Comments Add Comment

‘यति थोरै टेस्टबाट नेपालमा महामारीको आकलन गर्न सकिन्न’

कोभिड–१९ विश्वव्यापी महामारीसँगै यसको वास्तविक सूचनामा पनि महामारी निम्तिएको छ । वैज्ञानिक रुपमा पुष्टि नभएका धारणाहरू सार्वजानिक भएका कारण यसको वास्तविक सूचना पाउन मुस्किल छ ।

नेपालमा पनि रोग प्रतिरोधात्मक क्षमता, पुरानो कोरोना एन्टिबडीको सहयोग र कडा कोभिड नदेखिएको कारण नेपालमा कोरोना महामारी नफैलिएको भन्ने तर्कहरू सुनिएका छन् । के हो त वास्तविकता ? जीवाणु वैज्ञानिक सुदीप खड्कासँग अनलाइनखबरकर्मी सागर बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश :

नेपालमै भएको पुरानो कोरोना भाइरसको ‘एन्टिबडी’ले गर्दा कोभिड–१९ मा प्रतिरोध क्षमता देखिएको भनेर केही विज्ञहरूले अभिव्यक्ति दिएका छन्, के यो सम्भव छ ?

नेपालमा पहिले कोरोना संक्रमण भएको सही भए पनि त्यसका कारण प्रतिरोध क्षमता छ भन्नु गलत हो । केही विज्ञहरू केही वर्ष पहिले सर्लाही जिल्लामा गरेको अध्ययनलाई हल्का रुपमा बुझेर यो भ्रम पालेको देखिन्छ । यो कुरा बुझ्न केही आधारभूत कुराहरू बुझ्नु जरुरी छ ।

पहिलो, मानिसको शरीरमा प्रतिरोध क्षमता त्यही भाइरसविरुद्ध मात्रै हुन्छ, जसले पहिले नै संक्रमण गरेको होस् । संक्रमणपश्चात हाम्रो शरीरले एन्टिबडी उत्पादन गर्छ र भाइरसलाई निस्तेज पार्ने काम गर्छन् । यस्ता एन्टिबडीहरू निकै किफायती हुनुका साथै विशेष किसिमको पनि हुन्छन् । अर्थात् जुन भाइरसविरुद्ध बन्छन्, त्यहीविरुद्ध मात्र काम गर्छन् ।

एकपटक कुनै एन्टिबडी बनेपछि शरीरमा त्यो क्षमता प्रायः जीवनभर कायम राख्छ । फेरि त्यही भाइरसले संक्रमण गरेको खण्डमा तीव्र गतिमा एन्टिबडी उत्पादन गरेर निस्तेज पार्नसक्छ । तर, यस्ता एन्टिबडीले अर्को कुनै भाइरसलाई निस्तेज पार्ने सम्भावना अपवादबाहेक हुँदैन ।

नेपालमा थोरै टेस्ट भएकै कारण महामारी विज्ञहरूले सम्भावित महामारीको जोखिम आकलन गर्न सकेका छैनन् ।

दोस्रो, कोरोना भाइरसका ६ प्रजाति पहिले नै मानिसलाई संक्रमण गर्न सक्छन् भनेर परिचित छन् । जसमध्ये खतरनाक मानिने सार्स र मार्स भाइरस अन्य जनावरबाट मानिसमा सरेर सीमित रुपमा महामारी बनेर फैलिएपनि अहिले यसको संक्रमण शून्यप्रायः छ ।

बाँकी ४ प्रजातिका भाइरसहरू सामान्य रुघा लगाउने भाइरसमध्येका हुन् । यस्ता भाइरस संसारभरका मानिसहरूमा संक्रमण गर्ने तर बिरलै मात्र जोखिमपूर्ण रोग लगाउने भाइरस हुन् । यिनै चार भाइरसअघि उल्लेखित सर्लाहीमा भएको अध्ययनको क्रममा अनुसन्धान गरिएका भाइरसहरू हुन् ।

नेपालमा पहिले नै संक्रमण फैलिएको भनिएका कोरोना भाइरसहरू हाल देखिएको भाइरसभन्दा फरक छन् । यी भाइरस नेपालमा मात्र नभएर संसारभर नै पाइने भाइरस हुन् ।

तेस्रो, हाल महामारी फैलिराखेको कोरोना भाइरस सार्स–२ हो । यो भाइरस सार्ससँग निकै मिल्दोजुल्दो छ भने एउटै परिवारको भएपनि मानिसमा संक्रमण हुने अरू पाँच कोरोना भाइरसभन्दा भिन्न छ । यो भाइरससँग सबैभन्दा मिल्दोजुल्दो सार्स भाइरस निस्तेज पार्ने एन्टिबडीले समेत यो नयाँ सार्स–२ कोरोना भाइरसलाई निस्तेज पार्न सक्दैन भनेर अनुसन्धानले पुष्टि गरिसकेको छ । तसर्थ, अरू कोरोना भाइरस संक्रमणपश्चात उत्पादन हुने एन्टिबडीले अहिलेको संक्रमण रोक्ने सम्भावना शून्य बराबर हुन्छ ।

प्रत्येक भाइरस समयक्रमसँगै परिवर्तन हुँदै जान्छन् । अझ जैविक तत्व आरएनए भएका भाइरसहरूमा यो परिवर्तन हुने क्रम तीव्र हुन्छ । कोभिड पनि आरएनए भएको भाइरस हो । भाइरस परिवर्तन भएसँगै यसको रुपमा पनि सुक्ष्म परिवर्तनहरू आउन थाल्छ । यस्ता परिवर्तनका कारण पुराना अपरिवर्तित भाइरसविरुद्ध बनेका एन्टिबडीहरू काम नलाग्ने हुन्छन् ।

औषधि बनेको खण्डमा समेत यिनै परिवर्तनका कारण एन्टिभाइरसले केही समयपश्चात काम नगर्ने हुन्छ । उदाहरणका लागि वर्षेनी लाग्ने रुघाखोकी वा फ्लुलाई लिन सकिन्छ । जसले केही परिवर्तन अपनाएर प्रत्येक वर्ष पुनः संक्रमण गर्न सक्छन् ।

त्यसैले, कोरोना परिवारकै अन्य भाइरसको संक्रमणपश्चात् उत्पादित एन्टिबडीले अहिलेको सार्स–२ भाइरसविरुद्ध काम गर्दैनन् ।

त्यति मात्र होइन, एकपटक संक्रमण भएर निको भएका व्यक्तिलाई समेत पुनः संक्रमण हुन सक्छ भनेर हालै भएको अनुसन्धानले देखाएको छ । संसारभर संक्रमणको रफ्तार फैलिँदै गर्दा यो भाइरसको समेत उपप्रजातिहरू देखा परेका छन् । एक उपप्रजातिविरुद्धको प्रतिरोध क्षमता अर्को उपप्रजातिविरुद्ध कत्तिको किफायती हुन्छ त्यो अझै गहन अनुसन्धानको विषय हो ।

यो भाइरसविरुद्ध पुनः संक्रमण रोक्ने एन्टिबडी नहुने हो कि भन्ने शंका उब्जाएको छ । यसले संक्रमण रोक्न मात्र होइन, खोपको विकास गर्नु चुनौतीपूर्ण भएको छ ।

तसर्थ, अन्य मुलुकमा नदेखिएको हालको सार्स कोरोना–२ विरोधी प्रतिरोध क्षमता नेपालमा मात्रै छ भन्नु गलत हो । त्यो पनि यिनै भाइरसको पूर्व संक्रमणको कारण भयो भन्नु त विनाआधार बोलेको कुरा मात्रै हो ।

तर, नेपालमा कोरोना संक्रमण नफैलिनु र मानवीय क्षति नहुनुको कारण रोग प्रतिरोधात्मक क्षमता बढी भएर हो भन्ने विज्ञहरू पनि छन्, यो चाहिँ अनुसन्धानले पुष्टि भएको तथ्य हो ?

हामी मसालेदार (पिरो, अमिलो) खाना खान्छौँ । हात धोएर खाना खान्छौँ, त्यही कारणले गर्दा नेपालमा कोरोना फैलिएन भनेको लेखहरू मैले पनि पढ्न पाएँ । एकछिनलाई मानौं त्यो सत्य हो । त्यसो हो भने त नेपालमा हैजा नफैलिनु पर्ने थियो । झाडाबान्ता, हेपाटाइटिसजस्ता रोगहरू त नदेखिनुपर्ने हो । वर्षेनी यस्ता रोग लाग्दा किन रोग प्रतिरोधात्मक क्षमताले काम गर्दैन ?

फेरि अर्को कुरा, नेपालबाहिर रहेका नेपालीहरूमा पनि संक्रमण देखिएकै छ । उनीहरू भर्खरै विदेश गएका हुन् । उनीहरूमा चाँहि किन कोरोना संक्रमण देखियो त ?

त्यसैले नेपाली समुदायमा यो भाइरसविरुद्ध अरूमा भन्दा ज्यादा प्रतिरोध क्षमता भएको मान्नुपर्ने कुनै वैज्ञानिक आधार छैन । नेपालकै जनसंख्यासँग वंशानुगत रुपमा नजिकको सम्बन्ध भएको अनि खानपिन, रहनसहन, बसोबास पनि मिल्दोजुल्दो भारत, पाकिस्तान, इरान, चीन जस्ता मुलुकमा यो भाइरसको महामारी व्यापक भएको छ ।

संसारको अन्य कुनै पनि नश्लको समुदायमा यो भाइरसविरुद्ध प्रतिरोध क्षमता देखिएको छैन । तसर्थ सबै नेपालीमा विशिष्ट प्रतिरोध क्षमता हुनु विज्ञानको धरातलमा हेर्दा आफैँमा असम्भव हो । वंशानुगत वा नश्लीय रुपमा विशिष्ट छ भन्नु अतिवादी सोचबाहेक केही होइन । यस्तै सोचैले गर्दा विगतमा केही अफ्रिकी समाजमा एड्सको महामारी व्यापक भएको थियो । हामीले पनि यस्तो मूर्खता गर्नुहुँदैन ।

खानपान तथा जनस्वास्थ्य अनि हाम्रो बसोबास गर्ने भूगोलको विशिष्टताको आधारमा हाम्रो रोग प्रतिरोध क्षमता उच्च हुँदो हो त त्यो हाम्रो औसत आयुमा झल्किन्थ्यो । संसारमा सबैभन्दा धेरै बाँच्नेहरूको (औसत आयु) अग्र ५ स्थानमा क्रमशः जापान, हङकङ, सिंगापुर, इटाली र स्पेन पर्छन् । कोरिया दशौं स्थानमा छ भने नेपाल १२४ औं स्थानमा ।

उच्च औसत आयु भएका, तुलनात्मक रुपमा धेरै नै स्वस्थ जनसंख्या भएको अनि स्वास्थ्य सेवाको पनि राम्रो विकास भएका राष्ट्रहरूको त कोरोना महामारीको कारण यो हालत छ भने हामीले लहडकै भरमा अन्यत्रभन्दा ज्यादा सुरक्षित छौँ भन्नु भनेको सुतुरमुर्गले बालुवामा टाउको लुकाएको जस्तो मात्र हुनेछ । स्वस्थ्य र पौष्टिक खानपिनले कुनै पनि रोगविरुद्ध लड्ने प्रतिरक्षा प्रणालीलाई चुस्त राख्न महत्वपूर्ण भएपनि यही भाइरसविरुद्ध नै काम गर्ने यस्तो कुनै कुरा छैन ।

त्यसो हो भने अन्य देशमा महामारी फैलिरहँदा नेपालमा संक्रमण व्यापक नफैलिनुको कारण के हुन सक्ला ?

हाल नेपालमा गरिएको लकडाउन नै यो महामारी रोक्ने बलियो उपाय बनेको छ । नेपालमा निकै नै सुरुवाती चरणमा लकडाउन अवलम्बन गरियो, जसले गर्दा संक्रमण एक ठाउँबाट अर्को ठाउँ पुग्न पाएन । स्मरण रहोस्, यो भाइरस स्थानीय होइन ।

धेरै राष्ट्रहरूमा सुरुवाती संक्रमितको संख्या तथा लक्षणमा आएको कमी देखेर उचित सावधानी नअपनाउँदा पछि भयावह स्थितिको सामना गर्नु परेको उदाहरण ताजै छ ।

सुरुवाती चरणमा संक्रमण भएका अन्य राष्ट्रबाट नै आउने हो । अन्य राष्ट्रबाट भाइरस प्रवेश गरेकै बेला नेपालमा लकडाउन गरेकाले अहिले भाइरस नदेखिएको हो । लकडाउन खुलाएपछि नेपालमा फेरि संक्रमण व्यापक देखियो भने हामीले अन्यथा मान्नुहुँदैन ।

हाम्रोमा भएको कोरोना परीक्षण पर्याप्त छ त ? हामीमा देखिएको संक्रमणले दिएको संकेत के हो ?

अहँ, टेस्ट पुगेको छैन । नेपालमा थोरै टेस्ट भएकै कारण महामारी विज्ञहरूले सम्भावित महामारीको जोखिम आकलन गर्न सकेका छैनन् । यति थोरै टेस्टबाट महामारी आकलन गर्न पनि सकिन्न ।

सुरुवाती चरणमा हाम्रो परीक्षणको दायरा ज्यादै साँघुरो भयो । त्यसपछि र्‍यापिड किटको प्रयोग व्यापक भयो तर पीसीआर टेस्टको दायरा बढेन । र्‍यापिड टेस्ट व्यक्तिगत स्तरमा होइन, सामुदायिक स्तरमा हुने परीक्षण हो । साथै, यो किटको धेरै कमजोरी देखिएका छन् । तसर्थ, अझै पनि संख्यात्मक रुपमा अनि सामुदायिक रुपमा कुन स्तरसम्म संक्रमण फैलिएको छ भनेर आकलन गर्न पीसीआर प्रणालीबाटै परीक्षण गर्नु अपरिहार्य छ ।

जबसम्म भरपर्दो परीक्षण हुँदैन, तबसम्म संक्रमणको विस्तारबारे पनि थाहा हुन सक्दैन । यही कारण हामीलाई जोखिम छैन भनेर ढुक्क हुने अवस्था नै छैन ।

यसमा दक्षिण कोरिया र जापानलाई हेरौँँ । सुरुवाती चरणमा हेर्दा दक्षिण कोरियामा संक्रमितको संख्या धेरै देखियो र केही समयपश्चात नियन्त्रणमा पनि आयो । तर, जापानमा परीक्षणको दायरा निकै साँघुरो थियो । झट्ट हेर्दा संक्रमण नियन्त्रणमै छ जस्तो देखियो । तर, अहिले परीक्षणको दायरा बढाउँदा सोचेभन्दा बढी संक्रमण देखियो ।

पहिले नै परीक्षणको दायरा फराकिलो बनाएको भए जापानमा आज त्यो अवस्था आउने थिएन । नेपालले पनि जापानबाट पाठ सिकेर सतर्कता अपनाउन जरुरी छ ।

अहिले हाम्रोमा विदेशबाट आएको एक महिनापछि संक्रमण पुष्टि भएको र छिटपुट स्थानमा संक्रमण देखिएको छ ? यस्तो केसहरूले महामारीमा कस्तो अर्थ राख्छ ?

विदेशबाट आएको महिना दिनपछि पनि संक्रमण देखिनु आफैँमा चिन्ताको विषय हो । साँच्चिकै ढिलो संक्रमण देखिएको हो भने पनि किन ढिलो संक्रमण देखियो भन्नुपर्ने हुन्छ । कतै यो नयाँ किसिमको उपप्रजाति त होइन भनेर अनुसन्धान गर्नुपर्ने हुन्छ । नत्र टेस्ट नै ढिलो गरेको भनेर स्वीकार गर्नुपर्ने हुन्छ ।

अर्कोतर्फ कतै नेपाल आइसकेपछि हालै मात्र संक्रमित भएको त होइन भनेर पनि विचार गर्नुपर्ने हुन्छ । यदि त्यस्तो हो भने भित्रभित्रै महामारी फैलिँदैछ भनेर बुझ्नुपर्ने हुन्छ ।

दुवै परिदृश्यहरूले महामारीको रुप कस्तो हुन्छ भन्नेमा गम्भीर अर्थ राख्छन् ।

नेपालका केही स्थानहरूमा छिटपुट संक्रमण फैलिएको देखिएको छ । यसले पनि कतै भित्रभित्र नजानिँदो गरी महामारी बढी सकेको त छैन भन्ने आशंका उब्जाउँछ । तर, विश्वका अन्य राष्ट्रहरूको उदाहरण हेर्ने हो भने महामारीको सुरुवाती चरणमा रोगको विस्तार धीमा गतिमा देखिन्छ । अमेरिकामा पनि हालै मात्र के पुष्टि भएको छ भने पहिलोपटक यो भाइरस भित्रिएको पुष्टि हुनुभन्दा केही हप्ता अगाडि नै संक्रमण भित्रभित्रै फैलिएर केही व्यक्तिको मृत्यु भइसकेको रहेछ ।

नेपालमा कोरोना संक्रमण भएका कसैमा पनि गम्भीर लक्षण देखिएको छैन, यस्तो केसलाई वैज्ञानिकहरूले कसरी व्याख्या गर्छन् ?

कोरोना संक्रमण हुँदैमा गम्भीर रोग लाग्छ र लक्षण देखिन्छ भन्ने हुँदैन । हालको अध्ययनले के देखाएको छ भने कम्तीमा एक चौथाइ संक्रमितमा कुनै लक्षण नै देखा पर्दैन । अझै यो लक्षणविहीन संक्रमितको अनुपात आधासम्म हुने अनुमान गरिएको छ । तसर्थ, नेपालको परिप्रेक्ष्यमा जहाँ सीमित संख्यामा मात्र संक्रमितको पहिचान भएको छ । त्यहाँका अधिकांशमा लक्षण नदेखिनु नौलो होइन ।

गम्भीर रोग लागेर ठूलो जोखिममा पार्ने उमेर समूह ८० वर्षभन्दा माथिका संक्रमितमा समेत मृत्युदर २० प्रतिशत हाराहारीमा मात्रै छ । नेपालमा अधिकांश संक्रमण युवाहरूमा देखिएको छ, जसमा गम्भीर रोग लाग्ने जोखिम पनि कम हुन्छ ।

तसर्थ, अहिले नै संक्रमितको संख्या र त्यसको लक्षणको अनुपात हेरेर कुनै निश्कर्षमा पुग्नु उचित हुँदैन । संक्रमितको संख्या बढेर सयौं वा सोभन्दामाथि पुगेको खण्डमा बल्ल निश्चित नतिजा निर्क्यौल गर्ने बलियो आधार हुन्छ । धेरै राष्ट्रहरूमा सुरुवाती संक्रमितको संख्या तथा लक्षणमा आएको कमी देखेर उचित सावधानी नअपनाउँदा पछि भयावह स्थितिको सामना गर्नु परेको उदाहरण ताजै छ ।

नेपालमा देखिएको कोरोना कडा किसिमको नभएर अन्यलाई संक्रमण नसारेको र मृत्यु नभएको भन्ने कुराहरू पनि आइरहेका छन नि ?

नेपालमा देखिएको कोरोना भाइरस संसारमा देखिएको जस्तै नै हो । विभिन्न समयमा विभिन्न ठाउँबाट नेपालमा यो भाइरस को संक्रमण छिरेको छ । अर्थात् अधिकांश संक्रमण आयातित हो । उनीहरूले नै अरूलाई सारेका छन् । त्यसैले नेपालमा मात्रै विशिष्ट प्रकारको वा छुट्टै उपजातिको भाइरस छैन ।

समय बित्दै जाँदा भाइरस थोरै परिवर्तित हुँदै नयाँ उपजातिको उत्पत्ति हुन्छ । परिवर्तन हुँदै जाँदा अन्त्यमा छुट्टै प्रजाति नै बन्न पुग्छ । यो नियमित प्रक्रिया नै हो । तर, अहिले संसारभर कोरोना भाइरसको नमुना परीक्षण गर्दा यो भाइरस वा रोगको प्रकृति नै फरक पर्ने खालको छुट्टै किसिमको देखिएको छैन । यो भाइरसको फरक उपजातिहरूमा अति नै सुक्ष्म मात्र फरक छ; तात्विक भिन्नता केही छैन ।

फरक समय र ठाउँबाट आएका भाइरसमा केही फरक हुन सक्छ । तर, त्यो नगन्य र संक्रमण दर वा रोगको दायरामा असर नपर्ने किसिमको मात्र हो । त्यसैले नेपालमा भाइरस नसारेको भन्नुभन्दा पहिले टेस्टको नम्बर हेर्नु पर्छ । अहिले कुनै व्यापक संक्रमण नदेखिनुको कारण लकडाउन हो ।

नेपालमा त कोभिड–१९ नै छैन भन्ने पनि सुनिएको छ नि ?

केही विज्ञहरूलाई थोरै भ्रम वा अस्पष्टता भयो जस्तो लाग्छ । अहिले महामारी भएको सार्स–२ कोरोना भाइरस (SARS-2 coronavirus) को संक्रमणका कारण भएको हो । यो भाइरस को संक्रमणको कारण हुने बिमारीलाई नै कोभिड–१९ (Covid -19) भनिन्छ । अर्थात् यो भाइरस संक्रमणपश्चात कोभिड–१९ हुन्छ ।

नेपालमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ र कोभिड–१९ देखिएको छ । संक्रमितमा सामान्य लक्षण देखिनु भनेको कोभिड–१९ नै हो । तसर्थ, कोभिड–१९ देखिएको छैन भन्नु पूर्णतः गलत हो ।

हो, प्राविधिक रुपमा सार्स (रोग) देखिएको छैन भन्न मिल्ला । तर, यहाँ सार्स भन्नाले रोग (सिवियेर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम) बुझ्नुपर्छ । यो रोग लगाउने हाल देखिएको भाइरस होइन । सार्स रोग भनेको गम्भीर श्वासप्रश्वास संक्रमणको रोग हो ।

अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट गम्भीर लक्षण तथा मृत्यु नभएको हुँदा प्राविधिक रुपमा सार्स रोग भने देखिसकेको होइन । तर, संसारभर सार्स–२ कोरोना भाइरस संक्रमितको अवस्था हेर्दा २०५ भन्दा कमलाई मात्र सार्स (रोग) देखा परेको परिप्रेक्ष्यमा नेपालमा हाल संक्रमितको संख्या मध्यनजर गर्दा कसैलाई गम्भीर लक्षण सार्स (Severe Acute Respiratory Syndrome SARS) नदेखिनु अनौठो भने होइन ।

हाल समाजमा ‘सार्स’ वा ‘कोभिड’ समेत भाइरसको नामको लागि प्रयोग भइराखेको अवस्थामा अत्यन्तै प्राविधिक कुरा गर्दा यो अस्पष्टता व्याप्त भएको हुन सक्छ । तर, हामीले बुझ्नुपर्ने प्रमुख कुरा के हो भने नेपालमा यो भाइरस देखिसकेको छ ।

संक्रमितको संख्या बढ्दै जाँदा गम्भीर लक्षण देखिने वा मृत्युसम्म हुनेको संख्या पनि बढ्ने अनुमान गर्न सकिन्छ । अझै महत्वपूर्ण कुरा, लक्षण देखिए वा नदेखिए पनि संक्रमितबाट अन्यमा यो भाइरस सर्न सक्छ ।

संक्रमण भएकामध्ये १६ जना नेपाली निको भएर घर फर्किएका छन्, त्यसैले कडा कोभिड नभएको तर्क गरिएको हो कि ?

दमका बिरामी र वृद्धाहरू समेत यो रोगबाट निको भएर घर फर्किनु कुनै नौलो कुरा होइन । केही कुराहरू मैले माथि नै भनिसके । नेपालमा अधिकांश संक्रमण युवाहरूमा देखिएको छ, जसलाई गम्भीर रोग लाग्ने जोखिम पनि कम हुन्छ । यस्तो अवस्थामा अति नगन्य लक्षण देखिएर वा सामान्य मात्र बिमारीपछि निको हुनु सामान्य मानिन्छ । संसारभर नै कोरोना संक्रमित ८० प्रतिशत भन्दा बढ्ता व्यक्तिहरू अस्पताल भर्ना समेत नभई निको हुन्छन भने ९८ प्रतिशत व्यक्ति संक्रमण पश्चात पनि निको हुन्छन् ।

नेपालमा आजका मिति एकदम थोरै सङ्ख्यामा संक्रमितको निर्क्यौल भएको छ । यति थोरै संख्यामा एक मात्र बिरामी तलमाथि हुँदासमेत तथ्यांकमा ठूलो उथलपुथल देखिन्छ । जुन वास्तविकताभन्दा फरक हुन्छ । तसर्थ अहिले नै संक्रमितको संख्या र त्यसको लक्षणको अनुपात हेरेर कुनै निक्र्यौल गर्नु उचित हुँदैन । संक्रमितको संख्या बढेर सयौं वा त्यसभन्दा माथि पुगेको खण्डमा बल्ल निश्चित नतिजा निक्र्यौल गर्ने बलियो आधार हुन्छ ।

धेरै राष्ट्रहरूमा सुरुवाती संक्रमितको संख्या तथा लक्षणको कमी देखेर उचित सावधानी नअपनाउँदा भयावह स्थिति सामना गर्नु परेको उदाहरण ताजै छ । हामीले त्यही गल्ती दोहोर्‍याउनुहुन्न । लकडाउन खोल्नुअघि टेस्ट व्यापक बनाउनुपर्छ । यही अवस्थामा लकडाउन खोल्यो भने संक्रमितको सङ्ख्या बढेर महामारी फैलिन सक्छ ।

नेपालमा टेस्ट अत्यन्तै कम भएको छ, अब लकडाउनको समय बढाएरै यो महामारीविरुद्ध जुध्नेबाहेक अरू विकल्प नदेखिएको हो ?

लकडाउन साधन मात्र हो । यो नै उपचार भने होइन । लकडाउनले महामारी विस्तारको रफ्तारमा कमी गराए पनि यो भाइरस निर्मूल पार्न थुप्रै तगाराहरू छन् । लकडाउनले हामीलाई समय दिन्छ, जसले गर्दा आगामी दिनका लागि पूर्वतयारी गर्न सकियोस् ।

जनजीविकाको निमित्त पनि सधैं लकडाउन गर्न सम्भव हुँदैन । अत्यावश्यक सेवा, पढाइ, रोजगारी, उपचार, कृषि उत्पादन लगायतलाई सधैं बन्द राख्न सम्भव पनि हुँदैन । तसर्थ, यसलाई कसरी सुचारु गर्ने भन्नेतर्फ पनि सोच्नु उत्तिकै जरुरी छ ।

जीविकोपार्जन तथा अत्यावश्यक उपचारको अभावमा सास्ती भोग्दै मृत्युवरणसम्म गर्न पुगेका समाचार आउन थालेका छन् । झट्टै व्यवस्थापन नगर्ने हो भने यो जनस्वास्थ्य संकटबाट मानवताको संकट बन्न समय लाग्ने छैन ।

उचित सामाजिक दुरी कायम गर्दै सबै दैनिक गतिविधिलाई कसरी अगाडि बढाउने, अनि यसका लागि सरकार र नागरिक कसरी अगाडि बढ्ने भनेर गुरुयोजना बनाउन ढिला भइसकेको छ । औषधि वा खोप आउन अझै केही समय लाग्ने नै छ । तसर्थ, अब सुरक्षित तबरले लकडाउन खोल्ने र व्यवस्थापन गर्नेतर्फ सोच्नु जरुरी छ ।

तर, बिर्सन नहुने कुरा के हो भने टेस्टको दायरा नबढाई हामी सुरक्षित छौँ भनेर ढुक्क हुुनुहुँदैन ।

पछिल्लो समय खोपको परीक्षण सुरु भइसकेको समाचारहरू आइरहेका छन्, अर्थात् अब छिट्टै विश्वव्यापी महामारी नियन्त्रण हुन्छ हो ?

विभिन्न खोप तथा औषधिहरू परीक्षणको क्रममा छन् । वास्तविक रिजल्ट आएर उत्पादन हुन केही वर्ष लाग्न सक्छ । अहिले चर्चामा आएको खोप पनि परीक्षण सुरु भएको हो । त्यसको प्रभावकारिता र सुरक्षासम्बन्धी विस्तृत विवरण आउन अझै केही समय लाग्छ ।

खोप बनिहालेको खण्डमा पनि हामीले ध्यान दिनुपर्ने अर्को पाटो छ । खोपको उत्पादन सुरु भएपछि पनि यथेष्ट उपलब्ध हुन केही समय लाग्नेछ । यो भाइरसले विश्व नै आक्रान्त पारेको छ, त्यसैले प्रत्येक राष्ट्रका प्रत्येक नागरिक यो खोप लगाउन चाहन्छन् । तसर्थ नेपालले तुरुन्तै सर्वसुलभ रुपमा यो खोप पाउने सम्भावना ज्यादै न्यून छ । नेपालले पाइहालेको खण्डमा पनि सीमित रुपमा स्वास्थ्यकर्मी र त्यस्तै अपरिहार्य समूहले मात्र पाउने सम्भावना छ । आफैँ विचार गरौँ न, संसारका प्रत्येक टोलमा उत्पादन गर्न सकिने मास्कको त अभाव भएर यो समस्या छ भने प्रत्येक जीवित व्यक्तिलाई आवश्यक खोप सीमित ठाउँमा उत्पादन हुँदा के होला ?

दोश्रो, प्रत्येक नागरिकलाई खोप लगाउने गरी हाम्रो स्वास्थ्य व्यवस्था तथा जनशक्ति छैन । सीमित जनसंख्यालाई दिने पोलियो थोपा खुवाउन व्यापक तयारी गर्नुपर्ने हुन्छ भने नयाँ प्रकारको खोप प्रत्येक नागरिक समक्ष पुर्‍याउन आफ्नै चुनौती छ । यो जनशक्ति तथा सञ्जाल खडा गरेर तयारी अवस्थामा राखेको खण्डमा भोलि खोप उपलब्ध भएमा हामीले फाइदा लिनसक्छौँ, नभए २/४ वर्ष त हामीले खोप उपलब्ध भएपश्चात पनि सबै कहाँ पुर्‍याउन सक्दैनौँ ।

तेस्रो, भर्खरको अनुसन्धानले के पनि देखाएको छ भने यो भाइरसले पाचन प्रणालीको पेट तथा आन्द्रामा पनि संक्रमण गर्न सक्छ । साथै, मानव दिसामा पनि यो भाइरस निस्कन सक्छ । दिसामा निस्केको भाइरसले संक्रमण गरेको पुष्टि भइसकेको त छैन । तर, सम्भावना भने छ । यसरी मल–मूत्रको प्रदुषणबाट पानीको मुहान संक्रमित हुन गई अन्य टाइफाइड कोलेरा झाडापखाला जस्ता महामारी फैलिनु नेपालमा वार्षिक नियति नै बनेको छ ।

पिउने पानी ढल निकास व्यवस्थित चर्पीजस्ता आवश्यकताको अभाव रहेको हाम्रो देशमा यदि यो भाइरस पानीको माध्यमबाट सर्ने हो भने स्थिति झन् भयानक हुनेछ । त्यस तर्फ पनि ध्यान दिनु जरुरी छ ।

तसर्थ, खोप वा औषधि आउँछ अनि समस्या समाधान भइहाल्छ भनेर सोच्नुभन्दा जस्तो वैज्ञानिक अनुसन्धानको नतिजा आउँछ, त्यसैअनुसार यो महामारीसँग जुध्ने रणनीति परिष्कृत गर्दै जानुपर्ने हुन्छ । हाम्रा आफ्नै बाध्यता अनि कमीहरू छन् । आफ्नै विशिष्ट सामाजिक धरातल छ । त्यसैको आधारमा अगाडि बढ्नु जरुरी छ ।

यो पनि पढ्नुहोस ‘नेपालीहरूमा कोरोना प्रतिरोधी क्षमता उच्च छ भन्ने मूर्खता नगरौं’ यो पनि पढ्नुहोस ‘र्‍यापिड टेस्टका नाममा जनस्वास्थ्यमाथि खेलवाड भइरहेको छ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment