Comments Add Comment

गर्भवती र ७० वर्षे सांसदलाई लकडाउनले छुँदैन ?

क्याबिनेटको निर्णय र संसदको तयारी बाझियो

२६ बैशाख, काठमाडौं । लोकतन्त्रमा नियम–कानून सबैलाई समानरुपमा लागू हुन्छ/हुनुपर्छ । कोरोना रोकथामका लागि सरकारले जारी गरेको आदेश पनि जनता र नेता सबैमा समानरुपमै लागू हुनुपर्ने हो ।

विहीबार मन्त्रिपरिषदले गरेको निर्णयलाई मान्ने हो भने संसद बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र स्वयं प्रधानमन्त्री केपी शर्मा ओली नै सहभागी हुन नमिल्ने देखिन्छ ।
र, अरु पनि केही सांसदहरु सरकारबाट घोषित लकडाउनको नियमअनुसार सार्वजनिक कार्यक्रममा सहभागी हुन वा हिँडडुल गर्न नमिल्ने देखिएको छ ।

सरकार भन्छ– गर्भवती, बिरामी र ७० कटेकाले हिँडडुल गर्न पाइँदैन

विहीबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म बढाउने निर्णय गरे पनि कतिपय आर्थिक क्रियाकलापहरु गर्न दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद बैठकले अर्को आदेश नभएसम्मका लागि अशक्त भएका व्यक्ति, बिरामी तथा ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिक तथा गर्भवती महिलाहरुको आवत–जावत तथा हिँडडुल र घुमघामका गतिविधिहरु गर्न नपाइने निर्णय गरेको थियो ।

क्याबिनेट निर्णयको प्रकरण ४ (ञ) मा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक गर्न सकिने भनिएको छ । तर, प्रकरण ५ मा ‘माथि जुनसुकै कुरा लेखिएको भएता पनि’ गर्भवती, बिरामी र ७० वर्ष कटेकाहरुको क्रियाकलापमा अर्को आदेश नभएसम्मका लागि रोक लगाइएको उल्लेख छ ।

को–को छन् जोखिममा ?

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मृगौला प्रत्यारोपण गरेका कारण अहिले पनि चिकित्सकहरुको निगरानीमै छन् । उनले अहिले स्वास्थ्यलाभ गर्दै आएका छन् । तैपनि उनीजस्तै भर्खर शल्यक्रिया गरेका बिरामीहरुको सार्वजनिक हिँडडुल स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण मानिन्छ । तर, उमेरको हिसाबले भने प्रधानमन्त्री  ओली ६७ वर्ष मात्र पुगेका छन् ।

मन्त्रिपरिषदको निर्णयलाई ७० वर्ष माथिका सांसदहरुले पालना गर्ने हो भने शेरबहादुर देउवा र महन्थ ठाकुर लगायत धेरैले बैठकमा उपस्थित नहुनुपर्ने हुन्छ । किनभने, शेरबहादुर देउवा अहिले ७४ वर्ष पुगिसकेका छन् । महन्थ ७७ वर्ष पुगेका छन् ।

बाँकेबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद नन्दलाल रोका क्षेत्री ७० वर्ष पुगेका छन् । कांग्रेसका डा. नारायण खड्का पनि ७० वर्ष पुगेका छन् । जनता समाजवादी पार्टीका चन्द्रकान्त चौधरी ७२ वर्ष पुगेका छन् भने लक्ष्मणलाल कर्ण ७२ वर्ष पुगेका छन् । सो पार्टीका महेन्द्र राय यादव पनि ७० कटेका सांसद हुन् ।

पूर्वप्रधानमन्त्रीहरूमध्ये देउवा ७० कटे पनि झलनाथ खनाल ६९ वर्ष, प्रचण्ड ६३ वर्ष र बाबुराम भट्टराई ६५ वर्ष पुगेका छन् । अरू स्वस्थ नै रहे पनि खनाल  तुलनात्मकरूपमा अस्वस्थ मानिन्छन् ।

प्रतिनिधिसभामा जस्तै राष्ट्रियसभामा पनि ७० वर्ष कटेका सांसदहरु धेरै छन् । स्वास्थ्यसम्बन्धी दृष्टिकोणबाट ७० बटेका मानिसहरु कोरोना महामारीका बेला बाहिरफेर निस्किनु निकै जोखिमपूर्ण मानिने हुनाले सरकारले त्यस्ता व्यक्तिलाई घरभित्रै बस्न भन्दै आइरहेको छ ।

संसदमा प्रतिनिधित्व गर्ने महिलाहरुमध्ये गर्भवतीहरुको संख्या के–कति छ भन्ने यकिन छैन । तर, सरकारले लकडाउनका बेला हिँडडुल, घुमघामजस्ता गतिविधिहरु नगर्न बिहीबार रोक लगाएको छ ।
सरकारले जारी गरेको लकडाउनसम्बन्धी आदेशको पालना संसदभित्र हुन्छ कि हुँदैन ? बिरामी, गर्भवती र ७० कटेका सांसदहरुको उपस्थिति संसदमा हुन्छ कि हुँदैन ? यस्तो प्रश्न गर्दा संसद सचिवालयका एक उच्च अधिकारीले अनलाइनखबरसँग भने, ‘हामीले यसबारे त सोच्दै पो सोचेन छौं ।’

अर्का एकजना सांसदले चाहिँ क्याबिनेटको निर्णय नै अव्यवहारिक भएकाले त्यही सच्याउनुपर्ने बताए । नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘गर्भवतीले साँझ बिहान केहीबेर हिँड्नुपर्ने हुन्छ, यस्तो नियम व्यवहारिक र महिलामैत्री छैन, सच्याउनुपर्छ । जुन कानून व्यवहारमा लागू नै हुँदैन, त्यस्तो नियम कानून बनाइनु गल्ती हो ।’

पर्याप्त सुरक्षाको उपाय अपनाएर ७० वर्ष कटेकाहरुले पनि हिँडडुल गर्न पाउनुपर्ने उनको तर्क छ ।

तर, स्वास्थ्यकर्मीहरू भने वृद्धवृद्धा, गर्भवती तथा मुटु, मिर्गाैला र फोक्सोका बिरामीहरूले विशेषरूपमा जोगिनैपर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment