Comments Add Comment

मोरङको गोठगाउँमा बनाइयो स्थायी क्वारेन्टाइन, आप्रवासी कामदारलाई राख्ने ठाउँ पनि बन्दै

क्वारेन्टाइनका लागि प्रयोग गरिएको भवन ।

२९ वैशाख, विराटनगर । मोरङको सुन्दरहरैचा-९ स्थित पूर्वाञ्चल विश्वविद्यालयको हाताभित्र १३५ जनालाई राख्न मिल्ने क्वारेन्टाइन तयार पारिएको छ ।

प्रदेश १ सरकारले विदेशबाट स्वदेश फर्किने आप्रवासी कामदारहरुलाई एक महिनासम्म राख्न मिल्ने ‘होल्डिङ एरिया’ निर्माणको तयारी पनि अघि बढाएको छ ।

प्रदेश १ मा अहिले पनि कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको निष्कर्षसहित क्वारेन्टाइनस्थल निर्माण गरी तयारी हालतमा राखेको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले भने, ‘पहिलो चरणमा १ सय ३५ जना अटाउने स्थायी क्वारेन्टाइनस्थल निर्माण भइसकेको छ । यसको क्षमता बिस्तारमा पनि प्रदेश सरकार लागेको छ । स्थायी प्रकृतिका क्वारेन्टाइनस्थल निर्माण हुँदै जाने छन् ।’

मन्त्री कार्कीले कोरोनाको जोखिमबाट प्रदेश मुक्त नभइसकेको र बर्खासमेत सुरु हुन लागेकाले गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको भवनमा आइसोलेसनसहित क्वारेन्टाइन निर्माण गरिएको बताए ।

ठूलो क्षेत्रमा फैलिएको पूर्वाञ्चल विश्वविद्यालयको परिसर चारैतिर पर्खालले घेरिएको छ । केन्द्रीय कार्यालय विराटनगरमा रहेकाले त्यहाँका धेरै भवनहरु निर्माण गरिएको धेरै समयसम्म प्रयोग विहीन अवस्थामा छन् । तिनैमध्येको एउटा ब्लकमा क्वारेन्टाइनस्थल निर्माण गर्ने निर्णय प्रदेश सरकारले गर्दै त्यसको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

प्रदेश सरकारले पूर्वाञ्चल विश्वविद्यालयको हाताभित्रको तीनतले एउटा भवन क्वारेन्टाइन बनाउन उपलब्ध गराएको र सो भवनलाई सरसफाइ गरी एक साताभित्र क्वारेन्टाइन तयार पारिएको नेपाली सेनाका सेनानी सुस्पन कटुवालले जानकारी दिए ।

तीनतले भवनको प्रत्येक तल्लामा तीन-तीन वटा ब्लक बनाइएर ५६ वटा कोठा निकालिएको छ । हरेक कोठामा दुई वटा बेड र टेबुल छन् ।

क्वारेन्टाइनस्थलको बाहिरी घेरामा नेपाली सेनाले २४ सै घण्टा पहरा दिने व्यवस्था मिलाइएको छ । भित्री घेराको सुरक्षा र निगरानीको लागि १४ वटा सीसी टिभी क्यामेरा जडान गरिएको सेनानी कटुवालले जानकारी दिए ।

सेनानी कटुवालले भने, ‘कोरोना आंशकित व्यक्तिलाई राख्न कुनै समस्या नहुने गरी क्वारेन्टाइन स्थल तयारी हालतमा छ ।’
क्वारेन्टाइनमा बस्नेलाई दैनिक चार पटक खाजा-खानाको व्यवस्था गरिएको छ भने हप्ताको चार दिन फलफूल खुवाइने छ ।

क्वारेन्टाइनमा राखिएका बेडहरु ।

क्वारेन्टाइनमा बस्नेका लागि परिवारका सदस्य र आफन्तसँग भिडियो कुराकानी गर्न वा समाचार हेर्न हाई स्पिडको इन्टरनेट जडान गरिएको छ । क्वारेन्टाइनमा बस्नेका लागि वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरी शुद्ध पिउने पानीको व्यवस्था मिलाइएको छ ।
त्यसैगरी क्वारेन्टाइनमा बस्नेहरुको स्वास्थ्य उपचारका लागि नेपाली सेनाका दुई जना प्यारामेडिक्सको टिमलाई तयारी हालतमा राखिएको सेनानी कटुवालले बताए ।

पूर्वाञ्चल विश्वविद्यालयको सोही हाताभित्रै अस्पतालसमेत रहेकाले आवश्यक परेमा समन्वय गरी उपचार गर्ने व्यवस्थासमेत मिलाइएको छ । क्वारेन्टाइन तयार भए पनि अहिलेसम्म त्यहाँ कसैलाई पनि राखिएको छैन ।

यसअघि मोरङको टाँडीस्थित सुर्यदल गण परिसरमा नेपाली सेनाको टेण्ट, बेडलगायतका सामाग्री प्रयोग गरी एकै दिनमा २ सय क्षमताको क्वारेन्टाइनस्थल तयार पारिएको थियो ।

छिमेकी जिल्लामा ‘होल्डिङ एरिया’ निर्माण हुने

प्रदेश १ सरकारले भारत तथा अन्य देशबाट आउने नेपालीहरुलाई राख्नका लागि छिमेकी जिल्लाहरुमा ५ हजार क्षमताको होल्डिङ एरियासहितको क्वरेन्टाइन निर्माणको तयारी पनि थालेको छ ।

प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सुनसरी, झापा, मोरङ र इलाममा महिला, बालबालिका तथा अपांगमैत्री होल्डिङ एरिया निर्माणको तयारी थालिएको बताए ।

‘खाडी मुलुकबाट अहिले ५ लाख ४० हजार नेपाली दाजुभाइ तथा दिदीबहिनी आउन इच्छुक हुनुहुन्छ । एक नं. प्रदेशमामात्र कम्तिमा ३० हजार मानिस स्वदेश फर्किने अनुमान छ,’ मन्त्री कार्कीले भने, ‘उहाँहरु आउनु भयो भने उहाँहरुको व्यवस्थापनका लागि पहिलो चरणमा पाँच हजार क्षमताको होल्डिङ एरिया निर्माणमा जुटेका छौं ।’ होल्डिङ एरियामा एक महिनासम्म राख्न समस्या नहुने गरी काम भरहेको उनले बताए ।

त्यसैगरी पहाडी जिल्ला सदरमुकाम आसपासका क्षेत्रमा स्वास्थ्यसेवा सहितको क्वारेन्टाइन निर्माणका लागि स्थानीय सरकारलाई भनिएको पनि मन्त्री कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment