+
+
Shares

प्राधिकरणले विद्युत् पोल नसार्दा चोहर्वा बजारको नाला निर्माणमा ढिलाइ

स्थानीयका अनुसार पटक–पटक मौखिक तथा लिखित आग्रह गर्दा पनि नेपाल विद्युत् प्राधिकरणबाट आवश्यक पहल हुन सकेको छैन ।

सुरेश राय सुरेश राय
२०८३ असार २७ गते १६:२२

२७ असार, सिरहा । सिरहाको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोक चोहर्वा बजारमा भौतिक पूर्वाधार विकास कार्यालय, सिरहाद्वारा नाला निर्माण कार्य विद्युत् पोल स्थानान्तरण नहुँदा अधुरो रहेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

स्थानीयका अनुसार पटक–पटक मौखिक तथा लिखित आग्रह गर्दा पनि नेपाल विद्युत् प्राधिकरणबाट आवश्यक पहल हुन सकेको छैन ।

चोहर्वा बजार विकास समितिका अध्यक्ष नागेन्द्रप्रसाद सिंहले वडाको सिफारिससहित नेपाल विद्युत् प्राधिकरण मिर्चैयामा पोल हटाउन निवेदन दर्ता गराएको महिनौँ बितिसक्दा पनि कुनै सुनुवाइ नभएको बताए । उनले भने, ‘ठाउँ–ठाउँमा रहेका पोलका कारण नालाको जोड्ने काम हुन सकेको छैन । नाला नजोडिँदा पानी जम्ने, दुर्गन्ध फैलिने तथा सर्वसाधारण र बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असरपर्ने जोखिम बढने देखिएको छ ।’

स्थानीय शिवकुमार यादवले नाला निर्माणपछि बजार व्यवस्थित हुने अपेक्षा गरे पनि अधुरो निर्माणका कारण समस्या झन् बढेको बताए । उनका अनुसार पानी जम्दा आवतजावत र किनमेलमा समेत कठिनाइ भइरहेको छ ।

भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियर शेखरमणि सिंहले विद्युत् पोल नसारिएकै कारण बाँकी काम रोकिएको स्वीकार गरे । उनले पोल स्थानान्तरण भएलगत्तै नालाको जोड्ने कार्य सुरु गरिने जानकारी दिए ।

भौतिक पूर्वाधार मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि उक्त योजनाको ठेक्का नं. ४७ अन्तर्गत ४५ लाख रुपैयाँको लागत अनुमान स्वीकृत गरेको थियो ।

सोही योजनाअन्तर्गत मिर्चैयास्थित चन्द्र कन्सल्टेन्सी एन्ड कन्स्ट्रक्सन कम्पनीले भ्याटसहित ३८ लाख ७९ हजार ७८ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । कम्पनीले हालसम्म २९ लाख ८ हजार २७८ रुपैयाँ भुक्तानी पाइसकेको कार्यालयले जनाएको छ ।

नेपाल विधुत प्राधिकरण मिर्चैया शाखाका सुपरभाइजर जीवछ शर्माले निवेदन दिएर मात्रै काम नहुने बताए । ‘निवेदन दिनेले समय–समयमा ताकेता गर्नुपर्ने हुन्छ । दिनमा ५ देखि १० वटा यस्ता निवेदन आउँछन् । कर्मचारीहरू पनि फिल्डमै हुन्छन् । समन्वय नभएको कारण ढिलो भएको हुनसक्छ,’ उनले भने ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?