
१८ भदौ, काठमाडौं । नेकपा एमालेकी सांसद सूर्य कुमारी श्रेष्ठले चीन भ्रमणको क्रममा लिपुलेकको विषय उठाएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेकी छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले महाकाली नदी पूर्व लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि रहेको बताइन् । सन १८१६ को सुगौली सन्धीले यसलाई नेपालको भूमि भनेको पनि उनले स्मरण गरिन् ।
हाल भारतको कब्जामा रहँदै आएको यो भूमि फिर्ताको पहल हुनुपर्ने उनले बताइन् ।
नेपालको भूमि लिपुलेकलाई चीन र भारतले व्यापारिक मार्ग बनाउने गरी सम्झौता गरेको भनेर सांसद श्रेष्ठले आपत्ति जनाइन् ।
यो विषयमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिसँगको भेटमा आपत्ति प्रकट गरेको उल्लेख गर्दै उनले भनिन्, ‘उहाँको देशभक्ति प्रेम, अदम्य साहसको लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।’
अब नेपालले भारतसँग कुटनीतिक पहल लिनुपर्ने उनको आग्रह छ । ‘साथै भारतसँग थप कुटनीतिक पहल गरी सो भूमि फिर्ता ल्याउन नेपाल सरकारसँग माग समेत गर्दछु,’ उनले भनिन् ।
प्रतिक्रिया 4