Comments Add Comment
कोरोना केस १ देखि ११० :

‘भारतीय सीमा नाका, टेस्ट र ट्रेसिङमा गल्ती भएकै हो’

२८ वैशाख, काठमाडौं । नेपालमा पहिलो कोरोना संक्रमणको (कोभिड-१९) केस देखिएको ५८ दिनपछि चैत १० गते दोस्रो केस भेटियो । पहिलो केस कोरोनाको इपिसेन्टर मानिएको चीनको वुहानबाट फर्किएका एक विद्यार्थीमा देखिएको थियो भने दोस्रो संक्रमित युवती फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

उनीसँगै कतार एयरवेजको क्युआर ६५२ जहाजमा नेपाल आएका बागलुङका दुई जनामा पनि संक्रमण देखियो । तर, दोस्रो केस भेटिँदासम्म पनि लकडाउन घोषणा गरेका सरकारी अधिकारी समेत नेपालमा कोरोना संक्रमण नबढ्ने विश्लेषण गरिरहेका थिए ।

जब चैत ३० गते वीरगञ्जमा तीन जना भारतीय जमातीमा कोरोना संक्रमण पुष्टि भयो, अनि मात्र उनीहरू सतर्क भए । त्यतिञ्जेल आवश्यक उपकरण र पूर्वतयारी गर्न ढिला भइसकेको थियो । किनकि त्यसपछि नेेपालका विभिन्न स्थानमा कोरोनाका संक्रमित भेटिएका छन् ।

वैशाख ५ गते १४ जना संक्रमित थपिए । उदयपुरको भुल्केमा १२ र चितवनमा दुईजनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ३० पुगेको थियो । अर्थात् एकबाट दुई हुन दुई महिना लाग्यो तर तीस हुन ३० दिन पनि लागेन । उदयपुरको भुल्के, वीरगञ्ज र पछिल्लो समय नेपालगञ्ज कोरोनाको हटस्पट बनेको छ र महिना दिन नपुग्दै संक्रमितको संख्या ३० बाट ११० पुगेको छ ।


प्रदेश ६ बाहेक हरेक प्रदेशमा संक्रमण देखिएको छ । त्यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू पनि कोरोना नियन्त्रण गर्न नसकिने पो हो कि भन्ने डरले नयाँ रणनीति बनाउन जुटेका छन् । मन्त्रालयका एक विज्ञ भन्छन्, ‘अबको रणनीति भनेको संक्रमण देखिएको ठाउँमा व्यापक टेस्ट गर्ने नै हो ।’

अहिले भुल्के, वीरगञ्ज र नेपालगञ्जमा समुदाय स्तरमै संक्रमण फैलिएको आशंका गरिएको छ । साथै सरकारी अधिकारीहरूलाई अर्को नयाँ ‘हटस्पट’ भेटिन्छ कि भन्ने डर उत्तिकै छ । दक्षिणी छिमेकी मुलुक भारतबाट हरेक दिन लुकिछिपी नेपाल छिरेको रिपोर्टिङ भइरहेको स्वास्थ्य मन्त्रालयका एक विज्ञ सुनाउँछन् । ‘स्वास्थ्य मन्त्रालय एक्लैले नसक्ने भयो’ उनी भन्छन्, ‘दिनहुँ भारतबाट मानिसहरू आइरहेका छन् । यो अवस्थामा नयाँ हटस्पट नबन्ला भन्ने के ग्यारेन्टी ?’

नाम उल्लेख गर्न नचाहने मन्त्रालयका विज्ञहरू सरकारले तीनवटा गल्ती गरेको र यही कारण कोरोना संक्रमण नियन्त्रण बाहिर जाने सम्भावना बढेको सुनाउँछन् ।

टेस्ट र ट्रेसिङ र लकडाउन कार्यान्वयनमा सरकार चुकेको उनीहरूको निष्कर्ष छ । लकडाउनको समयमा भारतबाट अवैध रुपमा मानिसहरू आउन नदिएको भए संक्रमण फैलिएर भयावह हुने त्रास नबढ्ने उनीहरूको तर्क छ । ‘किनकि हामीले संक्रमणको सम्भावना भएकाहरूलाई अनिवार्य क्वारेटाइनमा बस्न भनेका थियौं र लक्षण भएकाहरूलाई टेस्ट पनि गरेका थियौँ’ उनी भन्छन् ‘संक्रमित मानिसहरू छिर्न नपाएपछि एकले अर्कोलाई कसरी सार्थे र ?’

स्वास्थ्य मन्त्रालयका अर्का विज्ञका अनुसार अहिले हटस्पट बनेको क्षेत्रमा देखिएका अधिकांश केसको संक्रमण स्रोत भारत छ । नेपालका ११० संक्रमितमध्ये ८५ जनाभन्दा बढी संक्रमणको स्रोत भारतबाट आएका नागरिक छन् ।

कञ्चनपुरमा देखिएको स्थानीय संक्रमणबाहेक फ्रान्स, बेल्जियम र दुबईबाट आएकाले अरूलाई संक्रमण सारेनन् । त्यसैले सरकारले संक्रमण व्यापक नहुने आकलन गरेको थियो । तर, एकाएक भारतबाट नेपाल छिरेकाहरूमा संक्रमण देखिन थाल्यो । त्यसपछि सरकारको आकलन र रणनीति दुवै फेल खाएको छ । ‘अब पनि पहिलाको गल्तीबाट सिकेनौं भने भयावह अवस्था भोग्नुबाहेक अर्को विकल्प छैन’ उनी भन्छन्, ‘हामीले गल्ती गरेकै हो, अब त्यस्तो गल्ती दोहोर्‍याउँदैनौं ।’

उनका अनुसार संक्रमण यो अवस्थासम्म फैलन सक्ने आकलन गर्न नसक्नु पनि सरकारको कमजोरी हो । परीक्षण किटलगायतका स्वास्थ्य उपकरणहरू समयमै जोहो गर्न नसक्नु दोस्रो गल्ती हो । लकडाउनलाई प्रभावकारी बनाएर टेस्ट र ट्रेसिङ गर्न नसक्नु तेस्रो गल्ती । ‘यस्तो महामारी पहिलो पटक भोगिरहेकाले पनि के गर्ने, के नगर्ने अलमल भयो’ उनी भन्छन्, ‘अब पनि अलमल गर्ने छुट छैन ।’

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा उपचार गराइरहेका ३४ संक्रमितमध्ये १४ जना निको भएर घर फर्किएका छन् । प्रदेश २ का ३१ संक्रमितमध्ये ४ जना निको भएका छन् । वागमती प्रदेशका सातमध्ये छ जना निको भइसकेका छन् भने गण्डकी प्रदेशका दुवै संक्रमित निको भएर घर फर्किएसकेका छन् । प्रदेश नम्बर ५ मा देखिएका ३० जना संक्रमितको उपचार भइरहेको छ भने सुदूरपश्चिम प्रदेशमा संक्रमण देखिएका पाँच जना घर फर्किसकेका छन् । अहिलेसम्म कर्णाली प्रदेशमा भने कोरोना संक्रमण देखिएको छैन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले भन्छन्, ‘डिस्चार्ज भएर घर फर्किएकाहरू औसतमा १९ दिन अस्पताल बसेका छन् ।’

के सुझाव दिन्छन् अन्य विज्ञहरू ?

जनस्वास्थ्य विज्ञहरूले भने कोरोना संक्रमण एकबाट १०० पुग्न जति समय लाग्यो, अर्को १०० केस भेटिन त्यति समय नलाग्ने बताउँछन् । यसका लागि टेस्टको दायरा बढाउनुपर्ने र हटस्पटहरूमा समुदायस्तरमा परीक्षण गर्नुपर्ने डा. अनुप सुवेदी बताउँछन् ।

उनले भने, नेपालगञ्ज, उदयपुर जस्तो ठाउँमा कन्ट्याक ट्रेसिङ गर्नु भनेको समय खेर फाल्नु हो । त्यहाँ त पूरै समुदाय सिल गरेर सबैको परीक्षण गर्नुपर्छ ।’

डा. किरणराज पाण्डे टेस्टको दायरा बढाएसँगै सामाजिक दुरी कायम गर्नुपर्नेमा जोड दिन्छन् । २६ वैशाखबाट सरकारले लकडाउनलाई केही खुकुलो बनाएको छ । त्यसलाई हेरेर कतिपयले कोरोनाको जोखिम कम भएको आकलन गरेका छन् । डा. पाण्डे भन्छन्, थोरै टेस्टका आधारमा जोखिम कति भनेर प्रष्ट भएको छैन । त्यसैले हामीले सामाजिक दुरीलाई कायम राखिराख्नुपर्छ ।’

जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित पनि टेस्टको दायरा बढ्दा संक्रमितको संख्या बढ्न सक्ने बताउँछन् । ‘अब पनि जति टेस्ट गर्‍यौं, त्यति संक्रमित भेटिने हो’ उनले भने । साथै हटस्पटहरूमा पीसीआर विधिबाट गरिने टेस्ट र अन्यत्र आरडीटी विधिबाट गरिने टेस्टमा संक्रमित भेटिनसक्ने उनले बताए ।

डा. अनुप सुवेदी, संक्रामक रोग विशेषज्ञ

हामीले अहिलेसम्म के गर्‍यौं, के गरेनौं ? के भयो, के भएन ? भन्नेतिर म जादिँन । त्यो सबैलाई थाहा छ । यतिबेला हामीले विगतमा गरेको गल्तीबाट पाठ सिक्ने हो । त्यो भनेको हामीले कसलाई परीक्षण गर्ने भन्ने प्राथमिकतामा राख्न सकेका छैनौं । खासमा लक्षण नदेखिएकोलाई भन्दा लक्षण देखिएकाहरूलाई पहिलो प्राथमिकतामा राखेर जाँच गर्नुपर्छ । किनकि, लक्षण नदेखिएकाले भन्दा लक्षण देखिएकाले अरू मानिसलाई छिटो संक्रमण सार्छन् ।

त्यसैले अब हामीले देशभरिका मानिसहरूलाई यो-यो लक्षण देखिएकाहरू तुरुन्त स्वास्थ्यकर्मीको सम्पर्कमा आउनु भनेर आहृवान गर्न सक्छौं । यसोगर्दा सम्भावित संक्रमितहरूको छिटो परीक्षण गर्न सकिन्छ । पहिला लक्षण देखिएका सबैलाई परीक्षण गर्न सम्भव थिएन । किनकि, त्यतिबेला इन्फल्लुएञ्जा पनि थियो र हामीसँग पीसीआर किट पर्याप्त थिएन । अहिले त्यो अवस्था छैन ।

संक्रमितको संख्या १०० नाघेपछि नेपालमा कोरोना संक्रमण फैलिन्न भनेर ढुक्क हुने सरकारी अधिकारीहरूले भविष्यको पूर्वानुमान गरिसके होलान् । नगरेको भएपनि म उहाँहरूलाई के भन्छु भने हाम्रो यो पाराले संक्रमण १०० मै रोकिएर बस्दैन । त्यसका लागि हामीले धेरै काम गर्नुपर्छ । टेस्टको दायरा व्यापक बनाउनुपर्छ । कन्ट्याक ट्रेसिङको दायरा फराकिलो बनाउनुपर्छ । अहिलेसम्म हामीले एक जनालाई कोरोनाको संक्रमण देखियो भने उसको प्रत्यक्ष सम्पर्कमा आएकाहरूलाई मात्र खोजिरहका छौं । यस्तो साँघुरो कन्ट्याक ट्रेसिङको दायराले सम्भावित संक्रमित भेट्टाउन सक्दैनौं । भेटेपनि ढिलो मात्र भेट्छौं ।

नेपालगञ्ज, उदयपुर जस्तो ठाउँमा कन्ट्याक ट्रेसिङ गर्नु भनेको समय खेर फाल्नु हो । त्यहाँ त पूरै समुदाय सिल गरेर सबैको परीक्षण गर्नुपर्छ । त्यसको नतिजा हेरेर आसपासको क्षेत्रमा पनि परीक्षण गर्नुपर्छ ।

थुप्रै्र केसहरूले लकडाउनको समयमा कति मानिसहरू आएका छन् भन्ने पुष्टि भइसक्यो । को-को आए ? उनीहरूको अवस्था के छ ? यकिन गर्नुपर्छ । उनीहरूको कन्ट्याक ट्रेसिङ गरेर सबैको पीसीआर जाँच गर्नुपर्छ ।

व्यापक टेस्ट र कन्ट्याक ट्रेसिङ गर्‍यौं भने हामीसँग कति संक्रमित छन् र हामी कति सुरक्षित छौं भन्ने तथ्यांक प्राप्त हुन्छ । त्यसपछि हटस्पटबाहेकका अन्य क्षेत्रमा पनि व्यापक परीक्षण हुन्छ । यसरी आएको नतिजाले मात्र हाम्रो अवस्था थाहा हुन्छ र लकडाउन कसरी खुलाउने भन्ने मोडल निर्धारण गर्न सकिन्छ ।

अर्को महत्वपूर्ण कुरा भनेको खाद्यान्नदेखि मास्कलगायतका सुरक्षा सामग्री हामीले जोहो गर्नुपर्छ । किनकि सरुवा रोगहरू जति ढिलो नियन्त्रण गर्‍यो, त्यति फैलिने सम्भावना हुन्छ ।

डा. किरणराज पाण्डे

सामान्य अवस्थामा जोखिम यो बिन्दु -१००) बाट बढ्ने नै हो । मलाई जानकारी भएसम्म विश्वभर एक लाखमा संक्रमण देखिन ६७ दिन लाग्यो, तर, अर्को एक लाख थपिन ११ दिन मात्र लाग्यो । अर्थात् हामी कहाँ दैनिक संक्रमितहरू बढ्न थाले भने थप केस आउन सजिलो हुन्छ । यसरी हेर्दा के भन्न सकिन्छ भने जनवरी १४ मा पहिलो केस भेटिएपछि १०० पुग्न निकै लामो समय लाग्यो तर अर्को १०० जनामा संक्रमण भेट्टाउन यति समय पक्कै लाग्दैन ।

यसमा पनि दुईवटा कुरा महत्वपूर्ण छ । पहिलो, लकडाउन के हुन्छ ? दोस्रो ः टेस्ट के हुन्छ ?

टेस्टको गति बढाएनौं भने संक्रमण भएर पनि नभेटिन सक्छ । टेस्ट गर्‍यौं भने छिट्टै देखिन सक्छ । जुन-जुन देशले टेस्ट बढाएका छन्, त्यहाँ संक्रमितको संख्या धेरै देखियो । यसको उदाहरण घाना हो । उनीहरूले अपि्रलमा धेरै टेस्ट गरेका थिए र संक्रमितको संख्या दिनमा दुई हजारसम्म पुग्यो तर उनीहरू आत्तिएनन् ।

काठमाडौंको हकमा मलाई चिन्ता लागेको चाहिँ सार्वजनिक यातायात के हुन्छ भन्ने नै हो । अहिले तत्काल सार्वजनिक यातायात नचलाउने भन्ने मैले पनि सुनेको छु । तर, सार्वजनिक यातायात खोलेर बस, माइक्रोलगायतमा पहिले जस्तै जात्रा गर्‍यौं भने हामीले भन्ने गरेको जस्तो सुपर स्प्रेडिङ इभेन्ट हुन्छ ।

किनभने कोरोनाको संक्रमण बाहिर खुला ठाउँमा भने घरभित्र, गाडीभित्र बढी सर्ने गरेको पाइएको छ । चीनमा गरेको एउटा अध्ययनका अनुसार आउटब्रेक सिनारियो अर्थात् एक व्यक्तिबाट तीन वा तीनभन्दा धेरैमा सर्ने सम्भावना कि घरभित्र कि बस वा ट्रेनमा देखियो । त्यस्तो आउटब्रेक बाहिर छिटफुट मात्र देखियो । त्यसमा पनि एक जनाबाट दुई जनासम्मलाई मात्र संक्रमण सरेको देखिएको छ । त्यसैले हामीले लकडाउन कायमै राखेर सबैलाई घर राख्नुभन्दा सामाजिक दुरी कायम गर्ने कुरालाई बढी जोड दिनुपर्छ होला ।

जहाँसम्म जोखिम कति भन्ने छ । मैले पहिलो पनि भनेको छु कि यही टेस्टका आधारमा जोखिम कति भनेर प्रष्ट भएको छैन । तर, हालै मात्र इटालीबाट एउटा रिपोर्ट प्रकाशित भएको छ । त्यसमा कोभिड-१९ बाट मृत्यु भएका मानिसहरूको क्षेत्र र जातीयताका आधारमा विश्लेषण गरिएको रहेछ । त्यो अध्ययनले गोराहरूको तुलनामा काला जातिको मृत्यु भएको देखियो । काला जातिको मृत्युदर ६५ प्रतिशत बढी पाइयो । त्यसको एकदम नजिक एसियनहरू रहे । उनीहरू गरिब भएर पो हो कि ? स्वास्थ्य सेवामा पहुँच नभएर पो हो कि भन्न सकिन्थ्यो । तर, उनीहरूले सबै तथ्यांक विश्लेषण गरेका छन् । बेलायतजस्ता मुलुकमा त स्वास्थ्य सेवाको पहुँच नहुने भन्ने कुरै भएन । त्यसैले टेस्टको दायरा बढाउने र सामाजिक दुरी कायम गर्नुको विकल्प छैन ।

डा. समिरमणि दीक्षित, जनस्वास्थ्य बैज्ञानिक

पहिलो केसबाट १०० पुगेको पनि टेस्ट बढेर नै हो । पुरानै तरिकाले मात्र टेस्ट गरिएको भए यति पनि देखिँदैन्थ्यो ।

टेस्टको गति अझ बढाउने हो भने ५०० पनि पुग्न सक्छ र त्यसो भयो भने पनि हामीले यसलाई स्वभाविक रुपमा लिनुपर्छ । किनभने मैले पहिलादेखि भन्दै आएको छु कि नेपाली समाजमा संक्रमितको संख्या ठूलो छ । अहिले जति देखिएको छ, त्यसको कम्तीमा १० गुणा बढी छ भन्ने मेरो अनुमान छ । गम्भीर लक्षण नभएर वा लक्षणविहीन भएकाले नदेखिएको मात्र हो ।

यसका साथै हामीले के यो पनि हेर्नुपर्छ कि पहिलो केसबाट १०० पुगेको दिन गन्ने हो भने लामो समय लागेको हो । तर, दोस्रो केसबाट १०० हेर्ने हो भने ४५/४६ मात्र भएको छ । यो समयमा हामीले लकडाउन पनि गरेका थियौं ।
अब पनि जत्ति टेस्ट गर्‍यौं, त्यति संक्रमित भेटिने हो । अबका दिनमा पीसीआर विधिबाट गरिने टेस्टमा भन्दा आरटीडीमा धेरै पोजेटिभ देखिने सम्भावना रहन्छ । किनभने जो संक्रमित थिए उनीहरू परीक्षणको दायरामा आएका छैनन् । उनीहरू ठिक हुन थालिसके । उनीहरूमा भएको संक्रमण पीसीआर टेस्टमा नदेखिन सक्छ । हटस्पटमा बढी देख्छौं । अरूतिर व्यापक नदेखिन सक्छ ।

साथै बिस्तारै लकडाउन खोल्दै गएपछि केही न केही संक्रमण सम्भावना हुन्छ । यसलाई हामीले स्वभाविक रुपमा लिनुपर्छ । किनभने जबसम्म कडा लक्षण देखिएको बिरामी फेला पर्दैन, तबसम्म संक्रमण सर्‍यो भनेर आत्तिनु पर्दैन । बरु त्यसले हामी बिस्तारै हर्ड इम्युनिटीतिर जान्छौं । प्रतिरोधात्मक क्षमता बढेकै कारण भ्याक्सिन नहुँदा पनि मानिसहरू आफैँ ठिक हुन थालेका न हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment