्रधानमन्त्री परिवर्तनको पक्षमा माननीय सांसदहरू हुनुहुन्न । अस्थिरतालाई प्रश्रय दिने कुनै पनि क्रियाकलापप्रति पार्टी संरचना जाँदैनन् । हस्ताक्षरको कुरा मैले पनि सुनिरहेको छु । तर, अविश्वासको प्रस्ताव कसैले संसदीय दलमा राख्छ भन्ने पनि मलाई लाग्दैन ।

कदाचित केही व्यक्तिले अविश्वासको प्रस्तावको प्रयास गरे पनि संसदीय दल त्यसको विरुद्धमा उभिन्छ । नेकपाभित्र सिर्जना हुने अस्थिरताले वा सरकारको अस्थिरताले केवल नेकपालाई मात्र क्षति पुग्नेवाला छैन । यसको असर र परिणाम सिङ्गो प्रणालीमा पर्नेछ ।

जुन प्रकारको संवैधानिक व्यवस्था हामीले खडा गरेका छौँ, यसप्रति पनि प्रश्न खडा हुनेछ । हामीले जनतासमक्ष राजनीतिक स्थिरता र स्थायित्व दिन्छौं भनेका हौं । जनताले हामीलाई प्रश्न गर्ने ठाउँ दिनुहुँदैन । अन्यथा हामी जनताको माझ जान सक्ने अवस्था हुँदैन ।

स्थायी कमिटीको बैठक बोलाउनुभएन भने उहाँहरूले हटाउनुहुन्छ, त्यसपछि पार्टी विभाजन हुने हो ?

मैलेचाहिँ के देख्छु भने कार्यकर्तामा पार्टीमा विग्रह, विभाजन हुने हो कि भन्ने चिन्ता छ । म तपाईंमार्फत समस्त पार्टी पङ्क्तिलाई, पार्टी निर्माणमा योगदान दिनुभएका सबै अग्रजहरूलाई पनि आग्रह गर्न चाहन्छु कि हामी एकताबद्ध र शक्तिशाली कम्युनिस्ट अन्दोलनको पक्षमा दृढतापूर्वक उभिनुपर्छ ।

यस्तोबेला सरकारको नेतृत्व परिवर्तन, पार्टीको नेतृत्व परिवर्तन जस्ता असामयिक र अनुचित प्रस्तावहरूले हाम्रो आन्तरिक एकतालाई कमजोर पार्छ। नेकपामा विग्रहको अपेक्षा गर्ने शक्ति र प्रवृत्तिलाई मद्दत पुर्‍याउँछ ।

सरकारविरुद्ध भएको आक्रमणलाई परास्त गर्दै प्रतिरक्षा गर्ने र पार्टीविरुद्ध भएको आक्रमणको प्रतिरक्षा गर्ने अहिले हाम्रो दायित्व हो ।

पार्टीले निर्णय गरेर अध्यक्ष र प्रधानमन्त्री छाड्नुस् भन्यो भने त केपी ओलीले छाड्नुपर्ला नि ?

अहिले, यतिबेला नेकपाका कुनै पनि संरचनाले त्यसो भन्दैनन् । केपी ओलीले पार्टीको नेतृत्व किन छाड्नुपर्ने ? सरकारको नेतृत्व किन छाड्नुपर्ने ? केका लागि छाड्ने भन्ने प्रश्न उठ्छ ।

उहाँले सरकारको नेतृत्व छाड्दा मुलुकले के प्रतिफल पाउँछ र पार्टीको नेतृत्व छाड्दा मुलुकले पाउँछ ? जनता र कार्यकताले यसको पनि जवाफ चाहन्छन् । केपी ओलीले सरकार र पार्टीको नेतृत्व किन छाड्ने ? उहाँले दुवै पद छाड्नुहुँदैन, छाड्नु हुन्न ।

पार्टीको बहुमतले नेकपाका अध्यक्ष केपी ओली वा प्रचण्डलाई हटाउन सक्ने व्यवस्था छ कि छैन ?

तपाईंले ठिकै प्रश्न गर्नुभयो । हामीले पार्टी एकताका बेलामा एउटा महत्वपूर्ण नीतिगत निर्णय गरेका थियौँ । त्यो के थियो भने, एकता प्रक्रिया आरम्भ भएपछि सम्पन्न नहुँदासम्म र पार्टी महाधिवेशन सम्पन्न नहुँदासम्म हामीले सबै निर्णयहरू सहमतिका साथ गर्नेछौँ ।

यो सहमतिका साथ निर्णय गर्ने भन्ने प्रवन्ध अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभव हेर्नुभयो भने पनि त्यो मेल खाँदैन । हाम्रो विगतको अभ्यास र अनुभवसँग पनि मेल खाँदैन । हामीले महाधिवेशनपछि अवलम्बन गर्ने हाम्रा नीतिहरूसँग पनि यो मेल खाँदैन ।

तर, पनि हामीले यो किन गर्‍यौँ भने एकता प्रक्रियालाई पूर्णतामा पुर्‍याउनका लागि र एकतालाई जोगाउनका लागि सहमतिमा निर्णय गर्नु अपरिहार्य थियो । त्यो अपरिहार्यतालाई दृष्टिकोण गरेर पार्टी एकतालाई पूर्णतामा पुर्‍याउन र एकता जोगाउन सहमतिको व्यवस्था गरेको हो ।

यसबीचमा कतिपय ठाउँमा सहमतिमा निर्णय गर्नुपर्ने हाम्रो व्यवस्था खण्डित भएको छ । ती घटनाहरूबाट हामीले शिक्षा लिएर अब कुनै पनि राजनीतिक, संगठनात्मक र जिम्मेवारीका विषयमा निर्णय गर्दा सहमतिमा निर्णय गर्नुपर्ने अभ्यासमै फर्किनुपर्छ ।

जसरी नेताहरूको तयारी देखिन्छ, हिजो पनि प्रचण्ड र माधव नेपालले स्थायी कमिटी सदस्यहरूलाई ब्रिफिङ गर्नुभएको छ। यो हिसाबले त नेकपाले केपी ओलीलाई हटाउन सक्छ, त्योबेला उहाँ खुरुखुरु बालकोट फर्किनुहोला ?

यतिबेला नेपालको कम्युनिस्ट आन्दोलनमा जनता र कार्यकर्ताले नचाहेका केही अप्रिय परिदृश्यहरू सतहमा प्रकट भएका छन् । यी अप्रिय परिदृश्यहरू सतहमा किन प्रकट भए भन्ने कुराले पार्टी पङ्क्तिलाई र जनतालाई चिन्तित तुल्याएका छन् ।

अग्रपङ्क्तिमा रहेका नेताहरूका बीचमा केही असमझदारीहरू देखिएका छन् । म आग्रह गर्न चाहन्छु, असमझदारी छन् भने एकआपसमा खुलस्त भएर आम्ने साम्ने छलफल गर्नुस् । कहाँनिर आपसी विश्वास र व्यवहारमा समस्या छन्, छलफल गरौँ । तर, सहमतिमा फर्किने र आन्दोलनलाई एकताबद्ध ढंगले अघि बढाउनुको कुनै विकल्प छैन।

फेरि पनि परिस्थितिले हामीलाई फेरि सहमतिका आधारमा निर्णय गर्ने र समझदारीका आधारमा अगाडि बढ्न निर्देशन गरिरहेको छ । अध्यक्षद्वयका बीचमा उत्पन्न भएका असमझदारीलाई पनि छलफलका माध्यमबाट समझदारी र सहमतिमा बदल्नुको विकल्प छैन ।

मुख्य नेताहरू विशेषगरी अध्यक्षद्वयका बीचमा उत्पन्न असमझदारीको अर्थ सरकार वा पार्टीको नेतृत्व परिवर्तन भन्ने हुनुहुँदैन ।

केपी ओलीले दुवै पद नछाड्ने हो भने, पछिल्लोपटक बामदेव गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव रणनीतिक मात्र हो त ?

म के बुझ्छु भने प्रधानमन्त्रीज्यूले सचिवालय बैठकमा राख्नुभएको प्रस्तावमा उहाँ दृढ हुनुहुन्छ । उहाँले बैठकमा के राख्नुभयो भन्ने कुरा त मिडियामा आ-आफ्ना अनुमानले फरक-फरक आएका छन् । तर, प्रधानमन्त्रीज्यूले बैठकसमक्ष जे कुरा राखनुभएको छ, मैले बुझ्दा उहाँ आफ्नो प्रस्तावप्रति प्रतिबद्ध हुनुहुन्छ ।

बामदेवलाई छाड्ने प्रक्रिया अगाडि जान सक्छ त ?

सम्माननीय प्रधानमन्त्री आफूले बैठकसमक्ष राख्नुभएका आफ्ना प्रस्तावमा प्रतिबद्ध रहेको मैले पाएको छु ।

समस्या माधव नेपालको व्यवस्थापनमा छ, बामदेवलाई दिएर समाधान हुन्छ ?

प्रधानमन्त्री आफ्नो प्रस्तावमा दृढ हुनुहुन्छ । अहिलेको आवश्यकता नेतृत्व परिवर्तन होइन । सबै नेताहरूको व्यवस्थापन पनि गर्नुपर्छ । कतै ध्यान पुगेको छैन भने ध्यान पुग्नुपर्छ । तर, नेताहरूको व्यवस्थापनभन्दा आन्दोलनको एकता मुख्य विषय हो ।

केपी ओली र प्रचण्डबीचको विवाद उत्कर्षमा पुगेको देखियो, अहिलेको समस्या दुई अध्यक्षको इगो व्यवस्थापनले टुंगिन्छ त ?

मलाई के लाग्छ भने लामो समयसम्म दुई पार्टी र दुई नेताबीचको सम्बन्ध कटुतापूर्ण रह्यो । यदाकदा शत्रुतापूर्ण पनि थियो । एकले अर्कोलाई परास्त गर्ने तहसम्मका प्रयास भएकै हुन् । राजनीतिक यात्राका क्रममा एउटा यस्तोबिन्दूमा हामी पुग्यौं, जहाँ हामी साझा घोषणापत्र र साझा उम्मेदवारका साथ चुनावमा गयौँ ।

हामीले पार्टी एकता पनि सम्पन्न गर्‍यौँ । त्यसमा अरू नेताहरूको पनि योगदान छ । तर, उहाँहरूले (दुई अध्यक्ष) ले एकता प्रक्रियाको नेतृत्व गर्नुभयो । यो एकता कुनै भुलेर, भड्केर गरिएको एकता होइन । यो एकतालाई जोगाएर अघि बढाउने मुख्य जिम्मेवारी एकता प्रक्रियाको नेतृत्व गर्ने अध्यक्षद्वयमा छ । उहाँहरू दुईजनाका बीचमा असमझदारी उत्पन्न भयो भने बसेर छलफल गर्ने र निष्कर्षमा पुग्ने अभ्यासमा फर्किनुपर्छ ।

अहिले केही समस्या देखिएका छन्। तर, उहाँहरू फेरि पनि आपसमा समझदारी गर्ने अभ्यासमा फर्किनैपर्छ ।

सचिवालय बैठकको पूर्वसन्ध्यामा तपाईंले भनेजस्तै नेताहरूबीच समझदारीको प्रयास भइरहेको छ कि छैन ? तपाईं आफैँ कुन भूमिकामा हुनुहुन्छ ?

मैले नेकपाको महासचिवका नाताले आफ्नो भूमिका निर्वाह गरेको छु । स्वभाविकरुपमा म विग्रह होइन, एकताको पक्षमा छु । म नेताहरूबीच अन्तरविरोध सिर्जना गर्ने होइन, समाधान गर्ने पक्षमा छु । एकता खोज्ने सिलसिलामा सबै सम्भाव्य प्रयासहरू गरिन्छ र गर्नुपर्छ भन्ने पक्षमा छु ।

हामीले पार्टी एकता कायम राख्न, नेकपाप्रति जनताको भरोसा र विश्वास सुरक्षित राख्न र नेकपालाई जनताले सुम्पिएको अभिभारा पूरा गर्न आफ्नो सम्पूर्ण सामर्थ्य परिचालित गर्नुपर्छ ।

अहिले हामीले समस्याको समाधान खोजिरहँदा सरकार र पार्टी नेतृत्वको विकल्प खोजेर होइन, पार्टी एकता, राजनीतिक स्थायित्व, सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको उद्देश्यद्वारा निर्देशित हुनुपर्छ ।

मलाई विश्वास छ, यतिबेला पार्टीको आन्तरिक जीवनमा प्रकट भएका समस्या यसरी समाधान हुनेछन् । असमझदारी समझदारीमा बदलिनेछ। अविश्वास विश्वासमा बदलिने छ। अनेकता एकतामा बदलिनेछ र नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रका जनताका आवश्यकता पूरा गर्दै अघि बढ्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment