Comments Add Comment

‘वैदेशिक रोजगारी गुम्दा प्रदेश २ मा भोकमरी लाग्न सक्छ’

२७ वैशाख, जनकपुरधाम । कोरोना भाइरसको महामारीका कारण नेपालले वैदेशिक रोजगारीको धेरै अवसर गुमाउँदैछ । हाल रोजगारीमा रहेका कतिपयले रोजगारी गुमाएर फर्किनेछन् भने थप युवा विदेश जानबाट रोकिनेछन् । यसले नेपालमा ठूलो समस्या ल्याउन सक्ने जानकारहरु बताउँछन् ।

वैदेशिक रोजगारीमा जानेमा नेपालमा प्रदेश २ का वासिन्दा बढी छन् । त्यसैले वैदेशिक रोजगारीमा आउने संकुचनको असर प्रदेश २ मा सबैभन्दा बढी पर्ने प्रदेश २ नीति आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा बताउँछन् ।

उनले प्रदेश २ को अवस्था भयावह हुने र भोकमरीको स्थितिसम्म आउन सक्ने खतरा औंल्याएका छन् । ‘उनीहरु फर्केपछि भोकमरीकै समस्या बढ्न सक्छ’ उनले भने, ‘किनभने आम्दानी घटिहाल्छ, बजारमा खरिद गर्नेको सामथ्र्य रहँदैन । जे उत्पादन हुन्छ त्यसको माग नै रहँदैन ।’

अहिले नेपालमा सबैभन्दा बढी रेमिट्यान्स आउने प्रदेश २ नै रहेको छ । धनुषामा मात्रै एक दिनमा २ करोड रुपैयाँसम्म रेमिट्यान्स आउने गरेको थियो ।

‘सप्तरीदेखि पर्सासम्मका मान्छे वैदेशिक रोजगारीमा छन् । कुनै यस्तो गाउँ छैन जहाँको मान्छे विदेशमा नहोस्, तर यो आम्दानी अब बन्द हुने अवस्था आइसकेको छ’ उनले भने ।
वैदेशिक रोजगारीमा गएकाहरुको तथ्यांक संकलन भइरहेको १ महिनाभित्र सार्वजनिक गर्ने झाको भनाइ छ ।

अनौपचारिक तथ्यांक अनुसार वैदेशिक रोजगारीमा रहेका ५ लाख फर्किन सक्ने भनिएको छ । ‘यो ५ लाखमा डेढ लाख प्रदेश २ कै रहेको बुझिन आएको छ । उनीहरु फिर्ता आएपछि उनीहरुको व्यवस्थापन गर्नु ठूलो चुनौती हुनेछ’ उनले भने ।

हाल ४८ प्रतिशत बहुआयामिक र २८ प्रतिशत आर्थिक गरिबी रहेको यो प्रदेशमा गरिबी दर अझै बढ्न सक्ने झाको भनाइ छ । ‘खाना नभेटे, पोषणको अवस्था कमजोर रहे, स्वास्थ्य उपचार नपाइए बहुआयामिक गरिबी बढ्नु स्वाभाविकै हो’ उपाध्यक्ष झा भन्छन् ।

वैदेशिक रोजगारबाट कति फर्किन्छन्, उत्पादनमा कति कमी आउँछ त्यसपछि मात्रै गरिबीको दर बाहिर आउने उनले बताए ।

रेमिट्यान्स बन्द भएपछि धेरैलाई पेट पाल्न नै समस्या हुन सक्ने उनको धारणा छ । ‘वैदेशिक रोजगारीले गरिबी घटेको थियो । मान्छेले कम्तीमा खान पाइरहेका थिए,’ उनी भन्छन्, ‘रेमिट्यान्सले सामाजिक सुरक्षा राम्रोसँग धानेको थियो ।’

विदेशमा रहेकाहरु फर्किएपछि बालबालिकाको शिक्षासमेत प्रभावित हुने झाले बताए । ‘कतार, दुबईसहित खाडी मुलुकमा रहेकाले आफ्ना बच्चालाई शहरमा राखेर पढाउँदा त राम्रो कुरा थियो नि, आम्दानी घटेपछि शहरको निजी विद्यालयमा पढ्ने बालबालिका भोलि त्यहीं पढ्छन कि फिर्ता हुन्छन् भन्ने प्रश्न उठेको छ’ उनले भने ।

अनुत्पादक र साधारण खर्च घटाऔं

भविष्यमा हुन सक्ने आर्थिक मन्दीबारे अहिलेदेखि नै सोच्नुपर्ने झाको भनाइ छ । विगतमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट अनुत्पादक खर्च बढी भएको भन्दै उनले यो खर्चलाई तत्कालै रोक्नुपर्ने बताउँछन् । साधारण खर्च र अनुत्पादक खर्च नियन्त्रण नगरिए ठूलो समस्या आउन सक्ने उनको आँकलन छ ।

यसबाहेक वैदेशिक रोजगारबाट फिर्ता आउनेलाई अर्थाेपार्जनमा लगाउनेतर्फ ध्यान दिनु पनि आवश्यक रहेको झा बताउँछन् ।

कर बढाउने काम नहोस्

लकडाउनको समयमा प्रायः सबै आर्थिक गतिविधि बन्द छ । यस्तो अवस्थामा भएको व्यवसाय बन्द गरेर बस्नुपरेको छ, नयाँ लगानीको सम्भावना त शून्य बराबर छ । यस्तो बेलामा कर बढाउनु उचित नहुने झा बताउँछन् । ‘अहिले कर बढाउनु भन्दा घटाउने समय हो । यसो गर्दा कम आम्दानी हुनेले पनि सामग्री खरिद गर्न सक्छन्’ उनले भने ।

सरकारले कर बढाए खरिद गर्नेको सामथ्र्य घटेर उपभोग्य वस्तुको उत्पादन नै घट्ने उनको बुझाइ छ । ‘सबैभन्दा बढी क्रय शक्ति घट्छ । क्रय शक्ति घट्दा माग घट्छ र माग घटे त्यसको प्रत्यक्ष प्रभाव उत्पादनमा पर्छ’ उनी भन्छन् ।

स्वास्थ्य र रोजगारीलाई प्राथमिकता

प्रदेश २ को नीति तथा कार्यक्रम बनाउन नीति आयोगले काम शुरु गरिसकेको छ । त्यसका लागि हाल विभिन्न निकायसँग छलफल भइरहेको झा बताउँछन् ।

नीति तथा कार्यक्रममा कोभिड नियन्त्रण, व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखिने उनले बताए । दोस्रो प्राथमिकतामा वैदेशिक रोजगारीबाट फर्केका र बेरोजगारको व्यवस्थापन नै भएको उनी बताउँछन् ।

तेस्रो प्राथमिकतामा सामाजिक सुरक्षालाई राखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment