
२५ वैशाख, काठमाडौं । नेपाली सेनाले पहिलो चरणमा स्थलमार्गबाट स्वास्थ्य सामग्री ल्याउन सुरु गरेको छ । हवाई मार्गबाट सामान ल्याउने प्रयास लम्बिएपछि स्थल मार्ग हुँदै कन्टेनरबाट सामान ल्याउन थालिएको हो ।
जसअनुसार सोमबार, बुधबार र बिहीबार गरेर तीन वटा कन्टेनर ग्वाञ्झाओबाट हिँडेको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले ११०, १३० र ३९९ सीयूएम सामान बोकेको कन्टेनर स्थलमार्गबाट हिडिँसकेको अनलाइनखबरलाई बताए ।
स्थलमार्गबाट तातोपानी नाकासम्म सामान ल्याउन ७ दिन लाग्न सक्छ । सेनाले मंगलबार दुई वटा वाइडबडीबाट स्वाथ्य सामग्री ल्याउने भने पनि चीनमा सरकारी विदा र भन्सारको लामो प्रक्रियाका कारण योजना पूरा भएको थिएन ।
विमानबाट ३७ टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने सेनाको तयारी छ । जसका लागि भन्सार प्रक्रिया जारी छ । अहिले लेबलिङको कार्य जारी रहेको बताउँदै सैनिक प्रवक्ता पाण्डेले भने, ‘यो सकिएपछि सर्टिफिकेसनको काम हुन्छ ।’
चीनबाट निर्यात गरिएका स्वास्थ्य सामग्रीमा प्रश्न उठेपछि चीनले १० अप्रिलबाट भन्सार जाँचमा कडाइ गरेको थियो । यद्यपि, नेपालले भन्सार प्रक्रियालाई छरितो गरिदिन भन्दै कुटनीतिक पहल पनि गरिरहेको छ ।
हवाई मार्गबाट सामान ल्याउने मिति भने जंगी अड्डाले तय गरिसकेको छैन । यो भन्सार प्रक्रियामा भर पर्ने सेनाले जनाएको छ ।
कोरोना भाइरसको महामारीका वेला चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने नेपाल ८१ औं राष्ट्र हो । ओम्नी विजनेश कर्पोरेसन इन्टरनेश्नलसँग भएको सम्झौता विवादमा आएपछि सरकारले १६ चैतमा स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएको थियो ।
जसअनुसार जीटूजी (सरकार–सरकारबीचको समझदारी) प्रक्रियाबाट नेपालमा दुई अर्ब २५ करोड रुपैयाँ बढीको तीन सय ४२ टन स्वास्थ्य सामग्री आउँदैछ ।
प्रतिक्रिया 4