Comments Add Comment

कथा : इन्द्रकमल अझै जीवित छ

सपनाहरूको कुनै तालमेल छैन । न सोचाइहरूको नै कतै तालमेल छ । तालमेल नमिलेको अन्तरकथामा ‘इन्द्रकमल’को प्रवेश हुन्छ । जब कथाको सिलसिला मिलाउने प्रयासमा उसले आफूलाई होमिदिन्छे, तब उसको प्रयास उनीहरू विरूद्ध उभिन पुग्छ । उनीहरूले इन्द्रकमललाई बन्दी बनाउने निर्णय गर्छन् । अन्ततः नारा र कार्यशैलीको विभाजनले इन्द्रकमलको मृत्यु तोकिदिन्छ ।

प्रोफेसर शर्मा छिटोछिटो हिँडिरहेका छन् । ऊ जान्दछे, प्रोफेसर शर्मा आफूलाई बन्दी बनाउन आउँदै छन् । आफूसँग भएका सबै सूचना जफत गरेर हत्या गरिदिने जिम्मा प्रोफेसर शर्मालाई दिइएको छ । डोरबेल बज्छ- नभन्दै प्रोफेसर शर्मा आइपुग्छन् ।

‘आऊ प्रोफेसर, म तयार छु । मेरो सौभाग्य भनौं, तिम्रो हातबाट मर्न पाउनु !’ इन्द्रकमल दुवै हात फैलाउँछे र ढोकामा उभिएको प्रोफेसरलाई स्वागत गर्छे ।

प्रोफेसर चुपचाप उसको घरमा प्रवेश गर्छन् । इन्द्रकमलले प्रोफेसरलाई नियालेर हेर्छे । उनको आँखामा एउटा गहिरो मानसिक थकान देखिन्छ । उदासी र प्रशस्त पश्चातापका रेखाहरू त्यहाँ सल्ब्लाइरहेको उसले पाई । यतिबेला सायद प्रोफेसरले बुझेका थिए कि भावनाको सीमाकंन गरेर बौद्धिकतालाई हतियार बनाउनु एउटा असफल क्रान्ति हो ।

‘तिम्रो क्रान्तिका छद्मभेषी परिभाषाहरू पनि छन्, यो मलाई थाहा थिएन प्रोफेसर !’ प्रोफेसरलाई मौन देखेपछि इन्द्रकमलले भन्छे ।

फेरि पनि प्रोफेसर केही बोल्दैनन् । चुपचाप इन्द्रकमलको नजिकै जान्छन् र नबोलोस् भनेर आफ्नो हातले उसको मुख थुनिदिन्छन् । प्रोफेसरले यसरी हेरिरहेका थिए, मानौं इन्द्रकमललाई उनले आँखैले निल्न चाहेका छन् ।

‘खुब भन्ने गथ्र्याै त प्रोफेसर ! अब कुनै पनि मानिसले त्यो मानसिक कुरूपतालाई जन्म दिने छैन । यो यात्रा त्यो बौद्धिक परिवर्तनका लागि हो । तर खोई कहाँ छ त्यो बौद्धिक परिवर्तन ?’

आफूलाई चुप लगाउन आइपुगेको प्रोफेसरको हात हटाएर इन्द्रकमलले भन्छे ।

प्रोफेसरको हात फेरि अगाडि बढ्छ । र बोलिरहेकी इन्द्रकमलको मुख पुनः बन्द गरिदिन्छ । लाग्थ्यो, उनलाई इन्द्रकमलको कुनै कुरा सुन्न इच्छा छैन । एकोहोरो लामो लामो श्वास फेर्दै उनी इन्द्रकमलको नजिकै उभिइरहन्छन् । इन्द्रकमललेे बुझ्छे, प्रोफेसर अनियन्त्रित भइरहेका छन् । नियन्त्रणका सबै पर्खाल भत्काएर उनी आफूभित्र सम्मिलित हुन खोजिरहेका छन् । या, आफ्नो छातिभित्रको पीडालाई व्यक्त गर्न उनलाई अब एउटा संसर्गको खाँचो भएको छ । किनकि यस अघि प्रोफेसरले कहिल्यै यस्तो गरेका छैनन् । न त्यती नजिक आएर गहिरो निःस्वास छोडेका छन् ।

प्रोफेसरसँग आलिङ्गनबद्ध हुने इन्द्रकमलको बर्षौंदेखिको चाहनालाई लात हान्दै आएका उनी एकाएक किन परिवर्तन भए ? यो बडो अनौठो स्थिति थियो । एकाएक त्यसरी उपस्थित भएका प्रोफेसरलाई उसले आलिङ्गन फैलाएर आमन्त्रण गर्न उचित ठानी । प्रोफेसर शर्मा बिना संकोच इन्द्रकमलको छातीमा पोखिन आइपुगे । मानौं, सम्हाल्नुपर्ने केही कुरा अब उनीसँग बाँकी थिएन । उनका आँखाबाट अविश्रान्त आँसु बगिरहेका थिए ।

के यो मेरा लागि व्यक्त गरिएको असीमित प्रेम हो ? इन्द्रकमलले एकपटक आफैंलाई प्रश्न गरी । जसलाई प्रोफेसरले सधै अस्वीकार गर्दै आएका थिए ।

बन्धन र मर्यादाका सबै सीमाहरू तोडेर केहीबेर उनी इन्द्रकमलमा विलीन भए । जसलाई सृष्टिको सुन्दरतम परिकल्पना भन्न सकिन्छ ।

‘धन्यवाद प्रोफेसर ! आखिर त्यो आवरण भत्कियो । जहाँ आफूलाई सुरक्षित राख्न तिमी हरसम्भव प्रयास गथ्र्यौ । अब मलाई मारियोस्, मेरो कुनै गुनासो रहनेे छैन ।’ जड भएका प्रोफेसरको पञ्जाभित्र आफ्ना हातका औँलाहरू घुसाएर इन्द्रकमलले भनी ।

प्रोफेसरले कुनै जवाफ दिएनन् । चुपचाप आफ्ना अनियन्त्रित सम्वेगहरूलाई सम्हाले, र इन्द्रकमलको आँखामा कालोपट्टी बाँधिदिए । यसरी बन्दी बनाउनुपूर्व उनले एकपटक इन्द्रकमलको आँखामा चुम्बन गर्न भने बिर्सिएनन् । जसको अपेक्षा इन्द्रकमलले गरेकी थिइन ।

०००

निकैबेर यात्रापछि उनीहरू गाडिबाट उत्रिए ।

‘प्रोफेसर शर्मा, कहाँ लगिदैछ मलाई ?’ इन्द्रकमलले सोधी ।

प्रोफेसर शर्माले कुनै कुराको जवाफ दिएनन् । बस इन्द्रकमलको हात समातेर एकोहोरो हिँडिरहे ।

‘म तिमीले नै देखाएको बाटोमा हिँडेकी यात्री हूँ प्रोफेसर ! त्यही बाटोको पक्षमा गरिएका निर्णयहरू कसरी घातक भए ? मैले केही बुझेकी छैन । यो सब के भइरहेको छ ? कृपया मलाई बताइदेऊ ।’ इन्द्रकमलले प्रश्न माथि प्रश्न गरिरही ।

‘यी सब कुराको उत्तर म बताउन सक्दिन इन्द्रकमल, यति जान्दछु कि हामीमाथि घात भयो । ती पराजित संघर्षको बली चढ्नुपूर्व तिमीलाई स्वतन्त्र गराउन जरुरी थियो ।’ प्रोफेसरले निकै लामो मौनता तोडे ।

‘त्यसो भए म तयार छु प्रोफेसर, प्लिज सुट मी !’

ऊ हिँड्न रोकिएर बोली । प्रोफेसर पुनः मौन भए । र, एकछिन उभिएर इन्द्रकमललाई आलिङ्गनमा बाधेँ । केहीबेरलाई एउटा सन्नाटा त्यहाँ उपस्थित भयो ।

‘प्रिय योद्धा ! मेरा पराजित संघर्षहरूमा अब तिम्रो जितको झण्डा फहराओस् । जबसम्म मनुष्यजाती आफ्नै मानस-क्रान्तिमा विजयी हुँदैन तबसम्म समाज बन्दैन ।’

उनले अलिङ्गनबाटै इन्द्रकमलको हातमा बाँधेको डोरी खोलिदिँदै भने । इन्द्रकमलले आफ्नो आँखाको पट्टी हटाएर प्रोफेसरलाई हेर्न खोजी ।

‘ड्याङ्ग…!’

उसले हेर्न नपाउदै त्यहाँ गोली चलेको आवाज सुनियो । इन्द्रकमलले छिटोछिटो आफ्नो पट्टी हटाएर हेरी । प्रोफेसर शर्मा भुईंमा लडिरहेका थिए । र उनको हातमा रहेको पेस्तोलबाट धुँवा उडिरहेको थियो ।
‘यो के गरेको प्रोफेसर ?’ इन्द्रकमल चिच्याउँदै प्रोफेसर शर्माको रगताम्य टाउको समात्न पुगी ।

‘म थाकिसकेँ इन्द्रकमल ! ती हजारौं मानिसको मृत्यु र मेरो मृत्युमा केही फरक छैन ! म तिम्रो हत्यारा कसरी हुन सक्छु ! तिमीसँग त मेरो भावना जोडिएको छ । तिमीलाई मात्र होइन मैले मेरा ती सबै योद्धालाई प्रेम गरेको छु जो बिनास्वार्थ यो मानस-क्रान्तिमा होमिएका छन् । तिमीले मलाई बुझेकी छौ । किनकी भावनाको अर्थ प्राप्तिमात्र होइन ।’ प्रोफेसर शर्माको टाउकोबाट रगतको भल बगिरहेको थियो । इन्द्रकमलले प्रोफेसर शर्माको टाउको उठाएर आफ्नो काखमा राख्छे । दुवैहातले मुख छोपेर केहीबेर आँशु बगाउँछे ।

‘तिमी यसरी मर्नु हुन्थेन प्रोफेसर ! यो के भयो ? तिमी त मलाई मार्न आएका थियौ । फेरि आफ्नै टाउकोमा गोली ठोक्ने निर्णयलाई कसरी गर्न सक्यौ ?’ प्रोफेसर शर्माको यस्तो मूर्खतापूर्ण निर्णयले ऊ बडो दुखी भई ।

‘समाज रूपान्तरणको लागि अब तिमीहरूको मस्तिष्क प्रयोग हुन जरूरी छ । मैले तिमीहरूबाट एउटा बौद्धिक क्रान्तिको अपेक्षा गरेको छु । हाम्रो मानस संगठनले सबैभन्दा पहिला ती कुरूप सोचाइहरूको अन्त्य गर्नेछ ।’ प्रोफेसर शर्माले उसलाई सधै भनिरहेका हुन्थे ।

‘यो रागात्मक वृत्तलाई हावी हुन दिनु भनेको आफ्नै नियन्त्रणबाट आफुलाई गुमाउनु हो इन्द्रकमल ! समाजलाई तिम्रो बौद्धिक क्रान्ति चाहिएको छ ।’ भनेर मलाई आफ्नो नजिक हुन नदिने प्रोफेसर आज कसरी आफ्नै सिद्धान्तबाट च्यूूत भयौ? तिम्रा भनाइहरूलाई आधार बनाएर हजारौं विद्यार्थीले विद्रोह सुरु गरेका छन् प्रोफेसर । तिमीले नै देखाएको बाटोमा जीवनको संघर्ष खोज्नेहरूलाई यस्तोे अन्तरघात कसरी गर्न सक्छौ ?’

इन्द्रकमलको आँखामा आँसु र प्रश्नका लहर बराबर छचल्किन थाले । निकैबेर त्यसरी रोएपछि उसले वरपर हेरी । चारैतिर चट्टानी पहाडले घेरिएका डाँडा थिए, बीचमा सानो उपत्यका जस्तो कुण्ड र केही सल्लाका रूखहरू केही पर सेतो फूलले ढाकिएको एउटा वृक्ष देखियो । प्रोफेसर शर्माको टाउको काखबाट भुइतिर सारेर ऊ जुरूक्क उठी । र त्यही वृक्षको फेदमुनि पुगी । एकछिन सोचविचार गरेपछि उसले त्यही रूखको छहारीमा प्रोफेसरको अन्तिम संस्कार गर्ने निर्णय गरी ।

त्यसपछि उसले प्रोफेसर शर्मालाई लतार्दै त्यही रूखको फेदमुनि लिएर गई । ढुङ्गा, घाँसपात पन्छाएर उसले सकेजति गहिरो खाडल खनी । र प्रोफेसर शर्मालाई सकीनसकी उठाएर त्यही खाडलमा हाली । उनको शरीरलाई उत्तानो पारेर हात र खुट्टा सिधा बनाई । यतिबेलासम्म प्रोफेसर शर्माका आँखा खुल्लै थिए ।

अन्तिम पटक प्रोफेसर शर्माको निधारमा चुम्बन गर्दा उसको आखाबाट अनायासै दुईथोपा आँसु उनको निधारमा खस्यो । एकटकले आकाश हेरिरहेका प्रोफेसरका आँखा हत्केलाले बन्द गरिदिँदै इन्द्रकमलले उनको शरीरमाथि माटो खन्याई । माटो-ढुंगा-घाँसपातले प्रोफेसरको शरीर पुरियो ।

यो सब गरिसक्दा रात भइरसकेको थियो । थकित भएकी इन्द्रकमल प्रोफेसरको समाधी नजिकै पल्टिई । आकाशमा तारहरू भरिँदै गए । ढिलो गरि जुन पनि ऊमाथि आइपुग्यो । उसलाई केही समय अघिको घटना याद आयो । प्रोफेसर शर्मा कसरी आफुमा विलीन भएका थिए । कति सुन्दर थियो त्यो क्षण । समयको खेल- यतिबेला उनी कसरी पृथ्वीको गर्भमा लीन भए ।

०००

चिसो बतासले उसलाई छोएर गयो । ऊ जुरूक्क उठी र प्रोफेसरको समाधीमा एक नजर पुर्याइ । उसलाई छोएर गएको बतासले छहारीका रूपमा उभिएको रूखका सेता फूलहरू बरबर झारिरहेको थियो ।
‘संघर्ष पराजित हुदैन प्रोफेसर ! पराजित तिमी भयौ, आफ्नै सोचाइहरूसँग । आफ्नै योजना र कार्यशैलीसँग । साँच्चै भन्ने हो भने तिमीसँग पराजित मस्तिष्क थियो, जसलाई तिमीले मानस-क्रान्तिको लेप लगाएका थियौ !’

प्रोफेसर शर्माको चिहानमा टोलाइरहेकी इन्द्रकमल भुत्भुताउँदै हिँड्न थाली ।

केहीबेर हिँडेपछि ‘चन्द्रप्रकाश मार्ग’ लेखिएको एउटा बोर्ड फेला पर्याे । जहाँबाट एउटा सुरुङ सुरु हुन्थ्यो ।

‘के प्रोफेसर शर्माको आाखाले मलाई चन्द्रप्रकाश लेखिएको सुरुङमार्गमा हिँड्न निर्देशन गरेका थिए ? उसलाई एकचित्त भएका प्रोफेसरको आँखाको सम्झना हुन्छ । के प्रोफेसर शर्मा र चन्द्रप्रकाश भिन्दा भिन्दै कागजमा लेखिएका एउटै कथा हुन् ? प्रोफेसर शर्मा र चन्द्रप्रकाशको फरक मार्गलाई एकछिन अनुभव गरेपछि इन्द्रकमल सुरुङमार्गमा प्रवेश गर्छे ।

सुरुङमार्गर्को प्रवेशद्वारमा हल्का उज्यालो थियो । केहीबेर हिँडेपछि उज्यालो बढ्दै गयो । अब ऊ बारूद-ल्याम्प बालेर उज्यालो पारिएको मार्गमा पुग्छे । बारूद विष्फोटक चीज हो, यो ऊ जान्दथी । किनकि उसले विरोध गर्दागर्दै पनि प्रोफेसर शर्माको मानस संगठनले भौतिक सर्वनासको लागि पछिल्लो समय थुप्रै बारूदखानाहरू तयार गरिसकेको थियो । त्यही बारूदबाट यसरी उज्यालो बलेको देखे पछि भने उसलाई बडो आश्चार्य लाग्यो ।

सुरुङमार्गर्मा मानिसहरूको कुनै आवतजावत थिएन । जताततै सन्नाटा थियो । इन्द्रकमलले एकपटक आफ्नो नाडीतिर हेर्छे । घडीमा दुई बजेको थियो ।

‘एकै ठाउँमा रोकिनुको कुनै अर्थ छैन । यहाँबाट फर्किनु पनि मेरो विभत्स हत्या हुन हो । बरू यही यात्रालाई निरन्तरता दिनु उपयुक्त हुनेछ ।’ यही सोचेर ऊ अघि बढी । बारूद्व-ल्याम्प र सुरुङमार्गर्का भित्ताहरू बडो विचित्रका थिए ।

‘भुरूरर्रर……!’

एकाएक तर्साउने गरी एक जोडी काला चमेरा उसको अगाडिबाट उडे । इन्द्रकमलले त्यो सन्नाटा केही खल्बलिएको महसुस गरी । डरलाग्दो गहिराई भएको त्यस सुरुङमार्गर्मा यसअघि कुनै पुत्लाहरू यसरी जुर्मुराएका थिएनन् । बस्, उसको बाहिरी कानले एउटा विलयको धुन सुनिरहेको थियो ।

चमेराहरू एकछिन उसको वरीपरि भिन्भिनाउँछन् र पँखेटा फट्फटाउदै सुईंकुच्चा ठोक्छन् । ऊ टक्क रोकिएर ती चमेराहरू उड्दै गएको तिर हेर्छे । जुन मार्गमा ऊ आफू पनि यात्रारत थिई ।

‘के थिए होलान् ती ? ईश्वरका दूत थिए या कुनै सैतानी दिमागले गोप्य रूपमा खटाएका गुप्तचर ?’

मनमा एक किसिमको संशय उत्पन्न भयो । एक प्रहरको यात्रा सकिएपछि गुफाभित्र विभिन्न काठको फलेक जोडिएको एउटा पुरानो द्वार फेला पर्यो ।

‘के होला यस द्वारभित्र ?’

इन्द्रकमलले त्यस काठको द्वार बिस्तारै धकेल्छे । भित्र शान्त र शीतल अवस्थामा रहेको एउटा शयनकक्ष थियो । वर्षौदेखि गहिरो मौनता साँधेको जस्तो लाग्ने त्यस शयनकक्षमा कोही सुतीरहेको भने थिएन । बरू ससाना छिद्रहरूबाट छिरेका थोप्ला थोप्ला उज्यालो त्यस शयनकक्षका भित्ताभरि टाँसिएका थिए ।

केहीबेर निरीक्षण गरेपछि थाहा हुन्छ, त्यस कक्षलाई प्रयोजनमा ल्याएर त्यहाँ कोही बस्दै आएको छ । किनकि कक्षको एक छेउमा काठको एउटा पुरानो फलेक थियो जसलाई टेबलको रूपमा प्रयोग गरिएको थियो । त्यसमाथि एउटा एष्ट्रे र कुच्चिएको गिलास पनि थियो । भित्ता खोपेर बनाइएको खोपीमा केही थान पुराना ग्रन्थहरू थिए । शयनकक्षको अर्को छेउमा माथि उक्लिने काठको पुरानो भर्‍यांग थियो । त्यही भर्‍यांग मुन्तिर केहीबेर अघि सुरुङमार्गर्र्बाट उडेर आएका चमेराहरू झुण्डिरहेका थिए ।

‘यो सब के रहस्य होला ?’

उसले आफ्नो कान ठाडा बनाएर सुन्ने प्रयास गर्छे । भर्‍यांगको माथिपट्टी कोही ओहोर दोहोर गरिरहेको सुनिन्छ । अब उसले आफ्नो आँखालाई चनाखो राख्दै दुई खुड्किला भर्‍यांग उक्लिएर माथितिर नियाल्छे ।

माथि पुरानो कुर्ता-पाइजामा लगाएको एउटा लुखुरे शरीरले केही पकाइरहेको देखिन्छ । लामो दाह्रीले छोपिएको त्यस मान्छेको अनुहार भने उसले चिन्न सक्दिन । शिरमा टोपी लगाएको श्वेतपुत्ला जस्तो मानव आकृतिले हातमा दुईवटा गिलास लिएर भर्‍यांग ओर्लिने तयारी गर्छ । इन्द्रकमल भर्‍यांगबाट तल झरेर शयनकक्षको बीच भागमा उभिन्छे । र, ओर्लदै गरेका पैतालाहरू पछ्याउँन थाल्छे । पातलो शरीरमा टासिएको कुर्ता-पाइजामा एक तमासले फरफर गरिरहेको थियो ।

यो सुरुङभित्र त्यो कुर्ता-पाइजामा उडाउने बतास कहाँबाट चलिरहेको होला ? इन्द्रकमल सोच्दै थिई । कुर्ता-पाइजामा भित्रको मानिससँग उसको आमनेसामने भयो । इन्द्रकमलले उसको अनुहारमा हेर्छे । कुर्ता-पाइजामा वालाको अनुहार बडो शान्त थियो । उसलाई त्यो मानिसको अनुहार कतै देखेजस्तो लाग्छ ।

‘आउनुस्, बसेरै चिया पिऊँ ।’ उसले चिनेकै जस्तो गरी भन्यो । र, टेबलसँगै रहेको पुरानो कुर्सीमा गएर बस्यो ।

‘म आउँदै छु भन्ने तपाईलाई कसरी थाहा भयो ?’ इन्द्रकमल उसको अगाडीको बेन्चमा गएर बस्दै सोधी ।

‘तपाई नै भन्ने थाहा थिएन, तर कोही आउँदै छ भन्नेचाहिँ थाहा थियो ।’ उसले भर्याङ्गमा झुण्डिइरहेका चमेराहरूतिर हेर्दै भन्यो ।

‘कसरी ?’

‘ऊ त्यो भर्याङ्गमुनि झुण्डिइरहेका चमेरालाई त तपाईंले देख्नुभएको होला !’

‘हो, यिनीहरूले मेरो यात्रामा एकछिन रोक लगाएका थिए ।’

‘यो सुरुङमार्गर्मा कोही प्रवेश गरेपछि मात्रै यिनीहरू उडेर यहाँ आइपुग्छन् । अनि मलाई थाहा हुन्छ कोही सुरुङभित्र प्रवेश गरिरहेको छ ।

‘वाइ द वे, तपाईको नाम ?’ कुर्ता-पाइजामा वाला बुढो बडो शान्त थियो । लाग्थ्यो वर्षौ देखि तप गर्न ऊ यहाँ बसेको छ । तपाईको नाम ? उसले चियाको एक सुर्की लिएपछि सोध्यो ।

‘इन्द्रकमल !

‘इन्द्रकमल ! नाम सुन्दर छ । ल अब यो बुढो हातले बनाएको चिया पिउनुहोस् ।’

उसले टेबलको रूपमा प्रयोग गरिएको फलेकमा राखिएको अर्को गिलास चियातिर दखाउँदै भन्यो ।

‘कतै त देखेकी हुँ यिनलाई’, सोच्छे ।

‘चन्द्रप्रकाश ! हो तपाई चन्द्रप्रकाश हो ?’ उसले भनी ।

‘को चन्द्रप्रकाश ?’ दाह्रीले छोपिएको अनुहार अलिकति मुस्कुराउन खोज्यो । उसले ध्यान दिएर त्यो अनुहारलाई हेरी । हुबहु चेहेरा र उनको शरीरमा भएको टोपी बिलकुल तलमाथि थिएन । मात्र दाह्रीजुँगा बढेर नचिनिने भएका थिए ।

केही वर्ष पहिले प्रोफेसर शर्माको मानस संगठनको विरूद्ध उभिएपछि उनलाई मृत्युदण्ड दिइएको थियो । प्रोफेसर शर्माले नै उनको हत्या गरेकोे कुरा मैले उनको मुखबाट सुनेकी थिए ।

‘प्रोफसर शर्माले कसरी मेरो हत्या गर्न सक्छन् इनद्रकमल ? उनको कलम समाउँदा थरथराउने हातले बन्दुक समाउन खोज्नु नै मुर्खता हो !’ आफ्नो लामो दाह्री मुसार्दै शान्त शैलीमा उनले भने ।

‘तर उनले बन्दुक चलाए चन्द्रप्रकाश ! त्यो पनि आफ्नै टाउकोमा । मेरै अगाडि उनले आफ्नो हत्या गरिदिए ।’ इन्द्रकमल प्रोफेसर शर्मालाई सम्झेर भावुक भई । उसको आखामा आसु टिलपिलाए ।

चन्द्रप्रकाशले लामो स्वास ताने ।

‘मलाई थाह थियो, उनको चेतनाले अरूको दैहिक स्वरूपलाई हत्या गर्न सक्दैन । यसैकारण उनले मेरो देहलाई मृत्यु दिन सकेनन् । तर आत्मा मारिदिए । मैले यही कुरा उनलाई धेरै अगाडि सम्झाउन खोजेको थिएँ । उनले सुरु गरेको क्रान्तिले एकदिन उनैलाई सिध्याउने निश्चित थियो ।’

‘कसरी ?’

‘जहाँसम्म तपाई प्रोफेसर शर्माकी स्टुडेण्ट हुनुपर्छ ।’

‘हो, तर म आफूलाई उनकी प्रेमिका भन्न रूचाउँछु ।’

‘प्रोफेसर शर्माकी प्रेमिका त तपाई हुनै सक्नुहुन्न । प्रोफेसर शर्मा तपाईको प्रेमी होलान् त्यो अर्को कुरा हो । किनकि म जान्दछु प्रोफेसरले यूनिर्भसिटीलाई विद्रोह उत्पादनको भर्ती केन्द्र बनाएका छन् । त्यहाँबाट हरेक दिन लाखौं विद्यार्थी विद्रोहका सेना बनेर निस्किन्छन् र युद्धमा सामेल हुन्छन् ।’

‘माफ गर्नुहोला चन्द्रप्रकाश ! उनको मानस संगठनको एक योद्धा हुँ म ।’

‘हुनुहुन्थ्यो । तर अब तपाई त्यस संगठनको योद्धा होइन । बिद्रोही हुनु भएको छ । र उनीहरूले तपाईलाई मार्ने निर्णय गरिसकेका छन् ।

‘यो सब तपाईलाई कसरी थाहा भयो ?’

‘तपाई यहाँ आइपुग्नु नै त्यो कुराको खुलासा हो । जसले उनीहरूको संगठनको विरूद्ध कुरा गर्छ, उसलाई प्रोफेसरले मार्ने निर्णय गरिदिन्छन् । तर मार्न सक्दैनन् । जसको मृत्यु तोकिन्छ उसलाई सुरूंगमार्गको द्वारसम्म ल्याएर छोडिदिने काम उनी आफैले गर्दै आएका छन् ।’

‘मलाई लाग्छ, प्रोफेसर शर्मा यो सब चाहेका थिएनन् ।’

‘विल्कुल चाहेका थिए । उनी जान्दथे, ती कुरूप र छद्मभेषी निर्णयका विरूद्ध उनी निरीह भइसकेका छन् । र, उनले निर्माण गरेको बौद्धिक संगठनको सबैभन्दा खराब अन्त्य हुदैछ । उनले मेरो कुरा सुन्न चाहेनन् । उल्टो मलाई मार्ने निर्णय गरियो । तर उनले मलाई मार्न सक्ने कुरा थिएन । मलाई यही सुरूंगमार्गको द्वारमा छोडेर उनी फर्किए । त्यतिबेलै मैले उनलाई भनेको थिएँ, अब यो मानस संगठन, कुख्यात अपराधीहरूको झुण्ड भएको छ । र, तिमीले सुरु गरेको बौद्धिक क्रान्तिको भौतिक विनाश सुरु भइसकेेको छ । क्रान्ति एउटा व्यापार मेला बनिरहेको छ । बिश्व बजारमा त्यो व्यापार मेलाको व्यापकता यसरी फैलिइरहेको छ कि त्यसलाई रोक्न तिम्रो तत्वज्ञान असमर्थ भइसकेको छ । तर उनी ढिट प्रोफेसर थिए । अरूको कुरामा विश्वास गर्न भन्दा उनलाई मर्नु निको लाग्थ्यो । उनी अगाडि बढे । र, पराजयको श्रृंखलालाई निरन्तरता दिइरहे ।

‘तपाईलाई मेरो कुरा आश्चर्य लागिरहेको हुन सक्छ । तर, यही सत्य हो । जसले मृत्युको व्यापार मेला रोक्ने प्रयास गर्छ, त्यसलाई जरैदेखि समाप्त पारिन्छ । यही नै अहिलेको त्यो बौद्धिक संगठनको बहुराष्ट्रिय नीतिले गर्दै आएको कार्य हो । र त्यही आधारमा तपाईको पनि मृत्यु तोकिएको हो ।’

चन्द्रप्रकाश बोलिरहेका थिए । इन्द्रकमल आँखा नझिम्काएर हेरिरहेकी थिई ।

‘चाहेको भए म उहिल्यै यस गुप्तबासबाट मुक्त हुन सक्थें । तर यहाँबाट निस्केर पुनः मृत्युको व्यापार मेलामा सहभागिता जनाउनुको अर्थ छैन ।’ उनी एकछिन रोकिए । लामो श्वास लिए र भने, ‘चन्द्रप्रकाशको विचारले अबको संसार चल्दैन इन्द्रकमल ! न तपाईको अडानले चल्छ । प्रोफेसर शर्माको तत्वज्ञानलाई बिश्व बजारले उल्टाइदिएको छ । अब बिश्व बजारमा सिर्फ मृत्युको व्यापार मेला चल्ने छ । त्यो मेलामा जसले धेरै मृत्युको व्यापार गर्न सक्छ, संसार उसैको हातमा जाने छ …तर दुर्भाग्य अन्तिम पटक प्रोफेसरलाई भेट्ने इच्छा अधुरै रह्यो ।’

‘प्रोफेसर शर्माको मानस क्रान्ति यति भयावह कसरी भयो चन्द्रप्रकाश ?’

‘प्रोफेसरले भावुकतालाई घृणा गर्‍यो । मानिसको भावनालाई प्रगतिको बाधक ठान्नु नै उसले सुरु गरेको मानसिक क्रान्तिको हार हो इन्द्रकमल । भावना सकिए पछि नै मानिसले भौतिकतालाई हतियार बनाउछ । र प्रोफेसरले आफ्ना योद्धाहरूलाई भावनाको चंगुलबाट बाहिर निकाल्न सारा जीवन खर्चियो ।’

‘तर मलाई बन्दी बनाउनु पूर्व उनको कमजोर आत्मा छताछुल्ल भएर पोखिएको थियो चन्द्रप्रकाश । र, त्यहाँ गहिरो भावना थियो !’

‘प्रोफेसर शर्माको भावनालाई स्थान दिन मिल्ने कुनै आधार छैन इन्द्रकमल ! उसले आफ्नो ज्ञानसँग गरेको खेलवाड नै भावनाविरूद्धको चरम उत्कर्ष हो ।’

यतिबेला चन्द्रप्रकाशको शान्ति केही बिथोलिएको थियो । उनको अनुहारमा पीडाको तरंग सलबलाउन आइपुगेको इन्द्रकमललाई आभाष हुन्छ ।

‘के भो चन्द्रप्रकाश ? किन तपाईको अनुहारमा यसरी पीडाका रेखाहरू सल्बलाएका ?’

‘प्रोफेसरले धेरै मेरो जीवनको गोरेटोलाई एउटा गुफामा सीमित गरिदियो इन्द्रकमल । उसको मष्तिस्कले हरेक व्यक्तिलाई युद्ध जित्न नसक्ने विद्रोही बनायो । रक्तभूमिमा मानस क्रान्तिको झण्डा गाड्ने उसको प्रशिक्षण नै गलत थियो । जुन दिन उसले हतियारसँग आफ्नै तत्वज्ञानको सम्झौता गर्‍यो, त्यही दिन ऊ पराजित भयो ।’

‘अब त प्रोफेसर शर्माको देह पनि पराजीत भइसक्यो चन्द्रप्रकाश ! सुरुङमार्गको प्रवेशद्वार अगाडि फूलेको त्यो सेतो फूलको वृक्षमुनि प्रोफेसर शर्माको लास छ । मैले नै उनको देहलाई त्यहाँ गाडेर आएकी हुँ । तपाईलाई थाहा छ, मलाई मार्न आएका प्रोफेसरले कसरी आफ्नै कञ्चटमा पेस्तोल पड्काए ? त्यो निर्णयभन्दा ठूलो त्याग र भावनाको उदय कसरी हुनसक्छ ? प्रोफेसर शर्माले आफूलाई समाप्त गरे तर भावनाको तत्वज्ञान समाप्त भएको छैन चन्द्रप्रकाश ! किनकि इन्द्रकमल अझै जीवित छ ।’

०००

यो सुनेर चन्द्रप्रकाश मौन हुन्छन् । उनी बिस्तारै उठेर शयनकक्षमा पुग्छन् । केही नबोली आँखा चिम्लिएर विस्तारामा पल्टिन्छन् । इन्द्रकमलले आँखा चिम्लिरहेका चन्द्रप्रकाशलाई एकटक हेरिरहन्छे । चन्द्रप्रकाशको सेतो दाह्री उसलाई सुरुङमार्गको प्रवेशद्वारमा रहेको सेतो वृक्षजस्तो लाग्छ । जहाँ प्रोफेसर शर्माको शरीर चीर निन्द्रामा सुतिरहेको थियो ।

चन्द्रप्रकाश तपाईंले मान्नुस-नमान्नुस्, यतिबेला तपाईंकै छहारीमा प्रोफेसर शर्माले विश्राम गरिरहेका छन् । उसले आँखा चिम्लिरहेका चन्द्रप्रकाशको छेउमा गएर बिस्तारै भन्छे ।

त्यति नै बेला, त्यहाँ चिसो बतास कतैबाट आएर इन्द्रकमलको शरीरमा ठोकिन्छ । उसले आँखा चिम्लिेर त्यो बतासको शीतलतालाई हृदयमा समेट्न खोज्छे ।

त्यहाँ प्रोफेसर शर्मा आकाशलाई हेरेर मुस्कुराइरहेका हुन्छन् । र, सेता फूलहरू उनको छातीमाथि क्रमशः झरिरहेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment