+
+

स्वास्थ्य अनुसन्धानमा कोरोनाले ल्याएको अवसर

कमल रानाभाट कमल रानाभाट
२०७७ वैशाख ३० गते ११:५३

दोश्रो विश्वयुद्धको समाप्तिपूर्व ( ईसं१९३३- १९४५) जर्मनीका नाजीहरूले युद्धका बेला अपहरणमा परेका  र जेलमा रहेका कैदीहरूमा उनीहरूको अनुमतिबेगर नयाँ-नयाँ मेडिकल जाँच गरे ।

जर्मनीका चिकित्सकबाट नयाँ औषधिको विकास गर्न, औषधिको प्रभावकारिताको अध्ययन गर्न, जर्मनीका सैनिकहरूको हकहितका लागि तथा नाजी समुदायको स्वास्थ्य प्रणालीलाई मात्र सबल तुल्याउन मेडिकल रिसर्चलाई दुरुपयोग गरिन्थ्यो  । यसलाई “नाजी मेडिकल एक्सपेरिमेन्ट” का नामले संसारभरि चिन्ने गरिन्छ।

दोश्रो विश्वयुद्धको समाप्तिपश्चात् स्टडी पपुलेसनको अनुमतिपश्चात् मात्र मेडिकल प्रयोग वा अनुसन्धान गर्ने विश्वव्यापी मान्यतालाई “न्युरेम्बर्ग कोड”ले स्थापित गर्यो ।

फलत: अनुसन्धानको क्षेत्रमा मेडिकल इथिक्सको महत्व तथा गुणस्तरीय अनुसन्धानको अभ्यासले विश्वव्यापीरुपमा ग्रहण गरेको छ । यसलाई दोश्रो विश्वयुद्धको संकटपश्चात मेडिकल अनुसन्धानको क्षेत्रमा ठूलो उपलब्धिका रुपमा लिन सकिन्छ ।

विश्व स्वास्थ्य संगठनले २२ जनवरी २०२०मा विश्वव्यापी जनस्वास्थ्य आपतकालको घोषणा गरेपश्चात यो लेख तयार पार्दासम्म विश्वमा चालिस लाखभन्दा धेरै कोरोना संक्रमित भेटिसकिएको छ भने दुई लाख ८० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । यस तथ्यांकले कोरोनालाई वर्तमान समयमा संसारकै ठूलो मानवीय संकट र चुनौतीको रुपमा स्थापित गरेको छ ।

विश्वभर कोरोनाको संकट बढ्दै जाँदा शक्तिशाली राष्ट्रहरूका बीच कोरोनालाई लिएर शीतयुद्धको अवस्थासमेत देखिएको छ । खासगरी अमेरिकाले कोरोना भाइरसलाई चीनले प्रयोगशालामा कृत्रिम रुपमा जन्माएर संसारभरि नै फैलाएको आरोप लगायो ।

यद्यपि डब्ल्यूएचओले यसलाई खण्डन गर्दै कोरोनालाई प्राकृतिक भाइरस हो भनेर वक्तव्य जारी गरेको छ । कोरोनाको संकटविरुद्ध लड्न संसारकै वैज्ञानिकहरू र सिङ्गो मेडिकल क्षेत्र नै लागिपरेको छ । जसरी सार्स-कोभ-२ भाइरस विरुद्ध खोप तथा औषधि पत्ता लगाउन दिनरात अनुसन्धानमा व्यस्त भएका छन्।

कमल रानाभाट

संकटको समयमा निश्चित नियम कानुनको परिधि नहुने अभ्यासलाई टेक्दै अमेरिका र भारतले विनापरीक्षण मलेरियामा प्रयोग गरिने हाइड्रोक्लोरोक्विन नामक औषधिलाई कोरोनाको उपचारमा प्रयोग गर्न अनुमति दिएको थियो ।

परीक्षणविना नै आपतकालीन अवस्थामा कोरोनाविरुद्ध उक्त औषधि प्रयोगमा ल्याइएको भनेर ट्रम्प प्रशासनको निकै आलोचना समेत भएको थियो । सोपश्चात अमेरिकामा १०६३ जना कोरोना संक्रमितमा गरिएको औषधिको परीक्षणमा रेम्देभिसिर(Remdevisir) नामक औषधिको प्रभावकारिता देखिएपश्चात यसलाई अमेरिकाको एफडीए (फुड एण्ड ड्रग) ले गम्भीर प्रकृतिका बिरामीहरूलाई उक्त औषधि प्रयोग गर्न स्वीकृति दियो । हाल अमेरिकासँगै जापान सरकारले समेत यो औषधिको प्रयोगलाई मान्यता दिएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पहलहरू

हाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (नार्क) को नेतृत्वमा कोभिड-१९ सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण अनुसन्धानहरू सुचारु भइरहेका छन् । केही महत्वपूर्ण अनुसन्धानका विषयहरू:

१. सोलिडारिटी ड्रग ट्रायल विश्व स्वास्थ्य संगठनले १८ मार्च २०२० मा यस विश्व रोग परीक्षण (ग्लोबल क्लिनिकल ट्रायल) को सुरूवात गरेको थियो । यस परीक्षणमा एकसयभन्दा धेरै राष्ट्रहरूको सहभागिता छ। यस परीक्षणको मुख्य उदेश्य विश्वव्यापी उच्चस्तरको कोरोनासम्बन्धी तथ्यांकको माध्यमबाट कोरोना भाइरसविरुद्ध प्रभावकारी उपचारपद्धति पत्ता लगाउनु हो । हाम्रो जस्तो सीमित श्रोतसाधन भएको अनि तत्काल खोपको विकास र औषधि उत्पादन गर्ने क्षमता नभएको मुलुकमा यसप्रकारको परीक्षणमा सहभागिता जनाउँदा नेपालीहरूमा समेत विश्वमा प्रयोग भइरहेका कोभिड-१९ विरुद्धको औषधिको प्रभावकारिता कतिको छ भनेर निष्कर्षमा पुग्न सकिन्छ । जुन नेपालको लागि सुनौलो अवसर समेत हो ।

२. सार्स कोभ-२ भाइरसको जेनेटिक स्ट्रेनको अध्ययन:

सन् २०१३ मा हाम्रो टिमले हात्तीपाइले गराउने परजीवीको जेनेटिक अध्ययन गर्ने क्रममा नेपालमा जेनेटिक स्टडीका लागि उपयुक्त वातावरण नहुँदा बाध्यताले भारत जानुपरेको अनुभव थियो । अहिले नेपालमा नै जेनेटिक अध्ययन गर्न विज्ञहरूको उपस्थिति र अध्ययनका लागि उपयुक्त वातारणसमेत रहेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यसको अध्ययन प्रक्रिया समेत अघि बढाएको छ ।

नेपालमै उच्चस्तरको जेनेटिक अध्ययन हुँदा राष्ट्रिय अनुसन्धान प्रणालीलाई थप मजबुत र उपलब्धिमूलक बनाउने सुनौलो अवसर सिर्जना भएको छ। नेपालमा कुन प्रकारको भाइरल स्ट्रेन छ भनेर पत्ता लगाएर प्याटेन्ट राइट कायम गर्न सकेमा भविश्यमा यसविरुद्ध खोपको उत्पादन भएमा प्याटेन्ट राइटको आधारमा नेपालले नि:शुल्क या सहुलियतमा खोप प्राप्त गर्न सक्नेछ ।

३. अन्य अनुसन्धानहरू:

अन्य अनुसन्धान अन्तर्गत कन्भेलिसेन्ट प्लाज्मा थेरापी (Convalescent Plasma Therapy) बाट कोरोनाविरुद्ध उपचार प्रभावकारिताको अध्ययन, आइसोलेसन/ क्वारेन्टानमा बसेका व्यक्तिहरूको मनोवैज्ञानिक असरको अध्ययन, इपिडिमियोलोजिकल प्रोजेक्सन्स (रेट अफ एट्याक्ट एण्ड रेट अफ ट्रान्समिसन) तथा कोरोना रोकथामका लागि देशभरका अस्पतालहरूको पूर्वतयारीको अवस्था आदि छन्।

यसप्रकारका अध्ययनबाट आउने नतिजाहरूले कोरोनालगाएत अन्य महामारीविरुद्ध कसरी पूर्वतयारी गर्ने भनेर सरकारलाई नीतिगत सुझाव प्रदान गर्न सकिनेछ जसले गर्दा इभिडेन्स बेस्ड प्राक्टिसलाई थप बलियो बनाउन मद्धत पुग्नेछ।

२०७२ सालको महाभूकम्पको समयमा मेडिकल सहयोगको लागि भनेर विश्वभरिका वैदेशिक मेडिकल समूह नेपालमा आएका थिए। धेरैले घाइते तथा बिरामीहरूलाई उपचार सहयोग गरे तापनि केही विदेशी मेडिकल टिमले उपचारको नाममा नेपालीहरूमा नयाँ औषधिको परीक्षण (ड्रग ट्रायल) गर्न लागेको हर्कत बेलैमा थाहा पाएर सरकारले उनीहरूलाई फिर्ता पठाएको थियो। सरकारको सुझबुझको कारण विपद्को समयमा नेपालीहरू ‘गिनी पिग’ बन्न पाएनन् । संकटले चुनौती र अवसर दुवै लिएर आएको हुन्छ तथापि यसलाई अवसरमा रुपान्तरण गर्न व्यक्ति विशेषभन्दा राष्ट्रिय हितका लागि सोचेर अघि बढ्नुपर्छ ।

अत: विश्वव्यापी कोरोना संकटको यो अवस्थामा नेपालको स्वास्थ्य अनुसन्धान प्रणालीलाई थप सबल बनाउने तथा नेपाली स्वास्थ्य विज्ञहरूका लागि सुनौलो अवसर सिर्जना गर्ने माध्यमको रुपमा रुपान्तरण गर्नु वर्तमान आवश्यकता हो । देशको स्वास्थ्य अनुसन्धान प्रणाली सबल भएमा यसबाट प्राप्त लाभ दीर्घकालीनरुपमा आमनागरिक र भावी पुस्तालाई हुनेछ ।

(नेपाल जनस्वास्थ्य संघका केन्द्रीय सदस्य रहेका लेखक स्वास्थ्य अनुसन्धानमा संलग्न छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?