Comments Add Comment

पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव, कृषिमा आत्मनिर्भर हुने अवसर

फाइल तस्वीर

२१ वैशाख, काठमाडौं । कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्रमा ठूलो प्रभाव परे पनि प्रमुख रूपमा पर्यटन तथा सार्वजनिक यातायातका क्षेत्रमा ठूलो प्रभाव पर्ने देखिएको छ ।

कोरोना सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । लकडाउनका कारण होटल व्यवसाय, पर्यटन तथा त्यसका सहायक क्षेत्रमा ठूलो प्रभाव परेको छ ।

कूल २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु नेपाल भ्रमण वर्षसमेत स्थगन भएको छ ।

नेपाल पर्यटन बोर्डले तत्काल नै रु २० अर्ब बराबरको राहत प्याकेज जरुरी रहेको स्पष्ट पारिसकेको छ । राष्ट्रिय तथ्यांक विभागले गत बुधबार सार्वजनिक गरेको तथ्यांकमा होटल तथा रेस्टुरेन्ट क्षेत्रमा १६ दशमलव ३० प्रतिशतले ऋणात्मक हुने देखाएको छ । यस्तै वायु सेवा प्रदायकसमेत मारमा परेका छन् । पर्यटन क्षेत्रमा प्रत्यक्षरूपमा पाँच लाख र अप्रत्यक्ष गरी १५ लाख नागरिक सहभागी छन् । विपद्ले उनीहरुको रोजगारी खोसिएको छ ।

कोरोना महामारीका कारण विश्वव्यापी तथा आन्तरिक पर्यटकको आवतजावतमा आएको अवरोधले मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक हुने देखिएको छ । चालु आर्थिक वर्षको नौ महिनामा पर्यटकको आवागमनमा समेत १३ दशमलव ८२ प्रतिशतले कमी आएको छ । कुल गार्हस्थ्य उत्पादनमा चालु आवमा यस क्षेत्रले १ दशमलव ४२ प्रतिशत योगदान दिएको थियो ।

कोरोनाका कारण ठूलो प्रभाव परेको पर्यटन, होटल तथा रेस्टुरेन्ट क्षेत्रको पुनःउत्थानका लागि ठोस कार्यक्रम ल्याउनु जरुरी देखिएको राष्ट्रिय योजना आयोगको बुझाइ छ ।

आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले आगामी आवको बजेटमा सो क्षेत्रलाई केही न केहीरुपमा सम्बोधन गरिने विश्वास व्यक्त गरे ।

“दुई तीन वर्ष नै असर पर्न सक्ने क्षेत्र भनेको होटल पर्यटन क्षेत्र नै हो । त्यसपछि ट्राभल र यातायात क्षेत्र हो । निर्माण क्षेत्रमा पनि प्रभाव त पर्छ तर काम शुरु गरिहाल्न सकिए कम प्रभाव पर्न सक्छ भन्ने हाम्रो अनुमान छ,” उनले भने ।

विद्यालय तथा कलेज कसरी सञ्चालन गर्ने र विद्यार्थीमा परेको मानसिक तथा सामाजिक प्रभावलाई कसरी न्यून गर्ने भन्नेतर्फ लाग्नुपर्ने उपाध्यक्ष डा कँडेलको भनाइ छ ।

कोरोनाका कारण अन्य क्षेत्रमा ठूलो प्रभाव परे पनि कृषि क्षेत्रमा आत्मनिर्भर बन्न सकिने अवस्था पनि सिर्जना हुने डा. कँडेल बताउँछन् ।

वैदेशिक रोजगारीबाट फर्किएकालाई समेत कृषि उद्यममा जोड्न सकिने अवस्था आएको भन्दै उनले संकटले नकारात्मक मात्रै नभई सकारात्मक प्रभाव पनि निम्त्याउने बताए ।

‘‘विशेषगरी खाडी क्षेत्र, मलेसियालगायत देशमा रोजगारीमा गएका युवा कोरोनाको प्रभाव कम हुँदै गएपछि देशभित्र फर्कने वातावरण बन्न सक्छ । ती युवालाई व्यावसायिक कृषितर्फ आकर्षित गर्नेखालका कार्यक्रमको अपेक्षा जनताबाट भएको छ,’’ उपाध्यक्ष प्रा.डा. कँडेलले भने, “हामी आत्मनिर्भर पनि बन्ने र युवालाई देशभित्रै रोजगारी पनि दिन सक्ने क्षेत्रलाई आगामी बजेटले विशेष प्राथमिकतामा राख्नेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment