Comments Add Comment

नेकपा स्थायी कमिटी बैठक जेठ १५ अघि ‘असम्भव’

सचिवालयमा बामदेवको वयान- मलाई झुक्याएको थाहा पाएँ !

Photo Credit : फाइल फोटो

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लगातार भेटवार्ता भइरहेको छ । शनिबार पनि दुई अध्यक्षबीच छलफल भएको छ ।

तर, स्थायी कमिटीको बैठक बोलाउन सहमति जुटेको छैन । नेकपा नेताहरुका अनुसार अब जेठ १५ मा बजेट ल्याएपछि मात्र बैठक बस्ने सम्भावना बढेको छ ।

सरकार अब नीति तथा कार्यक्रम र बजेटलाई अन्तिम रुप दिने तयारीमा जुटेको छ । जेठ २ गते नीति तथा कार्यक्रम पेश गर्ने तय भएको छ भने संविधानअनुसार जेठ १५ गते बजेट ल्याउनै पर्ने हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु पनि बजेटलाई अन्तिम रुप दिन व्यस्त छन् । त्यसमाथि, प्रधानमन्त्री ओली तत्काल स्थायी कमिटीको बैठक राख्ने पक्षमा छैनन् ।

जेठ १५ सम्म पर्खिने रणनीति

सचिवालयका चार सदस्य प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको जोड अहिले पनि स्थायी कमिटीको बैठक सुरु गर्ने र केही समयका लागि स्थगित गर्नेमा छ । तर, यसमा प्रधानमन्त्री सहमत भइसकेका छैनन् ।

अझै पनि प्रधानमन्त्री ओलीलाई सहमत गराउन प्रयास गर्ने यो समूहको प्रयास छ । ‘उहाँ सहमत हुनुभएन भने पनि हामी बजेटसम्म पर्खिन्छौं’ प्रचण्ड पक्षधर एक नेताले अनलाइनखबरसँग भने ।

नेकपामा लिखितरुपमै स्थायी कमिटी बैठक माग गर्ने २० नेताहरु पनि प्रचण्ड र माधव नेपाल समूहकै छन् । २५ गते धुम्बाराहीमा भेला भएर प्रचण्डलाई भेट्न पुगेका उनीहरु अहिले पनि नेताहरुलाई भेटेर दबाव दिइरहेका छन् । तर, जेठ १५ को बजेट अगाडि बैठक बस्ने सम्भावना न्यून भएको एक नेताले बताए ।

स्थायी कमिटी स्थगित गर्ने बहुमतको निर्णय !

प्रधानमन्त्री कार्डमा वामदेव गौतम पग्लिएपछि नेकपा सचिवालयमा ओलीको बहुमत भइसकेको थियो भने बैठक माग गर्ने नेताहरु अल्पमतमा परेका थिए । त्यसैले २४ गतेको सचिवालय बैठकको सुरुमा प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक अहिले आवश्यक पनि छैन, एजेण्डा पनि होइन भन्दै मन्तव्य सुरु गरेका थिए ।

एजेण्डा बनाउने जिम्मा अर्का अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिइएको थियो । तर, त्यो पनि तयार भएन ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डलाई समय नभएर स्थायी कमिटी बैठकको एजेण्डा तयार गर्न नसकेको हो ? भनेर बैठकमा प्रश्न गरे । जवाफमा प्रचण्डले २० गतेको सहमतिबारे बुझाइ फरक परेको र केही पनि नमिल्लाजस्तो अवस्था आएको बैठकमा बताए । तर, स्थायी कमिटी बैठक गर्नुपर्छ भन्ने उनको अडान थियो ।

सो बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले पनि नेताहरुले लिखितरुपमा माग गरेकाले बैठक बस्नैपर्ने बताएका थिए । त्यसपछि प्रधानमन्त्री एवं अध्यक्ष ओली नचाहिने कुरामा जोरी खोज्नै भन्दै नेता नेपालतिर खनिए । नेता नेपालले भने त्यसो भए २० गते किन निर्णय गरेको भनेर प्रश्न गरे । ओलीले मलाई हप्काउन खोजेका मात्र के भनेका थिए, नेता नेपालले ‘हामी तपाईको दास हौं ? भनेर कडा प्रश्न गरे ।

त्यसपछि ओली उठेर हिँडे । आफूलाई थकाइ लागेकाले आराम गर्न जान चाहेको भन्दै प्रधानमन्त्री हिँडेपछि वैशाख २४ को सचिवालय बैठक निश्कर्षविहीन बन्यो । त्यसयता दुई अध्यक्षवीच बाक्लै भेट भए पनि स्थायी कमिटी बैठकको मिति तय हुन सकेको छैन ।

वैशाख २४ को सचिवालय बैठकमा प्रधानमन्त्री हिँडेपछि बाँकी रहेका ८ नेतामध्ये बामदेव गौतम, ईश्वर पोखरल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल स्थायी कमिटी बैठक नगर्ने पक्षमा उभिए । अर्कोतर्फ प्रचण्ड, झलनाथ, माधव नेपाल र नारायणकाजी श्रेष्ठले वैशाख २५ गते बैठक राख्नुपर्ने अडान लिए ।

स्थायी कमिटीको बैठक नगर्ने पक्षमा बहुमत सदस्य भएपछि निर्णय हुन सकेन । साथै, बैठक गर्दा पनि प्रधानमन्त्री ओली अनुपस्थित हुन सक्ने भएकाले कुनै निर्णय हुन नसकेको नेताहरु बताउँछन् ।

प्रधानमन्त्रीसँग छलफल गरेर चाँडै बैठक तय गर्ने जिम्मा अर्का अध्यक्ष प्रचण्डलाई दिइएको थियो । त्यससता प्रचण्डले तीनपटक ओलीलाई भेटिसके । तर, बैठक बस्न ओली राजी छैनन् ।

त्यसैले अब जेठ १५ अगाडि बैठक बस्ने सम्भावना टर्दै गएको छ ।

बामदेवले बनाइसकेका थिए मन्त्रीहरुको सूची

जब अध्यक्ष एवं प्रधानमन्त्री ओली उठेर गए, त्यसपछि उपाध्यक्ष बामदेव गौतमले आफूलाई झुक्याइएको वैशाख २० गते नै थाहा पाइसकेको खुलासा गरे ।

सचिवालयमा आफू अल्पमतमा परेपछि ओलीले १७ गतेको सचिवालय बैठकमा कोरोना संकटपछि बामदेवलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।

नेताहरुले ओलीको यो प्रस्तावलाई आफूविरुद्ध बनेको मोर्चाबन्दी तोड्ने कार्डका रुपमा लिएका थिए ।  तर, गौतमले ओलीको प्रस्तावलाई विश्वास गरेको मात्र होइन, मन्त्रीहरुको सूचीसमेत बनाइसकेका रहेछन् । २४ गतेको बैठकमा नेता गौतमले सुनाए, ‘मैले त क-कसलाई मन्त्री बनाउने भनेर छलफल गरिसकेको थिएँ । तर जब उहाँ -प्रधानमन्त्री) लाई भेटें, कहाँ हुन्छ भन्ने कुरा पो गर्नुभयो । स्वास्थ्यका कारण छाड्नैपर्ने स्थिति आयो भने हेरौंला, बरु अहिले मेरै क्याबिनेटमा आउनुभए पनि हुन्छ पो भन्नुभयो ।’

त्यसपछि मात्रै आफूलाई प्रधानमन्त्री बनाउन खोजिएको होइन रहेछ भन्ने चाल पाएको गौतमले सचिवालयका नेताहरुलाई सुनाए ।

तर, २० गते बसेको सचिवालय बैठकमा पनि उनले यसबारे केही बताएका थिएनन् । बरु आफूलाई प्रतिनिधिसभा सदस्य बनाउन पहल गर्ने निर्णय गर्दा सहमति जनाए । पछिल्लो बैठकमा नेताहरुले फुटको खतरा टरेको भन्दै खुसी व्यक्त गरेको स्मरण गर्दै गौतमले भने, ‘अवस्था गम्भीर रहेको मैले बुझिसकेको थिएँ ।’

आफू फेरि ओली इतरको समूहमा भएको सन्देश दिन गौतमले २४ गते सचिवालय बैठक बस्नु अगाडि खुमलटार पुगेर अर्का अध्यक्ष प्रचण्डलाई भेटेका थिए । तर, बैठकमा भने गौतमले भोलि नै स्थायी कमिटी बैठक नगरौं भन्ने राय दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment