Comments Add Comment

पिथौरागढबाट हिँडेर जुम्ला

२७ वैशाख, जुम्ला । कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा पनि १२ जना भारतको पिथौरागढबाट पैदल हिँडेर जुम्ला आइपुगेका छन् ।

हप्ता दिनको पैदलयात्रापछि हिमा गाउँपालिका-२ ओदीगाउँका उनीहरू जुम्ला आइपुगेका हुन् । रोजगारीका लागि उनीहरू तीन महिनाअघि पिथौरागढ गएका थिए । हप्ता दिनको पैदलयात्रा गरेर यसै साता यहाँ पुगेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार ती युवा भारतको पिथौरागढ हुँदै दार्चुलाको झुलाघाट नाका भएर आएको थिए । उनीहरू सीमापारि २१ दिन क्वारेन्टाइनमा बसेर फर्केका हुन् । उनीहरूलाई अहिले गाउँपालिका-२ ओदीगाउँको विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

वडाध्यक्ष नैनसिंह रोकायले भने, ‘भारतबाट आएको थाहा पाउनासाथ परिवारसँग घुलमिल नहुँदै उनीहरूलाई क्वारेन्टाइनमा राखेका छौं । पुनः क्वारेन्टाइन बसेको २१ दिन पुगेपछि कोरोना परीक्षण गरेर मात्रै घर पठाउने तयारी गरेका छौं ।’

बाहिरबाट आएका नागरिकलाई गाउँपालिकाले गाँसबासको व्यवस्थान गरी क्वारेन्टाइनमा राखेको छ ।

लकडाउन अवधिमा यहाँ १० हजार सात सय ६५ भित्रिएका छन् । पाँच सय २१ शय्याको क्वारेन्टाइनमा दुई सय ३० जना बसेका छन् भने आठ सय ८० जना १४ दिनपछि घर फर्केको शुक्रबार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्यां‌कमा उल्लेख छ । त्यसैगरी पाँच सय १६ होम क्वारेन्टाइनमा बसेका छन् ।

शुक्रबारसम्म तीन सय ७३ को पीसीआर र दुई सय ५४ जनाको आरडीटी परीक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ रहेको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment