Comments Add Comment

दलितका घरमा मेयर पाहुना लाग्दा महिलाको चरित्रहत्या !

२९ वैशाख, सुनसरी । इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीलाई जोडेर यो साता एउटा भिडियो सनसनीपूर्ण बनाइयो । भिडियोमा उपमहानगरपालिकाको जयनेपाल टोलस्थित एक दलित महिलाका घरअगाडि उपमेयर लक्ष्मी गौतम उभिएकी छिन् । लक्ष्मीलाई भीडले घेरेको छ ।

भीडबाट एकजना बोल्छन्, ‘बुढो विदेश गएका बेला मेयरलाई भाले काटेर खुवाउने यो कस्तोखालकी …. हो ?’

अर्की महिला बोल्छिन्, ‘यही बहिनी अधर्मी हो । लाज पचेको !’ भीडबाट निकै ठूलो कोलाहल आइरहेको छ ।

उपमेयर लक्ष्मीले भीडलाई शान्त पार्न खोज्छिन्, ‘मैले बहिनीसँग पनि कुरा गरेकी छु । भाले काटेर खाने मात्र ठूलो कुरा होइन । समाज बिग्रियो, दुर्गन्धित भयो भन्ने तपाईहरुको रायप्रति म सम्वेदनशील छु । लकडाउनपछि अझ मिहीनरुपमा छलफल गरौँला ।’

फेरि उनै छिमेकी महिला बोल्छिन्, ‘त्यसलाई बाहिर निकालेर बोल्न लगाउनुस् । हामीले पनि सुन्नुपर्‍यो नि, के बोल्दिरहिछे ।’

उपमेयर लक्ष्मी आफ्नो बोलीलाई निरन्तरता दिन्छिन्, ‘के रहेछ, म मेयरसँग पनि कुरा गर्छु । यसरी भीडमा लिएर बोल्न लगाउन मिल्दैन । हरेक मान्छेले गोप्यरुपमा वयान दिन पाउने हक हुन्छ । कृपया भीड गरेर उनलाई तनाव नदिनुस् ।’

अर्की छिमेकी महिला बोल्छिन् ‘यस्तीलाई केको तनाव ! मेयर पनि यस्ताको घरमा आउने, कस्तो हो ।’

यस्तै विवादका वीचबाट उपमेयर बाहिरिन्छिन् । उपमेयर गौतमले घरबेटी महिलाको बचाऊ गर्ने प्रयास गर्छिन् । तर, छिमेकीहरु आक्रोशित देखिन्छन् ।

मेयर द्वारिकलाल चौधरीले कुखुरा काटेर खाएको त्यो घरबाट मेयर बाहिरिइसकेपछि प्रहरीहरु पनि पुग्छन् । घरबेटी महिलाले आफ्ना कुरा राखेपछि प्रहरी फर्कन्छन् । तर, छिमेकीहरु घरमै आएर घरबेटी महिलाको चरित्रमाथि नै दाग लगाउने किसिमका लाञ्छना लगाउँछन् । घरबाट बाहिर निस्की भन्छन् । गाउँ दुर्गन्धित बनाएको आरोप लगाउँछन् ।

वास्तविक घटना के भएको थियो भन्ने चर्चा गर्नुपूर्व एक दलित परिवारको संघर्षको छोटो कथा सुनौं–

यी महिलाको परिवार सात वर्षअघि खोटाङबाट सुखको खोजीमा इटहरी झरेको हो । घरमा जवान महिलासँगै सात वर्षे छोरी र उमेर ढल्केकी सासूआमा छिन् । सानी छोरी र उमेर ढल्केकी आमाको हेरचाह गर्ने दायित्व श्रीमतीका काँधमा सुम्पेर श्रीमान खाडीमा रोजगारी गर्न गएका छन् ।

श्रीमान वैदेशिक रोजगारीका लागि बहराइन पुगेको दुई वर्ष भयो । परदेश लागेको भने १३ वर्षजति बितिसक्यो । कतारमा हुँदा कमाइ राम्रो थिएन ।

तर, कतारमा श्रीमानले दुःख गरेर कमाएको पैसा श्रीमतीले जतनसाथ उपयोग गरिन् । ऋण–धन गरेर इटहरीमा एक चोक्टो जमिन किनिन् । अनि सात वर्षअघि खोटाङबाट इटहरी झरिन् ।

पतिको कमाइ, आफन्तको सरसापट र फाइनान्सको लोनबाट उनको एकतले पक्की घर बन्यो । उनी भन्छिन्, ‘पोहोर मात्र ऋण तिरेर सकियो । निकै दुःखले यो घर बनेको हो ।’

वैशाख २४ को त्यो घटना

वैशाख २४ गते साँझतिर इटहरीका मेयर द्वारिकलाल चौधरी अन्य दुईजना सहयोगीलाई लिएर ती दलित महिलाको घरमा खानपिनका लागि पुगे । लकडाउनका कारण बाहिर खाजा पसलहरु खुलेका थिएनन् ।

मेयरसँगै पुगेकामध्ये एक जनाले कुखुरा काटे । घरबेटी महिलाले पकाइदिइन् । मेयरको टिमले रक्सी र मासु खाए । ती महिलाका अनुसार उनले विदेशमा रहेका आफ्ना श्रीमानलाई भिडियो कल गरेर मेयर साहेब आफ्नो घर आएको र कुखुरा काटेर खाएको भन्दै खुशी शेयर गरिन् । उनी अनलाइनखबरसँग भन्छिन्, ‘मेरो घरछेउमा रहेको मेयरको जग्गाको बैना पनि मेरै घरमा बसेर भएको हो । त्यहीबेलादेखि नै चिनजान भएको हो । कुखुराको काटेर खान मन लाग्यो भन्दै आउनुभयो, खाएर फर्किनुभयो ।’

मेयर चौधरीको टोली खानपिन गरेर हिँडिसकेपछि अकस्मात राति ९ बजेतिर त्यो घरमा प्रहरीहरु देखिए । प्रहरीका साथमा केही स्थानीय पनि थिए । छिमेकबाटै प्रहरीमा फोन पुगेको थियो कि मेयर चौधरी त्यो घरमा बसेका छन् ।

मेयर चौधरीलाई खाना खुवाउने ती महिला अनलाइनखबरसँग भन्छिन्, ‘मैले त्यसबेला छिमेकी एकजना दिदीलाई पनि घरमा बोलाएकी थिएँ । मेयरसा’बहरु खाएर जानुभयो । केही नराम्रो भन्नुभएन । यसमा मेरो के गल्ती भयो ?’ सात वर्षकी छोरी र सासूआमा पनि मसँगै थिए ।’

तर, अर्को दिनदेखि कथाले अर्कै रुप लियो ।

समाजले दोषजति ती दलित महिलाको थाप्लोमा खन्यायो । चरित्रहीन महिलाका रुपमा उनीमाथि गालीहरु बर्सिए । मानौं, ठूलै अपराध भएको छ जस्तो गरियो । मेयर चौधरी आफैं आएर कुखुरा काट्न लगाएका थिए । तर, बदनामको भुँवरीमा एउटी अबला फसिन् ।

‘अहिले लकडाउन छ, श्रीमान बहराइनमा तनावमा बसिरहनुभएको छ । मलाई यहाँ चरित्रहत्या गरेर तनाव दिइएको छ’, उनी भक्कानिन्छिन्, ‘अहिले मलाई सम्झाउने न कोही छिमेकी छन्, न यस्तो अवस्थामा घरमा श्रीमान नै हुनुहुन्छ ।’

अनेकन दुःख भुक्तान गरेर बनाएको घरमा अहिले उनलाई छिमेकीहरुले नै शान्तिपूर्वक बस्न नदिएको उनको गुनासो छ । आफ्नो घरमा आएका पाहुनालाई कुखुरा काटेर खुवाउँदा गाउँलेहरु भेला भएर चरित्रहत्या गरेको र प्रहरी लगाएर घर घेरेको उनको गुनासो छ ।

मेयर किन दलितको घरमा बस्यो भनेर उनीमाथि गाउँलेले प्रश्न उठाएका छन् । कतिले त मेयरमार्फत राहतका बोरा घरमा ल्याएर थुपारेको आरोपसमेत लगाएका छन् । उनले लकडाउनअघि श्रीमानले पठाएको पैसाले केही रासन किनेर राखेको बताइन् ।

‘दलितले राहत लिनुपर्छ भनेर आग्रह गरेपछि पाँच केजी चामल र केही दाल लिएकी थिएँ’, उनी भन्छिन्, ‘घरमा आएर हेरे पनि हुन्थ्यो, किन यसरी नभएको कुरा फैलाएर मेरो बद्नाम गरिएको होला ?’

आफू वरिपरिको समाजप्रति ती दलित महिलाको प्रश्न छ, ‘मेरो घरमा कोही मान्छे नै आउन नहुने त होइन होला ।’

यो पनि पढ्नुहोस जातीय विभेदमा कार्यकर्ता थुनिने, सांसद रिहाइ माग्ने

अहिले यी दलित महिलालाई आफूले पाएको दुःखभन्दा पनि श्रीमानको चिन्ताले अझ बढी पिरोलेको छ । ‘बुढाले फोनमा कहिले आउने टुंगो नभएको बताउनुहुन्छ । त्यहाँ अब काम पाइने हो कि होइन, थाहा छैन । त्यस्तो अवस्थामा उहाँलाई विदेशमा केही भइहाल्यो भने को जिम्मेवार हुन्छ ?’, उनी आक्रोश पोख्छिन्, ‘कि त छिमेकीले कुन केटासँग हिँडेकी हुँ देखाइदिनुपर्‍यो, होइन भने मलाई न्याय दिनुपर्‍यो । यसरी अर्काको घर बिगार्न पाइँदैन ।’

–विश्वास खडकाथोकीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment