Comments Add Comment

रोग प्रतिरोधात्मक क्षमता र औषधिजन्य वनस्पति

सामान्य भाषामा कुनै पनि रोगसँग लड्ने शरीरको स्वाभाविक क्षमतालाई रोगप्रतिरोधी क्षमता भनिन्छ । रोगको प्रतिरोध गर्न शरीरको बाह्य आवरण अर्थात छाला, आन्तरिक आवरण म्यूकस मेमब्रेन, श्वेत रक्तकोषिकाहरु, श्वेत रक्तकोषिकाहरुले उत्पादन गर्ने प्रतिजैविक तत्व अर्थात एन्टिबडि, शरीरमा रहेका लिम्फ्वाइड तन्तुहरु आदि मार्फत कार्य गर्दछ । यिनीहरु पनि इम्यून सिस्टमका उदाहरण हुन् ।

शरीरले सकभर कुनै पनि बाह्य तत्वलाई विभिन्न प्रतिक्रिया मार्फत शरीर भित्र जानबाट रोक्दछ । त्यति हुदाँ हुदै पनि बाह्य आवरण, म्यूकस मेमब्रेन तथा लिम्फ्वाइड तन्तुहरुको छेकवारलाई पार गरी यदि कुनै पनि बाह्य तत्व (रोग उत्पन्न गराउने कुनै पनि तत्व वा सूक्ष्म जीवाणु, विषाणु) आदि शरीरमा प्रवेश गरेपछि शरीरले त्यसको प्रतिरोध गर्न रगतमा रहेको श्वेत रक्तकोषिकाहरुलाई उत्तेजित गर्दछ ।

न्यूटा्रेफिलले फ्यागोसाइटिक क्रियाबाट मार्ने, टी लिम्फोसाइट मार्फत सूक्ष्म जीवाणुहरुसँग विशिष्ट संयोजन गरि मार्ने र बी लिम्फोसाइटले एण्टिबडि बनाउने तथा त्यस्ता एण्टिबडिहरुले भविष्यमा हुने संक्रमण समेतलाई रोक्दछ । यसलाई व्याधिक्षमत्व पनि भनिन्छ ।

त्यसै गरि मास्ट कोषिका, म्याक्रोफेज जस्ता तत्वहरु मार्फत पनि शरीरले रोग प्रतिरोधि क्षमता विकास गर्दछ ।

विषाणुहरुको संक्रमणको अवस्थामा इन्टरफेरोनले व्याधिक्षमत्वमा भूमिका खेल्दछ साथै विषाणु अर्थात भाइरसहरु विरुद्ध नेचुरल किलर सेल्स, जुन एक प्रकारका ठूलो दानायुक्त लिम्फोसाइटिक ल्युकेमिया  कोषिकाहरु हुन्, तिनीहरु पनि व्याधिक्षमत्वमा भूमिका खेल्दछन् । शरीरले उत्पादन गर्ने एण्टिबडिहरुमा मुख्यतः इम्यूनोग्लोबुलिन एम. र इम्यूनोग्लोबुलिन जी. हुन् ।

शरीरमा रोग प्रतिरोधि क्षमतालाई मजबूत गर्न स्वस्थ्यकर तथा सन्तुलित खानपानले भूमिका खेल्दछ । यस्तो रोग प्रतिरोधि क्षमता वृद्धि गर्ने कार्यमा औषधजन्य वनस्पतिहरुले पनि महत्वपूर्ण भूमिका खेल्दछ ।

औषधजन्य वनस्पत्तिहरुमा पाइने प्राइमरी मेटाबोलिटिसको रुपमा पाइने phytoconstituents  हरुले नै विभिन्न रोग व्याधिहरुमा रोगनाशक तत्वको रुपमा कार्य गर्दछ र यीनै phytoconstituents हरु मध्येको Flavanoids, Phenolic compound आदिले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने कार्य गर्दछन् ।

शरीरको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने कार्य गर्ने जडिबुटि वा औषधजन्य वनस्पतिहरुको समूहलाई इम्यूनोमोडुलेटर ड्रगको  समूहमा राख्न सकिन्छ ।

इम्यूनोमोडुलेटर भनेको के हो ?

इम्यूनोमोडुलेटर भन्नाले जैविक वा कृत्रिम तत्व जसले शरीरको प्रतिरक्षा प्रणालीलाई उत्तेजित गर्ने, दबाउने वा परिवर्तन(बढाउने, घटाउने) गर्दछ त्यसलाई बुझाउँछ । यस्तो परिवर्तन स्वभाविक वा ग्रहित हुनसक्द्छ ।

इम्यूनोमोडुलेटर कति किसिमका हुन्छन् ?

इम्यूनोमोडुलेटर औषधिहरुलाई मुख्यतः ३ किसिम ले बुझ्न सकिन्छ ।

१. इम्यूनोएडजुभेन्ट्स

यो समूहको औषधिले भ्याक्सिनहरुको क्षमता बढाउँछ तसर्थ यसले स्पेसिफिक इम्यूनिटि बढाउनमा मदत गर्दछ ।

२. इम्यूनोस्टिमूलेन्ट

यो समूहको औषधिहरुले प्रायः जसो नन् स्पेसिफिक इम्यूनिटि बढाउने कार्य गर्दछ । प्रायः औषधजन्य वनस्पतिहरुले यसै किसिमले कार्य गर्दछन् । यसले स्वाभाविक प्रतिरोध को साथै गृहित इम्यून सिस्टमलाई पनि बढाउँछ ।  एडाप्टोजेनिक एजेन्टहरु (Adaptogenic agents)ले पनि इम्यूनोस्टिमूलेन्टको रुपमा कार्य गर्दछन् । स्वस्थ्य व्यक्तिहरुमा इम्यूनोस्टिमूलेन्टहरुले प्रोफेलेक्टिक Prophylactic ( रोगलाग्न नदिने) वा इम्यूनोप्रमाटरको कार्य गर्दछ ।

. इम्यूनोसप्रेसेन्ट

यस वर्गका औषधिहरुको प्रयोग अटोइम्यून डिस्अर्डरहरु, ट्यूमर , अंग प्रत्यारोपण आदि अवस्थामा गर्नसकिन्छ । यस वर्गका औषधिहरुले असमान्य रुपले अतिक्रियाशील इम्यून सिस्टमलाई दबाउने वा निस्तेज पार्ने कार्य गर्दछ ।

इम्यूनोमोडुलेटर गुण भएका केहि औषधजन्य वनस्पतिहरु

आयुर्वेद संहिताहरुमा वर्णित रसायन औषध द्रव्यहरु प्रायः सबै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न उपयोगी हुन्छन् । गुर्जो, जेठीमधु, अश्वगन्धा, अमला, शतावरी, शंखपुष्पी, कालमेघ, बला, अतिबला, मूसली, बला, हरीतकी, हलेदो, अदुवा, पिप्ली, तुलसी, गुग्गलु, लसून, कोइरालो, पुनर्नवा आदि केहि इम्यूनोमोडुलेटर गुण भएका वनस्पतिहरु हुन् ।

औषधजन्य वनस्पत्तिहरुमा पाइने ग्लाइकोसाइड, फ्लेभोन्वाइड, कोमारिन आदि फाइटोकेमिकलहरुले  इम्यूनोमोडुलेटरको रुपमा कार्य गर्दछन् । यहाँ केहि इम्यूनोमोडुलेटर गुण भएका जडिबुटिहरुको बारेमा वर्णन गर्न खोजिएको छ ।

१. गुर्जो 

यसलाई आयुर्वेदमा गुडुची भनिन्छ । नेपालीमा गुर्जो, चिनिलहरा पनि भनिन्छ । तराई मधेशमा गुरगुच पनि भनिन्छ ।  यसको पात र डाँढ प्रयोग गरिन्छ ।  आयुर्वेदमा यसको प्रयोग रसायन, संगा्रही, प्रमेह, मधुमेह, कास (खोकी), पाण्डु, कामला, कुष्ठ, ज्वर, कृमि आदि रोगमा गरिन्छ ।

यसले टी लिम्फोसाइट  र बी लिम्फोसाइट   दुबै लाई उत्तेजित गर्दछ र TH-1 type immune response लाई बढाएर म्याक्रोफेज फ्यागोसाइटोसिस र नाइट्रिक एसिडलाई उत्पादन गर्दछ । गुर्जोमा रहेको विभिन्न ग्लाइकोसाइडहरु Tinospora cordifolia-1, Tinospora cordifolia-2, Tinospora cordifolia-4, Tinospora cordifolia-7 एण्टिबडि बढाउँछ । Tinospora cordifolia-7 ले इम्यूनोस्टिमूलेटरी क्रिया पनि देखाउँछ ।

२. अमला 

यसमा विभिन्न किसिमका अल्काल्वाइड, फ्लेभोन्वाइड, ट्राइटरपीन, स्टेरोल, टैनिन, भिटामिन,मिन्रल आदि पाइन्छन् । यो भिटामिन सी को राम्रो स्रोत हो ।  आयुर्वेद चिकित्सामा यसलाई उत्तम रसायन र वयः स्थापक  मानिन्छ । अमलामा रहेको फ्लेभोन्वाइडले इम्यूनोस्टिमूलेटरको रुपमा कार्य गर्दछ । यसले नेचुरल किलर सेलहरुको क्रियालाई बढाउने कार्य गर्दछ । यसमा रहेको एसकर्बिक एसिडले पनि इम्यूनोस्टिमूलेटरको रुपमा कार्य गरेको अध्ययनले देखाएको छ । यसको प्रयोगले इन्टरफेरोनको लेभल बढाएको पनि अध्ययनले देखाएको छ ।

३. अश्वगन्धा 

यसको वैज्ञानिक नाम ध्ष्तजबलष्ब कयmलषभचब हो । यसको औषधिय प्रयोग हुने भाग जरा हो । यो रसायन र बल्य को रुपमा प्रयोग हुन्छ । प्रायः नसा सम्बन्धि रोगहरुमा राम्रो प्रभाव देखाउँछ । यसमा हुने मुख्य रसायन अल्काल्वाइड, र स्टेरोवाइडल ल्याक्टोन्स हुन्छन् । अल्काल्वाइडहरुमा Withanine प्रमुख हो भने स्टेरोवाइडल ल्याक्टोन्स मा Withanolides प्रमुख हो । यस बाहेक अश्वगन्धामा हुने Sitoindosides IX alpha, X alpha ले इम्यूनोमोडुलेटरी क्रिया देखाउने कुरा अध्ययनले देखाएको छ । त्यसै गरि यसको स्टेरोवाइडल ल्याक्टोन्सहरुले पनि इम्यूनोमोडुलेटरी क्रिया देखाउने कुरा पुष्टि भएको छ । यसको एण्टि स्ट्रेस गुण इम्यूनोमोडुलेटरी क्रियामा उपयोगी छ । साथै विभिन्न अध्ययनहरुले यसको Adaptogenic activity लाई पुष्टि गरेको छ ।

४. हलेदो वा बेसार 

बेसार वा हलेदो नेपाली भान्साको एउटा अभिन्न अंग हो । यसले खानेकुरालाई रङ्ग प्रदान गर्दछ ।  यसमा रहेको मुख्य तत्व Curcumin हो ।  यसले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न इम्यूनोस्टिमूलेटरको रुपमा कार्य गर्दछ । एक अध्ययन अनुसार हलेदोको गानोको  Hot water extract मा पाइएको Ukonan A-D भन्ने पोलिसेकेराइड तत्वले रेटिकुलोइन्डोथेलियल प्रणालीलाई उत्तेजित गरि लिम्फोसाईटहरुको वृद्धि गर्दछ र यसले इम्यूनोग्लोबुलिन जी लाई समेत बढाइएको पाइयो । एक अर्को अध्ययन अनुसार बेसारको गानोको water extract ले म्याक्रोफेजहरुलाई सक्रिय गर्ने, स्प्लीनबाट उत्पन्न हुने लिम्फोसाइटहरु बढाउने तथा साइटोकाइनिनको स्राव बढाउँछ ।

५. यष्टिमधु वा जेठिमधु 

यसको जरा प्रयोग गरिन्छ । यसको मुख्य प्रयोग रसायनको रुपमा तथा अम्लपित्त, खोकी, कलेजो रोग आदिमा गरिन्छ ।  यसमा  Glycyrrhizin भन्ने मुख्य क्रियाशिल तत्व हुन्छ ।  यसमा रहेका Polysachharidesले इम्यून सिस्टमलाई उत्तेजित गर्ने अध्ययनले देखाएको छ । यसले म्याक्रोफेजहरुको क्रियालाई बढाउँछ, साथै Interlukin-1 को स्राव पनि बढाउँछ ।

यसरी विभिन्न औषधजन्य वनस्पत्तिहरु आयुर्वेद तथा अन्य चिकित्सा पद्धतिमा विभिन्न रोगको उपचारमा प्रयोग हुदै आएकोमा विभिन्न आधुनिक अध्ययन, अनुसन्धान आदिले त्यसलाई पुष्टि पनि गरेको छ, साथै त्यस्ता औषधजन्य वनस्पतिहरुले रोग प्रतिरोधात्मक क्षमता पनि विभिन्न किसिमले बढाउने भनि विभिन्न अध्ययन, अनुसन्धानले पुष्टि गरिसकेको छ । तथापि धेरै जसो अनुसन्धान मूसा आदि जन्तुहरुमा गरिएको हुदाँ मानवमा थप अध्ययन अनुसन्धान हुन जरुरी हुन्छ ।

लेखक  आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाण्डौंका आयुर्वेद चिकित्सक (एम.डी.द्रव्यगुण विज्ञान) हुन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment