Comments Add Comment

भक्तपुर अर्थात् विश्व उत्कृष्ट कला नगरी

२८ वैशाख, काठमाडौं । भक्तपुरको नाम लिनासाथ तपाईंको मानसपटलमा के आउँछ ? पक्कै पनि ५५ झ्याले दरबार । ५५ झ्याले दरबार भक्तपुरको एक प्रमुख चिनारी त हो । तर, भक्तपुरको चिनारी यतिमा सीमित छैन ।

विश्व सम्पदा सूचीमा सूचीकृत यहाँका ऐतिहासिक र पुरातात्विक सम्पदा, स्थानीय नेवार समुदायको स‌ंस्कृति र परम्पराले भक्तपुरलाई विश्वभर चिनाएको छ । भक्तपुर जिल्ला प्राचीन वास्तुकला र गौरवमय संस्कृतिको अभूतपूर्व समायोजनले सुसज्जित कला नगरी हो । भक्तपुर दरवार क्षेत्र र चाँगुनारायण जस्ता विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदास्थलका साथै मल्लकालीन कला स‌ंस्कृति अनि नेवारी जीवनशैलीले भक्तपुर सजीव संग्रहालयको रुपमा स्थापित छ ।

क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा सानो तर सम्पदाहरूमा सबैभन्दा धनी जिल्ला हो, भक्तपुर । युनेस्कोको ‘म्याप अफ वल्र्ड हेरिटज’ मा भक्तपुर दरबार स्क्वायर र चाँगुनारायणसम्मको क्षेत्र समेटिएकाले पनि भक्तपुरले विश्वमाझ ठूलो पहिचान दिन सफल भएको छ ।

ऐतिहासिक तथा सांस्कृतिक वैभवले संसारभर प्रसिद्ध भक्तपुर विश्वकै एक उत्कृष्ट गन्तव्य हो । भक्तपुरको ५५ झ्याले दरबारका साथै न्यातपोल मन्दिर, दत्तात्रय मन्दिर, चाँगुनारायण मन्दिरलगायतका सम्पदा प्रमुख आकर्षणका केन्द्र हुन् । आठ दिन नौ रातसम्म धुमधामले मनाइने बिस्केट जात्रा भक्तपुरको पर्यायवाची बन्दै आएको छ ।

२०७२ सालको भूकम्पबाट विश्व सम्पदा क्षेत्रमा मात्रै एक सय ४० सम्पदा क्षतिग्रस्त भएका थिए । तीमध्ये अहिले धेरैजसो पुनर्निर्माण भइसकेका छन् ।

यहाँका मौलिक कला र स‌ंस्कृति अवलोकन गर्न थुप्रै आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गर्छन् । तर, अहिले लकडाउनका कारण सम्पदाको खुल्ला संग्रहालय भनिने भक्तपुर क्षेत्र सुनसान छ । सवारी साधन र कलकारखाना ठप्प भएकाले प्रदूषण पनि रोकिँदा भक्तपुर क्षेत्र झन् बढी आकर्षक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment