Comments Add Comment

९ दिन हिँडेर पोखरा पुग्यो, १९ दिनदेखि प्रतीक्षालयमा बास !

छोडेको २७ वर्षपछि लकडाउनले घर फर्कायो

२८ वैशाख, पोखरा । एउटा गुलाबी झुल टाँगिएको छ । झुलमा आधा घाम परेको छ, आधा छाया । घाम सर्दैसर्दै सन्तोष मानन्धर (३६) को निधारमा पर्छ । उनी केही पर सर्न खोज्छन् । वैशाखको पोल्ने घामले उनीहरूलाई पछ्याउन छोड्दैन । पोल्ने घाम, चिस्याउने रातभन्दा बढी गुनासो आफ्नै गरिबीसँग छ र गरिबहरूको पक्षमा कहिल्यै नउभिएको यो राज्यसँग ।

नहोस् पनि किन ? मानन्धरको परिवार यसरी खुल्ला आकाशमुनि घामपानी, हावाहुरी सहेर बसेको १९ दिन भयो । मानन्धर, श्रीमती र छोरीसहित चितवनबाट ९ दिन हिँडेर पोखरा आइपुगेका हुन् । घर छोडेको २७ वर्षपछि गाउँ फर्किन लागेका छन् । तर, बाटो थाहा छैन । आफन्तको नाम पनि भुलिसके । ‘गाउँको नाम मात्रै थाहा छ । सानैमा घर छाडेकाले केही थाहा छैन,’ उनले भने ।

उनकाअनुसार गाउँ पर्वतको मल्लाज हो । अरु थाहा छैन । त्यसैले अहिले शान्तिघाट नजिकैको प्रतीक्षालयमा बसिरहेका छन् । र, लकडाउन खुल्ने प्रतीक्षामा छन् ।

०००

लकडाउन अघिसम्म मानन्धर चितवनमा एउटा सामान्य रेस्टुरेन्टमा कुक थिए भने श्रीमती ज्याला मजदुरी गर्थिन् । दुवैको पसिनाले ५ वर्षीया छोरी पाल्न र पढाउन दुःखसुख पुगेकै थियो । उनीहरूलाई लाग्थ्यो, ‘जीवन सरल बगिरहेछ ।’

तर, विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा ग¥यो । सुरुमा एक हप्तामात्रै भनेकाले सामान्य रुप लिएका थिए । होटल साहुजीले समेत रासन दिएकै थिए । तर, लकडाउन अवधि रोकिने कुनै छाँटकाँट देखिएन बढिरह्यो ।

‘लकडाउन बढ्दै गएपछि उहाँलाई पनि गाह्रो भयो होला ! हामीलाई जाओ भने,’ मानन्धरले अनलाइनखबरसँग दुःख बाँड्दै भने, ‘साहुले जाओ भनेपछि अन्त कहाँ जानु ? म मेरै पुख्र्यौली थलो फर्किने भनेर बुढी र छोरी च्यापेर हिँडेँ ।’

उनीहरू नयाँवर्षको साँझ पोका पुन्तुरा बोकेर लामो दुरीको पैदल यात्रामा निस्किए । ‘सामान नै धेरै, त्यसमाथि पाँच वर्षकी छोरी बोकेर कति पो हिँड्न सकिएला र ? यहाँसम्म आइपुग्नै नौ दिन लाग्यो,’ उनी यात्रामा भोगेका अप्ठ्याराहरू सजिलो गरी सुनाउँछन् ।

उनीसँग नाम छ, तर नागरिकता छैन । नागरिकता नभएकै कारण छोरीको पढाइ पनि प्रभावित बन्न पुगेको छ । ‘७ वर्षको उमेरमा घर छोडेर हिँडेपछि घरै फर्किएको छैन । सानैदेखि आफैँ कमाएर खाएँ,’ मानन्धरले भने, ‘अहिले छोरी र श्रीमतीको भविष्यका लागि नागरिकता आवश्यक परेपछि गाउँ जाने निर्णय गरेँ ।’

पहिले पोखरा माटेपानी क्षेत्रमा उनका बाआमा बस्थे । पोखरा आइसकेपछि प्रतीक्षालायमै परिवारलाई राखेर बाल्यकालको आँगन खोज्न निस्किएका पनि हुन् । ‘२९ वर्ष पहिले पोखरा गाउँ थियो, अहिले भव्य सहर भइसकेछ । ठाउँ ठम्याउन निक्कै गाह्रो भो’ उनले सुनाए, ‘सानामा खेलेको ठाउँ हो अलिअलि याद त हुन्छ । एउटा चौतारो देखेर बल्ल ठाउँ पत्ता लगाएँ । तर, त्यहाँ आमा पनि थिइनन् । पुरानो घर पनि थिएन ।’ बोल्दाबोल्दै उनी केही भावुक देखिए । चितवन हुँदा नै कताकताबाट बाको मृत्यु भइसकेको र आमा अर्कैसँग हिँडिसकेको खबर पाएका थिए । तर, उनलाई एकचोटी आमा भेट्नु छ ।

त्यसैले पुख्यौली थलो पर्वत जान चाहन्छन् । तर न बाटो थाहा छ न त अब हिड्न सक्ने शक्ति नै बाँकी छ । त्यसैले कहिले लकडाउन खुल्छ भनेर प्रतीक्षालयमै दिन काटिरहेको छ त्यो सानो परिवार । त्यहाँ बस्न पनि कहाँ सजिलो छ र ? चितवनबाट ल्याएको चामल सकियो । त्यसपछि केही दिन सहयोगी मनले दिएको रासनबाटै गुजारा चलाए ।

बाटोमा अलपत्र परेकालाई पोखरा महानगरले नयाँ बजारस्थित एक स्कुलमा राख्ने व्यवस्था गरेको छ । उनीहरू त्यहाँ पनि पुगे । तर, स्कुल प्राङ्गण पुग्दा जवाफ पाए, ‘यहाँ परिवार बसाउने ठाउँ छैन । यहाँबाट बाहिर जानूस्…।’

‘राहतमा कुहिएको खाना’

त्यसपछि पोखरा महानगरपालिकाले दिएको भात आयो । तर, प्याकेट खानामा कुहिएको भात आउने गरेको मानन्धर परिवारले सुनाए । प्याकेट खाना खाँदा छोरी नै बिरामी परेको र कुकुरलाई दिँदासमेत नखाएको उनीहरूले सुनाए ।

‘बिहानको खाना दिउँसोभरि प्याकेटमा राखेर साँझमा ल्याइदिन्छन् होला,’ निर्मला मानन्धरले भनिन्, ‘हिजो साँझको खाना खाएर रातभरि छोरीलाई पखाला चल्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment