Comments Add Comment

नारायणीमा जनरल सेवा सञ्चालन गर्न महानगरसहित चार राजनीतिक दलको ध्यानाकर्षण

२१ वैशाख, वीरगञ्ज । सरकारले लेभल २ कोभिड अस्पताल घोषणा गरेपछि नारायणी अस्पतालमा अन्य जनरल सेवा बन्द गरिएको छ । नारायणीबाट प्रदान हुने सेवा नेशनल मेडिकल कलेजले सरकारी दरमै प्रदान गर्ने भनिएको छ ।

नेशनलबाट भरपर्दो सेवा प्रदान नभइरहेको गुनासो सर्वसाधरणले गरिरहेका छन् । त्यसले गर्दा पर्सा, बारा रौतहटका र छिमेकी मुलुक भारतका समेत विरामीहरु मर्कामा परेका छन् । तसर्थ विभिन्न क्षेत्रबाट नारायणी अस्पतालमा जनरल सेवा सुचारु हुनुपर्ने माग उठ्दै आएको छ । आइतबार बिहान मात्रै नेपाली कांग्रेसले नारायणीमा जनरल सेवा सुचारु गर्न माग गर्दै प्रदर्शन गरेको छ भने यसअघि जनता समाजवादी पार्टीले प्रदर्शन गरेको थियो । चिकित्सक संघले समेत अस्पतालका मेसुमार्फत ध्यानाकर्षण गराएको थियो ।

यसबीचमा जिल्लामा क्रियाशिल चार राजनीतिक दलका जिल्ला नेतृत्व र वीरगञ्ज महानगरपालिकाले पनि नारायणीमा जनरल सेवा सुुरु गर्नुपर्ने माग राखेका छन् । चार राजनीतिक दलका जिल्ला अध्यक्षसहित वीरगञ्ज महानगरपालिकामा बसेको सर्वदलीय बैठकले नारायणीमा पूर्ववत सेवा सञ्चालन गर्न माग गरेको हो ।

उनीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्रमा नारायणीलाई पूर्ववत सामान्य अस्पतालको रुपमा सञ्चालनमा ल्याई सबै प्रकृतिका रोगहरुको उपचार पाउने व्यवस्था अविलम्ब गर्न र कोभिड संक्रमितका लागि छुट्टै कोभिड अस्पताल स्थापना र सञ्चालन गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘सरकारले नारायणी अस्पताललाई समेत कोभिड विशेष अस्पतालको रुपमा परिणत गरेका कारण यस क्षेत्रका आम सर्वसाधरण जनता सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् । निजी अस्पतालको महँगो उपचार खर्च बहन गर्न नसकी अकालमै मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसबीचमा मृगौला रोगीले नियमित गराउनुपर्ने डायलायसिसको सुविधा नपाएका कारण तीन जनाको मृत्यु भइसकेको छ ।’

‘कोभिड विषेश अस्पताल लामो समयसम्म आवश्यक पर्ने भएकोले सर्वसारधणको स्वास्थ्य उपचारको हक संरक्षणको निम्ति साविककै अनुरुप नारायणी अस्पतालाई कायम राख्नुपर्दछ । यस भेगका कोभिड संक्रमितको उपचारका निम्ति तत्कालै अन्यत्र अर्को कोभिड विशेष अस्पताल सञ्चालन ल्याउनु अपरिहार्य छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।

कोभिड–१९ को महामारीमा मध्य तराई बढी प्रभावित देखिएकोमा तीन तहबीच समन्वयात्मक हातेमालो नदेखिएको ठहर उनीहरुले गरेका छन् ।

ज्ञापनपत्रमा नेकपाका जिल्ला अध्यक्ष प्रभु हजारा, कांग्रेसका पर्सा सभापति अजय द्विवेदी, जसपाका जिल्ला अध्यक्षहरु राम नरेश प्रसाद यादव, जगदिश पटेल र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले हस्ताक्षर गरेका छन् ।

‘कोरोना भाइरसले त मान्छे पछि मर्ला तर अन्य उपचार सेवा नपाएर मानिस मर्न थालिसकेका छन् । तीन जना डायलिसस गर्न नपाएर मृत्यु भइसकेको खबर छ,’ नगर प्रमुख सरावगीले भने ‘ त्यसैले कोरोना अस्पताललका लागि बैकल्पिक व्यवस्था गरेर नारायणीबाट जनरल सेवा शुरु गराउनुपर्छ भन्ने माग हाम्रो हो ।’

नारायाणीमा नियमित डायलायसिस सेवा लिने १ सय जना मध्ये ३ जनाको मृत्यु भइसकेको उनको भनाइ छ । वीरगञ्ज महानगरपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि गण्डक अस्पतालसँग सम्झौता गरिसकेको भएपनि सञ्चालनमा आउन सकेको छैन । नारायणी अस्पतालकै मेसुको नेतृत्वमा चिकित्सक टोलीले सेवा दिनेगरी कोभिड अस्पताल सञ्चालन अनुमति माग गर्दा स्वास्थ्य मन्त्रालयले नदिएकै कारण सञ्चालनमा आउन नसकेको महानगरपालिकाले जनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment