Comments Add Comment

भारतले गरेको अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चालोस् : नेकपा प्रवक्ता श्रेष्ठ

२७ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमि हुँदै भारतले मानसरोवरसम्म पुग्ने बाटो बनाएको भन्दै भर्त्सना गरेका छन् ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चाल्नुपर्ने पनि बताएका छन् ।

श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैँले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमाक्षेत्रको नेपाली भूमिमा सडक बनाइ हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु । हामी सबै कोरोनाविरुद्ध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको विरुद्ध सरकारले तुरुन्त कदम चालोस् ।’

भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो ।

सो सडकको भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेका छन् । नेपाल सरकारले भने यसबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment