Comments Add Comment

लिपुलेकको व्यथा : सुगौली सन्धिपछिकै ठूलो चुनौती

कालापानीमा भारतलाई यसरी हराउन सकिन्छ

चीनलाई जोड्ने गरी भारतले नेपालको दार्चुला जिल्ला हुँदै निर्माण गरेको सडक र कोरोना भाइरसको महामारीका बाबजुद केन्द्रीय स्तरको महत्वका साथ उक्त सडकको उदघाटन गरिनु नेपालको अस्मिता र स्वतन्त्रताका लागि आइपरेको सबैभन्दा ठूलो चुनौती हो ।

सुगौली सन्धिपछि नेपालको इतिहासमा देशको सिमाना जोगाउने सबालमा देखापरेको सबैभन्दा कठिन अवस्था पनि यही हो । यो अवस्था दार्चुला जिल्लाको केही भूभाग गुमाउनुपर्ने कुरामा मात्रै सीमित छैन, यो नेपाललाई भूमिकाहीन बनाउने उद्देश्यबाट निर्देशित छ ।

लिपुलेक सडक बेलायतको उपनिवेश हुँदादेखि नै उत्तरी हिमालय श्रृंखलालाई प्रत्यक्ष वा परोक्षरुपमा आफ्नो सिमाना बनाउने र हिमालय पर्वतमालाको दक्षिणमा एकछत्र राज गर्ने उद्देश्य राखेको भारतको औपनिवेशिक र हैकमवादी नीतिको पछिल्लो घटना मात्रै हो ।

काश्मिर र सिक्किमलाई जसरी नेपाललाई आफ्नो उपनिवेश बनाउन नसक्नु र भूटानलाई जसरी नेपाललाई आफ्नो अधीनमा राख्ने भारतीय योजनाहरु इतिहासमा सधैं असफल हुनुलाई भारतले आफ्नो औपनिवेशिक नीतिको असफलता भएको ठानिरह्यो । र, नेपालमाथि आफ्नो हैकमवादी नीतिमा कहिल्यै परिवर्तन गरेन । जसको फलस्वरूप लिपुलेक नाका र सडक विस्तारजस्ता कुरालाई निरन्तरता दिइ नै रह्यो ।

घनिभूत रूपमा लागेको खण्डमा कालापानी क्षेत्रमा भारतीय हार हुने निश्चितजस्तै छ । अहिलेको परिवर्तित विश्व परिवेशमा सेना लगाएर अर्को देशको जमिन सधैंका लागि आफ्नो बनाउन भारतलाई सहज छैन

पछिल्लो समय चीनको बढ्दो शक्तिलाई विचार गर्दै चीनलाई आफ्नो प्रतिस्पर्धी ठान्दै चीनको विरुद्धमा पश्चिमा शक्तिहरुसँग हातेमालो पनि गर्ने र सम्भव भएसम्म दक्षिण एसिया र हिमालय क्षेत्रमा आफ्नो प्रभुत्व बढाउन चीनसँग सहकार्य र लेनदेनको नीतिसमेत अंगीकार गर्ने भारतीय चालको पछिल्लो रुप लिपुलेक नाकामा आइपुगेको हो ।

भुटानको दोक्लाममा भारतीय सेनाको तैनाथीदेखि नेपालको लिपुलेक कब्जा गर्ने उद्देश्यले गरिएको सडक निर्माणसम्मका सबै कुरा हिमालय क्षेत्रमा नयाँ भूगोलको सिर्जना गर्ने र त्यो भूगोलको केन्द्र नयाँ दिल्ली बनाउने भारतीय अभियानको निरन्तरता हो । हिमालय क्षेत्रमा आफ्नो अधिपत्य जमाउनुपर्ने आफ्नो पुरानो सोच कार्यान्वयनमा नेपाल अवरोध भएपछि अहिले चीनसँग मिलेमतो गर्दै लिपुलेक नाका खुलाउन भारत केहीरुपमा सफल देखिएको छ ।

भारतीय हस्तक्षेप नेपालले बेलायतसँग गरेको सुगौली सन्धिदेखिकै समस्या हो । सुगौली सन्धिले नेपालको सिमाना मात्रै खुम्च्याइदिएन, गोर्खा भर्तीजस्तो अमानवीय कदमको सुरुवात गरिदियो । जसका कारण लाखौं नेपालीले ज्यान गुमाउनुका साथै पराधीन समाज निर्माणको सुरुवात भयो ।

बेलायती शासकहरुको चाकरी गरेर राणा शासन टिकाउने काम गरेका कारण नेपालमा विदेशी राजनीतिक हस्तक्षेपको सुरुवात भयो । भारत स्वतन्त्र भएपछि आफ्नो औपनिवेशिक नियतलाई हिमालयसम्म विस्तार गर्न सन् १९५२ देखि नेपालमा भारतीय सेनाको टुकडी राखेको थियो । मिलिटरी मिसनको विस्तार गर्न सन् १९५४ देखि नेपालको उत्तरी सिमानामा भारतीय सैनिक टुकडीहरु तैनाथ गरिएका थिए । त्यहीबेलादेखि नेपालमा भारतीयहरुलाई सहजै बसोबास गर्न र नागरिकता पाउने कानुन पारित गराइएको थियो । पञ्चायतको सुरुवात भएपछि बनेको संविधानमा मात्रै त्यस्ता नागरिकतासम्बन्धी प्रावधान परिवर्तन गरिएका हुन् ।

सन् १९६० को दशकमा भारतले चीनसँग युद्ध मात्रै गरेन, नेपालको उत्तरी सिमानाका २३ ठाउँमा सेनाका ब्यारेक विस्तार गरेको थियो । कालापानी क्षेत्रमा त्यहीबेलादेखि भारतीय सेना बसेका थिए । भारतीय हस्तक्षेपलाई कमजोर बनाउन महेन्द्रले पूर्वपश्चिम राजमार्ग निर्माण, व्यापकरुपमा कूटनीतिक सम्बन्धलाई विश्वव्यापीकरण र भारतीय सेना हटाउनुपर्ने दबाव सिर्जना गरेका थिए ।

यिनै दबावका बावजुद सन् १९६९ मा भारतीय सेनाहरु फिर्ता भए । तर, कालापानी क्षेत्रमा भने बसी नै रहे । सेना बसिरहेका कारणले कालापानीदेखि लिम्पियाधुरासम्मको विशाल नेपली भूभागलाई आफ्नो कब्जामा राख्ने कुराको विस्तार गर्दै गए ।

भारतले ६ महिनाअघि उक्त क्षेत्रलाई आफ्नो नक्शामा राख्ने काम गरेको थियो भने अहिले सडक सञ्जालको विस्तारसम्म गरेर त्यो भूभाग भारतमा समाहित भएको कुरा दाबी गर्ने षड्यन्त्र गरेको हो । अरु ठाउँबाट भारतीय सेना हटाउन सफल भए पनि महेन्द्र तथा त्यसपछिका शासकहरुले कालापानी क्षेत्रबाट भारतीय सेना हटाएर नेपाली सेना तैनाथ गर्न नसकेको कुरा सही हो ।

तर, कुनै अन्य सम्झ्यौता गरेर उक्त क्षेत्र भारतलाइ दिएको भन्ने हल्ला गलत हो, यो कुराको कुनै प्रमाण छैन र भारतीय खेलकै वरिपरि बसेर यस्ता कुरा आएका हुन् ।

सन् १९५२ मा सुरु भएको भारतीय सैनिक हस्तक्षेपका कारण र सन् १९६० को दशकमा कालापानी र लिपुलेकदेखि लिम्पियाधुरासम्मको नेपाली जमीन भारतले हडपेको कुरा अहिले तत्काल देखिएको समस्या होइन । भारत स्वतन्त्र भएदेखि नै उसले अपनाएको औपनिवेसिक नीति र त्यो नीति लागु गर्न नेपालमा फुटाउ र राज गर को भूराजनीतिक चलखेलका बिरुद्धमा सशक्त रुपमा प्रतिकार गर्न नसक्नाले यस्ता समस्या बल्झिरहेका मात्रै हुन् ।

तर, विभिन्न कठिनाइका बाबजुद भारतको गिद्दे दृष्टिलाई नेपालले पटक–पटक परास्त गरेको छ । कुनैबेला नेपाल सरकारको मन्त्रिमण्डले बैठकमा आफ्नो दूत राख्नेदेखि न्यायाधीश नियुक्तिसम्म भारतले नै गरिदिने अवस्थाबाट अहिले एकतावद्ध भएर उसको प्रतिकार गर्ने र पारवहन लगायत अन्य विकल्पहरु सिर्जना गरी नेपाललाई थप स्वतन्त्र र मजबुत बनाउने अवस्थामा ल्याउनु चानचुने कुरा होइन ।

राष्ट्रिय सामर्थ्यको विकास गर्दै घनिभूतरुपमा लागेको खण्डमा कालापानी क्षेत्रमा भारतीय हार हुने निश्चित जस्तै छ । अहिलेको परिवर्तित विश्व परिवेशमा सेना लगाएर अर्को देशको जमीन सधैंका लागि आफ्नो बनाउन भारतलाई सहज छैन ।

इतिहासदेखि नेपालले व्यहोर्दै आएको भारतीय हस्तक्षेप र सीमाना मिचाइलाई सधैंका लागि अन्त्य गर्न नेपाललाई अहिले सबैभन्दा सुनौलो अवसर आइपरेको छ । प्रष्ट बहुमतका साथ शक्तिसम्पन्न सरकार छ ।

गत साल भारतले निकालेको नक्शाका बेलादेखि नै भारतको कदमका बिरुद्धमा सरकारले राष्ट्रिय सहमति कायम गर्दै आफ्नो शक्ति संगठित गरेको देखिएको थियो । अहिले लिपुलेक सडकको उदघाटनको विषयलाई लिएर सरकारले निकालेको विज्ञप्ति र सोधिएको स्पष्टीकरण निकै कडा र प्रष्ट देखिन्छ । सरकार सञ्चालन गर्ने पार्टीको अध्यक्षको हैसियतले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले संयुक्तरुपमा निकालेको वक्तव्य नेपालको तर्फबाट आएको अहिलेसम्मकै कडा र प्रष्ट अडान भएको वक्तव्य देखिन्छ ।

जनस्तरमा व्यापक विरोध र राज्यस्तरमा दुईपक्षीय र बहुपक्षीय वार्ता गर्ने हो भने कुनै निकाश निस्कने अवस्था छ । इतिहासले दिएको यो जिम्मेवारी अहिलेको सरकारले बहन गर्नैपर्छ । अहिलेको सरकारको सफलता र असफलता जाँच्ने एउटा महत्वपूर्ण कडी पनि यही हुनेछ ।

यो विषयमा भारत बार्ता गर्नसमेत चाहँदैन भन्ने प्रष्ट छ । कूटनीतिक हिसाबले नोट पठाएर अथवा भेटेका बेला कुरा गरेर यो समस्याको समाधान नहुने पक्का छ । सरकार कडारुपमा प्रस्तुत भयो भने सरकार गिराउने वा पार्टीहरुलाई टुटफुट गराउन सक्ने अवस्थासम्म ल्याउन सक्ने कुराको आकलन गर्न सकिन्छ । यी सबै कुराको ख्याल गर्दै राष्ट्रियरुपमा आन्तरिक तयारी गरी कम्तिमा निम्न कामहरु तत्कालै गर्न आवस्यक छ ।

पहिलो, सुगौली सन्धिदेखि हालसम्मका सबै सन्धि सम्झौताहरुको अभिलेख अध्ययन गरी नेपालले सही गरेका र सहमति जनाएका सबै कुराहरुको तथ्यगत तयारी हुन आवश्यक छ । ऐतिहासिक तथ्यहरुको अध्ययन नगर्ने अनि आन्तरिक तयारी कमजोर हुने कारणले नेपालले धेरै ठाउँमा आफ्नो प्रस्तुति फितलो गर्ने गरेको छ । विशेष टोलीहरु बनाएर यस्ता कामहरु चुस्त–दुरुस्त बनाउन विशेष अभियान नै चलाउनु राम्रो हुन्छ ।

दोस्रो, भारतसँग राजनीतिकस्तरमा वार्ता गर्नु पहिलो महत्वपूर्ण खुड्किलो हो । सुगौली सन्धिले निर्धारण गरेको सिमाना परिवर्तन गर्ने आधार भारतसँग छैन । तर, काली नदीको स्वरुपलाइ नै परिवर्तन गरी नयाँ सिमाना देखाउने भारतीय प्रपञ्चलाई प्रधानमन्त्रीस्तरको बार्ताको टेबलमा राख्नुपर्छ ।

भारतीय पक्षले आलटाल गर्ने र वार्तामा नबस्ने कुरा निश्चित छ । तर, विश्व जगतलाईसमेत थाहा हुने गरी यो प्रयत्न केहीदिनभित्रै हुनुपर्छ ।

एक आपसमा चर्को स्वर गर्नुभन्दा संयुक्त रूपमा ठूलो गर्जन निकालेर सुगौली सन्धिले कायम गरेको लिम्पियाधुरासम्म नेपालको सिमानालाई पूर्ण पकडमा राख्न इतिहासले नेपाललाई अहिले उपलब्ध गराएको सुनौलो अवसरलाई गुम्न दिनु हुँदैन

तेस्रो, नेपालले चीनसँग तत्काल सीमा बार्ता गर्नुपर्छ । लिपुलेक नाका खोल्ने कुरा भारत र चीनबीच पाँच बर्ष पहिले नै गैह्रकानुनीरुपमा सहमति भएको छ । नेपालको विरोधपछि चीनले केही सकार्न खोजे पनि तो सहमतिमा कुनै फेरबदल भएको छैन । त्यसकारण नेपालले चीनसँग तत्कालै वार्ता गरी नेपालको प्रष्ट अडान प्रस्तुत गर्ने र नेपालको सहमतिबिना लिपु भञ्ज्याङदेखि लिम्पियाधुरासम्मको कुनै पनि भूभागबाट चीनतिर नाका खोलिने छैन भन्ने सम्झौता दुई देशबीच तत्कालै गर्न आवश्यक छ । लिपु भञ्ज्याङदेखि लिम्पियाधुरासम्मको कुनै पनि भूभागबाट भारतीय नाका खोल्न दिनु भनेको चीनले समेत नेपाली भूभागमा भारतीय हस्तक्षेपको समर्थन गरेको देखिन्छ ।

चौथो, दुवै सदनको बिशेष संयुक्त बैठकबाट भारतीय सेना तत्काल फर्किनुपर्ने र नेपाली भुमिमा कुनै पनि निर्माण कार्य गर्न बन्द गरिनु पर्ने व्यहोराको आपतकालीन स्वेतपत्र जारी गर्नुपर्छ ।

नेपाली राजनीतिक नेतृत्व भारतीय हस्तक्षेपको विरुद्धमा डटेर लाग्दैन भन्ने नेपाली मानसिकतामा परिवर्तन ल्याई नयाँ आशाको सञ्चार गर्नसमेत यो कदमको महत्व छ । साथै देशको विशेष परिस्थितिबारे अन्तराष्ट्रिय समुदायमा सन्देश प्रवाह हुन्छ ।

पाँचौं, नेपालले तत्कालै नयाँ नक्शा जारी गर्नुपर्छ र अन्तराष्ट्रिय समुदायलाई नेपालले जारी गरेको नक्शा प्रयोग गर्न आह्वान गर्नुपर्छ । यो नक्शाले नेपालको दृढता देखिन्छ भने संसारभर रहेका नेपालीको मनोबल बढ्छ । सार्वभौमिकताको प्रतिनिधित्व नक्शाद्वारा गरिने हुनाले नेपालको अडान प्रष्ट हुन्छ ।

छैठौं, वार्ता तथा कूटनीतिक ढंगले अघि बढ्दा भारतले कुनै चासो दिएन भने नेपाली सेनालाई कालापानी क्षेत्र पठाउनुपर्छ । यो सार्बभौम अधिकार प्रयोग नगर्नु नालायकिपन हुनेछ । द्वन्द्वको स्थिति आउन पनि सक्छ । तर, त्यसको सामना गर्नुपर्छ ।

भारतलाई पनि नेपाली सेनामाथि हमला गर्न सजिलो छैन । यो अन्तिम अस्त्र हो । तर, यो सम्भावनाबारे नसोच्नु लाचारीपन हुनेछ । इतिहासले धिक्कार्ने छ । तर, योभन्दा पहिला सार्क, संयुक्त राष्ट्र संघ तथा मित्रराष्ट्रहरु समक्ष नेपालको अवस्थाबारे जानकारी गराउने काम निरन्तर हुनुपर्छ ।

यो कठिन परिस्थितिसम्म पुग्नु नपर्ने अवस्था ल्याउन कूटनीतिक तरिकाले भारतीय प्रधानमन्त्रि मोदीसँग प्रत्यक्ष वार्ता गर्नु पहिलो काम हो । नेपाललाई थप चिढ्याएर हुन सक्ने नोक्सानीका बारेमा भारत पनि सजग नै देखिन्छ । तर, उसको औपनिवेशिक नीतिमा भने कुनै फेरबदल छैन ।

सुगौली सन्धिले नेपालको विशाल क्षेत्रलाई अपमानित ढंगले खुम्च्याइदिएको थियो र नेपाली सानलाई पराधीन बनाइदिएको थियो । केही नगर्ने हो भने सुगौली सन्धिपछिको सबैभन्दा चुनौतीपूर्ण बनेको अहिलेको लिपुलेक नाका र सडकले नेपाललाई हिमालय क्षेत्रमा र विश्व जगतमा भूमिकाहीन बनाइदिने र छायाँमा रहेको एउटा पराधीन मुलुक (cliental state) बनाइदिने लक्ष्य लिएको देखिन्छ ।

एक आपसमा चर्को स्वर गर्नुभन्दा संयुक्त रुपमा ठूलो गर्जन निकालेर सुगौली सन्धिले कायम गरेको लिम्पियाधुरासम्म नेपालको सिमानालाई पूर्ण पकडमा राख्न इतिहासले नेपाललाई अहिले उपलब्ध गराएको सुनौलो अवसरलाई गुम्न दिनुहुँदैन । इतिहासमा धेरै चुनौती पार गरेको नेपालले यो चुनौतीलाई पनि सहजै पार लगाउने कौशलता देखाउनैपर्छ ।

( डा.पौडेल अन्तरराष्ट्रिय मामिलाका विज्ञ हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment